
खुशीका आशाहरु साटेर भए पनि क्षितिज पारीबाट यी आँखीझ्याल आफ्नो प्राणभुमि “लिम्बुवान”.संग प्रतिविम्बित भएको छ | यी आँखीझ्यालमा एउटा यस्तो अद्भूत गुण छ कि बाह्रौ घण्टा काममा जोतिए पनि त्यसबाट उत्पन्न भएका प्रत्येक किरणबाट प्राणभुमि “लिम्बुवान” लाई स्मरण गराउने शक्ति रहेछ | जीवन भोगाइको क्रममा सपनाहरु कति हराए, कति विलाए, धेरै कथाहरु फेरीए, अनगिन्ति हाँसो, खुशी, सुख-दु:ख र आँशुका फोहराहरु संग रमाईयो तर निराश हुन कहिल्यै सकिएन | निराश भएर शून्य जीवन बाँच्नु भनेको मानवजातिको सबैभन्दा ठूलो रोग हो । त्यसकारण आशा, भरोषा र चाहनाहरु तमोरको पानी समुद्रको यात्रामा निस्किए झै अगाडि बढिरह्यो | हामी तमोर हौ र हाम्रो लिम्बुवानी यात्रा अनवरत छ |
जीवन संग दाँज्ने हो भने अहिले लिम्बुवानको प्रखर जवानी अवस्था हो | समय संग दाँज्ने हो भने असारको हिले रोपाईमा कृषकहरु जति व्यस्त हुन्छन् त्यो भन्दा धेरै व्यस्तता र महत्वपुर्ण समय हो | तर विडम्बना यहि छ, लिम्बुवान आफ्नै पारिवारिक झमेलामा अल्झिरहेको छ | गत असार ९ देखि १३ गतेसम्म सम्म भएको पाँच दिने सचिवालयको बैठकले केहि निर्णय दिन नसक्दा जनआक्रोश दिनप्रतिदिन बढिरहेको छ भने अन्यौलताको कालो बाँदल मडारिइरहेको छ । यतिबेला लिम्बुवानी जनतामा अन्यौलग्रस्त भएको छ । कसैले स्वार्थको राजनीति गर्छ भने पनि एकदिन झुटको पर्दाफास हुन्छ नै | बादलले सूर्यलाई केहीबेर छेक्न सक्छ तर नष्ट गर्न सक्दैन । झुठ र सत्य बिचको समबन्ध पनि त्यस्तै हो । जुन कुरा झुट छ , समाजदेखि त्यो बिलिन भएर जान्छ भने सत्यको अस्तित्व रहिरहन्छ | यतिबेला आम जनताको दैनिकी दिनानुदिन संकटग्रस्त बनिरहँदा नेतृत्व वर्गमा पूर्वाग्रह र पार्टी भित्र नीति सिद्धान्तको छलफल भन्दा पनि जुँगाको लडाईले तिब्रता पाएको कारण पार्टी भित्र त्याग, निष्ठा र आर्दश हराएर अलग अलग गुट-उपगुटको भेला गर्दै अलमलिएर समय खेर फालेको अनुभुति गर्न सकिन्छ ।
लिम्बुवानको महत्वपूर्ण ओहोदामा बसेका नेता नेतृत्व वर्गहरुबाट जुन क्रियाकलाप अवलम्बन भएको छ, त्यो समय अनुकुल छैन | लिम्बुवानको लागि केहि गर्छु भनेर त्याग, निष्ठा र आर्दश बोकेर वर्षौ देखि लागिपरेका नेता-कार्यकर्ताहरु हतोत्साहित बन्न थालेका छन् | जीवन एक फुल हो, ओइलिएर झर्न सक्छ | समयको खडेरीले इच्छा हुदै, बिलाएर मर्न सक्छ | एक चोटी पाएको जीवन लिम्बुवानको लागि केहि गरौला भन्नेहरुको लागि नेतृत्व वर्गको राजनीतिक नेतृत्व रोगले ग्रस्त भएको देख्दा अरुको इच्छा शक्ति मर्न सक्दछ | हुन त मैले यसो भनि रहदा लिम्बुवानी शिर्ष नेतृत्व वर्गमा यो कुराले आघात चोट पर्न सक्ला | यसमा तपाईको फरक विश्लेषण हुन सक्छ तर आफु समिप दृष्टान्तको आँखीझ्यालबाट हेर्दा जो देखियो त्यसलाई कालो अक्षरमा उधृत गरेको हुँ |
जिन्दगीको अनन्त यात्रामा ऊकाली आरालीहरू, भन्ज्याङ र चौतारीहरु सँग मितेरी गाँस्नु पर्ने रहेछ। जीवन कहिल्यै नटुङ्गिने यात्रै यात्रा रहेछ | तराई, पहाड, हिमाल हुँदै देश परदेश आइपुग्दा सम्म लिम्बुवानी मन र यात्रा संगै चुनौतिको झोली बोकेर अघि बढिरहेको छ | लिम्बुवानी आदर्शवादी सहयात्रीहरु भेट्दा यो यात्रा अझ धेरै रोमान्चित बनेको छ | संसार भरि नै हामी लिम्बुवानी मनहरु छरिएर रहेका छौ | लिम्बुवानी यात्रा कसैलाई पनि नछुटाई हिडाउने यात्रा हो | त्यसकारण आज हामीले लिम्बुवान एकताको महशुष गरेका छौ | लिम्बुवान एकतालाई टुटायौ भने हाम्रो लिम्बुवानी गन्तव्य अधुरो हुन्छ | आउनुहोस्, अब तपाईको मन सेतो र सफा पहिरन जस्तो स्वच्छ बनेर अनि फुलिरहेका निला शिरिष फुल बनि पूर्वाग्रह र अराजकताको ढकनी पाइतला मुनि किचेर | सबै नेता नेतृत्वको मन तराजुमा दुवै तिर बराबारी तौल बनाएर सहमतिमा अघि बढौ | त्यसमा सबैको जीत निश्चय छ |
दश वर्षे मावोबादी जनयुद्ध, आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, मधेष आन्दोलन, २०६२÷६३ को जनआन्दोलन, लिम्बुवान आन्दोलन बाट प्राप्त गरेका उपलव्धि र अन्तरिम संविधानको मर्म र भावना विपरित कथित चार दलीय सिन्डिकेटले १६ बुँदे सहमति बमोजिम एकीकृत विधानमा सैँतीस भाग, २९६ धारा र सात अनुसूचीयुक्त आठ प्रदेशको प्रारम्भिक मस्यौदामा तयार गरेका छन् | संख्या र सत्ताको बलमा पहिचाहन र संघियतालाई नै समाप्त गर्ने योजना बनाइएको संविधान लिम्बुवानले कहिल्यै स्वीकार्ने छैन | चार दलको असंवैधानिक संविधानको मस्यौदाले पञ्चायतकालको १४ अञ्चल ७५ जिल्लालाई मिलाएर आठ प्रदेशको खाका अगाडि बढाउदै फेरि पञ्चायतको अर्को रूप ब्युताउँन खोजेको प्रष्ट छ | जन्मदै अपांग सीमाङ्कन र नामाङ्कन बिनाको ८ प्रदेश र १६ बुँदे सहमतिमा बनेको असंवैधानिक संविधान विरुद्ध लिम्बुवानले शसक्त आन्दोलनमा लाखौ जनता सडकमा उतार्न तयारी भएको छ |
जय लिम्बुवान, संघीय अभिवादन |
0 comments:
Post a Comment