Breaking News
Loading...
######


प्रकाशित मिति 12,Dec 2015

"लिम्बुवान पार्टीको आन्तरिक विवादहरुको वास्तविकता र समाधानको उपाय के हुन सक्छ ?"


“लिम्बुवान पार्टीको आन्तरिक बिबादको कारणहरु बैचारिक संघर्ष मात्र नभएर पदीय र आर्थिक पक्षको साथै पार्टी संचालन गर्ने पार्टीको विधि-बिधान, प्रक्रिया तथा प्राबिधिक क्षेत्रमा भएको लाफरबाही नै हो /” –by Dammar Labung

संघीय लिम्बुवान पार्टी नेपालको आन्तरिक विवादको खण्डन गर्दै विवाद समाधानको लागि पहिले देखि आवाज उठाउदै आएको छु तर पार्टीको जिम्मेवार निकायको शिर्ष नेताहरु कहाँ हाम्रो विचार-आवाज नपुगेको अवस्था देखियो / आज फेरी यस लेख मार्फत लिम्बुवान पार्टीको आन्तरिक विवादहरुको सत्य-तथ्य कुरा खण्डन गर्नु पर्ने अवस्था आएको छ / पार्टीको आन्तरिक विवादको कारण र विवादको माहोल-स्वरूपको बारेमा यस अघि भाग १ र २ मा पनि छलफल गरिएको छ / संघीय लिम्बुवान पार्टी “नेपाल” को आन्तरिक विवादले गर्दा पार्टी फुटको अन्तिम चरणमा पुगेको स्थिति देखिन्छ / पार्टीको आन्तरिक विवाद समाधान गरि पार्टीलाई सस्थागत र बलियो बनाउने उदेश्यले पार्टीको अन्तर बिषय बस्तुहरुको बारेमा उल्लेख गर्दै, पार्टीको आगामी रणनीति र कार्य दिशाहरुको बारेमा सहयोग पुगोस भनि केहि बिषयमा छलफल गर्नेछु / तसर्थ यस तेश्रो खण्डमा पार्टीको आन्तरिक बिबादको वास्तविकताहरुलाई लिएर छलफल गर्दैछु / पार्टीको केन्द्रिय शिर्ष नेताहरुले कार्यकर्ता र जनता माझ जे-जस्तो विवादको कारणहरु देखाता पनि त्यसमा सत प्रतिशत वास्तविक कुरा बाहिर ल्याइएको छैन भन्ने लाग्छ / मेरो मुल्यंकन र विश्लेषण अनुसार “लिम्बुवान पार्टीको आन्तरिक बिबादको कारणहरु बैचारिक संघर्ष मात्र नभएर पदीय र आर्थिक पक्षको साथै पार्टी संचालन गर्ने पार्टीको विधि-बिधान, प्रक्रिया तथा प्राबिधिक क्षेत्रमा भएको लाफरबाही नै हो /”

एकात्मकवादी चार दलको तिन बाहुन दलीय पार्टीले पुर्वको १४ ओटा जिल्लाहरुलाई समेटेर १ नम्बर प्रदेशको खाका सार्वजनिक गर्दासमेत आन्तरिक विवादमा फसेको लिम्बुवान पार्टीले आन्दोलनलाई सशक्त पार्न सकेन । अढाई सय बर्ष देखि मुलुकमा एक तर्फी लादेको एकात्मक केन्द्रिकृत एकल जातीय एकाधिकार भएको राज्य प्रणाली र सम्पूर्ण असमान तथा विभेदकारी कानूनहरुलाई पुन: निरन्तरता दिने उदेश्यले यो नयाँ संबिधान ल्याइएको छ / लिम्बुवान पार्टीको आत्मघाती आन्तरिक विवादहरुको कारण लिम्बुवान आन्दोलन उठ्न नसकिरहेको अवस्थामा, पार्टीमा कुनै छलफल र निर्णय नै नगरी अध्यक्ष कुमार लिङ्देन एकलै आफु खुशी लिम्बुवान संयुक्त्त सङ्घर्ष समिति र मधेसी मोर्चामा लाग्नु भएको छ / त्यसैले पार्टी भित्र छलफल-जानकारी नै नगरी अध्यक्ष कुमार लिंङदेनले एकलौटी पेल्न खोजे पछि पार्टी भित्रकै सम्पूर्ण नेताहरु अध्यक्ष लिङ्देनको नेतृत्वप्रति असन्तुष्टि जनाए पछि पार्टीभित्र ठूलो विवाद उत्पन्न भएको देखिन्छ ।

अध्यक्ष कुमार लिङ्देन पक्षधरहरुको भनाइ अनुसार, २०७१ साल फागुन १५ गते काठमाडौंको खुल्ला मञ्चमा सम्पन्न भएको प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाले आयोजना गरेको बृहत् आम-सभामा उपाध्यक्ष खगेन्द्र माखिमले अध्यक्ष कुमार लिङ्देनलाई सम्बोधन गर्ने अवसरबाट वञ्चित गराएको भनि नेता-कार्यकर्ताहरु बीच निकै ठूलो द्वन्द्व सिर्जना हुदै आएको देखिन्छ / चार दलको १६ बुँदे सम्झौता अघि एमाओवादीको अध्यक्ष प्रचण्ड संयोजक रहेको ३० दलीय मोर्चामा लिम्बुवान पार्टी सहभागी हुने-नहुने विषयमा समेत पार्टीमा विवाद थियो । वरिष्ठ नेता कमल छाराहाङ लगायत शीर्षस्थ नेताहरु प्रचण्डको नेतृत्वमा भएको मोर्चाले पहिचानको आन्दोलन तार्किक निष्कर्षमा नपुर्‍याउने तर्क राख्दै आएका थिए ।

भेडेटारमा पार्टी एकता पछि पार्टीलाई स्थगत र बलियो बनाउनु भन्दा अध्यक्ष कुमारले एमाओवादीको प्रचण्ड संयोजक रहेको ३० दलीय मोर्चामा करिब ११ महिनासम्म पार्टीलाई एकलौटी घिसारे दौडाएको थियो / ३० दलीय मोर्चामा लिम्बुवान पार्टी सहभागी हुने वा नहिने भन्ने बिषय पनि निकै पेचिलो विवाद उत्पन्न भएको थियो / उक्त्त ३० दलीय मोर्चालाई टेकेर संयोजक प्रचण्डले काँग्रेस-एमालेसंग मिलि १६ बुदे सहमति गर्दै, लिम्बुवान बिनाको नयाँ संबिधान ल्याउनु सफल भएको थियो / उक्त्त ११ महिने मोर्चाको आन्दोलनबाट पार्टीको लागि के उपलब्धि भयो ? अहिलेसम्म पार्टीमा कुनै समिक्षा गरिएको छैन / जुन ३० दलीय मोर्चाको संयोजक प्रचण्डले धोका दिए पछि मानव अधिकारकर्मी पद्मरत्न तुलाधारको संयोजकमा पहिचानवादी आदिवासी-जनजातीहरुको मोर्चाबन्दी पनि लिम्बुवान पार्टीमा कुनै छलफल-निर्णय नगरी पार्टीलाई एकलौटी घिसारेर मोर्चाको आन्दोलन लागिएको थियो तर त्यस मोर्चाको आन्दोलनले गतिल लिन सकेन /

पछिल्लो समय राज्यको एकात्मक संबिधानको बिरुद्धमा आन्दोलन गर्न किरात याक्थुंग चुम्लुंगको समन्यव तथा सहजीकरणमा लिम्बुवान संयुक्त्त सङ्घर्ष समिति गठन गरियो / उक्त्त समतिमा सहमति र सहकार्य गरि आन्दोलनको लागी संघीय लिम्बुवान पार्टी मोर्चाबन्दीमा जाने-नजाने भन्ने बिषयमा अहिलेसम्म कुनै निर्णय र छलफल तथा जानकारी नै गराइएको छैन / अध्यक्ष कुमारले पार्टीमा कुनै निर्णय र जानकारी नै नदिई लिम्बुवान पार्टी र सम्पूर्ण नेताहरुलाई त्यागेर एकलौटी लिम्बुवान संयुक्त सङ्घर्ष समितिमा हस्ताक्षर गरि अघि बढ्नु भएको थियो / पार्टी अध्यक्षको यस किसिमको अबैधानिक कदमको बारेमा विवाद उत्पन्न भए पनि पार्टीको सबै नेता-कार्यकर्ताहरुले अध्यक्ष कुमारलाई साथ-सहयोग र समर्थन गरिरहेकै थियो / मधेसी मोर्चा र लिम्बुवान बीच सङ्घीय विचार मिल्छ तर राज्यको सिमानाको सवालमा फरक अवधारणा रहेको छ / एकात्मक राज्यको बिरुद्धमा आन्दोलन गर्न लिम्बुवान र मधेसी मोर्चा बीच सहमति र सहकार्य गर्ने सवालमा पनि पार्टीमा अहिलेसम्म कुनै निर्णय, छलफल र जानकारी छैन / भेडेटार पार्टी एकता भए देखि अहिलेसम्म अध्यक्ष कुमारले अन्य पार्टी-मोर्चाहरुको आन्दोलन तथा कार्यक्रमहरु मात्र घोषणा गरि उक्त्त कार्यक्रमहरुमा सहभागी हुदै आएको देखिन्छ / त्यसैले पार्टी एकता भए देखि अहिलेसम्म संघीय लिम्बुवान पार्टीको तर्फबाट कुनै गतिलो आन्दोलन तथा कार्यक्रमहरु गरिएको छैन / भेडेटारको उक्त्त एकता पछि पार्टीको तर्फबाट आन्दोलन तथा कार्यक्रमहरु गर्नको लागि “लिम्बुवान उच्चस्तरीय आन्दोलन समिति” गठन गरिएको थियो जसलाई अहिलेसम्म पार्टी अध्यक्षले निस्कृय तथा अनिर्णयको बन्दी बनाएको राखिएको छ, जसको कारण पनि पार्टीमा विवाद सिर्जना भएको बुझ्न सकिन्छ /

भेडेटार पार्टी एकता पछि अध्यक्ष कुमारले पार्टीमा कुनै निर्णय-छलफल नै नगरी पार्टी-संघठन र सम्पूर्ण नेताहरुलाई बाइपास गरि एकलौटी घोषणा गर्दै आउनु भएको कार्यक्रमहरु :- १) एमाओवादी अध्यक्ष प्रचण्डको संयोजक रहेको ३० दलीय मोर्चा, २) मानव अधिकारकर्मी पद्मरत्न तुलाधार संयोजक रहेको आदिवासी-जनजातीहरुको मोर्चा, ३) लिम्बुवान संयुक्त्त सङ्घर्ष समिति ४) मधेसवादी मोर्चाको संघीय गठबन्धन आदि.....यी पार्टी-मोर्चाहरुसंग एकता तथा मोर्चाबन्दी बारेमा अहिलेसम्म पार्टीमा कुनै निर्णय र जानकारी भएको छैन / तसर्थ उक्त आन्दोलन तथा कार्यक्रमहरु संघीय लिम्बुवान पार्टीको होइन भनि सबै प्रष्ट हुन आवश्यक देखिन्छ किन भने अन्य पार्टी तथा मोर्चाको आन्दोलन तथा कार्यक्रमहरु लिम्बुवानको हो भनि भ्यागुतो जस्तो आफै फुलेर बस्नु भन्दा लाजमर्दो के कुरा हुन् सक्ला ? त्यसैले लिम्बुवान पार्टीको आन्दोलन तथा कार्यक्रमको लागि “लिम्बुवान उच्चस्तरीय आन्दोलन समिति” मार्फत घोषणा गरिएको पार्टीको आन्दोलन तथा कार्यक्रमहरुलाई नै बैधानिक र आधिकारिक मान्न सकिन्छ /

पार्टीको बिधान अनुसार प्रत्येक ४-४ महिनामा नियमितरुपमा अनिवार्य बैठक राख्ने प्रावधान रहेको छ / नेपालको संगिन राजनीतिक परिस्थितिमा पार्टीको तर्फबाट आन्दोलन तथा कार्यक्रम नभएकोले पार्टीको तर्फबाट आन्दोलन गर्न पार्टीको बैठक बसी छलफल-निर्णय गर्न सबैलाई पत्राचार गरिएको थियो तर त्यस बैठकमा अध्यक्ष कुमार उपस्थित भएन / उक्त्त बैठकमा अध्यक्ष कुमार उपस्थित नभए पनि अन्य उपस्थित नेताहरुले छलफल गरि पार्टीको तर्फबाट आन्दोलनको घोषणा गरिएको थियो तर अध्यक्ष कुमार पक्षधरहरुले अध्यक्ष कुमार लिंङदेनको सहमति र उपस्थिति बिना एकलौटी गरिएको कोठे बैठक र आन्दोलनको औचित्य छैन भन्दै, कुमार पक्षधरहरु जुन “लिम्बुवान उच्चस्तरीय आन्दोलन समिति” ले घोषणा गरेको कार्यक्रमको बिरुद्धमा उत्रिएको थियो / त्यसैगरी एकात्मक राज्यको नयाँ संबिधान र ऐतिहासिक लिम्बुवानको सिमानाको सवालमा एकात्मक राज्यको बिरुद्धमा हिजो १४ गते र २७ गतेको अनिश्चितकालीन चक्काजामको आन्दोलन घोषणा गरिएको थियो तर अध्यक्ष कुमार र उसको पक्षधरहरुले बाहिर खुलेरै असफल पार्न बिरोधमा उत्रिएको थियो / गत १४ गतेको चक्काजाम असफल पार्न पार्टी कै अध्यक्ष पक्षधरको झापा जिल्लाको अध्यक्षले यातायात व्यवसायी संघमा फोन गरि हाम्रो पार्टीको बन्द होइन भनि सवारी साधन सुचारु गर्न निर्देशन दिए पछि झापाको बन्दकर्ताहरुले जिल्ला अध्यक्षलाई धम्की र त्यहाको कार्यालय तोडफोड गरिएको थियो /


पार्टी संचालन गर्ने प्रक्रियामा नेताहरुको यस्तो अराजक तथा अबैधानिक क्रियाकलापले गर्दा आन्तरिकरुपमा विवाद सिर्जना भइ नेताहरु बीच असहयोग र बिरोधको श्रीखला सुरु भएको देखिन्छ / जसले गर्दा हिजो लिम्बुवान सङ्युक्त्त सङ्घर्ष समितिले आयोजना गरेको आन्दोलनले बिचमै घुडा टेकेर आत्मसमर्पण गर्नु पर्यो जसो उदाहरण दमकमा लिम्बुवानको केन्द्रिय कार्यालय तोडफोडको घटनालाई लिन सकिन्छ तर पार्टीमा यस बिषयको कुनै समिक्षा पनि भएको छैन / यसरी पार्टीमा कुनै छलफल तथा जानकारी नदिइ अध्यक्ष कुमार एकलौटी लिम्बुवान संयुक्त सङ्घर्ष समितिमा गए पछि विवाद हुदा-हुदै पनि अहिले फेरी त्यसैगरी मधेसी मोर्चामा पनि आफु खुशी लिम्बुवानको नाममा हस्ताक्षर गर्दै सहभागी भए पछि लिम्बुवान पार्टीको आन्तरिक विवाद झन् उस्कर्षमा पुगेको देखिन्छ /

संन्जुहांग, खगेन्द्र माखिम, छबि सम्बाहाम्फे, सुर्य माखिम लगायत अन्य केहि नेताहरुको एउटा टोली काँग्रेसको नेता कृष्ण सिटौलालाई भेट्न पार्टीमा कुनै निर्णय तथा छलफल नगरी गएको थियो / यी नेताहरु कुन उदेश्यले लिम्बुवान पार्टीको राजनीतिक एजेन्डा नमिल्ने पार्टीको नेतालाई गोप्यरुपमा भेट्न गएका हुन् ? यदि एकात्मक राज्यसँग बार्ता तथा पार्टीको केहि मुद्दाहरुमा सहमति र सम्झौता गर्न यी नेताहरु गएका हुन् भने, पार्टीमा बैठक नबसी अथवा कुनै निर्णय नगरी किन गएका हुन् ? नेताहरुको यस क्रियाकलापलाई बैधानिक र सान्दर्भिक आधार मान्न सकिदैन किन भने पछिल्लो समय पार्टीमा विवाद उत्पन्न हुनुमा उहाहरु पनि जिम्मेवार छन् /

अध्यक्ष कुमार लिङ्देन र उसको पक्षधरहरुले अहिले धेरै बिषयहरुमा भ्रम सिर्जना गरिरहेको देखिन्छ / अध्यक्ष कुमारले सामाजिक संजाल Facebook मार्फत आफ्नो विचार यसरी राख्नु भएको छ “लिम्बुवानले एक्लै लडने कि देशभरका संघीयबादी हरु एक भएर लडने ? मैले सधै संयुक्त संघर्ष को पक्षमा बोलेको छु |
देश भरिको संघीयबादी हरुलाई समेटन संघीय मंच बनाइयो त्यसमा पनि असहमत, ३० दलको मोर्चा बनाइयो त्यसमा पनि असहमत, लिम्बुवान संम्युक्त संघर्ष समिति बनाइयो त्यसमा पनि असहमत, ९ वटा संघीय पार्टीहरुको संघीय गठबन्धन बनाइयो त्यसमा पनि असहमत र ५० जना संघीय सहिद हरुले बलिदान दिएको मधेश आन्दोलन संग मिलेर जाने भन्ने कुरामा पनि असहमत, अनि सहमत चाहि के मा ?”

अध्यक्ष कुमार लिङ्देनको यस प्रकारको धेरै विचारहरुको बारेमा यस अघि भाग १ र २ मा पनि धेरै खण्डन गरेको छु यस तेश्रो भागमा पनि पुन: खण्डन गर्नु पर्ने अवस्था आएको छ / अध्यक्ष कुमार लिङ्देनले जाना-जान यसरी भ्रमित कुरा गर्दै हुनु हुन्छ कि ? या अन्जानमा यस्तो प्रतिक्रिया दिदै हुनु हुन्छ त्यो उहाकै पोलेसी हुन् सक्छ / पार्टीमा अध्यक्ष कुमार लिङ्देन बाहेक अन्य सम्पूर्ण नेताहरुको वास्तविक विचार के छ भने, नेपालको सङ्घीय आन्दोलनको लागि लिम्बुवान एकलै लडेर आउदैन, जसको लागि सबै संघीयवादी शक्तिहरु मिलेर संघर्ष गर्ने पक्षमा एक मत देखिन्छ / संघीय विचार मिल्ने सबै पार्टी तथा मोर्चासँग मिलेर सम्पूर्ण लिम्बुवानी नेता-कार्यकर्ताहरु आन्दोलनमा जानु पर्छ भनिरहेको छन् / एकात्मकवादी राज्यले तराई मधेसमा चरम शोषण र दमन गरिरहेको छ जसको बिरुद्धमा बोल्नु पर्छ भनिरहेको छन् तसर्थ अध्यक्ष कुमारले माथि उल्लेख गर्नु भएको सबै पार्टी-मोर्चासंग एक भएर एकात्मक राज्य र संबिधानको बिरुद्धमा लड्ने कुरा गर्दै आउनु भएको छन् /

संघीय लिम्बुवान पार्टी र अन्य पार्टीहरु बीच मोर्चाबन्दीको सवालमा भएको वास्तविक विवाद के हो भने, कुमारको लाइनबाट हेर्दा, पार्टी अध्यक्षको हैसियतले मैले पार्टीमा छलफल-निर्णय तथा जानकारी नगरी एकलौटी घोषणा गरे पनि ति सम्पूर्ण आन्दोलन तथा कार्यक्रमहरु अधिकारिक हुन र मैले निर्देशन गरेको सबै कुरा अन्य नेताहरुले मानै पर्छ, पार्टीमा मेरो विचार र हैकम मात्र चल्नु पर्छ भन्ने मनोबिज्ञानले अघि बढ्नु भएको देखिन्छ तर अर्को तिर अध्यक्ष कुमार लिङ्देन बाहेक अन्य सम्पूर्ण नेताहरुको विचार अनुसार, लिम्बुवान पार्टी अध्यक्ष कुमारको मात्र निजि पेवा होइन / लिम्बुवान पार्टीलाई यो उच्चाईमा पुर्याउन हामी सबैको बराबर योगदान र जिम्मेवार रहेको छ / पार्टीको बिधि-बिधान तथा प्रक्रिया अनुसार पार्टी संचालन गर्दै सम्पूर्ण लिम्बुवानको नेता-कार्यकर्ताहरु बढ्नु पर्छ / पार्टीको बिधान अनुसार नियमित बैठक राखी पार्टीको हरेक कार्यक्रमहरु मिलेर बराबर घट्नु पर्छ /

अध्यक्ष कुमारले पार्टी एकता भए देखि पार्टी र सम्पूर्ण नेता-कार्यकर्ताहरुलाई त्यागेर पार्टीमा निर्णय-छलफल नै नगरी बाहिर बाट एकलौटी अन्य पार्टीसँग मोर्चाबन्दी र बिभिन्न चरणको आन्दोलनहरु घोषणा गर्दै आउनु भएको छ जुन पार्टीको विधि-विधान विपरित छ / भेडेटार एकता पछि पार्टीको आन्दोलनको लागि “उच्चस्तरीय आन्दोलन समिति” निर्माण गरिएको छ, जुन समितिबाट घोषणा गरिएको आन्दोलनहरुलाई मात्र अधिकारिक मान्न सकिन्छ / त्यसैले पार्टी अध्यक्ष कुमारको यस किसिमको अबैधानिक कदम रोक्नु पर्छ भन्ने पक्षमा अन्य नेताहरु प्रष्ट देखिन्छन / पार्टीको सम्पूर्ण समस्याहरु पार्टीको बैठक मार्फत मात्र समाधान हुन सक्छ त्यसैले पार्टीको बैठक तत्काल राख्नु पर्छ / पार्टीको बिधान अनुसार प्रत्येक ४-४ महिना नियमित पार्टीको बैठक राख्ने प्रावधान रहेको छ तर गत साल देखि पार्टी अध्यक्ष कुमारले बैठक राख्न मानिरहनु भएको छैन / त्यसैले अध्यक्षले पार्टी र ४०० जना नेताहरुलाई गत साल देखि अनिर्णयको बन्दी बनाएको छ /

पार्टी अध्यक्ष कुमारले लिम्बुवान पार्टी र सम्पूर्ण नेता साथीहरुलाई त्यागेर पार्टीमा निर्णय र जानकारी नदिई बाहिरबाट एकलौटी अबैधानिक रुपमा लगभग एक दर्जन जति बिभिन्न पार्टी र मोर्चाहरुको सहमति-सम्झौताको बुदामा हस्ताक्षर गरिसक्नु भएको छ / अध्यक्ष कुमारले यसरी पार्टी र सम्पूर्ण नेता-कार्यकर्ताहरुलाई त्यागेर तानाशाही राजा जस्तो पार्टीको सम्पूर्ण कार्यकारी अधिकारहरु हातमा लिएर अन्य पार्टी-मोर्चाको आन्दोलन तथा कार्यक्रमहरु लिम्बुवानको तर्फबाट एकलौटी घोषणा गर्दै जादा पनि पार्टीको अन्य नेताहरुले अहिलेसम्म निरिह भएर इमानदारीपुर्वक साथ र सहयोग गर्दै बसेको देखिन्छ / पार्टी अध्यक्ष कुमारको अबैधानिक प्रक्रिया तथा कदमबाट आए पनि ति घोषणा गरिएको सम्पूर्ण कार्यक्रमहरुको बिरुद्धमा बिरोध नगरी खुलेर साथ र सहयोग गर्दै आएका थिए / अध्यक्ष कुमारले यसरी अन्य पार्टी र मोर्चाको आन्दोलनहरु एकलौटी घोषणा गरि ति कार्यक्रमहरुमा भाषण गर्ने कार्यमा मात्र सिमित देखियो तर जुन आन्दोलन तथा कार्यक्रमहरुमा जनता र कार्यकर्ताहरुको मास जम्मा गर्ने फिल्डको काममा पार्टी अध्यक्ष कुमारले एक सिन्को भाच्नु भएको छैन / त्यसैले जुन कार्यक्रमहरुको लागि गाउ-गाउमा ल्याएर कार्यकर्ता र जनता जम्मा गर्ने चै अन्य सम्पूर्ण नेता-कार्यकर्ताहरु हुन तसर्थ यस कार्यमा अध्यक्ष कुमार अहिलेसम्म घट्नु भएको छैन / यसरी पार्टीको हरेक फिल्डको काममा अन्य नेताहरु घट्ने तर पार्टीको जुन कामको राम्रो जस पाउने चै अध्यक्ष कुमार हो /

लिम्बुवान पार्टीमा कुमार लिङ्देन पक्षधर र अन्य पक्षधरहरु बीचको आन्तरिक षड्यन्त्र विश्लेषण र मुल्यांकन गर्दा के देखिन्छ भने, “अध्यक्ष कुमार बाहेक अन्य सम्पूर्ण असन्तुष्ट नेताहरूले पार्टी छोडेर या फुटाएर गए हुन्थ्यो / यदि यी असन्तुष्ट नेताहरु आफै पार्टी फुटाएर गएनन भने, पेलेर भए पनि लखेट्ने कसरतमा बिगत पार्टी एकता देखि आन्तरिकरुपमा सकृय देखिन्छन” तर उता अन्य असन्तुष्ट नेताहरू “यदि हामीले पार्टी फुटाएर गयौ भने, लिम्बुवानी जनताले साथ-सहयोग छोडी आफ्नो अस्थित्व सिद्धिने डरले मरे पनि लिम्बुवान पार्टी नछाड्ने पक्षमा देखिन्छन् ।“ त्यसैले आफुले सोचे जस्तो सजिलो नभएकोले अहिले अध्यक्ष र अध्यक्ष पक्षधरहरुलाई निल्नुना-ओकल्नु भएको अवस्था देखिन्छ । त्यसैले “लिम्बुवानको नेता-कार्यकर्ता हु” भन्नेहरुमा लिम्बुवान पार्टी-नेताहरु बीच एकता भएको हेर्न नचाहने तुलनात्मक रुपमा धेरै देखिन्छ तर मिलेर जाने पक्षमा एकदम बोल्ने न्यून ब्यक्ति देखिएको छ / अध्यक्ष कुमार लिङ्देनले हिजो लिम्बुवान पार्टी एकता चाहेको थिएन तर बहु-सङ्ख्यक जनता-कार्यकर्ताहरु पार्टी एकताको पक्षमा एक ढिक्का थिए र बुद्धिजीवी तुम्याहाङहरुको सहजीकरणमा अन्तत जबर्जस्त पार्टी एकीकरण गर्न कुमार बाध्य भएको थियो । पार्टी एकता पछि अध्यक्ष कुमारले भित्र भित्रै पुनः पार्टी फुटाउन विशेषगरि प्रवास समितिको विस्वासीलो साथिहरुसङ्ग लभिङ सुरु गर्नु भएको थियो । अहिले पनि जुन षड्यन्त्रको निरन्तरता दिने उदेश्यले अध्यक्ष कुमारको ती विस्वासीलो नेता साथीहरुले कहिले कहि पार्टीएकता र नौ बुधे सहमति र सम्झौता गलत थियो भनी भ्रम सिर्जना गर्न सक्रिय आवाज उठाउदै आएको छन । अध्यक्ष कुमार र उसको केही प्रवास समितिको विस्वासीलो ती नेता साथिहरुले यो संघीय लिम्बुवान पार्टी नेपाल लाई भङ्ग-खारेज गरि पहिलेको मञ्च लाई पुनः ब्युताउनु पर्छ, पहिलेको मञ्च नै राम्रो भनी पुनः पार्टी फुटाउन उदेश्यले एउटा राजनीतिक माहोल सिर्जना गर्दै आएको छन । त्यसैले यी षड्यन्त्रकारी नेताहरूको विरुद्धमा सबैले आवाज उठाउनु पर्छ । संघीय लिम्बुवान पार्टी नेपाल लाई कुनै पनि हालतमा फुटाउन दिनु हुदैन जसको लागि सबै तयार भएर बस्नु बस्नु पर्छ । / त्यसैले सबै जना समयमै सचेत भइ यस्तो पार्टी फुटाउन गरिएको सड्यन्त्रहरु असफल बनाउन आवश्यक देखिन्छ /

भेडेटार लिम्बुवान पार्टी एकता भए देखि अहिलेसम्म पार्टीको तर्फबाट कुनै गतिलो आन्दोलन तथा कार्यक्रमहरु सम्पन्न भएको छैन / उक्त्त एकता पछि पार्टीको तर्फबाट आन्दोलन तथा कार्यक्रमहरु गर्न “लिम्बुवान उच्चस्तरीय आन्दोलन समिति” गठन गरिएको छ / पार्टीको जुन लिम्बुवान उच्चस्तरीय आन्दोलन समितिलाई पार्टी अध्यक्षले किन अहिलेसम्म अनिर्णयको बन्दी र आधारहीन बनाइरहनु भएको छ यो निकै गम्भीर बिषय देखिन्छ / पार्टी एकता भए देखि अहिलेसम्म अध्यक्ष कुमारले अन्य पार्टी र मोर्चाहरुको आन्दोलन तथा कार्यक्रमहरु एकलौटी घोषणा गरेता पनि पार्टीमा कोहि कसैले पनि बिरोध गरिएको थिएन / जुन घोषणा गरिएको आन्दोलन तथा कार्यक्रमहरुमा सबैले साथ-सहयोग समर्थन निरन्तर गरिएको थियो तर अहिले पछिल्लो समय पार्टीमा अध्यक्षको अबैधानिक र अराजक गतिविधिबाट रुष्ट सबै नेताहरु मिलेर पार्टीको “लिम्बुवान उच्चस्तरीय आन्दोलन समिति” मार्फत १४ गते र २७ गते अनिश्चितकालीन बन्द-चक्काजाम घोषणा गर्दा किन कुमार पक्षधरहरु खुलेर बिरोधमा उत्रिरहेको छन् निकै विचारणीय देखिन्छ /

१४ गते घोषणा गरिएको अनिश्चितकालीन बन्द-चक्काजामलाई असफल पार्न अध्यक्ष कुमार र उसको पक्षधरहरुले यातायात व्यवसायी संघलाई फोन गरि हाम्रो पार्टीको बन्द होइन भनि सवारी साधन सुचारु गर्न निर्देशन गराएको थियो / जसको कारण झापा जिल्ला अध्यक्षलाई झापा कै बन्दकर्ताहरुले धम्की र कार्यालय तोडफोडको दु:खद घटना भएको थियो र १४-१५ गतेको कार्यक्रम पनि बिफल भएको थियो / त्यसैले पार्टीको उच्चस्तरीय आन्दोलन समितिले घोषणा गरेको अनिश्चितकालीन बन्द-चक्काजाम कार्यक्रमहरुमा अध्यक्ष कुमार पक्षधरहरुले कुनै साथ, सहयोग र समर्थन गरेको देखिएन / पार्टीको आन्दोलन तथा कार्यक्रमहरुमा असहयोग र बिरोधको तथा कार्यक्रमहरु असफल पार्न अध्यक्ष कुमार पक्षधरबाट नै सड्यन्त्र सुरुवात भएको देखिन्छ / जसले गर्दा भोलि अध्यक्ष कुमारले घोषणा गरेको आन्दोलन तथा कार्यक्रमहरुमा त्यसैगरी अन्य असन्तुष्ट नेताहरुले पनि असहयोग र बिरोध तथा असफल पार्न सड्यन्त्र सुरुवात गरियो भने, लिम्बुवान पार्टी र अध्यक्ष कुमारको के हालत होला यो निकै गम्भीर बिषय हो /

क्रमशः..........

कृपया  अर्को  भाग  पनि  पढ्न  नछुटाउनु  होला .....

यो लेख एक सर्वसाधारण लिम्बुवानी जनताको व्यक्तिगत विचार हो......

Share: Note:- तपाईं हरु लाई यो पोस्ट मन परे मा Like, Share र Commnets गरी दिनु होला

1 comments:

  1. IT would have been better if the limbuwan party was not unified. Yes, there is weakness of Kumar ji, but the underlying hidden motif of others, for example the role of Khagendra to bar Kumar ji from delivering speach in Tudikhel and many other activities, is more dangerous than what Kumar ji is visibly doing.

    ReplyDelete