Breaking News
Loading...
######



प्रकाशित मिति 15, Dec 2015

“संघीय लिम्बुवान पार्टीमा विचार-दर्शन र सिद्धान्त भन्दा व्यक्त्ति-नेता केन्द्रित राजनीतिले ठुलो असर पुर्याएको देखिन्छ” –by Dammar Labung

"लिम्बुवान पार्टीको आन्तरिक विवादहरुको वास्तविकता र समाधानको उपाय के-के हुन सक्छ ?"

लिम्बुवान प्राप्ति आन्दोलनको उदेश्य र एजेण्डाहरु एक भए पनि शिर्ष नेताहरुको व्यक्तिगत र पदीय स्वार्थको शक्ति संघर्षको कारण लिम्बुवान पार्टीमा दुइ विचार समुहहरु सकृय देखिन्छन / पार्टीको नेता-कार्यकर्ताहरुको गतिविधि हेर्दा एउटा पक्ष व्यक्ति-नेता केन्द्रित देखिन्छ भने, अर्को दोश्रो पक्ष पार्टीको विचार, नीति तथा बिधान-प्रक्रिया केन्द्रित देखिन्छन / एकता पछि आफ्नो मनपरी तन्त्रको अन्त्य हुने उनीहरुले पहिले परिकल्पना गरेकै थिए / त्यसैले पार्टी भित्रको यी दुइ विचार समुह भेडेटारको लिम्बुवान एकताको पक्षमा र अर्को एकता नचाहने पक्ष देखिएको थियो । एकताको विरुद्दमा उभिने वित्तिकै उनीहरु आफ्नै कार्यकर्ताहरुबाट नाङ्गेझार हुने देखे पछि बाध्यताले पार्टी एकता गरिएको थियो । त्यसपछि लिम्बुवान पार्टी संस्थागत र बलियो पार्नको लागि धेरै प्रयत्नहरु भए तर तिनै एकता विरोधीहरुले एकताको माहोल बिगार्नका लागि अराजक कृयाकलापहरू गर्न थालेक थिए ।

११ मंसीरमा इटहरीमा र १३ मंसीरमा विराटनगरमा मधेशी मोर्चा आयोजित विरोध सभामा लिङ्देनले मन्तव्य दिएपछि आन्तरिक विवाद सतहमा देखिएको छ। विवादबीच, पूर्वका नौ जिल्लासहितको लिम्बूवान राज्य माग गर्दै १४ मंसीरदेखि पार्टीले नै आह्वान गरेको चक्काजाममा पनि लिङ्देन देखिएका छैनन्। पार्टी नेतृत्वको विवादले कार्यकर्ता पनि असन्तुष्ट छन्।

पार्टीमा अहिले पनि एकताको पक्षमा कृयाशील नेता कार्यकर्ताहरुको पकड बलियो देखिन्छ । पार्टी प्रति जनताको अभि मत हेर्दा के देखिन्छ भने, पार्टीमा सबै नेताहरु एक हुनु पर्छ / यदि नेताहरु एक नभएसम्म, पार्टीको कुनै पनि कार्यक्रमहरुमा सहभागी नहुने अवस्था देखिन्छ / जसले गर्दा ज-जसले पार्टी फुटाएर आफ्नो स्वार्थ पुरा गर्ने सपना देख्छ, तिनीहरु नै सिद्धिने अवस्था देखिन्छ । लिम्बुवान नेताहरुको गतिविधिहरु हेर्दा पार्टीको फुटको अन्तिम चरणमा पुगेको देखिन्छ तर पार्टी एकताको पक्षमा अडिग रहने शिर्ष नेता र कार्यकर्ताहरुको बलियो संगठित अवस्था अहिले पनि विध्यमान छ । पार्टी फुटाउन खोज्नेहरु एकताबाट असन्टुस्ट हुँदै आएका जमातहरु सुरुदेखी नै बिभिन्न निहुं गरेर पार्टीलाई अनिर्णयको बन्दी बनाएको थियो । पार्टीमा उनीहरुको अवस्था कमजोर भएको कारणले अहिलेसम्म पार्टी फुटाउन सकिरहेको छैन । त्यसैले उनीहरु घरि भेडेटार एकताले कमजोर भयौं भन्छन, घरी उनीहरु मञ्चलाई व्यूँताउने कुरा गरिरहेको देखिन्छन /

लिम्बुवान पार्टीबाट घोषणा गरिएको आन्दोलनहरुलाइ बेवास्ता गर्दै प्रचण्डको नेत्रित्वमा रहेको ३० दलीय मोर्चामा लिम्बुवान पार्टीलाई घिसाएर ११ महिनासम्म झुलाएको थियो । त्यसैगरी वैढ्य माओवादीको नेतृत्वमा रहेको ३३ दलीय मोर्चामा पनि पार्टीमा कुनै निर्णय र सहमति बिना एकलौटी घिसाएर लागिएको थियो । त्यसैगरी अहिले पछिल्लो समय लिम्बुवान संयुक्त्त सङ्घर्ष समिति र मधेसी मोर्चामा पार्टीलाई घिसारिएर लागिएको देखिन्छ / लिम्बुवान पार्टी-संगठनलाई बलियो बनाई लिम्बुवान आन्दोलनलाइ सशक्तरुपमा अघि बनाउनको सट्टा अन्य पार्टी-मोर्चाहरुको बिभिन्न आन्दोलनमा दौडधुप गरेर पार्टीको जनशक्ति आर्थिक नोक्सान गराउने भन्दा अर्को कुनै गतिलो काम भएको देखिदैन । त्यसैले आन्तरिक विवादले पहिचानको आन्दोलनमा एक कदम अगाडि रहेको लिम्बुवान आन्दोलन यतिबेला अन्यौलग्रस्त भएको छ ।

पार्टीको आन्तरिक विवादको निहु, कहाँबाट कसरी सुरु भएको थियो भन्ने सवालमा बुझ्दा निम्न बुदाहरु देखिन्छन / जसको समाधानको लागि पार्टीको बैठक बिना सम्भव छैन तर पार्टीको एक बर्ष देखि संघीय लिम्बुवान पार्टी नेपाल अनिर्णयको बन्दी बनाइएको देखिन्छ छ /

क) पार्टीको बिधान काण्ड

ख) पार्टीको क्रियाशील सदस्यता वितरण काण्ड

ग) पार्टीको आर्थिक अपारदर्शिता

घ) पार्टी-सङ्गठन संचलानको लागि बिधान, प्रकृया

ङ) शिर्ष नेताहरुको जिम्मेवारी तथा अधिकार क्षेत्र

च) बैचारिक संघर्षहरु

क) पार्टीको बिधान काण्ड

काठमाण्डौमा प्रकाशित बिधान उपाध्यक्ष खगेन्द्र माखिमले गोप्यरुपमा बिधान छापेर वितरण गरेको कुरा बाहिर आएको थियो / यस बिधान काण्डको वास्तविकता के थियो भने, अध्यक्ष कुमारले बिबस हेल्लोकलाई काठमान्डौबाट बिधान छाप्न निर्देशन दिनु भएको थिएछ तर उक्त्त बिधानको कारण पार्टीमा विवाद उत्पन्न हुने स्थिती देखिए पछि अध्यक्ष कुमार लिङदेन पछि हटेर सम्पूर्ण दोष उपाध्यक्ष खगेन्द्र माखिम माथि लगाइएको थियो / जानकारीमा आए अनुसार काठमाडौंबाट प्रकाशित गरेको अगाडि पार्टीको झन्डा र पछाडि चुनाव चिन्ह दापसहितको खुकुरी भएको रंगीन आवरणको विधान प्रकाशन गरेका थिए / अध्यक्ष कुमारले केहि दिन भित्र दमकबाट आफ्नो अनुकुल अर्को दोश्रो बिधान छाप्नको लागि बिष्णु तुम्बाहाम्फेलाई निर्देशन दिनु भएछ / दमकबाट प्रकाशित जुन बिधानमा अगाडि सानो झन्डा र पछाडि प्रस्तावित लिम्बुवान प्रदेशको नक्सा भएको विधान प्रकाशनको गरिएको थियो । अहिले अध्यक्ष कुमारले दमकमा छापिएको बिधान नै पाटिमा लागु हुनु पर्छ भनिरहनु भएको छ तर धरानमा कुमार कै अध्यक्षतामा यी दुवै बिधान खारेज गरि अर्को तेश्रो परिमार्जन गरि बिधान छाप्ने निर्णय भएको थियो तर अध्यक्षले बाहिर चै दमकबाट प्रकाशित बिधानलाई मानेर जाने लाभिंग गर्दै हिड्नु भएछ / यसरी बिधान काण्डले गर्दा पार्टीको इलाम र बिर्तामोडको पार्टी बैठकहरु बिना निष्कर्ष टुंगइयो त्यस यता पार्टीको कुनै बैठक राखिएको छैन । पार्टीको नेतृत्वको यस्तो गलत अबैधानिक क्रियाकलापले गर्दा गत साल देखि लिम्बुवान पार्टीमा विवाद समाधान हुन् सकेको छैन /

पार्टीको इलाम बैठकमा अध्यक्ष कुमार लिङदेनले दमकबाट प्रकाशित विधान आधिकारिक विधान रहेको भन्दै सार्वजनिक समेत गरेका थिए तर जानकरीमा आए अनुसार उपाध्यक्ष माखिमले काठमाडौंबाट प्रकाशित विधान नै आधिकारिक हुनुपर्ने दाबी गर्दै आएका थिए / विधान र आन्दोलनको संयोजकबारे पुरानै विवाद रहेको बेला संघीय लिम्बुवान पार्टीको सचिवालयको बैठक गत ९, १० र ११ असारमा इलाममा बसेको थियो । तर, तिन दिनमा सक्ने भनिएको बैठकमा विवाद हुँदा पाँच दिनसम्म चलेको थियो । त्यसपछि अध्यक्ष लिङदेनले कुनै निर्णयविना अर्को पाँच दिनसम्मका लागि बैठक स्थगन गरेका थिए । बैठकमा अध्यक्ष कुमार लिङ्देन (मिराक)ले दमकबाट प्रकाशित विधानलाई मानेर दोस्रो संस्करण सच्याएर प्रकाशन गर्ने र वितरित क्रियाशील सदस्यता पत्रलाई मानेर जानुपर्ने प्रस्ताव राखे । प्रस्तावलाई रामभक्त कुरुङ्बाङले समर्थन गरे पनि सर्वमान्य नेता वीर नेम्वाङ, सर्वोच्च नेता छमल छाराहाङ र वरिष्ठ नेता सञ्जुहाङ पालुङ्वाले अस्वीकार गरे ।

ख) पार्टीको क्रियाशील सदस्यता वितरण काण्ड

लिम्बुवान पार्टीमा अहिले क्रियाशील सदस्यता वितरण काण्ड पनि निकै पेचिलो विवाद हुदै आएको छ / पार्टीको बिधान अनुसार दुइ किसिमको सदस्यता वितरण गरिन्छ जस्तो....

१) साधारण सदस्य :- पार्टीको उदेश्य, नीति र कार्यक्रमसँग सहमत हुने पार्टीको समर्थक तथा शुभेक्छुकहरुलाई साधारण सदस्थाता दिइने प्रावधान रहेको छ /

२) क्रियाशील सदस्यता :- पार्टीको कुनै पनि तहको समितिहरुमा रही काम गरेको वा पार्टीका आङ्गिक तथा जन-संघठनको सदस्य भर ६ महिना काम गरेको, पार्टीको सिद्धान्त, कार्यक्रम र नीतिप्रति प्रतिबद्द र पार्टी बिधान र निर्णयहरुलाई स्वीकार गर्दै पार्टीले खटाएर काम गर्दै आएको व्यक्तिलाई मात्र क्रियाशील सदस्यता वितरण गर्ने प्रक्रिया छ /

इलामको बैठकमा अध्यक्ष लिङदेनले प्रतिवेदन पेस गर्दै २ हजार ५ सय क्रियाशील सदस्यता वितरण गरिएको जनाएका थिए । पार्टीमा निर्णय नभइकन अध्यक्ष लिङ्देनले मनोमानी ढंगले क्रियाशील सदस्यता वितरण गरेको भन्दै खारेजी हुनुपर्ने उपस्थित संख्याको ८० प्रतिशतको मत रहेको बताइएको छ तर आफू अल्पमतमै भए पनि अध्यक्ष लिङ्दनेले अडान छाडेनन् । बिर्तामोडमा सम्पन्न पार्टीको बैठकमा छलफल भए अनुसार वितरण गरिएको जुन क्रियाशील सदस्यता हुबहु क्रियाशील गराउने अध्यक्ष कुमारको पुरानै प्रस्ताव राखे पछि बैठक निष्कर्ष विहीन अवस्थामा टुंगिएको थियो /

अध्यक्ष कुमार लिङदेनले पार्टीको क्रियाशील सदस्यता वितरण गर्नु भन्दा पहिले पार्टीको सबै नेता- पदाधिकारीहरु बीच बैठक राखी सहमतिमा काम सुचारु गरेको भए बैधानिक र सहज हुने थियो / पार्टीको बिधानमा उल्लेख भए अनुसार क्रियाशील सदस्यता वितरण गर्नु पर्थ्यो तर एकलौटी आफु खुशी मापदण्ड पुरा नभएको सबैलाई क्रियाशील सदस्यता वितरण गर्नु भएछ / पार्टीको जुन क्रियाशील सदस्यता वितरण बारेमा अध्यक्ष कुमार लिङदेनले पार्टीमा अहिलेसम्म कुनै पनि छलफलर, निर्णय गर्नु भएको छैन / अध्यक्ष ज्युले यस कार्यमा अबैधानिक कदम चालेको देखिन्छ जसको बिरुद्धमा निकै आलोचना पनि खेप्नु भएको छ त्यस पछि तत्काल वितरण कार्य स्थगित गर्नु भएको थियो / केहि नेताहरुको भनाइ अनुसार क्रियाशील सदस्यता वितरण काण्ड समाधान भइ सक्यो भनिए पनि सतहमा हेर्दा केहि सामाधान भए जस्तो देखिदैन / किन भने पार्टी अध्यक्ष लिङ्दनेलले पार्टीको बिधान प्रक्रिया तथा नियमलाई ख्याल नगरी आफ्नो खुशी दुनिया पान पसलेहरु समेतलाई क्रियाशील सदस्यता कौडीको भाउमा बिक्रि वितरण गर्नु भएको जानकारी आएको छ / पार्टीमा विवाद सिर्जना हुनुमा यसरी अबैधानिक प्रक्रियाबाट क्रियाशील सदस्यता बिक्रि-वितरण कार्यलाई पनि लिन सकिन्छ /

ग) शिर्ष नेताहरुको जिम्मेवारी तथा अधिकार क्षेत्र

पार्टी एकीकरण पछि पार्टीमा बिधान-प्रक्रिया तथा प्राविधिक समस्याको कारण उग्र रूप लिएको देखिन्छ 'बल्लबल्ल एकीकरण भएको पार्टी फुट्नु हुँदैन / पार्टीको आन्तरिक विवाद र समस्या पार्टीभित्रै छलफल गरेर मिलाउनु उत्तम हुन्छ तर धेरै जसो नेता-कार्यकर्ताहरुले यस्तो सकारात्मक पक्षमा ध्यान दिएको छैन / पार्टी एकीकरण पछि अध्यक्ष कुमार लिंङदेनलाई सबै अधिकार दिने या नदिने भन्ने बिषयले पनि पार्टी भित्र समस्या भएको देखिन्छ / किन भने पार्टी एकता पछि सामुहिक नेतृत्व र अध्यक्ष मात्र अधिकार सम्पन्न भन्ने सवालले पनि आन्तरिक कलह सुरु भएको देखिन्छ /

वीर नेम्वाङ, कमल छाराङ र सन्जुहाङ पालुङवाले लिम्बुवान प्राप्त नभएसम्मका लागि पार्टीको “लिम्बुवान उच्चस्तरीय आन्दोलन समिति” मा सन्जुहाङ पालुङवा नै संयोजक हुनुपर्ने पक्षमा रहेका छन् तर पार्टी अध्यक्ष लिङदेन पक्ष भने पालुङवालाई लामो समयसम्म संयोजक मान्न तयार छैनन् । त्यसैगरी पार्टीले आन्दोलन तथा कार्यक्रमको लागि “लिम्बुवान उच्चस्तरीय आन्दोलन समति” गठन गरेको छ, जसको माध्यमबाट घोषणा गरिएको आन्दोलन तथा कार्यक्रमलाई आधिकारिक-बैधानिक मान्ने कि ? पार्टीमा कुनै छलफल-निर्णय नै नगरी अध्यक्ष कुमारले एकलै मनो-मानी तरिकाले बाहिरबाट घोषणा गरेको आन्दोलनलाई आधिकारिक मान्ने ? भन्ने बिषयमा पनि चर्को विवाद देखिन्छ /

अध्यक्ष कुमार लिङदेन पक्षधरहरुको अनुसार पार्टीको सम्पूर्ण कार्यकारी अधिकारहरु पार्टी अध्यक्षलाई मात्र दिनु पर्छ भनि रहेको देखिन्छ / पार्टी अध्यक्षले निर्णय गरेको सबै कुरा हु-बहु अन्य नेताहरुले स्वीकानै पर्ने कुराहरु पनि बाहिर आएको देखिन्छ / अध्यक्ष लिङदेनले समेत पार्टी संचालनको लागि अध्यक्षत्मक प्रणाली चाहियो भने पछि बाकी सम्पूर्ण नेताहरुले पार्टीको सम्पूर्ण अधिकारहरु अध्यक्षमा मात्र राख्दा तानाशाही हुने आरोप लगाइएको थियो /

गत सालको इलाम बैठकमा पार्टीलाई व्यक्ति केन्द्रित नभएर नीति केन्द्रित बनाएर सामुहिक नेतृत्वको सिद्धान्तलाई व्यवहारमा प्रयोगको माग चर्को रूपमा उठेको कुरा पनि सुनियो तर अध्यक्ष कुमार लिङ्देनले भने आन्दोलनमा छिनछिनमा आदेश वा निर्देशन जारी गर्नुपर्ने भएकोले पार्टीको सम्पूर्ण अधिकार शक्ति अध्यक्षमा नै केन्द्रित गर्नुपर्ने अडानहरु राख्नु भएको थियो / यस बिषय अहिले पनि अध्यक्ष पक्षधरहरुले राजनीतिक बहस-छलफलमा विवाद निकालेको देखिन्छन / लिम्बुवान पार्टीमा देखिएको एउटा समस्या के हो भने, पार्टीको बिधान अनुसार नियम पालना र अनुशासनमा बस्ने कार्यकर्ता न्यून छन ।

घ) पार्टीको आर्थिक अपारदर्शिता

वैशाख १२ गते आएको विनाशकारी भूकम्पपछि, पार्टीमा कुनै छलफल-निर्णय नगरी अध्यक्ष लिङ्देनको नेतृत्वमा लिङ्देन पक्षधर कार्यकर्ताहरूले देश-विदेशबाट रकम संकलन गरी एकलौटी रूपमा राहत वितरण गरेको कुराहरु छन् । यसै सिलसिलामा इलाम बैठकमा असन्तुष्ट पक्षले संस्थापन पक्षले भूकम्पपीडितका लागि देश-विदेशबाट रकम उठाएर मनोमानी गरेको र आर्थिक अपारदर्शिता समेत रहेको आरोप लगाएका थिए । उनीहरुको भनाइ अनुसार पार्टीमा बैठक बसी कार्य विभाजन गरी उद्दार र राहतमा जुट्नु पर्ने तर त्यसो हुन् सकेन / यसरी लिम्बुवानमा अध्यक्ष कुमार लिङ्देन एक्लै लाग्नु र हिसाब सार्वजनिक नगर्नुमा ठुलो विवाद भएको देखिन्छ । पश्चिम तिरको जिल्लाहरुमा राहत वितरण गरियो तर लिम्बुवानको बिभिन्न क्षेत्रमा भएको भूकम्प पिडितहरुको लागि पार्टीले चासो नदिएको बिषय पनि बाहिर आएको छ / त्यसैगरी ताप्लेजुङ पहिरो पीडितको लागि भएको राहत संकलन तथा वितरण कार्य पनि पेचिलो विवाद भएको थियो । असार २० गते देखि विर्तामोडको रेडमगमा बैठक सुरु भएको थियो तर, सो बैठकले पनि कुनै निर्णय गर्न सकेन ।

पार्टीमा आर्थिक सहयोग रकम कहाँबाट आएको छ ? कुन मितिमा के-कति रकम प्राप्त भयो कुनै रेकर्ड छैन / पार्टीलाई प्राप्त भएको रकम कहिले के काममा कति खर्च भयो ? त्यसको आय-ब्यायको विवरण पाटी केन्द्रीय कमिटीको बैठकमा पेश गरि पारित हुनु पर्छ तर अहिलेसम्म लिम्बुवान आन्दोलनको सहयोगको लागी आएको रकमको कुनै रेकर्ड राखिएको छैन र भुकम्प पीडितहरुको सहयोगमा आएको रकमको पनि कुनै रेकर्ड छैन । जानकारीमा आए अनुसार अहिलेसम्म पार्टीको नाममा भएको सम्पूर्ण खर्चहरुको कुनै विवरण छैन / तसर्थ पार्टीमा आर्थिक अनियमिता तथा लाफरबाहीको कारणले गर्दा पनि ठुलो विवाद सिर्जना भएको देखिन्छ /

ङ) पार्टी-सङ्गठन संचलानको लागि बिधान, प्रकृया

पार्टीमा बैठक बसेर छलफल गरि सबै नेतृत्व बर्गहरु मिलेर पार्टीको क्रियाशील सदस्यता वितरण गरिनु पर्थ्यो तर त्यसो हुन् सकेन । पार्टीमा कुनै निर्णय-छलफल नगरी अध्यक्ष कुमार लिङ्देनले मनोमानी ढंगले एकलौटी सदस्यता वितरण गरेको थियो / जसको कारण इलाम बैठकमा अध्यक्ष कुमारको उक्त्त अबैधानिक प्रक्रियाबाट एकलौटी वितरण गरिएको क्रियाशील सदस्यता खारेजी हुनुपर्ने उपस्थित संख्याको ८० प्रतिशतको मत रहेको थियो ।

गत सालको इलाम बैठकमा पार्टीलाई व्यक्ति केन्द्रित नभएर नीति केन्द्रित बनाएर सामुहिक नेतृत्वको सिद्धान्तलाई व्यवहारमा प्रयोगको माग चर्को रूपमा उठेको कुरा पनि सुनियो तर अध्यक्ष कुमार लिङ्देनले भने आन्दोलनमा छिनछिनमा आदेश वा निर्देशन जारी गर्नुपर्ने भएकोले सम्पूर्ण अधिकार शक्ति अध्यक्षमा केन्द्रित गर्नुपर्ने अडानहरु रहेको थियो /

भेडेटार पार्टी एकता पछि अध्यक्ष कुमारले पार्टीमा कुनै निर्णय-छलफल र जानकारी नै नगरी पार्टी-संघठन र सम्पूर्ण नेताहरुलाई बाइपास गरि एकलौटी घोषणा गर्दै आउनु भएको कार्यक्रमहरु निम्न छन् :-

१) एमाओवादी अध्यक्ष प्रचण्डको संयोजक रहेको ३० दलीय मोर्चा,

२) मानव अधिकारकर्मी पद्मरत्न तुलाधार संयोजक रहेको आदिवासी-जनजातीहरुको मोर्चा,

३) मोहन बैद्य नेतृत्वको ३३ दलीय मोर्चा

४) लिम्बुवान संयुक्त्त सङ्घर्ष समिति

५) मधेसवादी मोर्चाको संघीय गठबन्धन 
६) करिब एक दर्जन जति अन्य पार्टी-मोर्चाहरुको सहमति, सहकार्य तथा सम्झौताको पत्रमा हस्ताक्षर....आदि 

यी पार्टी-मोर्चाहरुसंग एकता तथा मोर्चाबन्दी बारेमा अहिलेसम्म पार्टीमा कुनै निर्णय र जानकारी भएको छैन / तसर्थ उक्त आन्दोलन तथा कार्यक्रमहरु संघीय लिम्बुवान पार्टीको होइन भनि सबै प्रष्ट हुन आवश्यक देखिन्छ किन भने अन्य पार्टी तथा मोर्चाको आन्दोलन तथा कार्यक्रमहरु लिम्बुवानको हो भनि भ्यागुतो जस्तो आफै फुलेर बस्नु भन्दा लाजमर्दो के कुरा हुन् सक्ला ? त्यसैले लिम्बुवान पार्टीको आन्दोलन तथा कार्यक्रमको लागि “लिम्बुवान उच्चस्तरीय आन्दोलन समिति” मार्फत घोषणा गरिएको पार्टीको आन्दोलन तथा कार्यक्रमहरुलाई नै बैधानिक र आधिकारिक मान्न सकिन्छ /

पार्टीको बिधान अनुसार प्रत्येक ४-४ महिनामा नियमितरुपमा अनिवार्य बैठक राख्ने प्रावधान रहेको छ / नेपालको संगिन राजनीतिक परिस्थितिमा पार्टीको तर्फबाट आन्दोलन तथा कार्यक्रम नभएकोले पार्टीको तर्फबाट आन्दोलन गर्न पार्टीको बैठक बसी छलफल-निर्णय गर्न सबैलाई पत्राचार गरिएको थियो तर त्यस बैठकमा अध्यक्ष कुमार उपस्थित भएन / उक्त्त बैठकमा अध्यक्ष कुमार उपस्थित नभए पनि अन्य उपस्थित नेताहरुले छलफल गरि पार्टीको तर्फबाट आन्दोलनको घोषणा गरिएको थियो तर अध्यक्ष कुमार पक्षधरहरुले अध्यक्ष कुमार लिंङदेनको सहमति र उपस्थिति बिना एकलौटी गरिएको कोठे बैठक र आन्दोलनको औचित्य छैन भन्दै, कुमार पक्षधरहरु जुन “लिम्बुवान उच्चस्तरीय आन्दोलन समिति” ले घोषणा गरेको कार्यक्रमको बिरुद्धमा उत्रिएको थियो /

च) बैचारिक संघर्षहरु

अध्यक्ष कुमार र उसको पक्षधरहरुको अनुसार, नौ बुदेमा कहि कतै नभएको ग्रेटर लिम्बुवान र समानन्तर सरकार गठन गर्ने जस्तो असान्दर्भिक कुरो झिकेर लिम्बुवान आन्दोलनलाइ तुहाउनु खोजिएको आरोप छ / अध्यक्ष कुमारको ६ बुदेमा भनिएको छ कि ग्रेटर लिम्बुवान र समान्तर सरकारको कुरा उठाउनेहरुले अब उप्रान्त उठाउदिन भनेर लिखित प्रतिबद्धता गर्नुपर्ने माग गरिएको छ / कुमार लिँदेन कै अध्यक्षतामा धरानमा सम्पन्न भएको बैठकबाट यो समान्तर सरकारको एजेन्डा पारित भएको हो तर यसरी उहाकै अध्यक्षतामा पार्टीले पारित गरेको निर्णय अहिले आएर किन बाहिर बिरोध गर्दै हुनु हुन्छ ? आफै पार्टीको नियमहरु बनाउने र बनाएको जुन नियमहरु आफैले उल्लघन गर्दै हिड्ने कुन राजनीतिक चरित्र होला ?

यस सन्दर्भमा मलाई के लाग्छ भने, यदि यी ग्रेटर लिम्बुवान र समान्तर सरकारको कुरा एकात्मक राज्यको बिरुद्धमा दिइने एक धम्कीको भाषण मात्र हो भने ठिकै छ तर पार्टीको रणनीति र कार्यनीति नै हो भने, बिल्कुल गलत र असम्भव देखिन्छ / शिर्ष नेता सन्जुहांग र बिर नेम्बांगहरुले उठाउनु भएको यो ग्रेटर लिम्बुवान र समान्तर सरकारको कुरा असान्दर्भिक देखिन्छ / ग्रेटर लिम्बुवानको कुरा गर्दा ऐतिहासिक लिम्बुवानको गुमेको भुमि पनि समेट्नु पर्ने हुन्छ जुन अहिले भारतको सिकिम-दार्जिलिंग र तराईको तल्लो भाग बिहारको केहि भू-भागहरुलाई पनि समेट्नु पर्ने हुन्छ / त्यसैले यी भारतमा गाभिएको भुमिलाई अब नेपालमा ल्याउन सम्भव छैन जसको लागि त्यहाँको भारतीयहरुले पनि अहिलेसम्म कुनै आवाज उठेको छैन / त्यसैगरी अर्को समान्तर सरकारको कुरा पनि लिम्बुवान पार्टीको लागि असम्भव देखिन्छ किन भने यसको लागि लिम्बुवान पार्टीसँग कम्तिमा ८०-९० % जनमत हुनु आवश्यक हुन्छ / समान्तर सरकारको लागि जन शक्तिको बलमा सरकारलाई हरेक पक्षमा पेलेर जितेर जबर्जस्ती नया सरकार गठन गर्नु पर्ने हुन्छ जुन लिम्बुवान पार्टीको लागि अहिले सम्भव छैन /

विवाद समाधानको बिकल्प तथा पार्टीको आगामी रणनीति-कार्यदिशाको सवालहरु के-के हुन ?


देशको पहिचानवादी संघीय आन्दोलनको लागि मधेश आन्दोलन धेरै अगाडी देखिएको छ तर लिम्बुवान आन्तरिक विवादले गर्दा लिम्बुवान क्रान्ति उठ्न सकिरहेको छैन / अहिले संघीय लिम्बुवान पार्टीको नेताहरू अब आफूलाई रूपान्तरण गर्दै एकताबद्ध हुनुपर्ने समय हो । त्यसैले व्यक्तिगत स्वार्थ, पद, प्रतिष्ठा वा आर्थिक प्रलोभन त्यागेर पहिचानको आन्दोलनलाई अझ सशक्त बनाउन तर्फ ध्यान दिन आवश्यक देखिन्छ / लिम्बुवानले पहिचानवादी राजनीतिक तथा सामाजिक संगठनहरूलाई समेत गोलबन्द गर्नुपर्ने समयमा यसरी आन्तरिक विवाद फस्नु राम्रो होइन /

नेताहरूमा भएको विवाद समाधान हुन् नसकेपछि कार्यकर्ताहरूमा निराशा पैदा भएको देखिन्छ छ । निराशासँगै सामाजिक संजाल फेसबुक स्टाटसमार्फत् नेताहरूलाई खुइल्याउने, चरित्रमाथि प्रश्न उठाउने, एकले अर्काको कमीकमजोरी खोतलेर सार्वजनिक गर्ने गम्भीर कार्य सुरु भएको छ । त्यसले लिम्बुवान मात्र होइन पहिचानकै आन्दोलनलाई कमजोर बनाउने छ । लिम्बुवानमा अहिले विवाद र झगडा गर्ने समय होइन, व्यक्तिगत स्वार्थहरु भन्दा माथि उठेर लिम्बुवान क्रान्तिमा मात्र ध्यान दिनु पर्छ, त्यसैले पार्टी नेतृत्वहरु सङ्घीय लिम्बुवानको लागि एक हुनुको बिकल्प छैन / यसरी एक-अर्कामा खुट्टा ताना-तान गरेर सङ्घीय लिम्बुवानको क्रान्ति सफल हुदैन / लिम्बुवानको मुख्य पाच पार्टीहरु बीच एकता पछि लिम्बुवान झन् बलियो भएर तिब्रगतिमा निकै अघि बडीसक्नु पर्ने तर झन् दिन-प्रति दिन कमजोर भएको देखिन्छ /

लिम्बुवान क्रान्तिको लागि विचार-दर्शन र सिद्धान्त भन्दा कदापी व्यक्ति-नेता ठुलो हुन सक्दैन / पार्टी-संघठन भनेको विचार-दर्शन र सिद्धान्तले चल्नु पर्छ तर सबैले ख्याल गनु पर्ने कुरा केहि भने, समय परिस्थिति र आवश्यकता अनुसार लिम्बुवानको विचार-दर्शनलाई पनि अपडेट गर्दै अथवा सुधार त विकास गर्दै लानु पर्छ / त्यो १८ औ शताब्दीको कार्ल माक्स, लेनिनको विचारलाई अहिलेको २१ औ शताब्दीमा जस्ताको त्यस्तै लागु गर्छु भनेर हुदैन, त्यसलाई पनि समय परिस्थिति अनुसार विकास गराएर लागु गर्नु बुद्धिमानी हुन सक्छ / लिम्बुवान पार्टीमा पनि यस्तो नया विचार, योग्यता र क्षमता भएको नेताहरु छन् भने, पार्टी नेतृत्वले ठाउँ-अवसर दिनु पर्छ र जनाले पनि साथ दिनु पर्छ /

पार्टीको विवाद समाधानको लागि पार्टीको बिधान अनुसार नियमित बैठक राख्न जुरुरी देखिन्छ / आ-आफुमा रहेको फरक विचारहरु पार्टीको बैठकमा राखेर छलफल गरि हल गर्नु पर्ने हुन्छ / यसरी पार्टी-सङ्गठनलाई सधै अनिर्णयको बन्दी बनाउने हो भने, जुन पार्टी भित्र गुम्सिएर रहेको विवादको ज्यालाहरु एक दिन यसरी भयंकर खतरनाक बम झैँ बिस्पोट हुनेछ / त्यसैले नेतृत्व बर्गहरुले लोकतान्त्रिक बिधि बाट पार्टी संचालन गराउनु आवश्यक देखिन्छ / नेतृत्व बर्गहरुले पार्टी संचालनको जिम्मेवारी लिए पछि त्योसँगै बिभिन्न चुनौतीहरु आइलाग्नु स्वाभाविक हो जसको सामना गर्न सबै नेतृत्व पंति एक हुन् आवश्यक देखिन्छ / त्यसैले एक्ला-एकलै लडेर केहि उपलब्धि हुनेवाला देखिदैन /

सङ्घीय आन्दोलनको लागि राज्यसँग लिम्बुवान एकलै लडेर केहि उपलब्धि हुने अवस्था देखिदैन त्यसैले सङ्घीय विचार-एजेण्डा मिल्ने पार्टीहरुसँग मिलेर मोर्चाबन्दी गर्नु अति आवश्यक देखिन्छ / तसर्थ सबै संघियताबादीहरूको एउटा मोर्चा बनाएर एकै पटक देश भर आन्दोलन चर्काउन सकियो भने मात्र एकात्मक सिहदरबार भत्काउन सकिन्छ / यदि यसरी मिल्न सकिएन भने ऐतिहासिक पहिचानमा आधारित संघियता तथा स्वयतत्ता सहितको अधिकार प्राप्त गर्न सकिदैन किन भने देशमा एउटै मुद्दा बोकेका सङ्घीयवादीहरु यसरी छुट्टा छुट्टै लड्यो भने, हाम्रो राजनीतिक शक्ति कम्जोर हुन् गइ पहिचान सहितको संघीय आन्दोलन अझै सयौ बर्ष पछि पर्नेछ । पार्टी नेतृत्व बर्गहरुले यस्तो कार्य गर्नु अघि पार्टीमा बैठक राखि निर्णय गरि सबै मिलेर अघि बढ्नु पर्छ / त्यसैले देशमा अहिले नया राजनितिको कोर्स सुरु भएकोले संघीय लिम्बुवान पार्टी नेपालको यस बिषयमा के कस्तो अवधारणा निर्माण गर्ने भन्ने बारेमा बैठक राख्नु पर्ने देखिन्छ /

नेतृत्व बर्गहरुले पार्टी फुटाएर आफ्नो स्वार्थ पुरा गर्ने अभियान तत्काल बन्द गरिनु पर्छ र आफ्नो बिगतको कमि-कमजोरीबाट पाठ सिक्न जरुरी देखिन्छ / पार्टीमा यसरी बच्चा जस्तो झगडा गरेर एकात्मकवादीहरुलाई हसाउने अभियानमा नलागे राम्रो हुने थियो / हामी जनतालाई सानो र राम्रो लिम्बुवान चाहिएको होइन, हामीलाई एकता भएको ठुलो-बलियो लिम्बुवान चाहिएको हो / त्यसैले सबै नेतृत्व बर्गहरुले आ-आफ्नो कमि-कमजोरीहरु स्विकारी अघि बढ्न आवश्यक देखिन्छ / यदि नेताहरुले लिम्बुवान पार्टी पुन: फुट्यो भने, लिम्बुवानी जनताहरुले कुनै पनि पक्षलाई साथ दिने अवस्था छैन / त्यसैले लिम्बुवान पार्टीको सम्पूर्ण नेताहरु मिल्नुको बिकल्प छैन /

पार्टी नेतृत्व बर्गहरुलाई मिलाउन निम्न १२ बुदे आधारहरु प्रस्तुत गरेको छु ......

१) पार्टीको केन्द्रिय कमिटीमा बहुमतले पारित गरिएको बिधानलाई मानेर जाने, 
२) आर्थिक पक्ष पारदर्शी राख्ने, 
३) पार्टीमा एकल निर्णय तत्काल खारेज गर्ने, 
४) लोकतान्त्रिक बिधान-प्रक्रिया अनुसार पार्टी-संघठन संचालन गर्ने, 
५) पार्टीको हरेक कार्य सुरु गर्दा, पार्टीमा पहिले छलफल गरेर मात्र अघि बढने, 
६ ) पार्टीको बिधान अनुसार निरन्तर ४-४ महिनामा बैठक राख्नै पर्ने, 
७) पार्टीको आन्दोलन तथा कार्यक्रमहरु पार्टीको “लिम्बुवान उच्चस्तरीय आन्दोलन समिति” बाट घोषणा गरि अघि बढ्ने, 
८) सङ्घीय विचार मिल्ने पार्टीहरुसँग मोर्चाबन्दी तथा आन्दोलनको लागि सर्वप्रथम पार्टीमा सबै नेताहरु बीच छलफल-निर्णय गरेर मात्र अघि बढ्ने, 
९) पार्टीको केन्द्रिय कमिटीले निर्णय गरेको बिषयलाई मात्र अधिकारिक मान्ने, 
१०) सबै नेताहरुलाई पार्टीमा आ-आफ्नो विचार राख्न दिइने, 
११) पार्टी भित्र छलफल तथा निर्णय गर्नु पर्ने कुनै पनि बिषयहरु पार्टीको बैठक अगाडी बाहिर हो-हल्ला नगर्ने (जस्तै:- अध्यक्ष कुमारको ६ बुदे सहमतिको बटम लाइन)
१२) पार्टीको हरेक नीति तथा कार्यक्रमहरु घोषणा गर्दा, पार्टीमा संयुक्त्त छलफल, निर्णय र सहमति पछि मात्र घोषणा गर्ने  

पार्टीको बैठक किन आवश्यक भन्ने बारेमा केहि सवालहरु यहाँ राख्नेछु.....


१) संबिधानलाई हेर्ने पार्टीको दृष्टिकोण के हुने ?

२) प्रदेश १ लाई लिम्बुवान पार्टीले कसरी हेर्ने ?

३) लिम्बुवान पार्टीको आगामी दिनको रणनीति र कार्यनीति के हुने ?

४) पार्टीको आन्तरिक विवादको समाधान कहिले हुने ?

५) पार्टी, संघठन तथा समितिहरु पार्टीको बिधान अनुसार किन संचालन हुन सकिरहेको छैन ?

६) पार्टी संघठन किन बलियो र सस्थागत हुन सकिरहेको छैन ?

७) पार्टी संघठन किन लोकतान्त्रिक बिधि अनुसार अघि बढ्न सकिरहेको छैन ?

८) संयुक्त लिम्बुवान सङ्घर्ष समिति र पार्टीको उच्चस्थरिय आन्दोलन समितिलाई कसरी हेर्ने ?

९) संयुक्त लिम्बुवान आन्दोलन समिति भित्रको संबिधान पक्षधर र बिरोधि पक्षधर बारे पार्टीले कसरी हेर्ने ?

१०) पार्टीले मधेस र किरात/खम्बुवानलाई हेर्ने पार्टीको के दृष्टिकोण हुने ?

११) कोचिला राज्य बारे पार्टीको अवधारणा के हुने ? तराईको ३ जिल्लालाई प्रदेश २ बनाउने कार्यलाई पार्टीले कसरि बुझ्ने ?

१२) लिम्बुवान आन्दोलनले किन गति लिन सकिरहेको छैन ?

१३) आन्दोलन महत्वपूर्ण हो कि बिधान र सदस्यता ?

१४) आफैलाई कमजोर बनाउने आत्मघाती विवाद किन ?

१५) पहिचान बिनाको सम्बिधान असोज ३ गते आएको छ / यो सम्बिधानलाई हेर्ने पार्टीको आधिकारिक धारणा तथा दृस्टिकोण के हुने ?

१६) १४ जिल्लालाई समेटेर प्रदेस न १ आएको छ तर यस बिसयमा पार्टीको आधिकारिक दृस्टिकोण केन्द्रिय सदस्य नेताहरुलाई थाहा छ ? यसमा पार्टीको ठोस धारणा के बनाउने ?

१७) लिम्बुवानको झापा, मोरङ र सुनसरी अन्य पार्टीहरुले दाबी गरी रहेको छन ! यो बारेमा हाम्रो पार्टीको ठोस अवधरणा र दृस्टिकोण के हो ? के यस बारेमा सबै नेताहरु बाहिर जथाभावी बोल्न पाइन्छ ?

१८) लिम्बुवान संयुक्त्त सङ्घर्ष समितिको केहि पार्टी-नेताहरुले पहिचान बिनाको संबिधानमा हस्ताक्षर गर्ने, दिपावली गर्ने, चुनाब लड्ने, भोट हाल्नेहरु छन तर संघीय लिम्बुवान पार्टीले बिरोध गर्ने, संबिधान जलाउने ? त्यसैले यस मोर्चामा बस्नुको औचित्य के होला ?

१९) पार्टीको केन्द्रिय कार्यलय माथी तोडफोड भयो तर यो बारेमा किन पार्टीको आकस्मिक बैठक बोलएइन ?

२०) पार्टीमा मिटिंग-बैठक गरेर चलाउने कि मिटिङ नगरि आदेशबाट मात्र पार्टी चलाउने ?

२१) पार्टीको बिधान अनुसार पार्टी-संघठन चलाउने कि नचलाउने ?

२२) पार्टीको सबै बिभाग, ४०० केन्द्रिय सदस्य, सबै जिल्ला, क्षेत्र, गाउ, नगर, सबै एल भि कमान्ड, सबै जन-बर्गिय सँगठनहरु र सबै प्रबास समितीहरु चलायमान गराउने कि नगराउने ? कि अदक्ष्य एकलैले चलाउने ?

२३) आन्दोलनमा भएको घाइते र सहिद भयो भने, पार्टीले के गर्ने ? यस बिसयलाई पार्टीले कसरी सम्बोधन गर्ने ?

२४) पार्टीले लिम्बुवानको सबै जाती-समुदाय, संघ-सस्थाहरुसँग छलफल गरेरसंगै आन्दोलित गराउने कि नगराउने ?

२५) लिम्बुवान प्राप्तीको लागी कुट्नैतिक पहल गर्ने कि नगर्ने ?

२६) पार्टीले अहिलेसम्म गरेको आन्दोलन तथा कार्यक्रमहरुको समिक्षा गर्ने कि नगर्ने ?

२७) पार्टीले आफ्नै आन्दोलन गर्ने कि नगर्ने ?

२८) सबै नेताहरुको आन्दोलन प्रति साझा स्वमित्व लिने कि नलिने ?

२९) संयुक्त लिम्बुवान संघर्ष समितिमा आबद्द अधिकान्स पार्टीहरुले सम्बिधानमा हस्ताक्षर गरि सकेको छन् तर यस बिषयमा पार्टीले किन बोल्दैन ?

३०) संयुक्त लिम्बुवान संघर्ष समितिमा आबद्द नेताहरु बिभिन्न पदमा चुनाब लडेर पहिचान बिनाको सम्बिधान स्विकार गरी सकेका छन तर पार्टीले यसलाई कसरी लिने ?

३१) संयुक्त लिम्बुवान संघर्ष समितिको कुनै ठोस राजनीतिक एजेन्डा बिना कहिलेसम्म आन्दोलनमा जाने ?

३२) औचित्यहिन आन्दोलन गरि कहिलेसम्म प्रवास समतिको पैसा खाने ?

३३) लिम्बुवान पार्टीको बैठक गत पौष महिना देखि किन हुन सकेको छैन ?

३४) लिम्बुवानको तिन जिल्ला विवाद बारे पार्टीको अवधारणा के हुने ?


"पार्टी एकतालाई सस्थागत र बलियो पारि लिम्बुवान क्रान्तिलाई नयाँ उच्चाईमा पुर्याउने उदेश्यले पार्टी भित्र भएको कमीकमजोरी र सुधारको लागि पार्टीमा बहस चलाउन भाग -१,२,३ र ४ सम्म मेरो विचार-विश्लेषण तथा मूल्यांकन सम्प्रेषण गरेको छु / यस बिषय बारेमा अझै धेरै बाकी कुराहरु लेख्नु पर्ने थियो तर यस लेखन कार्यको क्रममा धेरै जनाबाट व्यक्तिगत गालि र अपमानको टिप्पणी आएको छ / जसको कारण मेरो लेखन कार्य यहि समाप्त गर्न चाहन्छु"

यस लेख /विचार स्वतन्त्र लिम्बुवानी सर्वसाधारण जनता Dammar Labung बाट.... 



Share: Note:- तपाईं हरु लाई यो पोस्ट मन परे मा Like, Share र Commnets गरी दिनु होला

0 comments:

Post a Comment