नेपालका बाहुनवादीहरु (बाहुन हुनासाथ स्वतः बाहुनवादी हुन्छ ?)
मानव उत्पत्ति र उदयको क्रममा महिला–पुरुषबीच कुनै भेदभाव थिएन । त्योबेला भोकलाग्दा खान पाउनु र बाँच्नु नै सबैभन्दा ठूलो कुरा थियो । समूह भएर शिकार गर्ने, जङ्गलमा तरुल, फलफूल वा कन्दमुलको खोजी गर्ने गर्दथे । महिला–पुरुष, ठूलो–सानो तथा उच्च–नीच आदि जातीय भेदभाव पनि त्यतिखेर थिएन ।
शिकारी युगबाट क्रमशः निश्चित भूगोलमा जब मानिसहरू बस्न, पशुपालन गर्न र खेतीपाती गर्न थाले । त्योसँगै बलियोले कमजोरमाथि शासन गर्ने चलन सुरु हुनथाल्यो । युद्ध, झगडा आदिबाट हारेका पुरुष तथा महिलालाई जित्नेले आफ्नो अधीनमा राख्न थाले । खेती गरेर अन्न उब्जाउने, घर, बाटो, कुवा, पशुपालन गर्ने क्रमसँगै मानिसहरूको पहिलो समाज चल्न थाल्यो । त्यहीबेलादेखि नै महिलालाई घर व्यवस्थापन, खानपिन तथा बच्चा बच्चीको हेरचाह गर्दै पुरुषको अधीनमा बस्नुपर्ने आदि कार्यको आधारमा महिलाहरूको हक–अधिकार खोसिँदै गए ।
बाहुनवादलाई ठीक ढङ्गले नबुझ्दा सबैभन्दा बढी त बाहुन नै आत्तिएका र डराएका छन् । बाहुनवाद भनेको बाहुन जातिकै विरोध हो भन्ने भ्रम कतिपयलाई परिरहेको छ । यसैकारणले गर्दा पनि बाहुनवादको सही ढङ्गबाट परिभाषा एवम् व्याख्या गरिन आवश्यक छ ।
अब समाज विस्तारै सामन्ती सोच, पितृसत्ता वा पुरुषप्रधान बन्दै गयो । समाज समयअनुसार परिवर्तन भएता पनि महिलामाथि हुने भेदभाव, सोच, व्यवहारमा परिवर्तन भएको छैन । हालसम्म पुरुषको देश हो र महिलाको चाहिं घर हो भन्ने सर्वस्वीकार्य स्थापित सामाजिक मान्यता भएजस्तो गरी महिलामाथि भेदभाव जारी छ ।
२. सामन्ती सोच
एकात्मक राज्यसत्ताको विरुद्ध संघर्षरत हामी भनिरहेका छौं, त्यो एकात्मक राज्यसत्ताको केन्द्र सिंहदरवारलाई भत्काउनुपर्छ । सिंहदरवारभित्र बसेर नेपालका आदिवासी जनजाति, महिला, दलित, उत्पीडित आदि जनतालाई मुठ्ठीभर शासकहरूले शताब्दीयौंदेखि शासन गरिरहेका छन् । एकात्मक राज्यसत्तालाई मजवुत बनाउने बाहुनवादी (ब्राह्मणवाद) सोच हो । यो बाहुनवाद सामान्तवादको एक महत्वपूर्ण रुप हो । बाहुनवादी सोचले सामाजिक, सांस्कृतिक सत्ताको रुपमा समाजमा जरो गाडेर बसेको छ । समाजमा स्थापित सत्ताको रुपमा रहेको सामन्तवादी बाहुनवादी सोचका कारण पनि सिंहदरवार भत्काउने हाम्रो संघर्ष अधुरो सपना बन्दै आएको छ ।
‘बाहुनवाद’बारे लेखक तथा राजनीतिक विश्लेषक अरुण बराल आफ्नो बाहुनवाद (२०६५:५) नामक पुस्तकमा लेख्नुहुन्छ, ‘बाहुनवादलाई ठीक ढङ्गले नबुझ्दा सबैभन्दा बढी त बाहुन नै आत्तिएका र डराएका छन् । बाहुनवाद भनेको बाहुन जातिकै विरोध हो भन्ने भ्रम कतिपयलाई परिरहेको छ । यसैकारणले गर्दा पनि बाहुनवादको सही ढङ्गबाट परिभाषा एवम् व्याख्या गरिन आवश्यक छ ।
ब्राह्मणवाद (बाहुनवाद) भनेको एउटा दृष्टिकोण हो, दर्शन हो । यस दर्शनमा अरुलाई होच्याएर तल्लो दर्जामा दासत्व र प्रभुत्ववादी प्रचलन कायम राख्दै कुनै एक जातिविशेषलाई मात्र जन्मदै ठूलो र पुजनीय भनी उपल्लो तहमा राखिन्छ ।
कतिपयको तर्क के छ भने बाहुनवाद शब्दको प्रयोग गर्दा एउटा निश्चित जातिमाथि प्रहार हुनजाने र बाहुन जातिको चित्त दुख्ने हुँदा यसको साटो हिन्दुवाद, पुरेतवाद वा अन्य कुनै वैकल्पिक शब्दको प्रयोग गर्न उचित हुन्छ । तर, हामीले यो कुरा बुझ्न आवश्यक छ कि हिन्दुवाद भन्नाले जातिप्रथाविरोधी हिन्दु सम्प्रदायलाई पनि असर पर्छ । त्यस्तै, हिन्दुवाद भनेपछि अन्य मुस्लिम, क्रिस्चियन, बौद्ध, किरात वा अन्य धर्मावलम्बी पनि आकर्षित हुने भएकोले हिन्दुवाद शब्दलाई बाहुनवादका ठाउँमा प्रयोग गर्नु उपयुक्त हुँदैन ।
‘दोस्रो कुरा, हिन्दुवादअनुसार बाहुनले आफूलाई हिन्दु–कानुनभन्दा माथि राखेका हुनाले बाहुन शब्द आफैमा सामाजिक विभेदको प्रतिनिधि शब्द हो । त्यसैगरी, ब्राह्मणवाद भन्नाले नेपाल र भारतका सबै हिन्दुवादी ब्राह्मणलाई जनाउँछ भने बाहुन र बाहुनवादभन्दा नेपालकालाई मात्र बुझिन्छ । बाहुनमात्रै भन्दा सबै बाहुनलाई बुझिन्छ भने बाहुनवाद वा बाहुनवादी भन्नाले रुढीवादी बाहुनलाई मात्रै बुझाउने हुँदा यसमा सबै बाहुनले चित्त दुखाउने प्रश्नै उठ्दैन ।’
२.१ बाहुनवादका लागि निम्न सर्त पूरा भएको हुनुपर्छ
एक, हिन्दु जातिवाद एवम् अध्यात्मवादमा विश्वास गर्ने, कर्मकाण्ड गर्ने/गराउने, जातीय प्रथा मान्ने र छुवाछूत प्रथामा विश्वास गर्ने । तर, जसले विभेद, छुवाछूत, कर्मकाण्ड र अध्यात्मवादलाई मान्दैन, ऊ बाहुन भएर पनि बाहुनवादी होइन । अनि जसले यी कुप्रथाको पक्षपोषण गर्छन्, तिनीहरू बाहुन नभए पनि बाहुनवादी हुन्, बाहुनवादका भरिया हुन् ।
हिन्दुवाद शब्दले नेपालका बाहुनवादीको असली प्रतिनिधित्व गर्दैन । यसका लागि बाहुनवाद नै उपयुक्त हन्छ । हुन त नेपालका बाहुनवादी आफूलाई हिन्दु भन्नमा खुबै गर्व गर्छन् । तर, भारतीय लेखक रजनीकान्त शास्त्रीले आफ्नो पुस्तकमा हिन्दु शब्दको परिभाषा दिंदै भनेका छन्– हिन्दु हुनका लागि दुईवटा सर्त पूरा हुनुपर्छ । पहिलो, भारत वर्षलाई आफ्नो पूर्वजको मातृभूमि मान्नु र दोस्रो, कुनै पनि भारतीय धर्मको अनुयायी हुनु । यसैबाट प्रस्ट हुन्छ कि हिन्दु धर्म नेपाल र नेपालीको राष्ट्रिय धर्म होइन, वनारसी धर्म हो ।
ब्राह्मणवाद (बाहुनवाद) शोषक वर्गमा जहाँसुकै छ । जनजातिमा पनि ब्राह्मणवाद (बाहुनवाद) छ । स्वामी प्रपन्नाचार्य जातले बाहुन होइनन्, तर विचारले उनी पनि ब्राह्मणवादी नै हुन् । कुनै दलित जातिको मान्छे शोषक खालको छ भने ऊ पनि ब्राह्मणवादी हो ।
बाहुनवाद भनेको भारतीय हिन्दुवादको नेपाली संस्करण हो । यसलाई बाहुनवाद शब्दले सम्बोधन गर्नु उपयुक्त छ । बाहुनवादी भन्नाले हाम्रो आशय हिन्दुवादी जातीय विभेद् र रुढीवादमा विश्वास गर्ने र सो अनुरुपको व्यवहार गर्ने उपाध्याय बाहुन, जैसी, क्षेत्री, कुमाई र अन्य जातिसमेतलाई भन्न खोजिएको हो । नाक चुच्चो गरेका आर्य, जो जातिप्रथा, अध्यात्मवाद, हिन्दुवाद र कर्मकाण्डवादको वकालत गर्छन्, ती सबैलाई बाहुनवादी भन्न खोजिएको हो ।
कुनै दलित वा जनजाति पनि जातिप्रथा र कर्मकाण्डवादको वकालत गर्छन् भने बाहुनवादको अंश तिनीहरूमा पनि छ भनिएको हो । समग्रमा आशय भनेको के हो भने बाहुनवाद कुनै जातीय विशेषताभन्दा पनि एउटा प्रतिक्रियावादी एवम् समाजविरोधी विचारधारा हो । तर, यसको प्रमुख र असली भरियाचाहिँ जोगी, पुरोहित र उपाध्याय बाहुन नै हुन् । हिन्दुधर्म बाहुनवादको वैचारिक मेरुदण्ड हो ।
चर्चित समाजशास्त्री डोरबहादुर विष्ट (२०६३:९६) ले भनेका छन्– ‘ब्राह्मणवाद (बाहुनवाद) भनेको एउटा दृष्टिकोण हो, दर्शन हो । यस दर्शनमा अरुलाई होच्याएर तल्लो दर्जामा दासत्व र प्रभुत्ववादी प्रचलन कायम राख्दै कुनै एक जातिविशेषलाई मात्र जन्मदै ठूलो र पुजनीय भनी उपल्लो तहमा राखिन्छ ।’
डोरबहादुर विष्टले थप कुरा भनेका छन्– ‘मुलुकमा विद्यमान असमानता, कुरीति, जातीय भेदभाव, उच्च–नीचको कारण देश विकासमा अवरोध खडा भएको छ । यहाँ जन्मँदै ब्राह्मण (बाहुन) ठूलो र पुजनीय हुने अवैज्ञानिक परम्परा रहेको छ । यसको विरोध गर्नेहरूलाई साम्प्रदायिक भनेर आरोप लगाइन्छ । हाल ब्राह्मणवादी (बाहुनवादी) हरूले नेपालमा क्रिश्चियन धर्म हावी भयो, हिन्दु धर्ममाथि कुठाराघात भयो भनिरहेका छन् । तर, नेपालका अन्य जनजातीय मौलिक धर्म–संस्कार, संस्कृतिमाथि ऐतिहासिक कालदेखि नै हिन्दुधर्मले एकछत्र दमन गर्दै आएको कुराचाहिँ किन देख्दैनन् ? बोल्दैनन् किन ?’
मोहन वैद्य किरणका (बाहुनवाद पुस्तकको भूमिका) अनुसार ब्राह्मणवाद (बाहुनवाद) शोषक वर्गमा जहाँसुकै छ । जनजातिमा पनि ब्राह्मणवाद (बाहुनवाद) छ । स्वामी प्रपन्नाचार्य जातले बाहुन होइनन्, तर विचारले उनी पनि ब्राह्मणवादी नै हुन् । यसर्थमा हामीले ब्राह्मणवाद शब्दको प्रयोग गर्नुपर्ने हुन्छ । कुनै दलित जातिको मान्छे शोषक खालको छ भने ऊ पनि ब्राह्मणवादी हो । हाम्रो नेपाली सन्दर्भमा ब्राह्मणवादले सामन्तवादी (एकात्मक) राज्यसत्तालाई पूरै जोगाउने काम गरेको छ । सामन्तवादको विशेषता नै के हुन्छ भने सामाजिक चेतनाका सबै रुपहरू धर्मको अधीनमा हुन्छन् । सामन्तवादमा राजनीति पनि धर्मको अधीनमा हुन्छ । नैतिकता, कानुन, सौन्दर्य चिन्तन सबै धर्मको अधीनमा हुन्छन् ।
प्रसिद्ध मानवशास्त्री डोरबहादुर बिष्टले फ्याटालिजम् एन्ड डेभलप्मेन्ट पुस्तकमा यही ब्राह्मणवादलाई बाधक मानेका छन् भन्दै लेखक अभय श्रेष्ठ नागरिकमा लेख्छन्– ब्राह्मण समुदाय सबै ब्राह्मणवादी र अन्य समुदाय ब्राह्मणवादविरोधी भन्ने होइन । वैश्य र शुद्रलाई नीच मान्ने क्षत्रिय । नेवारमै साल्मी, च्यामे, पोडे, कसार्इं, गाइनेलाई अछुत व्यवहार गर्ने वज्राचार्य, प्रधान, श्रेष्ठ र जोशी । अनि मधेशीमै डोम, मुसहर, पासवान, बादीलाई अछुत ठान्ने झा, यादव र दलितमै अन्य दलितलाई छुवाछूत गर्ने सबै ब्राह्मणवादी हुन् ।
बाहुनवाद (ब्राह्मणवाद) एक सोच हो । एक अदृश्य शक्तिशाली सत्ता हो । कुनै व्यक्ति, जात, जाति, धर्म स्वयम् अर्थात् स्वतः बाहुनवादी (ब्राह्मणवादी) हुन सक्तैन । यो व्यवहारमा प्रकट हुने हो ।
क्रमशः
esamata.com बाट साभार

0 comments:
Post a Comment