Breaking News
Loading...
######


के जात र जाति एउटै हुन् ?
के जात र जाति एउटै हुन् ?
मानव समाजको विकास क्रम हेर्ने हो भने मानिसहरू व्यक्ति, परिवार, झुण्ड, गण, कबिला, जनजाति हुँदै जाति वा राष्ट्रका रूपमा विकसित भएको देखिन्छ । जाति र राष्ट्र पर्यायबाची शब्द हुन् । राष्ट्र/जाति (Nation) ले साझा भाषा, साझा ऐतिहासिक भूगोल, साझा संस्कृति, साझा आर्थिक जीवन, साझा मनोविज्ञान र राजनीतिक परियोजना विकास गरेको एक स्थिर ऐतिहासिक मानव समुदायलाई बुझाउँछ । तसर्थ आर्य, तामाङ, नेवार, मगर, गुरुङ, थारु, लिम्बु, किरात जाति वा राष्ट्र हुन् ।
आर्य जाति पनि वैदिक आर्य र खस–आर्यमा विभाजित छन् । जेहोस् आर्य जाति हिन्दु धर्म मान्दछन् र त्यस जातिमा वर्णव्यवस्था छ । यो व्यवस्थामा मानिसहरू जन्मका कारण उच्चनीच श्रेणीमा विभाजित हुन्छन् त्यसलाई जातप्रथा भनिन्छ । यससअनुसार सबभन्दा उच्च जात बाहुन (ब्राह्मण), दोस्रो क्षेत्री, तेस्रो वैश्य, चौथो शूद्र र सबभन्दा तल अछूत जातहरू पर्छन् । तसर्थ आर्य एउटा जाति हो र त्यसभित्रको उँच–नीच श्रेणी विभाजन जात हुन् । खस–आर्य जातिभित्र जातप्रथा छ भने आदिवासी जनजातिभित्र जातप्रथा छैन । जनजाति समुदायमा नेवार समुदाय एक अपवादका रूपमा रहेको छ ।
आदिवासीले के बुझाउँछ ? के सबै जनजाति आदिवासी हुन् ?
अन्तर्राष्ट्रिय प्रचलनअनुसार आदिवासी जाति (Indigenous peoples) भन्नाले त्यस्तो समुदायलाई बुझाउँछ, जो त्यो क्षेत्रमा आधुनिक राज्य बन्नुभन्दा पहिलेदेखि बसोबास गरिरहेछ वा राज्य बन्ने क्रममा अतिक्रमिक वा विस्थापित भएका छन्, वर्तमान मूलप्रवाहका मानिसभन्दा भिन्न सांस्कृतिक पहिचान राख्दछन्, सत्ताबाट उत्पीडनका कारण अधीनस्थ छन् र आफूलाई आदिवासी जाति हौं भनी दाबी गर्दछन् । अतः आदिवासी जाति भनेका निश्चित भूगोलको पहिलो आवाद गर्ने जाति वा बासिन्दा (First settlers) हुन् । आदिवासीलाई राष्ट्रसंघले ऐतिहासिक राष्ट्र (Nations) र जाति (Peoples) हुन् भनी सम्बोधन गरेका छन् । आदिवासी भन्नु र मूलवासी भन्नु एउटै हो ।
त्यसैले नेपालको सन्दर्भमा हिन्दु आर्य जात समुदायको आगमन वा अतिक्रमण सुरुआत हुनुभन्दा पहिलेदेखि बसोबास गर्दै आएका वा १३औं शताब्दीपूर्व नेपालको खासखास भूभागमा स्वशासित राज्य, मुख्खेली, ठकुराईको विकास गरी प्रादेशिक सभ्यता (ऐतिहासिक भूगोल) बनाएका, तत्कालीन नवगठित राज्यसत्ताहरूबाट पराजित, उत्पीडित तथा विस्थापित भई विभिन्न क्षेत्रमा पुगेका तर पनि हामी एक हौं भन्ने साझा भूगोल, साझा संस्कृति, साझा भाषा, परम्परागत संस्था, विश्व दृष्टिकोण र मनोवैज्ञानिक संरचना तथा राजनीतिक परियोजना भएका हिन्दू वर्णव्यवस्थाभित्र नपर्ने समुदायलाई आदिवासी जाति भन्न सकिन्छ ।
के जनजाति र अल्पसंख्यक भन्नु एउटै हो ?
कुनै निश्चित क्षेत्रका जनसंख्याभित्र अवस्थित संख्यात्मक दृष्टिले थोरै र सामाजिक आर्थिक दृष्टिले प्रभुत्वहीन (अधीनस्थ) धार्मिक, भाषिक, जातीय वा राष्ट्रिय तर आफ्नो सांस्कृतिक पहिचानको संरक्षण गर्न उद्यत छन् भने त्यस्तो समुदायलाई अल्पसंख्यक (Minority) भनिन्छ । यो समुदायको अधिकारको न्यूनतम मापदण्ड राष्ट्रसंघीय अल्पसंख्यक घोषणापत्र १९९२ मा व्यवस्थित गरिएका छन् । अल्पसंख्यक धेरै किसिमका हुनसक्छन् । जस्तै : धार्मिक, भाषिक, जातीय वा राष्ट्रिय अल्पसंख्यक । आजभोलि आप्रवासी कामदार अल्पसंख्यक, उपसमूह अल्पसंख्यक, राज्यविहीन अल्पसंख्यक पनि बनेका छन् ।
जनजाति (Tribal peoples or nationalities) शब्दले सामाजिक आर्थिक विकासमा अन्य समुदायभन्दा पछाडि परेका वा अविकसित समुदायलाई बुझाउँछ । नेपालको सन्दर्भमा यसको विशेष किसिमले परिभाषा गरिएको छ । नेपालमा जनजातिले आफ्नै भिन्न सांस्कृतिक पहिचान भएको हिन्दु वर्णाश्रम व्यवस्थाभित्र नपर्ने प्रभुत्वहीन स्थितिमा रहेकोे समुदायलाई बुझाउँछ, जसले आफूलाई जनजाति भनी दाबी गर्दछन् ।
अर्को शब्दमा, नेपाल राज्यको स्थापनाताका वा त्यसपछि नेपाल प्रवेश गरेका वा नयाँ मुलुक फिर्ता हुँदा नयाँ सिमानाभित्र परेका समूहलाई जनजाति अल्पसंख्यक भन्न सकिन्छ । अतः आदिवासी जातिको सम्बन्ध भूगोल (थातथलो) र समय (ऐतिहासिकता)सँग सम्बन्धित छ भने जनजातिको सम्बन्ध विकाससँग मात्र हुन्छ । तसर्थ आदिवासी र जनजाति पर्यायवाची शब्द होइनन् र नेपालको सन्दर्भमा सबै आदिवासी जनजाति हुनसक्छन् तर सबै जनजाति आदिवासी होइनन् । जनजाति र अल्पसंख्यक सीमान्तकृतमा भने धेरै समानता रहेको छ ।

Share: Note:- तपाईं हरु लाई यो पोस्ट मन परे मा Like, Share र Commnets गरी दिनु होला