किरात याक्थुङहरूको धर्मदर्शन र महागुरु फाल्गुनन्दको सपना (भाग- २)
२. किरात याक्थुङ मुन्धुम् र धर्म-संस्कार:
किरात लिम्बु भाषामा ‘मुन्’ र ‘थुम्’ को संयोजनबाट बनेको मुन्धुमको शाब्दिक अर्थ गतिशील (Dynamic) हुनु भन्ने हुन्छ । यसर्थमा मुन्धुम् कुनै ऐतिहासिक कहानीमात्र नभएर जीवन्त दर्शन हो । एक गतिशील प्रक्रिया हो । यसले मानिसलाई समय र परिस्थिति अनुसार चल्न प्रेरित गर्दछ ।
“प्राचीन समयदेखि नै किरात समाजमा मुन्धुम् दुई विधामा मौलाएर आएको पाइन्छ । चिन्तन मनन् र कुनै पनि कार्यको अनुभवद्वारा प्राप्त गरेको परोपकारी ज्ञानलाई मानव समाजमा मुखाग्र अभिव्यक्त गर्न सिकाउनु बुझाउनुलाई ‘थुङ्साप् मुन्धुम्’ भनिन्छ । प्रकृतिको सिर्जनात्मक संसारलाई परोपकार गर्न जिउन, जियाउन मार्गदर्शनले भरिएको लिपिवद्ध ग्रन्थहरूलाई ‘पेसाप् मुन्धुम् भनिन्छ”(चोङ्बाङ्, २०५२)।
मुन्धुम् आफैमा एउटा गहन साहित्यकोष पनि हो । यसमा इतिहास, कथा, कहानी, मिथक र विभिन्न जीवनदर्शनहरू संग्रहित छन् । यसमा केवल कुनै काल्पनिक संसार र घटनाहरूको वर्णनमात्र छैन । मुन्धुममा त यही धरतीमाथि रहेका विशेषतः मुन्धुम मान्ने किरात समुदाय तथा लिम्बुजातिको बसोबास भएको ठाउँ लिम्बुवान जहा“ मुन्धुमअनुसार लिम्बु सभ्यताको विकास भएको थियो । त्यही परिवेशको सेरोफेरोमा रहेका डाँडाकाँडा, खोलानाला, पोखरी, पाखा–पखेरा र गुफाहरूको ऐतिहासिक वर्णन छ । पूर्खाहरूका कारुणिक गाथाहरू छन् । जीवनयापन गर्ने तौरतरिकाहरू छन् । जीवनलाई सञ्चालन गर्ने विधि–विधानहरू संग्रहित छन् ।
३. किरात याक्थुङ मुन्धुमः
किरात याक्थुङ मुन्धुम् सिङ्गै याक्थुङ सभ्यताको इतिहास हो । यसमा पूर्खाहरूका जीवन भोगाइका अनुभव र अनुभूतिहरू संकलित छन् । मुन्धुमको अध्ययन गर्दा किरात पूर्खाहरूले व्यतीत गरेका समयको अन्तरालमा कैयौं पटक मानव सभ्यताको शिखरमा पुगेको आभाष हुन्छ । यसको प्रमाणको रुपमा मुन्धुम्मा वर्णित जीवन र जगतको व्याख्या आधुनिक विज्ञानको आविष्कारस“ग मेलखाने किसिमको हुनु हो ।
मुन्धुमको सृष्टि वर्णन विज्ञानसम्मत छ । केही शताब्दी अघिमात्र पृथ्बी चेप्टो या गोलो छ ? पृथ्वी कि सूर्य घुम्छ भनेर वैज्ञानिकहरू विवाद गरिरहेका थिए । त्योभन्दा हजारौं वर्ष अगाडिदेखि नै किरात याक्थुङ पूर्खाहरूले भनिल्याएको मुन्धुममा पृथ्वी गोलो भएको र यसले सूर्यलाई परिक्रमा गर्ने कुरा सङ्केत गरेका छन् । पृथ्वीको सृष्टिपश्चात् वनस्पतिको सृष्टि भएको कहानी मार्मिक छ । पानी नपरेर बीउ नउम्रेको, रुख-पात सुकेको वर्णनहरू कारुणिक छन् । पानी पार्न छेलो हान्नु परेको कष्टहरू आश्चर्यजनक छन् । आखिरीमा, विरुवाहरू उम्रिँदा पनि पहिले त अनुपयोगी, विषालु रुखहरू मात्र उम्रिएको कहानीहरू छन् । कालान्तरमा विभिन्न विरुवाहरू पलाएर हरियाली छायो । त्यसपछिमात्र जीवजन्तु तथा पशुपंक्षीहरूको उत्पत्ति भएको वर्णन छ । अब त्यतिले मात्र धरती–आकाश नसुहाएर आखिरीमा मानवको उत्पत्ति र विकास भएको वर्णन मुन्धुममा पाइन्छ ।
किरात याक्थुङ पूर्खाहरूले ती जीव-जन्तुहरूसंग कसरी साक्षात्कार गरी जीवन यापन गर्दै आए भन्ने कुरा मुन्धुम्मा वर्णित कुकुर, बिरालो, बाँदर, बोका, सर्प, चिललगायत विभिन्न पशुपंक्षीहरूको वर्णनबाट थाहा हुन्छ । त्यसैगरी किरात/याक्थुङ हरूले नाच्ने ढोल (च्याब्रुङ) नाचमा नक्कल गरिने पशुपंक्षीहरूको नाचले पनि किरात/याक्थुङहरू र ती पशुपंक्षीहरूबीचको नजिकको सुसम्बन्धलाई इङ्गित गर्दछ । किरात लिम्बूहरूको धाननाच र राईहरूको साकेला सिलीनाच आदिको साङ्केतिक वर्णन र गीत-संगीतले उनीहरू कसरी जंगलीयुगबाट कृषियुगमा प्रवेश गरी जीवनयापन गर्न सिके भन्ने कारुणिक कहानीहरू महशुस गर्न सकिन्छ ।
४. किरात/याक्थुङहरूको धर्म-संस्कारः
‘धर्म’ आफ्नो बुझाइबाट धारणाहरू निर्माण गर्ने प्रक्रिया हो । मुन्धुमलाई बुझेपछि आफूमा जुन धारणा निर्माण हुन्छ त्यही धर्म हो । धर्म भनेको स्वभाव पनि हो । कुन मान्छेको स्वभाव कस्तो हुने भन्ने कुरा उसको बुझाई र उसलाई समायोजित गराइमा भर पर्दछ । आगो तातो हुनु, बल्नु त्यसको स्वभाव हो र त्यही नै आगोको धर्म पनि । त्यस्तै किरात/याक्थुङहरू किरात/याक्थुङजस्तो हुनु, त्यसरी जीवनधारण गर्नु र त्यस्तै स्वभावको हुनु जस्तो मुन्धुमले निर्देशित गरेको छ, त्यही नै किरात/याक्थुङहरूको धर्म हो । तर, किरात/याक्थुङ मुन्धुमको अर्थ एकातिर र जीवनधारण अर्कोतिर हुनु किरात/याक्थुङहरूको धर्म होइन । किरात धर्म आफ्सेआफ् आफूमा जागृत हुने धारणा पनि होइन । यसको लागि सर्वप्रथम आफैले आफ्नै बन्द इन्द्रीयहरूलाई खुल्ला गर्न सक्नुपर्दछ । मुठीहरू फुकाउन र हातहरू उठाउन सक्नुपर्दछ । त्यसका लागि कम्तीमा पनि किरात/याक्थुङ मुन्धुमको अध्ययन गर्नु र आफ्नै संस्कारहरूको अवलम्बन गर्नु प्रथम खुड्किला हुनेछ । यदि कसैले आफ्नै जातीय संस्कारहरूलाई अवलम्बन गर्दैन भने उसमा मौलिक धर्मको स्वभाव जागृत नहुनु कुनै अनौठो कुरा होइन । बरु, ऊ र उसको परिवार वा समाज फेद न टुप्पाको अथवा यता न उत्ताको हुन्छ । उसले आफ्नो र पराई खुट्याउन सक्दैन । आफ्नोलाई चिन्दैन र पराइलाई बुझ्दैन । अनि उसको जीवन चमेराको कथाझैं ब्यथित् हुनसक्छ ।
किरात/याक्थुङहरूको धर्म संस्कार अवलम्बन गर्नु भनेको मुन्धुम् दर्शनले चाहेजस्तो व्यक्तित्व भएको जीवन निर्माण गर्नु हो । जुन व्यक्तित्व उसको सोचाई, बुझाई, लवाई खुवाई र व्यवहार गराई आदिमा झल्किंदै जान्छ र ऊ दुनिया“को प्रियपात्र भई सफलताको सिंढीहरू चढ्दै जान्छ । यही मूलमार्गको पहिचान गर्नु नै एक अर्थमा किरात/याक्थुङहरुको धर्मको मूलमार्गमा रहनु हो ।
तर, किरात/याक्थुङहरुको धर्म-संस्कारको अवलम्वन गर्दा पहिले पूर्खाले जे गरेर ल्याए जसरी बा“चेर आए अहिले पनि त्यही अनुसार नक्कल गर्नुपर्दछ भन्ने होइन । हामीले पकड्ने कुरा मूलदर्शन एवं मुन्धुम्को मर्म हो । त्यही दर्शनले निर्देशित भई समयानुसार चल्नसक्नु पनि किरात/याक्थुङहरूको धर्म संस्कारको सही अवलम्वन गराई हो ।
सन्दर्भसूची
चोङ्बाङ्, हरि । २०५२ । किरात ऐतिहासिक दर्पण –१
क्रमश:.....
(नोट: यो लेखोट, महागुरु फाल्गुनन्दको स्मृति दिवसको अवसरमा २०६४ साल कात्र्तिक २५ गते किरात याक्थुङ् चुम्लुङ् केन्द्रद्वारा आयोजित कार्यक्रममा प्रस्तुत गरिएको एक अवधारणा–पत्रको सम्पादित अंश हो |)

0 comments:
Post a Comment