Breaking News
Loading...
######


राज्य र राष्ट्रमा फरक छ है
 
राज्य र राष्ट्र भनेको के हो ? 
राज्य (State) ले स्थायी जनसंख्या, निश्चित भौगोलिक क्षेत्र, सरकार र अरु राज्यहरुसँग सम्बन्ध राख्नसक्ने क्षमतासहित सार्वभौम नियन्त्रण भएको राजनीतिक सत्व (Entity) लाई राज्य भनिन्छ । यस्तो राज्यको स्वरूप राष्ट्र–राज्य (राष्ट्रिय राज्य) वा बहुराष्ट्रिय राज्य दुवै हुन सक्दछ ।
एउटै राजनीतिक प्रशासनिक भूगोलमा एकल राष्ट्रको विपरीत एकभन्दा बढी राष्ट्रहरू छन् भने त्यस्तो राज्यलाई बहुराष्ट्रिय राज्य (Multi–national state) भनिन्छ । नेपाल र भारत बहुराष्ट्रिय राज्य हुन् । मानव समाजको विकासको क्रममा कतिपय क्षेत्र/देशमा एक राष्ट्र (जाति) एक राज्य (प्रशासनिक भूगोल) बन्यो । यसलाई राष्ट्र–राज्य (Nation state) भनिन्छ । त्यहाँ राज्य र राष्ट्रलाई पर्यायका रूपमा प्रयोग गर्ने चलन पनि छ ।
युरोपमा एक राष्ट्र एक राज्य बनेकोले राष्ट्र—राज्य भन्नु र राज्य—राष्ट्र भन्नु एउटै कुरा हो । तर राज्य बन्नुको लागि राजनीतिक भूगोल र सरकार (प्रशासनिक संयन्त्र) अनिवार्य तत्व हुन्, राष्ट्रका लागि ती आवश्यक छैनन् ।
के त्यसो भए अन्तरिम संविधानमा गरिएको राज्य र राष्ट्रको परिभाषा उपयुक्त छ ?
२०४७ सालको संविधान र २०६२/६३ सालको अन्तरिम संविधानमा गरिएको राज्यको परिभाषामा बहुजातीय भनिएको छ र बहुजातीय भनेको बहुराष्ट्रिय नै हो । त्यो स्पिरिट ठीक छ तर राष्ट्रको परिभाषा भने ठीक छैन । सन् ७०/८० को दसकमा मेरो विचार पनि त्यस्तै थियो । बाबुराम भट्टराईद्वारा सम्पादित तथा अखिल भारत नेपाली विद्यार्थी संघद्वारा प्रकाशित ‘जनमानस’ पत्रिकामा नेपाली राष्ट्रियताका विषयमा यस्तै कुरा लेखेथें । यसमा मैले अहिले सच्याउने काम गरेको छु । नेपाल बहुराष्ट्रिय राज्य हो । तसर्थ बहुजातीय स्वरूपको मुलुकलाई एक राष्ट्र भन्नु राजनीतिक रूपमा गलत हुन्छ ।
राष्ट्रवाद, अन्धराष्ट्रवाद र बहुलराष्ट्रवादमा के भिन्नता छ ?
राष्ट्रवाद (Nationalism) ले साझा जाति, साझा भाषा, साझा भूगोल र साझा अर्थतन्त्र र साझा मनोविज्ञानको रूपमा विकसित मानव समूहलाई बुझाउँछ । त्यसको आधारमा स्वशासन तथा स्वायत्तता चाहने राजनीतिक सत्वलाई राष्ट्रवाद भनिन्छ ।
बहुराष्ट्रिय देशमा एउटा राष्ट्रले अर्को राष्ट्रलाई आफूभित्र विलय गर्न खोज्ने, उसमाथि वर्चस्व (नियन्त्रण)मा राख्ने वा उसलाई राज्यबाट निषेध गर्ने वा राष्ट्र–राज्यको भूगोलबाट विस्थापन गर्न खोज्ने राष्ट्रवादलाई अन्धराष्ट्रवाद (Ultra/aggressive nationalism) तथा अहंकारवाद (Hegemonism/chauvinism) भनिन्छ ।
यसको विपरीत बहुलवाद (Pluralism) एउटा त्यस्तो प्रणाली वा दर्शन हो, जसले विविधताको सम्मानका रूपमा विभिन्न मत, नैतिक तथा धार्मिक आस्था एवं सांस्कृतिक तथा सामाजिक व्यवहारलाई स्वीकार गर्दछ ।
बहुलसंस्कृतिवाद (Multiculturalism) ले कुनै देश वा भूभागभित्रका अनेक संस्कृति, धर्म, जाति तथा जनजातिहरूलाई समानताका आधारमा मान्यता (हैसियत) दिने र सम्मान गर्ने राजनीतिक विचारलाई बुझाउँछ । यस्तै, एउटै सार्वभौमराज्यभित्र धेरै राष्ट्रहरूको अस्तित्वलाई स्वीकार गरेर समान हैसियत प्रदान गरिन्छ भने त्यसलाई बहुलराष्ट्रवाद (plurinationalism) भनिन्छ ।
अहिले हिन्दूअन्धराष्ट्रवादको विरोध गरिन्छ । संघीयताले स्थानीय जातीय अहंकारवाद पनि जन्माउन सक्छ, त्यसबेला के गर्ने ?
बहुराष्ट्रिय नेपालमा हिन्दूराष्ट्रको सोच र माग हिन्दूअन्धराष्ट्रवाद हो । हिन्दूत्वको छत्रछायामुनि अन्य धर्महरू रहनुपर्छ भन्नु हिन्दू अहंकारवाद हो । यो अहिले धर्मसँग मात्र सम्बन्धित रहेन । यसले नेपालको राजनीति र राज्यलाई आफ्नो नियन्त्रणमा लियो र त्यसै मतअनुसार राज्य चलायो पनि । आफ्नो वर्चस्व स्थापित गर्ने योजनामा अरुको पहिचान, अस्तित्व र जीवन निर्वाहका आधारहरु समाप्त पार्ने काम गर्‍यो । यसैले हिन्दूअन्धराष्ट्रवादको विरोध गर्नु परेको हो ।
भोलि संघीयता भइसकेपछि स्थानीय जातीय अहंकारवाद जन्मन सक्छ । जति मात्रामा राष्ट्रिय रूपमा हिन्दूअन्धराष्ट्रवाद/अहंकारवाद खराब छ, त्यत्तिकै रूपमा स्थानीय जातीय अहंकारवाद पनि खराब हुन्छ । हामीले त्यसको पनि विरोध गर्नुपर्दछ र निरन्तर संघर्ष जारी राख्नुपर्दछ । नेपालजस्तो बहुजातीय देशमा यो दीर्धकालीन जनसांस्कृतिक अभियानकै हिस्सा हुनुपर्दछ ।
इसमता बाट साभार.......
Share: Note:- तपाईं हरु लाई यो पोस्ट मन परे मा Like, Share र Commnets गरी दिनु होला