हङकङबाट जस्तो लाग्छ‚ हाङ्युग अज्ञातले आफ्नो स्ट्याटसमा लेखेका रहेछन्; “आदिवासी जनजातिको आन्दोलन फेसन शोजस्तो होइन, झाँकी प्रदर्शन गर्यो , डम्फू च्याक् दुङ दुङ पार्यो, ढोल झ्याम्टा, च्याब्रुङ र धिमे बजायो, घलेक बाँध्यो । अनि, मख्ख पर्यो । हाम्रो आन्दोलन गरगहना र लुगाफाटोहरूमा अल्मलिरहेको छ ।”
कमेन्ट लेख्न मन लागेर निकै बेर लाएर लेखें । उनकोमा त कमेन्ट पोस्ट नै गर्न सकिनँ बा । अनि आफ्नै स्ट्याटसमा लु खा :
संस्कृतिलाई मानवशास्त्रीय पारामा यसरी बुझ्ने प्रयास गर्छु म । रुप/वस्तु पक्ष र सारपक्ष/अर्थपूर्णता : दुई प्रमुख आयामहरू हुन् संस्कृतिका ।
च्याब्रुङ, साम्म्याङफुङ, ढुङ्ग्री बुलाकी, छिटको फरिया अर्थात केलाङ नै सम्पूर्णतामा वस्तु हो । यिनै वस्तुहरूमा हाम्रो नजर पर्दा, हामीले सुन्दा, स्पर्श गर्दा हाम्रो मन र मस्तिष्कलाई आल्हादित गराउँदै जो लहर/तरंगहरू, ध्वन्यात्मकता/रन्कोहरू पैदा हुन्छन् त्यो नै हो सारभूतता/अर्थपूर्णता ।
यसरी ‘साइन’ र ‘सिग्निफिकन्स'; ‘सिग्निफाइअर’ र ‘सिग्निफाइड’ को अर्थमा बुझ्छु म सामान्य अर्थमा संस्कृतिलाई ।
वस्तु र सार दुवै पक्षको सर्जक भनेको हामी मनुवाहरू नै हौं ।
वस्तु र सार दुवै पक्षको सर्जक भनेको हामी मनुवाहरू नै हौं ।
‘प्राणीहरूमध्ये मनुवाहरूलाई मात्र सांस्कृतिक मानिन्छ । किनभने कुनै वस्तु र अर्थको सिर्जना गर्नुअघि नै मनुवाहरूले आफ्नो काल्पनिकीमा त्यसको प्रतिरुप- नक्सा तयार गर्दछन’ (मार्क्स) ।
धमिराले माटोको बहुतै सुन्दर पहाड बनाउँदछ, तर त्यो पहाडको प्रतिरुप- नक्सा उसको दिमागमा हुन्छ त ? मनुवाकोमा जरुर हुन्छ ।
यहीँनेर प्रश्न गर्न मन लाग्छ: आदिवासी महोत्सवको अवसरमा लिम्बू पहिरन र गर्-गहनामामा सजिएर केलाङ नाचिरहेका, कार्यक्रममा रमाइरहेका, कार्यक्रमपछि तङ्बा र ‘कालो’ सुङ्गुरको ‘शिकार’को तरकारीको स्वाद लिइरहेका लिम्बू-लिम्बूनीहरूको काल्पनिकीमा के होला ?
१) हप्ताभरिको कामको हत्तु-हैरानीलाई सप्ताहान्तमा भुल्ने/बिसाउने मेलो (हङ्कङ, युएस, बेलायत, अस्ट्रेलिया सबैतिर यस्तो कार्यक्रम विकिन्डमै हुन्छ जस्तो लाग्छ), घरमै बिसाउनु भन्दा साथीभाइ भेट हुने, पिक्निकको रमाइलो हुने;
२) साथी-सँगी, मायालुहरूले जाउँ भन्छन्, कर लाउँछन, नाईं भन्न सकिन्नँ, हिजो लिम्बूवानमा मेला भर्न गएजस्तो सम्झ्यो भाग लियो;
३) हामी सबै एक वा अर्को संस्थामा आबध्द छौं नै । संस्थागत आबद्धताले पनि केलाङ नाच्नैपर्ने, ढुङ्ग्री-बुलाकी लाउनैपर्ने बाध्यता, अरुले के भन्ला नि भन्ने पीर मार्न र आफ्ना मायालुहरूको अगाडी राम्रो हुने रहर पूरा गर्ने काल्पनिकी मात्र पनि हुन सक्छ;
४) रामेशहरूले ‘जे जे छ, जुन क्षमता छ, त्यही लिएर यो नेपालको ‘पुन:संरचना’ गर्न उठ भन्नुभएझैँ केलाङ नाचेरै भए पनि ‘हाम्रो विशिष्ट पहिचान भिन्न छ, हामी सांस्कृतिक भिन्नतालाई मान्यता दिने र अनुमोदन गर्ने राजनीतिमा विश्वास गर्छौँ र राज्यको पुन:संरचना र प्रान्तहरूको निर्माण त्यही आधारमा होस् भन्ने सन्देश सम्प्रेषण गर्ने काल्पनिकी हुन सक्छ;
५) यस अर्थमा केलाङ नाचकै माध्यमबाट लिम्बू-लिम्बूनी युवा-युवतीहरूले यो पुरातनपन्थी, एकात्मकतावादी राज्यलाई चुनौती दिइरहेका हुनसक्छन, तर राज्य बुझ पचाउँछ, खिसी गर्छ, त्यो फरक कुरा हो । तर यी लिम्बू युवा-युवतीहरूले आफ्नो काल्पनिकीमा लिम्बूवानको विशिष्ट ऐतिहासिकता अनि उपनिवेशवादी, अहंकारवादी र सांस्कृतिक विस्तारवादी हिन्दू राज्यको निर्माणबीच लिम्बूवानले भोगेको औपनिवेशिकता, दु:ख-पीडालाई महसुस गर्न खोज्दै लिम्बूवान पुन:स्थापनाको काल्पनिकीलाई कार्यरुपमा रुपान्तरण गर्न प्रदर्शित गरिरहेका हुन सक्छन् केलाङ नाचबाट ।
अब फेरि प्रश्न: के यी विभिन्न तहको उत्तर लिम्बू पहिरन र गहनामा सजिएर केलाङ नाच्ने लिम्बू युवा-युवतीले दिनु जरुरी छ ? वा दिन सक्नुहोला ? उनीहरूको काम त प्रदर्शन गर्ने, रमाइलो गर्ने, प्रस्तुति दिने हो, मूलत:।
यी कुरालाई प्राज्ञिक र राजनीतिक तहमा उठान गरेर विश्लेषण गर्दै लिम्बू महिलाहरूले यस्तो विशिष्ट पहिरन र गहनाहरू यही महोत्सवको अवसरमा लगाउनुपर्नाको राजनीतिक अर्थ के हो ?
नेपालमा हुँदाको (मानिलिउँ) आर्थिक दु:खबाट मुक्तिका लागि (उदाहरणतका लागि) हङकङ आएर पनि केलाङ नै नाच्नुपर्नाको राजनीतिक र ऐतिहासिक पृष्ठभूमि र अर्थ के हो ?
हामी मनुवाहरू सिर्फ आफ्नो लागि बाँच्दछौं कि बृहत्तर समाज र सांस्कृतिक अर्थपूर्णतामा बाँच्दछौं ?
आदिवासीहरूको सांस्कृतिक पहिचान व्यक्तिगत तहमा बुझ्ने कि बृहत्तर सामूहिक र ऐतिहासिक तहमा बुझ्ने ?
यी र यस्ता पक्षको विश्लेषण गर्ने र त्यसको सम्प्रेषण सम्बद्धहरुमा गर्ने जिम्मा त नेपालबाट अतिथि वा प्रमुख अतिथिका रुपमा आमन्त्रित विज्ञ तथा नेताहरूको हो नि त । केलाङ नाचमा देख्न र बुझ्न सकिने व्यक्तिगत तहको रमाइलोलाई सामूहिक पहिचानको राजनीतिक रणनीतिमा कसरी परिणत गर्ने वा गर्न सकिन्छ भन्ने तहको विश्लेषण गर्ने जिम्मा नेपालबाट आउने विज्ञले नै प्रष्ट्याइदिनुपर्थ्यो ।
तर मलाई अचम्म लाग्दैन: विद्वान्, नेता अतिथिको रुपमा जाने (उदाहरणत: हङकङ जाने ) महानुभावहरू पनि सांस्कृतिक पहिचानलाई राजनीतिक तहमा छलफल चलाउनु त कता हो कता आफू समेत दुई-तीन तङ्बा र सुङ्गुरको शिकार ढालेर त्यहीसँग आफू पनि ढल्ने रणनीतिमै सीमित देखिए भने । भइरहेकै यस्तै छ जो !
फेसबुक स्ट्याटसबाट