एमाओवादीले चुनाव हारेन मात्र, निर्वाचन आयोगअनुसार ठूलै भोट चुहावट खेप्यो, यसपालि । २०६४ को दाँजोमा २०७० मा एमाओवादीको लगभग १४, १५ प्रतिशत मत हरायो । यत्रो ठूलो मतको चलखेल एउटै निर्वाचन प्रणालीबाट गरिएको संसदीय चुनावहरूमा भएका थिएनन् । पहिलो संविधानसभा र यसपल्टको चुनाव पनि एउटै निर्वाचन प्रणालीबाट सञ्चालन गरिएको हँुंदा यत्रो ठूलो मत विचलन होला भनेर यो पंक्तिकारले पनि सोचेको थिएन ।
निर्वाचन आयोगले अगाडिका चुनावभन्दा यसपालि प्रक्रियालाई कम पारदर्शी गरेर आफ्नै कार्यविधिमा आफै प्रश्नहरू निम्त्यायो । संसारभरि निर्वाचन प्रणालीमा सुधार गर्दा अपनाइने साझा उपाय भनेको निर्वाचन प्रक्रियाका बिभिन्न गतिविधिहरूमा पारदर्शिता बढाउनु हो, जसले गर्दा हार्नेहरूले पनि निर्वाचनको नतिजालाई सहज रूपमा लिन सकुन् । निर्वाचन आयोगले किन यसपाली पारदर्शिता बढाउनुको सट्टा घटायो र किन मतगणना सकिएको दिन उसले बताएको खसेको मतभन्दा गणनाको अन्त्यमा दसौं लाख धेरै मत मतपेटिकामा फेला परे, आगामी दिनहरूमा थप प्रस्ट होला ।
यदि धांँधलीकै कारण एमाओवादी लगायत अन्य दलका मत कम आए पनि, एमाओवादीको हारमा अन्य कारणहरूले पनि योगदान पुर्याएका छन् । तसर्थ उसको लागि हारको समीक्षा गर्नु नै आगामी दिनका लागि उपयुक्त हुनसक्छ । बिभिन्न हारका कारण छन् । पार्टी फुट, बहिस्कार र बहिस्कारवादीहरूको भूमिका, धांँधली, एमाओवादीमा
बढ्दो घमन्ड, भ्रष्टाचार, नातावाद तथा जनतामा पदस्थ विरोधी मानसिकता आदिले चुनावको नतिजामा असर पारेको हुनसक्छ ।
संसारका लोकतन्त्रहरूमा पदस्थ विरोधी मानसिकताले पदासिन दल र व्यक्तिहरूलाई हराउने सम्भावना सधैं
रहन्छ । यसलाई लोकतन्त्रको अभिन्न अंग मानिन्छ, किनकि यसले नेताहरूलाई जनतासमक्ष उत्तरदायी बन्न केही हदसम्म बाध्य बनाउँछ । निर्वाचित नेता र पार्टीले मतदाताले मन नपराउने काम गरेमा वा वाचा पुरा नगरेमा अर्कोपल्ट मत नदिई त्यस्ता नेताहरूलाई मतदाता हराउन सक्छन् । यसले गर्दा नेताहरूलाई जनताको चाहना र आकांक्षाप्रति उत्तरदायी हुन र सहानुभूति राख्न बाध्य बनाउँछ । भारतमा पदस्थ विरोधी प्रवृत्ति बढी छ
भनेर भनिन्छ ।
एमाओवादीले धेरै आशहरू ब्ांँाडेका थिए र जब केही महत्त्वपूर्ण वाचाहरू २०६४ अगाडि पुरा गर्न सफल भयो, तब त्यस चुनाव जित्यो । २०६४ पछि थप आश्वासनहरू पुरा गर्न सकेन र केही सवालमा त पछि पनि सर्यो । त्यसले परिवर्तन चाहने मतदातामा वितृष्णा पैदा गर्यो र पहिला पाएका उल्लेख्यपूर्ण मतहरू २०७० मा विचलन भए र निर्वाचनमा पराजय भोग्नुपर्यो ।
२०६४ को चुनावमा अन्य कारणहरूका साथै एमाओवादीप्रति धेरैले अग्रगामी परिवर्तनको आशा गरेर भोट दिएका थिए । एमाओवादीसंँग आश गर्नुको पछाडि भरपर्दा कारणहरू थिए । देशमा भएका राजनीतिक परिवर्तनहरू ल्याउन एमाओवादीको ठूलो भूमिका थियो । संघीयतको मुद्दा घनिभूत गर्नदेखि गणतन्त्र ल्याउन उसको उल्लेखनीय भूमिका थियो । २०६२ को परिवर्तनबाट पनि उसले बढी लाभ उठाएको थियो, किनकि एमाओवादीको प्रवेशपछि मात्र जनआन्दोलनले भब्यता हासिल गरी सफल भएको थियो । तसर्थ २०६४ को चुनावमा जाँदा एमाआवादीको छवि एउटा विजयी शक्ति र परिवर्तन वाहकको रूपमा स्थापित थियो । परिवर्तन चाहने धेरै मतदाताले उसलाई विश्वास गरे, किनकि उसले परिवर्तनहरू ल्याएर देखाइदिएको थियो ।
तर २०६४ पछि एमाओवादीको परिवर्तनकामी र आपmनो एजेन्डा पारित गर्नसक्ने छविमा धेरै ह्रास आयो । एमाओवादीले चाहेर या नचाहेर कुनै पनि महत्वपूर्ण नयाँं परिवर्तनको एजेन्डा पारित गर्न सकेन । सबभन्दा ठूलो पार्टी भएको कारणले नयांँ संविधान ल्याउन नसकेको दोष उसले नै बढी ब्यहोरेको निर्वाचनले संकेत गर्छ । उसले मधेसी दलहरू र नेका, एमाले र अन्य पार्टीका दुई तिहाइभन्दा बढी मधेसी, आदिवाशी र अन्य सभासदहरूको समर्थन पाउँदा-पाउँदै पनि पहिचानसहितको संघीयता स्थपना गर्न सकेन । सेना समायोजनको सवालमा आफ्नै लडाकुहरूले धोका दिएको सम्झे । २०६४ पछि एमाओवादीले उल्लेखनीय आर्थिक र सामाजिक परिवर्तनहरू पनि ल्याउन सकेन । कतिपय मतदाताको आँखामा त ऊ केही सवालमा पछि पनि सर्यो । युद्धकालमा उसले बांँडेको जग्गाजमिन फिर्ता गरिँदा जग्गा पाएर २०६४ मा मत दिएका जनताहरूमा नैराश्यता छायो । कतिपय पहिलाका एमाओवादी मतदाताहरूले २०७० मा अकै पार्टीलाई मत दिए । कतिपय वृद्धभत्ता आदि व्यवस्था गर्ने एमालेतिर
फर्के, किनकि ती थ्ाोरै भए पनि लगातार पाइरहने सुविधाहरू थिए ।
युद्धकालमा छुवाछूत, लैंगिक र जातीय शोषणविरुद्ध कडा रूपमा प्रस्तुत भई २०६४ मा धेरै मत लिन सफल भएको एमाओवादी पार्टी २०७० मा आइपुग्दा ती सवालहरूमा सक्रियता धेरै घटिसकेको थियो । यसले गर्दा एमाओवादीले आफूलाई जतिसुकै परिवर्तनकारी रूपमा प्रस्तुत भए पनि २०७० सम्ममा आइपुग्दा परिवर्तन चाहने उल्लेखनीय जनताले उसलाई पत्याउन छोडिसकेका रहेछन् भन्ने कुरा मतदान अगाडिका अभिमतहरू र मतदानले प्रस्ट पार्छ । यस छलफलले के देखाउँछ भने २०६४ साल अगाडिका एमाओवादीको परिवर्तनकारी कार्यहरूले गर्दा मतदातामा आशा जगायो र उक्त चुनाव जित्यो भने २०६४ पछि उसले आश्वासन दिएका कुनै उल्लेखनीय परिवर्तनहरू ल्याउन नसकेको र केही सवालमा आश्वासनहरूलाई तुषरापात गरेको हुनालेे परिवर्तन चाहने मतदाताहरूको ऊप्रति आश मरेे र उसलाई मत दिएनन् ।
एमाओवादीको गतिविधिहरू अन्य पार्टीहरूजस्तै देखिनुले समर्थक र मतदाताहरूमाझ वितृष्णा उत्पन्न गराउन मद्दत गर्यो । नेताहरूमा देखिएको विलासिता, भ्रष्टाचार र नातावादको कथाहरूले पार्टीको अग्रगामी छविमा ह्रास
आयो । केही मिडियाहरू एमाओवादीप्रति बढी आक्रामक रहेका पनि हुनसक्छन् । तर जुन जोगी आए पनि कानै चिरेको भन्ने जनमानसमा देखिएको छापले परिवर्तनकारी छवि बोकेको दललाई बढी बेफाइदा पुग्छ । किनकि उसले आफू फरक छु भनेर पहिला जनता आकषिर्त गरेको हुन्छ ।
संघीयताको मुद्दाले त एमाओवादीलाई दोहोरो घाटा पारेको हुनसक्छ । उसको परिवर्तनकारी छविमा खियामात्र परेन, एमाओवादीलाई अलमल्याई पछार्न सक्ने शक्तिको छवि प्रतिस्पर्धी कांगे्रस र एमालेलेे बन्ााए । कतिपय मतदाताहरू आपmनो मत खेर नफाल्न दह्रो र शक्तिशाली सम्झेका दललाई मत दिन्छन् । २०६४ मा त्यस्ता मतहरू एमाओवादीमा खसे भने यसपालि त्यस्ता मतहरू कांग्रेस र एमालेतिर बढी झरे भन्ने अडकल गर्न सकिन्छ । यदि एमाओवादीले पहिचानसहितको संघीयता संविधानमा स्थापित गर्नसकेको भए कथा फरक हुनसक्थ्यो । उनीहरूको केही गर्नसक्ने दलको छवि मजबुत रही, आकर्षण कायम नै रही चुनावमा मत तान्न सक्ने थिए । अन्य कारणले गर्दा एमाओवादीको मतमा गिरावट आउन सक्थ्यो । तर परिवर्तन पक्षधरहरूको पहिलेजति नै मत लिनसकेको भए प्रतिस्पर्धात्मक मत पाउन सक्थ्यो ।
केही टिप्पणीकर्ताहरूले एमाओवादीले पहिचानसहितको संघीयताको मुद्दा उठाएकोले चुनाव हार्यो भन्ने गरेका
छन् । तर एमाओवादीले त्यही मुद्दा उठाएर २०६४ सालमा चुनाव जितेकोले ती टिप्पणीमा कुनै दम छैन । युद्धताका त अझ उसले पहिचानसहितको प्रदेशहरू घोषणा नै गरेको थियो । २०६४ र २०७० सालमा के फरक भयो भने अगाडि एमाओवादीको बिभिन्न गतिविधिले उसको प्रतिज्ञा विश्वासिलो देखिएको थियो भने २०७० सालमा आइपुग्दा एमाओवादीको ढलपलले व्यवहारले गर्दा उसको वचनप्रति धेरै परिवर्तन आकांक्षी मतदातामा शंका उत्पन्न भइसकेको थियो । एमाओवादीलाई पहिचानसहितको संघीयता विरोधीले मात्र गाली गरेनन्, पहिलो संविधानसभाको अन्त्यपछि पहिचानसहितको संघीयतावादीहरूले पनि धोका दियो भनेर धेरै गाली गर्न थाले । पहिचान विरोधीहरूले त २०६४ को चुनावमा पनि एमाओवादीलाई मत दिएनन्, तर २०७० मा पहिचानसहितको संघीयतावादीहरूले पनि मत नदिएर उसको हारमा गतिलो योगदान पुराए । त्यसैले पहिचानसहितको संघीयताको मुद्दा उठाएर होइन, त्यस मुद्दामा दिगो नरहेकोले एमाओवादीलाई घाटा लागेको हो ।
मधेसवादी पार्टीहरूको अवस्थाले आश तुहिँदाको नकारात्मक असरको पुष्टि गर्छ । सबै ठूला पार्टीहरू सम्मिलित सरकारलाई अन्तरिम संविधानमा संघीयता समेट्न र निर्वाचन प्रणालीमा सुधार गर्न बाध्य बनाएर मधेसवादी पार्टीहरूले मधेसी जनतामा आशा जगाए र २०६४ को निर्वाचनमा अप्रत्यासित सफलता हासिल गरे । २०६४ पछि संघीयता ल्याउन नसकेर उनीहरूको छवि धमिलियो र २०७० को निर्वाचनमा मतमा ह्रास आउन मद्दत पुर्यायो ।
विशेषगरी आन्दोलनबाट उदाएका र विस्तार भएका परिवर्तनकारी पार्टीहरूले अग्रगामी कार्यक्रम लागु गर्नसक्दा मतदाताहरूलाई आकर्षण गर्नसके र आफ्नो वचनहरू पुरा गर्न नसक्दा मतदाताहरूबाट लोप्पा खाए भनेर २०६४ र २०७० को निर्वाचनले देखाउँछ । परिवर्तनकारी शक्तिहरूप्रति जनताको मोहभंग हुँदा नेपालजस्तो आश्रयमा आधारित राजनीतिमा पुराना पार्टीहरू स्थापित संगठन, आधार र सम्बन्धको जालोको फाइदा उठाई जनताको मत तान्न सक्दा रहेछन् । तसर्थ परिवर्तनकारी पार्टीहरूका लागि परिवर्तनको एजेन्डालाई स्थापित गर्न नसक्नु या छोड्नु २०७० को निर्वाचनमा घातक भयो ।
- See more at: http://www.ekantipur.com/np/2070/8/18/full-story/380127.html#sthash.QbiDT0St.69vSVfoc.dpuf
