Breaking News
Loading...
######



प्रकाशित मिति 14 Aug 2015

            अहिले मुलुक एउटा जटील संक्रमणको अवस्थाबाट गुज्रिरहेको छ । यसको कारण अरु केही नभएर हिन्दू-सांकृतिक सत्ताका उत्तराधिकारी चारदलीय पण्डितहरुको अकर्मण्यता हो । उनीहरु चाहन्छन यो मूलुकको शासकीय सत्ताको वागडोर आफ्नो पहुँच र पकड बाहिर नजाओस । त्यसको लागि उनीहरु जातीय धार्मिक, भाषिक-सांस्कृतिक र ऐतिहासिक थातथालोको पहिचानलाई नामेट गरेर हिन्दू सांस्कृतिक वर्चश्वको संविधान बनाउन चाहन्छन । सत्तास्वार्थका लागि अब उनीहरु मूलुकको सबै सुरक्षा निकाय परिचालन गरेर आफ्नो हीतविरोधी समुदायहरुलाई दमन गर्न चाहन्छन । यो नियतबाट अगाडि बढेको उनीहरुको रणनीति करिव करिव उदाङ्गी सकिएको छ । त्यसैले अब जातीय ऐतिहासिक पहिचान र सामाजिक संरचना तथा सन्तुलनको आधारमा आ-आफ्नो थातथलोमा स्वायत्तताको अधिकार लिन चाहने समुदाय र उनीहरुबाट नेत्रित्व भैरहेका राजनैतिक शक्तिहरु अब आफ्नै नेत्रित्वमा आमूल परिवर्तनकामी क्रान्ति सम्पन्न गर्न तयार हुनु पर्दछ । धर्मनिरपेक्षताको संवैधानिक व्यबस्थाबाट आफ्नो हक अधिकार सुनिश्चित भएको अपेक्षा गर्ने गैरहिन्दू धार्मिक समुदायहरु हिन्दू-अतिवादीहरुको दवदवाबाट आजित भएर अब संगठीतरुपले आन्दोलनको मैदान रोज्न वाध्य भएका छन । एमाओवादी र प्रचण्डको कथित झुटो आश्वासनबाट जातीय, वर्गीय तथा लिङ्गीय अधिकार वहालीका लागि त्यो पार्टीमा संगठित भएका सबै समुदायहरु प्रचण्डको पतनपश्चात आफ्नो आवाज मुखरित गर्ने नयाँ भरपर्दो र शक्तिशाली राजनीतिक शक्तिको खोजमा आतुर छन ।

             यसो भएको हुनाले संघीय लिम्बुवान पार्टी, नेपाल अबको दिनमा नयाँ सोच र उचाइका साथ अगाडि बढेर ऐतिहासिक दायित्व र अभिभारा निर्वाह गर्नसक्ने राजनीतिक शक्तिको रुपमा स्थापित हुन सक्नु पर्दछ । प्रतिगमनकारी यथास्थितिवादी सत्ताधारीहरुले जनताको मर्म, भावना र चाहना विपरीतको राज्यसंरचनाको खाका आउने संविधानबाट संस्थागत गरेर आफ्नो एकलौटी हैकम कायम गर्ने प्राय: सुनिश्चित भैसकेको छ । अब उत्पीडित समुदायहरुले आफ्नो अधिकार वहालीका लागि आमूल परिवर्तनकामी आन्दोलन वाहेक अर्को विकल्प रहने छैन र त्यसको राजनैतिक नेत्रित्व गर्ने सक्षम पार्टीको आवश्यकता अहिलेको जटील परिवेश हो । त्यसको लागि जातीय ऐतिहासिक पहिचान, विगतको शासकीय भूगोल, वर्तमान सामाजिक संरचना र सन्तुलन, धार्मिक तथा भाषिक-सांस्कृतिक अधिकारको प्रत्याभूति, लैंगिक तथा वर्गीय अधिकारको पक्षमा विगत एकदशकदेखि लिम्बुवान भूमिबाट अनवरत क्रान्तिको विगुल फुक्दै आएको क्रान्तिकारी पार्टी संघीय लिम्बुवान पार्टी, नेपाल यो ऐतिहासिक अभिभारा र दायित्व वहन गर्न तयार रहनु पर्दछ । अबको यो राष्ट्रिय मुक्ति क्रान्तिलाई नेत्रित्व प्रदान गरेर संघीय सह-अस्तित्ववाद, वहुल राष्ट्रिय लोकतन्त्र र समाजवादी नेपाली समाज निर्माण गर्न अग्रसर हुनु पर्दछ । यो महान वैचारिक, सैद्दान्तिक तथा दार्शनिक मार्गदर्शनले मात्र मुलुकलाई अग्रगामी दिसानीर्देश गर्न सक्नेछ ।

         मुलुकमा विध्यमान मूलधार वाहेक अन्य राजनीतिक शक्तिहरुमा दिर्घकालीन राजनैतिक वैचारिक तथा सैद्दान्तिक मार्गदर्शन अहिलेसम्म प्रतिपादन नहुनुका साथै उनीहरुमा भावनात्मक आवेशमात्र रहेकाले परिवर्तनकामी क्रान्तिको नेत्रित्व गर्नसक्ने सामर्थ्यको अभाव छ । त्यसकारण उनीहरु निकट भविष्यमै अवसर र सत्तादलालीको प्रकृयाबाट पतन हुनेछन । यस्तो अवस्थामा हामीले हाम्रो पार्टीलाई सबैखाले विचलनबाट अलग गरेर क्रान्तिकारी धारमा रुपान्तरण गर्न शक्त जरुरी छ । पार्टीभित्र अन्तर्निहीत केही विचौलिया प्रवित्तिका मानिसहरुलाइ पहिचान गरेर उनीहरुलाई बेलैमा नियन्त्रण र सन्तुलन गर्न पार्टीको सामर्थ्य बढाउनु पर्दछ । यसो गरेमा निश्चय पनि लिम्बुवानले ऐतिहासिक दायित्व र अभिभारा निर्वाह गर्न सक्ने छ र सम्पूर्ण उत्पीडित जाति, वर्ग र समुदायहरुले सामूलरुपमा मुक्ति प्राप्त गर्नेछन । जातीय, धार्मिक, भाषिक-सांस्कृतिक, वर्गीय, लिङ्गीय लगायतका मुक्तिकामी जनसमुदायहरु आफ्नो मुक्तिका लागि संघीय लिम्बुवान पार्टी, नेपालको झण्डामुनी गोलवन्द होऔं र आफ्नो स्वतन्त्रताका साथै मुक्ति सुनिश्चित गरौं ।

जय लिम्बुवान !!!
Share: Note:- तपाईं हरु लाई यो पोस्ट मन परे मा Like, Share र Commnets गरी दिनु होला

0 comments:

Post a Comment