Breaking News
Loading...
######


छतिस सालमा पाकिस्थानमा जुल्फिकरअलि भुट्टोलाई
के, झुण्ड्याईएको थियो फाँसीको लट्खरामा
बस् नेपालमा आयो राजनीतिको धमिलो भेल
जालहारीहरु लागिहाले खेल्न माछामार्ने खेल


त्यसैबेला आफुपनि सत्रवर्षे नौजवान
किन मान्थ्यो र? चुपचाप बस्न त्यो मन
माछाखाने सपनामा जालहारीहरुको पछिलागियो
राजाको देशमा त्यसो गर्नुहुन्न भनि सम्झाउने
बा–आमाका अर्तिउपदेश नसुनी भागियो

घोटाएर सिद्धान्त पिलाउने कामरेडहरु भन्थे
हाम्रो भविष्यमा सपनाको सून्दर संसार छ
तर, लड्नुपर्ने लडाईहरु अपार छ
जित्नकालागि माक्र्सवाद र लेनीनवादको
हामीसँग शक्तिशाली हतियार छ

त्यसैले लड जीवन संघर्ष हो
संघर्ष नै जीवन हो
बोलका संगित र गीतहरु गुञ्जिएका
अझै अभिलेख रहेछन मानसपटलमा कतै जस्तो
भईरहेको पाउँछु, अतितलाई सम्झँदा

बिस्तारै वाढी सङलिंदै गएपछि
पुरानै जालीले नै नदीहरु कब्जा गर्दै गयो
माछामार्न धेरै कष्टगर्न रुचि नगर्नेहरु
उसैको पछिलागेर साझेदारी खोज्न थाले
थोरैमात्र भागमा चित्त बुझाउनेहरु
त्यहि कित्तामा धमाधम लागिहाले

ठूलोभाग खोजेर अर्घेल्याईं गर्नेहरु
कोहि विदेश भागे कोहि जेल लागे
घोटाईएको सिद्धान्तको राग अलाप्ने
म जस्ता बबुरा मान्छेहरु कुहिरोभित्रै
वर्षौं वर्ष त्यतै निस्सायियौं

ढाई दशकपछि आएको ठूलो बाढीमा
गणतन्त्रको ह्वेल भन्थे मनुवाहरु
ठूल्ठूलो स्वरमा कराईरहेछन जालहारीहरु
कोहि भन्छन् यसलाई तै¥याउने नाउ मसँग मात्र छ
कोहि भन्छन् टाउको दक्षिण फर्केकोले
यसमा मेरो सर्वश्व अधिकार लाग्छ
तर, फेरिपनि मान्छेहरु पुच्छर मात्र देखापरेको
चर्चा परिचर्चा गर्दै गरेको सुनिन्छ
थाहा छैन टाउको कसले बेस्कन अठ्याएको छ?

धेरै भयो पूर्वका रैथानेहरुले तीतेमाछामा अधिकार गुमाएको
सङ्लिएको कावेलीमा असलाको शिकार गर्नेहरु
भदौरे बाढीमा तीतेमाछालाई जालो थाप्थे
तर, आज उनीहरुको लालपुर्जा बेपत्ता भएको छ
खोजीमा निस्किएका जत्थाहरुलाई
उनीहरुकै नाईके भनाउंदाहरुले अल्मलाएर
दिग्भ्रमित पारिरहेका छन्
इतिहासको विरासतबाट जित्ने युद्धहरु
भडुवाहरुको कारणले हारिरहेका छन्

पहिचान र अधिकारको पुलबाट
तर्नुपर्ने जाँघर निकै नै ठूलो थियो
समुहमा मिलेर लस्करै नछुट्टिने यात्रा गर्नुथ्यो
तर, भेडाबथान धपाउने गोठाला जस्ता चित्त भएकाहरु
अगुवाभई पङ्तीमा उभिदिनाले
छिचोल्न गाह्रो भैरहेको छ साँघुहरु
किनभने तिनिहरु स्वार्थै स्वार्थको पासो थापेर
मनगढन्ते शिराबाट यात्रालाई चिरा पार्दै छन्
अभ्रक भैनसकेको मुक्तिको मियो किरा पार्दैछन्

पहिचान र मानव सँस्कृतिरहित सिद्धान्त रटेर
रोटीको लागि गर्दै गरेकोे राजनीति त्यागेर
धेरै सुन्दर अवसरहरुदेखि टाढा भागेर
पुर्खौली विरासत र माटो खोज्न पाईला टेक्दा
समाईरहेको राजनीतिमा अहिले जे देखियो
भविष्यमा सपना बुन्ने आशाका त्यान्द्रोहरु
नछिनुन भनेर आज कविता लेखियो

सेवारो !
Share: Note:- तपाईं हरु लाई यो पोस्ट मन परे मा Like, Share र Commnets गरी दिनु होला

0 comments:

Post a Comment