Breaking News
Loading...
######


प्रकाशित मिति 29 Sep, 2015

           नेपालका सत्ताधारी पण्डितहरु भनीरहेका छन अहिले राष्ट्रियता संकटमा छ, किनभने संविधान बनिसकेपछि जातीय क्षेत्रीय आन्दोलनहरु चर्कियो । यी सबै वाइयात कुराहरु हुन । राष्ट्रियता कदापी भूगोल होइन तर त्यसलाई भूगोलले बाँधेको अवश्य हुन्छ । नेपालको सन्दर्भमा विविधतायुक्त जातीय, भाषिक-सांस्कृतिक, धार्मिक पहिचान र सह-अस्तित्व नै नेपालको वास्तविक राष्ट्रियता हो । यी सबै आ-आफ्नै ऐतिहासिक भूगोलको परिधीभित्र सयौं वर्षदेखि निरन्तर बाँधिएर बसेका छन । तिनीहरुको आ-आफ्नै भौगोलिक सीमारेखाहरु छन र परम्परागत मौलिक संरचनाका साथै न्यायप्रणालीहरु छन । जातीय संस्कृतिमा आधारित मिथकीय विधिशास्त्रहरु छन । ती सबै राज्यको सम्पदाहरु हुन र ती सम्पदाहरुलाई संविधानद्वारा संरक्षण, संवर्द्दन र बिकास गरेर त्यसको आधारमा अधिकार सिर्जना गरियो भने मात्र मुलुकमा साँचो अर्थमा लोकतन्त्रको संस्थागत बिकास हुनसक्ने छ । यही महत्वपूर्ण तत्वहरुलाइ वेवास्ता गरी सनातन मान्यतामा आधारित हिन्दू-सांस्कृतिक सत्तालाई निरन्तरता प्रदान गरेर नेपालको संविधान जारी गरियो । यसबाट नेपालका सबै राष्ट्रियताहरु धरापमा पर्न गए । त्यसो भएपछी कसरी मुलुकमा शान्ति र स्थिरता कायम हुनसक्छ? धेरै शताब्दीदेखि आफ्नै अस्तित्वमा बाँचेको मगरातलाई चारतिर विभाजन गरेर समाप्त गरेपछि अब कुन राष्ट्रियताको वखान गर्दै छन सत्ताधारीहरु? उत्पीडनको आन्दोलनले स्थापित गरेको मधेसी राष्ट्रियतालाई तेजोवध गरेपछि अब कुन अर्को राष्ट्रियताको गुञ्जायस रहन्छ? अविच्छिन्न ऐतिहासिक निरन्तरता कायम गरेको लिम्बुवानलाई धरासायी बनाएर अप्राकृतिक प्रदेश बनाएपछि कहाँ राष्ट्रियताको संवर्द्दन भयो? यस्तै यस्तै थरुहट, तमुवान र खसान जस्ता साझा मनोविज्ञान र राजनैतिक इच्छाशक्ति बोकेका राष्ट्रियताहरु नामेट गरेपछि अर्को कुन राष्ट्रियताको वहस हुनसक्छ?


           राष्ट्रियता नून, तेल, चामल होइन र संस्कृतिमा आधारित मानव बस्तिविहीन कुनै भौगोलिक सीमारेखा पनि होइन । त्यसैले किन राष्ट्रियताको गलत व्याख्या गरेर जनतामाथि कुशासन थोपर्ने संविधान किन बनाउछौ? के नेपालमा राष्ट्रको पहिचान र अस्तित्वमा शताब्दीयौं गुजार्दै आएका सबै जातजातिहरुलाई हिन्दू-राष्ट्रको मूलप्रवाहमा मिसाएर उनीहरुको अस्तित्व समाप्त पार्ने तिम्रो गुरुयोजना हो? त्यसो हो भने पक्कै पनि मुलुकको राष्ट्रियता खतरामा छ । यो तिमी सत्ताधारीहरुकै हुर्मत हो । सबै आन्दोलित समूदायहरु भन्दैछन राष्ट्रियता बचाउनका लागि राष्ट्रहरुको अस्तित्व बचाउन अनिवार्य छ । त्यसो हुनाले यो एकल राष्ट्रको वर्चश्व र हैकम स्थापित गर्ने संविधानलाई तुरुन्त संशोधन गरेर वहुल राष्ट्रिय लोकतन्त्रमा आधारित संविधान बनाउ । यो भन्दा अर्को कुनै उपाय छैन । यसो भएन भने सत्ताधारीहरुको वहिर्गमन निश्चित छ । हेक्का रहोस ।

जय लिम्बुवान !!!
Share: Note:- तपाईं हरु लाई यो पोस्ट मन परे मा Like, Share र Commnets गरी दिनु होला

0 comments:

Post a Comment