Pages

पहिचानको राजनीति :डम्मर लाबुङ (भाग-३)


 
२०७३/१०/०३
विश्वको प्रमुख राजनीतिकवादहरुले अहिलेसम्म समेट्न नसकेको राष्ट्रिय, भाषिक, धार्मिक, क्षेत्रीय तथा सास्कृतिक, सामाजिक, राजनीतिक र आर्थिक आदि विभिन्न विभेदहरुलाई सम्बोधन गर्न पहिचानको राजनीति दर्शनलाई अघि बढाइएको देखिन्छ / by डम्मर लाबुङ
हामी यस्तो देशमा छौ जहाँ आफ्नो जाति, भाषा, धर्म, सास्कृतिक पहिचानहरुलाई नष्ट गरेर अरुको पहिचानको प्रसंसा गर्ने मुर्खताको समाजमा छौ जसले गर्दा आर्य सभ्यता हुदै बिस्तारै हिन्दी सभ्यता र अंग्रेज सभ्यता हाम्रो पहिचान माथि मौलाएको पत्तो पाउदैनौ / नेपालमा र अन्तर्राष्ट्रिय जगतमा समेत अहिले सबै राष्ट्रहरु आ-आफ्नो हक र अधिकार प्राप्तिका लागि पहिचानको मुद्दा लिएर अघि बढिरहेको छन् । अहिले समाजमा जुनसुकै राष्ट्रको मानिसले पनि पहिचान खोज्छ । त्यसलाई अस्वीकार गरियो भने उनीहरूलाई तताउने काम मात्रै हुन्छ । त्यसैले, सबैको पहिचानलाई स्वीकार गर्नुपर्छ । सबै जात, जाति/राष्ट्र र समुदायलाई आफ्नोबारे निर्णय गर्ने अधिकार हुन्छ, तर कुनै पनि समुदायले अरु समुदायलाई दबाउन पाइँदैन ।
नेपालको सन्दर्भमा हेर्दा यहाँ दुई किसिमका राष्ट्रियता देखिएको छन् । एउटा प्रभुत्वशाली समूहको राष्ट्रियता, जसले अरु समुदायमाथि दबदबा कायम गर्न राष्ट्रियताको प्रयोग गर्छ । यो एकल राष्ट्रराज्यको अवधारणा अनुसारको राष्ट्रियता हो । दोस्रो खालको राष्ट्रियता हो, सीमान्तकृत समुदायहरूको । प्रभुत्वशाली समूहको दबदबाविरुद्ध प्रतिरोध गर्न आफ्नो समुदायलाई एकीकृत पार्ने क्रममा सीमान्तकृत समुदायहरूले हामी राष्ट्र हौंभन्ने राष्ट्रियता । एउटा राष्ट्रले अर्को राष्ट्रमाथि प्रभुत्व कायम गर्न खोज्ने राष्ट्रियताले युद्ध र संहार निम्त्याउन सक्छ । न्याय र समानताका आधारमा बहुराष्ट्रिय राज्यले युद्ध र संहारलाई रोक्दै व्यवस्थापन गरेका उदाहरण पनि संसारमा धेरै छन् ।
पहिचान एउटा व्यक्त्तिको विभिन्न प्रकारको हुन्छन जस्तै राष्ट्रिय/जातीय पहिचान, भाषीय पहिचान, वर्गीय पहिचान, लिङ्गीय पहिचान, धार्मिक पहिचान, क्षेत्रीय पहिचान, राजनीतिक पहिचान आदि / यसरी मानिसको नै विभिन्न पहिचान हुन्छन, जसमध्ये आफ्नो समुदायलाई आवश्यक पर्ने पहिचानलाई मूल बनाई त्यसैको आधारमा राजनीति गरिन्छ भने त्यो पहिचानको राजनीति हो / पहिचानको राजनीतिले मानिसको परिचय, जात, जाति, भाषा, धर्म, लिङ्ग, सस्कृति, क्षेत्र, इतिहास, राजनीति र आर्थिक आधारहरुमा बुझिन्छ / त्यसैले वर्गीय पहिचानको अतिरिक्त जात, जाति, भाषा, धर्म, क्षेत्र र सस्कृति आदिको आधारमा सामुहिक राजनीति गरिन्छ भने त्यसलाई पहिचानको राजनीति भनिन्छ / यसले विशेषगरी वर्गीय राजनीतिलाई मात्र प्रमुख आधार मान्दैन र यसले कुनै व्यक्त्ति र समुदायमाथि भएको शोषण, दमन र विभेदलाई जाति, भाषा, धर्म र सस्कृति आदि पहिचानको आधारमा भएको मान्दछ / समाजमा हरेक समुदायहरुको आ-आफ्नो बेग्लै पहिचानको आधारमा रहनु पर्छ भन्ने मान्यता रहेको हुन्छ /
पहिचानको राजनीतिले राष्ट्र/जाति, भाषा, लिङ्ग, क्षेत्र र सस्कृति आदिको आधारमा सामुहिकरुपमा मागहरु अघि सार्दछ / त्यसैले यस भित्र कुनै खास जाति समुदायको सस्कृति लोप हुन लागेको वा हिँसा, शोषण, दमन, सीमान्तीकरण र विभेदमा परेकोले त्यसको क्षतिपूर्ति हुनुपर्ने कुरा गरिन्छ / यहाँ पहिचान भन्नाले आफ्नो समुदायको अस्तित्व र स्वाभिमान संरक्षण र विकासको उदेश्य हुन्छ / पहिचानको राजनीति गर्नेहरुले सामुहिक पहिचानको लागि बहुल राष्ट्रवाद अत्यावश्यक आधार मान्दछ / पहिचानवादीहरुको विचारमा वर्गीय पहिचान भन्दा कुनै राष्ट्र/जातिको पहिचान र अस्तित्व अमर रहेको मान्दछ / त्यसैले पहिचानको राजनीति खास समुहको मानिसहरुले आफ्नो सामुहिक पहिचानको आधारमा सामुहिक स्वार्थमा लागि गर्ने राजनीति नै हो / यस अन्तर्गत सबै भन्दा पहिले खास किसिमको अधिकारहरुबाट पुरै समुह बन्चित रहेको कुरा अघि सारिन्छ / यस्तो किसिमको राजनीति सामुहिक राजनीति वा विचारधाराको आधारमा संघठित नभएर अन्यायमा परेको खास समुहलाई अन्यायबाट मुक्त्ति दिलाउने कुरासँग सम्बन्धित हुन्छ /
विश्वमा प्रचलनमा ल्याइएको प्रमुख राजनीतिकवाद र तिनीहरुले अहिलेसम्म समेट्न नसकेको राष्ट्रिय/जातीय विभेद, भाषिक विभेद, धार्मिक विभेद, क्षेत्रीय विभेद तथा सास्कृतिक विभेदलाई सम्बोधन गर्न पहिचानको राजनीति दर्शनलाई अघि बढाइएको देखिन्छ / प्रा. पुष्पराज कडेलका अनुसार पहिचानको राजनीतिको खास सुरुवात भने अमेरिकामा भएको हो / “पश्चिम देशहरुमा पहिचानको राजनीति उदारवादी राजनीतिले समेट्न नसकेको क्षेत्रलाई अगाडी ल्याउनका लागि गरिन्छ / उदारवादी राजनीति खुल्ला प्रतिस्पर्धामा आधारित हुने भएकोले कतिपय सिमान्त क्षेत्रहरु पछि पर्दछन / पछि परेकाहरुको आवाजलाई पहिचानको राजनीतिले अगाडी ल्याउछ / यस उदारवादी राजनीतिले जहिले पनि अरुलाई आफूभित्र समेट्ने र अरुको अस्तित्वलाई समाप्त पार्न चाहन्छ / उदारवादी खुल्ला राजनीतिले कुनै पनि समस्यालाई राजनीतिक तहबाट समाधान गर्न चाहने भएकोले मुलधारको राजनीतिमा प्रभाव पार्न नसक्नेहरुलाई समेट्न सक्दैन / उदारवादी राजनीतिले जहिले पनि व्यक्त्तिगत र क्षमतावानहरुको पहिचानमा जोड दिन्छ / पहिचानको राजनीतिको एउटा बलियो पाटो बहुसस्कृतिकता हो, जसभित्र जाति, जनजाती, फरक सस्कृति आदिलाई समेटिन्छ / यसले फरक जात र फरक सस्कृतिवालाहरुलाई अलग हिसाबले सम्मान दिनु पर्छ भन्ने मान्यता राख्दछ /”
मार्क्सको अनुसार जाति/राष्ट्र नभएर वर्ग सबै भन्दा महत्वपूर्ण हुने गर्दथ्यो / त्यसैले पहिचानको कुरा गर्ने जातीय रास्ट्रवाद मार्क्ससँग थिएन / तर, अस्ट्रो-हङगेरियनले भने सन् १८४९ मा नै सबैलाई भाषा र राष्ट्रियताको स्वतन्त्रता हुने कुरा स्वीकारेको थियो / सन् १८४९ मा आएको त्यस राज्यको संबिधानको धारा १९ ले भनेको थियो कि राज्यका सबै जनता समान छन् र सबैलाई आफ्नो राष्ट्रियता र भाषाको रक्षा गर्ने अधिकार हुन्छ / त्यसबेला कार्ल रेनर भन्ने अस्ट्रियन समाजवादीले अस्ट्रो-हङगेरियनलाई भाषाको आधारमा विभिन्न क्षेत्रमा विभाजन गर्नु पर्ने सुझाव दिएको थियो / (कडेल) 
वर्गीयताको कोणबाट विश्लेषण गर्नेहरू यस्तो पहिचान परिवर्तन भइरहने भएकाले यसलाई महत्व दिन नहुने दाबी गर्छन् । तर, जातीय राजनीतिबारे अध्ययन गर्नेहरू कुनै पहिचान रातारात निर्माण हुने र परिवर्तन हुने कुरा होइन भन्ने प्रतिदाबी गर्छन् । परिवर्तनशीलता र तरलताकै हिसाबले हेर्दा पहिचान भन्दा पनि वर्ग बढी तरल देखिन्छ । कुनै व्यक्तिको वर्ग उसको जीवनकालमै धेरै पल्ट परिवर्तन हुन सक्छ । त्यसैले तरलताकै आधारमा हेर्ने हो भने वर्ग भन्दा पहिचान धेरै बलियो हुने देखिन्छ । त्यसैले, पहिचान परिवर्तन भइरहने चिज हो भनेर कसैले पहिचानको विश्लेषणै गर्न हुँदैन भन्छन् भने तिनीहरूले पहिले अधिक तरल हुने वर्गीय सवालको विश्लेषण गर्न छाड्नुपर्ने हुन्छ ।
राष्ट्रियता भनेको राष्ट्रको राज्य हुनुपर्दछ भन्ने सिद्धान्त हो । कतिपय राष्ट्र(जाति)ले राज्य पाउन संघर्ष गर्दछन् । राज्य पाइसकेका राष्ट्रहरू त्यसको सुरक्षा गर्न कटिबद्ध रहन्छन् । त्यसैले, राज्यभित्र पनि स्वायत्तताका लागि गरिने आन्दोलनलाई राष्ट्रियताको संघर्ष वा राष्ट्रवादी आन्दोलनको रुपमा रुपमा परिभाषित गरिएको छ / सन् १९५०/६० का दसकमा आधुनिकीकरण सिद्धान्तका प्रवर्तकहरूले पश्चिमेली संसारमा राष्ट्रराज्यको अवधारणा अनुसार देश विकास गर्नुपर्छ भन्ने अवधारणा ल्याए । उनीहरूले अमेरिका र युरोप आदिको इतिहास हेरेर यस्तो अवरधारणा बनाए । युरोपमा पुराना साम्राज्यहरू ढलेपछि एउटा राष्ट्र भएको ठाउँलाई राज्य बनाइएको थियो । त्यही अभ्यास विकासशील मुलुकमा पनि लागू गर्न खोजियो । तर, विकासोन्मुख देशमा एउटै देशभित्र धेरै राष्ट्रहरु थिए । तिनै देशमा पनि एक राष्ट्रको अवधारणा लागू गर्न खोजियो । त्यसले विभिन्न जाति, समुदाय वा राष्ट्रलाई भताभुंग बनाउने काम गर्‍यो । त्यही अवधारणा लागू गरिँदा नेपालमा थुप्रै आदिवासी जनजातिका भाषा र संस्कृतिलाई लोप पारियो, मधेशी समुदायको भाषासंस्कारलाई अस्वीकार गरियो । (डा. महेन्द्र लावती)
समाजको केहि व्यक्तिहरुले २१औं शताब्दीको आधुनिक युगमा नयाँ तरिकाले हिड्नु पर्छ भन्ने दृष्टिकोण ल्याए / यही दृष्टिकोण अनुसार धर्म, रीतिरिवाज, संस्कृति आदि पुराना चलन मानिए । ती पुराना चलनले विकासमा बाधा पार्दछन् भन्ने सोचाइ निर्माण भयो । तर, त्यस्तो सोचाइ बोक्ने कतिपय मानिसहरू आफैले पनि पुराना संस्कार कायम राखिरहेको पाइन्छ । यस्तो सोचाइको कुरुप पक्ष त के भयो भने प्रभावशाली समुदायले आफ्नो संस्कृति, भाषा, रीतिरिवाजलाई आधुनिक भनेर व्याख्या गर्‍यो र अरु समुदायका चालचलनलाई भने कुरीतिको रुपमा प्रस्तुत गर्‍यो । यस्तो सोचाइ र व्यवहार निर्माण गर्ने आधुनिकताको मोडेल निश्चितरुपमा एउटा समुदायका लागि फाइदाजनक थियो । त्यसरी फाइदा हुने समुदायका सदस्यहरूले राष्ट्रराज्यको अवधारणाबाटै नेपाललाई पनि विकास गर्नुपर्छ भन्ने अवधारणाबाट काम गरे । आज पनि एक किसिमका मानिसहरू बहुसांस्कृतिक समाजमा असफल खाइसकेको राष्ट्रराज्यकै मोडललाई कायम राख्ने अभियानमा छन् । (डा. महेन्द्र लावती)
नेपाली उत्पीडित जनताले खोजेको जातीय पहिचानमा आधारित संघियताको अन्तरवस्तु भनेको आत्मनिर्णयको आधिकारसहितको राष्ट्रिय(जातीय) स्वायत्त राज्यहरुको निर्माण नै हो / यो आम उत्पीडित राष्ट्र तथा वर्गहरुलाई राज्यका सबै अङ्गहरुमा पूर्ण समावेसी लोकतन्त्रको सिद्दान्त अनुरुप सहभागी गराउने मान्यतामा आधारित छ / समानता र सामाजिक न्यायको पूर्ण प्रत्याभूति दिलाउने पहिचानसहितको संघिय राज्य व्यवस्था हो / जातीय पहिचानको पदावली उत्पीडित राष्ट्र(जाति)हरुको खोसिएको अधिकारहरुको सम्मानपूर्ण पुनर्बहालीको प्रतिबिम्ब हो / बुर्जुवा वर्गहरु उत्पीडित राष्ट्रहरुलाई आत्मनिर्णयको अधिकार दियो भने मुलुक टुक्रिने पाखण्डी कुरा गर्छन / यस्तो अभिव्याक्त्ति सामन्तवादी एकात्मक चिन्तनकै निरन्तरतामा छापिएको नयाँ सस्करण मात्र हो / नेपालमा पहिचानको राजनीति सुरु हुनुको कारणहरुमा जसमा हिजो शाह र राणाहरुले अनार्य राष्ट्र/जातिहरुको आफ्नो इतिहास, सस्कृति, परम्परा र राज्यहरु समाप्त बनाईदिनु पनि हो /
चीन जनसंख्याको दृष्टिले विश्वको सबभन्दा ठुलो देश हो / त्यहाँ एकात्मक शासन व्यवस्था कायम गरिएपनि सन् १९५६ मा चिनियाँ सरकारले अल्पसंख्यक आदिवासी राष्ट्र(जाति)हरुको क्षेत्रमा जातीय स्वायत्त शासन व्यवस्था लागु गरिएको छ / त्यस समयमा त्यहाँ हान जातिको बहुमत थियो भने अन्य ५४ वटा अल्पसंख्यक जातिहरु थिए / सरकारले ति जातिहरुको लागि जातीय स्वायत्तताको व्यवस्था गरायो / आ-आफ्नो क्षेत्रका प्रमुख पदहरुमा ति जातिहरुको अग्राधिकार रहने व्यवस्था थियो / चीनमा त्यहाँका अल्पसंख्यक राष्ट्र(जाति) हरुलाई स्वायत्त अधिकार प्रदान गरिएपछि ति राष्ट्र(जाति)हरुले आफ्नो विकास गर्नुका साथै राजनीतिमा समेत सक्रिय भूमिका खेलेका छन् / त्यसैले कुनै राष्ट्र(जाति)को बाहुल्य भएका क्षेत्रमा अल्पमतका राष्ट्र(जाति)को पनि शासन हुन सक्छ / चीनको स्वशासित मंगोलिया क्षेत्रमा मंगोलियनहरु त्यस क्षेत्रको कुल जनसंख्याको केवल १० प्रतिशत मात्र भएपनि त्यहाको ५० प्रतिशत भन्दा बढी निकायहरुमा यिनीहरुले नै शासन गरिरहेको छन् / त्यसलाई उनीहरु स्वशासनसहितको स्वायत्तता माने / यसरी चीनले यो व्यवस्थालाई चिनियाँ राज्य व्यवस्थाको आधारभूत राजनीतिक प्रणाली र विशिष्ट संरचनाका रुपमा व्याख्या गर्यो / (डा. बुद्दिप्रसाद भण्डारी)
पहिचान सहितको संघियता भनेको राष्ट्रिय/जातीय, भाषीय, क्षेत्रीय तथा सास्कृतिक पहिचानको आधारमा ऐतिहासिक मानव भूगोललाई समेटेर संघीय एकाइहरु निर्माण गर्नु हो / नेपालमा शासक वर्गले त्यस्ता थातथलोहरुलाई विभाजित गर्ने र मिश्रित बस्ति बसाउने अभियान लामो समय देखि चलाएको भएतापनि अझै पनि जातीय वा भाषिक सघनताको अवस्था नेपालमा विध्यमान छ / हजारौ बर्षको सहकार्यले त्यहाँ साझा सभ्यता, साझा भाषा, साझा सस्कृति, हामी भन्ने साझा मनोभावना, साझा आर्थिक जीवन विकास भएको छ / अढाई सय वर्ष देखि एकात्मक राज्यको साम्प्रदायिक शासकहरुको दमन र उत्पीडनको बाबजुद त्यहाँ अहिले पनि तिनीहरुको बाहुल्यता कायमै छ / त्यस्ता स्थानहरुमा जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा पहिचान सहितको स्वायत्त प्रदेशहरु तथा विशेष संरचनाहरुको स्थापना आवश्यक छ / यसले देशको साम्प्रदायिक सद्भाव तथा राष्ट्रिय एकता खलबलिने नभई झन् मजबुत हुन्छ / यस्तो व्यवस्थामा सम्बन्धित प्रदेशहरुमा रहेका अरु जात वा जनजातीहरुको समानुपातिक प्रतिनिधित्व तथा प्रदेश भित्रको अल्पसंख्यक, लोपोन्मुख तथा सीमान्तकृत समुदायको सहभागिता र भूमिकालाई सुनिश्चित गर्नु पर्दछ / त्यसैले त्यो मानव भूगोललाई समेटेर एउटा प्रदेश बनाउदा त्यहाँ विकास निर्माणको काम अगाडी बढाउन पनि सजिलो हुन्छ / यस्तो व्यवस्था सबै संघीय देशहरुमा प्रचलित छ /
युरोपको कतिपय देश र सोभियत संघमा उत्पादन प्रणाली लागु भएर पनि त्यहाँ जातीय समस्या समाधान भएको देखिएन / त्यसैगरी वर्गीय समस्या समाधान हुदैमा जातीय समस्या पनि स्वत: समाधान हुन्छ भन्ने कम्युनिष्ट दर्शनको मान्यतामा गलत हो / त्यसैले वर्गीय र जातीय समस्या एउतै होइनन् / हाम्रो देशको सन्दर्भमा वर्गीय समस्या हल गर्दैमा जातीय समस्या समाधान हुदैन र जातीय समस्या हल गर्दैमा वर्गीय समस्या पनि समस्या समाधान हुदैन / नेपालमा अढाई सय बर्ष देखि आर्यन जाति(बाहुन/क्षेत्री) वा बाहुन जातहरुको हातमा राज्यसत्ता छ / आर्यन जाति(बाहुन/क्षेत्री) बाहेक अन्य राष्ट्र(मूल आदिवासी/जनजाती)हरु वर्गीय उत्पीडनमा बहुसंख्यामा छदैछन तर झन् राष्ट्रिय(जातीय) उत्पीडनमा सतप्रतिशत छन् / यदि आर्यन जातिहरु वर्गीय उत्पीडन होलान तर उनीहरु जातीय उत्पीडनमा परेको छैनन् / (बराल) 
बुद्दिमत्तापूर्ण पुन:संरचनाले आर्थिक विकास र सामाजिक न्यायलाई तिब्रता दिनसक्छ भने हचुवाको पुन:संरचनाले देशलाई गृहयुद्द र गरिबीको अनन्त चक्रमा फसाउन सक्छ / त्यसैले राज्यको पुन:संरचना गर्दा कसैमाथि आग्रह पूर्वाग्रह नराखी नेपाली राष्ट्रियतालाई बलियो बनाउने, सबै जात-जाति र भाषाभाषीले उचित सम्मान र अवसर पाउने हिसाबले गर्नु पर्छ / सोभियत मोडेल जसभित्र संघियता र आत्मनिर्णयको अधिकार पर्दछ र अर्कोतिर चीनको मोडेल जसभित्र जातीय स्वायत्तता पर्दछ / चीनले सन् १९४९ पछि आफ्नो बहुजातीय समस्या समाधान गर्नको लागि स्वायत्त शासनको तरिका प्रयोग गरेको थियो /
मल्ल के. सुन्दरका अनुसार, पहिचानमाथि हुने दमन र तिनको विरुद्द उठ्ने गरेका तत्कालिन विश्व परिस्थितिका विभिन्न जाति, भाषिक समुदाय आदिका सम्बन्धमा मार्क्सवाद-लेनिनवादको कोणबाट विश्लेषण गरेर तिनको मुक्त्तिका पक्षमा विचार प्रवाह गर्ने पहिलो व्यक्त्ति साम्यवादी नेता जे. भी. स्टालिन थिए / जातीय उत्पीडन र राष्ट्रिय दमन विरुद्दका मोर्चामा आफुलाई उभ्याउदै उनले आत्मनिर्णयको अधिकार सुनिश्चित हुनुपर्ने र स्वायत्तताको मान्यता अनुसार प्रत्येक राष्ट्र(जाति) आफ्नो भाग्यको निर्धारण आफैले गर्न पाउनु पर्ने कुरा पनि जोड दिए / तर, नेपालका केहि वामपन्थी दलका नेताहरु भने जातीय मुक्त्तिको सवालमा, त्यसमा पनि आदिवासी जनजातीद्वारा पहिचानसहितको अधिकारका मुद्दा चलाइरहेको संघर्ष मूलतः “वर्गीय राजनीतिलाई भुत्ते पर्ने षडयन्त्रका” रुपमा बुझछन /
विविधता र बहुलातायुत्त समाजमा जातीय अहंकारको मानसिकतालाई सहि रुपमा तह लगाउन सकिएन भने राष्ट्रिय एकता मजबुत हुन सक्दैन भन्ने कुरा चीनको राष्ट्रिय स्वाधिनता र जनताको मुत्ति आन्दोलनको सफल नेतृत्व गर्ने माओत्सेतुङले पनि राम्ररी अनुभूति गरेको कुरा हुन् / चिनियाँ समाजमा लामो समयदेखि कायम रहेको हान जातिको प्रभुत्व र तिनको जनसंख्यिक बाहुल्यताका कारण त्यहाँ अन्य अल्पसंख्यक समुदायहरु बिरुद्द लक्षित हान जातीय अहंकार हावी हुनसक्ने कुरामा उनि अत्यन्तै सचेत थिए / (मल्ल के. सुन्दर)
केहि विद्वानहरुको विचार अनुसार वर्तमान संसारमा जे जाति दन्द, संघर्ष र हिंसाका अवस्था छन् / ति मुलुक भित्र केन्द्रित दन्द वा संघर्षहरु मूलतः पहिचानका मुद्दासंग प्रत्यक्ष सरोकार राख्दछ / बेलायतको आइरिस र स्कटिस तथा चीनको तिब्बत र उइघुर आदि उदाहरणहरु हुन् / वर्गीय समस्याका सम्बन्धमा जसरी समाजमा कायम रहेको वर्गीय विविधताको समाप्तिको लक्ष्य रहेको हुन्छ / त्यसैगरी समुदायहरु आफ्ना विगतका गुम्न पुगेका अस्तित्व अस्मिताको पुन:स्थापना र मान्यताका आकांक्षा राख्दछन / त्यसैले विविधताको अन्त्य होइन त्यसको सम्मान र संरक्षणको माग गर्दछ / मार्क्सवादले अर्थतन्त्रलाई समाजको मूल आधार मान्दछ भने पहिचानको राजनीतिले भाषा,सस्कृति र जातिलाई मूल आधार मान्दछ / पहिचानको राजनीतिले बहुराष्ट्रवादको कुरा गर्छ भने मार्क्सले अन्तर्राष्ट्रियबादको कुरा गर्छ /
नेपालको राजनीतिक ईतिहासमा बिगत देखि प्रभुत्वमा रहेका शासक वर्गले गर्ने गरेका उत्पीडन तथा विभेद र अपहेलनाका कारण कतिपय सन्दर्भमा उत्पीडित समुदाय, तिनका भाषा, सस्कृति, रिति परम्परा र थातथलोलाई लादिएको पहिचान चिनाउने प्रवृत्ति पनि रहिआएको छ / त्यसैले बहुसस्कृतिक, देशहरुमा राज्यस्तरबाट एक भाषा, एक भेष, एक धर्म र एक सस्कृतिलाई बढवा दिदा अन्य समुदायहरुले सास्कृति साम्राज्यवादको मार खप्नु पर्छ / मुलुकमा विध्यमान विभिन्न जाति र जनजातिहरुबीच साझेदारी र हातेमालोको सट्टा हाम्रो देशको शासक वर्गले जाति जनजातीहरु संघठित होलान कि भन्ने भयले तिनीहरुको ऐतहासिक बसोबास रहेको थातथलोहरुलाई विभाजित गर्ने नीति लियो / त्यसैगरी नेपालको राजनीतिक इतिहास हेर्दा यहाँका मूल-आदिवासी जनजातीहरुको निजि स्वामित्वमा रहेको किपट जमिनहरु राज्य सत्ताको आडमा अतिक्रमण गरी रैकरमा परिणत र आफ्नो केहि आर्य जातिहरुलाई बिर्ताको रुपमा वितरण गराइएको देखिन्छ /
उत्पादनका क्रममा श्रम र पुजी लगानीबाट जुन अतिरिक्त्त मूल्य बच्छ, त्यो नै मुनाफा हो / त्यसैको आधारमा पुजीवाद चल्दछ साथै श्रमिक र पुजीपति बीचको वर्गीय सम्बन्ध तिनकै आधारमा कायम हुन्छ / यस्तै सैद्दान्तिक विश्लेषण आधारमा उदय भएको मार्क्सवादी राज्य सत्ता र आफुलाई प्रजातन्त्रको जननी मान्ने युरोपको विभिन्न देशहरु केहि ढलिसकेको छ भने केहि देश हरेक दिन बिद्रोहको आगो बलिरहेको छन् / ति देशहरुमा वर्गीय अन्तरविरोधका अलावा त्यहाँ अर्कै किसिमको नया अन्तरविरोध सतहमा देखा पर्यो / विश्वका ति बहुलतायुत्त समाजभित्र सम्बन्धित समुदयको पहिचान त्यहाँका शासक वर्गहरुले आत्मसात गर्न नसक्दा ति देशका उत्पीडित राष्ट्रहरुले व्यापकरुपमा बिद्रोह गरिरहेका छन् /
भ्रमको राजनीति  
नेपालका केहि बौद्धिक व्यक्त्ति जो आफुलाई मार्क्सवादी र प्रजातन्त्रवादीको रुपमा प्रस्तुत हुने राजनीतिशास्त्री र समाजशास्त्रीहरुले आफ्नो जातिगत समुदयको हित तथा राज्य सत्तामा कायम रहेको आफ्नो समुदायको एकाधिकार रक्षा गर्न अनेकौं विचारधारात्मक संघर्ष गरिरहेको देख्न सकिन्छ / त्यसैले एकात्मक राज्य सत्ताको आडमा शासक वर्गको एउटा राष्ट्रले अर्को राष्ट्रमाथि गरिएको वर्गीय, राष्ट्रिय/जातीय, भाषीय, धार्मिक, क्षेत्रीय, सामाजिक, आर्थिक, राजनीतिक आदि विभिन्न क्षेत्रमा गरिएको शोषण, दमन र विभेदहरुलाई कायम राख्नको लागि तिनीहरुले पहिचान राजनीति बारेमा अनेकौ भ्रम सिर्जना गर्दै आएका छन् /
उनीहरुको भ्रमित तर्क अनुसार, पुजीवादको तिब्र विकासले मार्क्सवादको विकासको आधार सिर्जना भयो तर मार्क्सवादलाई समाप्त गर्नको लागि पहिचानको राजनीतिको सुरुवात गरियो / पहिचानको राजनीति वाम आन्दोलनलाई पथभ्रष्ट बनाउने, गुटबन्दी गर्ने, अराजनीतिक बनाउने र पुजीवादको शोषणमा परेको जनध्यानलाई अन्त्यत्र मोड्ने तरिका हो / पहिचानको राजनीतिले समाज परिवर्तन गर्न चाहनेहरुलाई सहयोग गर्दैन / मार्क्सवादीहरुको लागि पहिचानको राजनीति घातक कुरा हो / मार्क्सवादी मात्र होइन, लोकतन्त्रको लागि लड्ने उदारवादी पार्टीहरुका लागि पनि पहिचानको राजनीति उपयुक्त्त छैन / लोकतान्त्रिक संघर्षको इतिहासका बिरुद्दमा छ र यसले वर्गीय राजनीतिमा विश्वास गर्नेहरुको बीचमा संघर्ष सिर्जना गरी समग्र लोकतान्त्रिक र बाम आन्दोलनलाई कमजोर बनाउने कुरा गरिरहेको छन् /
निष्कर्ष
विश्वको प्रमुख राजनीतिकवादहरुले अहिलेसम्म समेट्न नसकेको राष्ट्रिय, भाषिक, धार्मिक, क्षेत्रीय तथा सास्कृतिक, सामाजिक, राजनीतिक र आर्थिक आदि विभिन्न विभेदहरुलाई सम्बोधन गर्न पहिचानको राजनीति दर्शनलाई अघि बढाइएको देखिन्छ / तर, केहि मार्क्सवादी विद्वानहरुले पहिचानवादी राजनीतिमा लागेका समुदायहरुलाई आफ्नो पक्षमा पार्नको लागि पहिचान राजनीतिलाई मार्क्सवाद, लेनिनवाद र माओवादको वर्गीय संघर्षसँग राष्ट्रिय/जातीय पहिचानलाई जोडेर विभिन्न बखान गरेका देखिन्छ / त्यसैगरी केहि मालेमावादी विद्वानहरु चै पहिचानको राजनीतिसँग झस्किएर माथि भनिए झैँ “/ मार्क्सवादीहरुको लागि पहिचानको राजनीति घातक कुरा हो / मार्क्सवादी मात्र होइन, लोकतन्त्रको लागि लड्ने उदारवादी पार्टीहरुका लागि पनि पहिचानको राजनीति उपयुक्त्त छैन / लोकतान्त्रिक संघर्षको इतिहासका बिरुद्दमा छ र यसले वर्गीय राजनीतिमा विश्वास गर्नेहरुको बीचमा संघर्ष सिर्जना गरी समग्र लोकतान्त्रिक र बाम आन्दोलनलाई कमजोर बनाउछ /” भनि समाजको एउटा वर्गलाई भ्रमित राजनीतिक शिक्षा दिईरहेका छन् / वास्तवमा अझ नेपालको सन्दर्भमा भन्नु पर्दा आफुलाई कम्युनिष्ट र कांग्रेसी भन्नेहरुले पहिचान र संघियताको कुरा गर्नेहरुलाई साम्प्रदायिक आरोप लगाइन्छ /   
नेपालमा आफुलाई मार्क्सवादी भन्ने कम्युनिष्टहरुले नै पहिचानको राजनीतिक झन्डा बोकेको देखिन्छ तर मार्क्सवाद र पहिचानको राजनीति बीच धेरै फरक रहेको छ / कम्युनिष्टहरुले पहिचानको राजनीतिक एजेण्डा बोक्नु भनेको मार्क्सवादबाट धेरै टाढा पुग्नु हो / विश्वमा नाम चलेको प्रमुख राजनीतिकवादहरु जस्तै:- मालेमावाद (मार्क्सवाद, लेनिनवाद, माओवाद/समाजवाद-साम्यवाद), पुजीवाद, सामन्तवाद आदि विभिन्न राजनीतिकवादहरुले पुरा गर्न नसक्ने तथा यी विभिन्न राजनीतिकवादहरुको विकल्पको रुपमा पहिचानको राजनीतिक दर्शनलाई लिईएको छ / त्यसैले आफुलाई मार्क्सवादी र प्रजातान्त्रिक समाजवादी भन्नेहरुले यस पहिचानको राजनीतिक दर्शनलाई तथा पहिचानको एजेण्डा लिएर हिड्नु भनेको त्यो समाजको जनतालाई अल्मल्याउने भ्रमको हतियार मात्र हुनेछ /
हालसम्म अस्तित्व रहेको यी मार्क्सवाद र पुजीवादले देशमा रहेको जातीय र वर्गीय समस्यालाई समाधान गर्न सक्दैन भन्ने कुरा संसारभर प्रमाणित हुदै आइरहेको छ / केहि मार्क्सवादी तथा साम्यवादी विचारक तथा नेताहरुले जाति, भाषा र सस्कृतिको समस्या पनि वर्गीय समस्याकै एकरुप हो भन्दै, त्यस किसिमको शोषण र उत्पीडनको बिरोध गर्दै वर्गीय आन्दोलनसँग जोड्न खोजेपनि अन्ततः त्यो उनीहरुको मार्क्सवादी आन्दोलन सफल पार्ने रणनीतिक उपयोग मात्र भएको देखिएको छ /
विश्वभर बिकसित भएको पहिचानको चेतनाले गर्दा हरेक क्षेत्रमा वर्गीय समस्या मात्र नभएर, यहाँ राष्ट्रिय/जातीय, भाषिक, धार्मिक, क्षेत्रीय तथा सास्कृतिक, सामाजिक, राजनीतिक आदि विभिन्न समस्याहरु रहेको कुरा सतहमा देखा परेको छन् / त्यस किसिमको समस्याहरु वर्गीय संघर्षको राजनीति र प्रजातान्त्रिक व्यवस्थाले मात्र समाधान हुन सकेन / एकल राष्ट्र राज्यहरु क्रमशः बहुराष्ट्र राज्यमा बदलिदै गएको छन / अहिले त्यस्तो प्रकृया बहु-राष्ट्र राज्यबाट पनि बहुलराष्ट्र राज्यमा परिवर्तन भइरहेको छन् / शासन व्यवस्थामा पनि समावेसी लोकतन्त्र तथा सहमतीय लोकतान्त्रिक प्रणालीमा परिवर्तन हुने क्रममा छन् /
नेपालको सन्दर्भमा जनतामा आएको पहिचानको राजनीतिक चेतनालाई समाधानको प्रकृयामा लैजानुको सट्टा राज्य सत्ताको आडमा जबर्जस्ती रोक्ने प्रयास गरिएको छ / देशको बहुजातीय, बहुभाषिक, बहुसस्कृतिक र भौगोलिक विविधतालाई आत्मसाथ गरी बहुलराष्ट्रिय राज्य नेपाल नबनाई फेरी एकल आर्य(बाहुन/क्षेत्री) जातीय राष्ट्रिय राज्यकै सैदान्तिक र सबैधानिक अवधारणा कायम राख्ने काम गरेको छन् / देशको यस्तो विशिष्ट किसिमको विविधतालाई आत्मसाथ गर्दै त्यसलाई सम्बोधन गर्नको लागि नेपालको संबिधान(२०७२) ले कायम गरेको एकल जातीय(बाहुन/क्षेत्री) राष्ट्रवादको एकाधिकारवादी अवधारणालाई भत्काउदै नेपाली समाजलाई बहुलराष्ट्रियवाद तर्फ रुपान्तरण गर्नुको बिकल्प छैन / विभेदकारी, जातीय उत्पीडन, शोषण, अन्याय र असमानता जारीराख्ने राज्य संरचनालाई नभत्काएसम्म जातीय मुत्ति सम्भव छैन / त्यसैले राज्यको यस्तो संरचनालाई भत्काएर पहिचानमा आधारित संघीय राज्य निर्माण गर्नु राष्ट्रिय/जातीय मुत्तिको प्रस्थानविन्दु हो / जातीय मुत्तिको पूर्ण महसुस भनेको बहुल-राष्ट्रवाद नै हो साथै देशभित्रको सबै राष्ट्रहरुबीचको सह-अस्तित्वको स्वीकारोक्ति नै हो /    
   
सन्दर्भ सामग्री
राजनीतिकशास्त्रको सिद्दान्त -कृष्ण पोखरेल
दर्शनशास्त्रको प्रारम्भिक ज्ञान –भिक्टर आफानास्येभ
मार्क्सवादी दर्शनशास्त्रको रुपरेखा –हस्तबहादुर के.सी.
लेनिनको संकलित रचना –भ्या.ई.लेनिन
मार्क्सवादी अर्थशास्त्र –डा. विजय कुमार पौडेल
वर्गीय धरातल र जातीय सवाल –राजेन्द्र किराती
कम्युनिष्ट पार्टीका घोषणा पत्र –मार्क्स,एंगेल्स
पहिचान, संघियता र राष्ट्रिय एकता –प्रा. पुष्पराज कडेल
नेपालमा समावेसी लोकतन्त्र, जातीय स्वायत्तता र आत्मनिर्णयको अधिकार –डा. बुद्दिप्रसाद भण्डारी
नेपाली राजनीति पहिचानको मुद्दा –मल्ल के. सुन्दर
यस्तो हुनुपर्छ राज्यको संरचना –भवानी बराल
संघीय गणतन्त्र नेपाल, समावेसी लोकतन्त्रको उच्चतम रुप –राजेन्द्र श्रेष्ठ   
राज्य, राष्ट्र र राष्ट्रियतामा रुपान्तरण भाग-१ -डा. महेन्द्र लावती
पहिचान, वर्ग र राष्ट्रियता भाग-२ -डा. महेन्द्र लावती
राज्य, राष्ट्र र राष्ट्रियतामा सुधार भाग-३ -डा. महेन्द्र लावती
विषय विविध –हर्क गुरुङ
ब्राह्मणवादी बिरुद्द जनजाती तथा उत्पीडित वर्ग –दुर्गहांग याखा राई
 
समाप्त....
 

मार्क्सवादी वर्ग संघर्ष :डम्मर लाबुङ (भाग-२)

 
२०७३/१०/०३
 
“जो राष्ट्र/जातिहरु भाषाहरुको समानता स्वीकार गर्दैन, त्यसको वकालत गर्दैन र सम्पूर्ण जातीय उत्पीडन र असमानताको विरुद्द संघर्ष गर्दैन, ऊ मार्क्सवादी होइन, ऊ त अझ जनतन्त्रवादीसम्म पनि होइन, यसमा कुनै शंका छैन /” –लेनिन
दन्दनात्मक भौतिकवाद कार्ल मार्क्सको सम्पूर्ण राजनीतिक दर्शनको आधारशिला हो / मूलत पुजीवादी व्यवस्थालाई अन्त्य गर्नको लागि नै मार्क्सवादी दर्शन अगाडी ल्याइएको हो / मार्क्सवादी राजनीतिशास्त्र अनुसार राज्यसत्ता भनेकै अधिनायकत्व प्रयोग गर्ने सस्था हो / पुजीवादी व्यवस्थामा पुजीपतिवर्गको अधिनायकत्व रहेको हुन्छ तर समाजवादी अथवा नयाँ जनवादी राज्यमा श्रमिकवर्गको अधिनायकत्व हुन्छ / कम्युनिष्ट घोषणापत्रको सुरुमा लेखिए अनुसार, “आजसम्म सम्पूर्ण समाजको इतिहास वर्ग संघर्षको इतिहास हो /”
दासयुगिन समाजमा दास र मालिकहरु, सामन्ती समाजमा भूदास-किसान र सामन्त(जमिन्दार), पुजीवादी समाजमा सर्वहारा र पुजीपतिहरु मुख्य वर्गहरु हुन् / त्यसैले प्रमुख दुइ वर्गहरु मध्ये यौटा त्यो वर्ग जोसँग उत्पादनका साधनहरु हुन्छन र अर्को त्यो जोसँग शारीरिक श्रम मात्र हुन्छ / प्रथम शोषक वर्ग र दोश्रो शोषित वर्ग हो / पुजीवादी क्रान्तिबाट समाजको अत्यन्त अल्पमत पुजीपति वर्गको हित भयो / सर्वहारा क्रान्तिमा समाजको बहुसंख्यक हिस्साद्वारा समाजको अत्याधिक बहुमतको हित स्थापना गर्न संचालन हुने मान्यता राख्दछ / त्यसैले यस बारेमा मार्क्स-एंगेल्स भन्छन –“बिगतका सम्पूर्ण ऐतिहासिक आन्दोलन अल्पमतका आन्दोलन थिए वा अल्पमतको स्वार्थका लागि सम्पन्न भएका थिए / सर्वहारा आन्दोलन स्वय सचेत आन्दोलन हो, यो स्वतन्त्र र अत्याधिक बहुमतको आन्दोलन हो तथा समाजको अत्याधिक बहुमतको हित स्थापित गर्ने आन्दोलन हो /”
समाजमा दास र मालिक उदय हुनु अघि समाज वर्ग विभाजित थिएन / समाजमा परस्पर विरोधी वर्गहरुको उदय भएपछि प्रत्येक ऐतिहासिक घटनाहरु कुनै न कुनै रुपमा वर्ग संघर्षसँग सम्बन्धित छन् / वर्ग संघर्षको इतिहासमा पुजीवादी व्यवस्था भित्रको वर्ग संघर्ष नै सबै भन्दा प्रष्ट एवं तिखो भएर अगाडी आएको छ किनभने पुजीवादले कारखानामा काम गर्ने श्रमिकलाई मात्रै होइन भौगोलिकशास्त्री, कानूनवेत्ता, पुजारी, कवि, वैज्ञानिक, इत्यादी सबैलाई ज्यालादारी श्रमिकमा परिणत गरिदिएको छ / त्यसैले मानव समाजको अस्तित्व निश्चित उत्पादन पद्दतिले निर्धारण गर्दछ भन्ने कुरा नै मार्क्स र एंगेल्सको दार्शनिक अध्यायनको सार हो / जहाँ वर्ग विभाजित हुदैनन् त्यहाँ राजनीति र राज्य दुवै हुदैनन् / छुट्टाछुट्टै वर्गका छुट्टाछुट्टै राजनीति हुन्छ / एक वर्गले अर्को वर्गमाथि गर्ने दमन नै राजनीति हो / आदिम समाजमा वर्ग थिएन त्यसैले त्यहाँ राजनीति पनि थिएन / आर्थिक कारणहरुले नै राजनीति जन्माउछ / मार्क्सले राजनीतिक संघर्षलाई वर्ग संघर्षको उच्चतम अभिव्यक्त्ति हो भनेका छन् / त्यसैगरी एंगेल्स भन्छन, “राजनीतिमा नलागेर पूर्ण तटस्थ बस्नु असम्भव कुरा हो / आफुलाई तटस्थ बताउने प्रेस जगतले दिनदिनै राजनीति गरिरहेको हुन्छ / कसले कस्तो राजनीति गर्छ र कुन रुपमा गर्छ भन्ने कुरा छुटै विषय हो /”
समाजको वर्गीय विभाजनको आधार मानव सम्बन्धहरुको मुख्य क्षेत्र भौतिक उत्पादनको क्षेत्रमा नै खोज्नु पर्छ भन्छन / उत्पादनका साधनहरुप्रतिको सम्बन्धबाट नै सामाजिक उत्पादनमा वर्गहरुको स्थान र भूमिका निर्धारीत हुन्छ, आम्दानीको मात्रा र त्यसको प्राप्तिको पद्दति निरुपित हुन्छ भन्ने दाबी रहेको छ / व्यक्त्तिगत स्वामित्वको विकास र सामुदायिक स्वामित्वको अन्त्यको साथसाथै मानिसहरुको बीचमा आर्थिक असमानता पनि बढ्दै गयो / खास गरिकन कुलीन वर्गका मानिसहरु धनी बन्दै गए, उनीहरुले उत्पादनका सामुदायिक साधनहरुमाथि प्रभुत्व जमाए / यी साधनहरुबाट बन्चित भएका मानिसहरु तिनका मालिकहरुको निमित्त काम गर्न बाध्य भए / त्यसपछि समाजमा वर्गहरुको स्थितिको प्रतिरक्षाताले गर्दा उनीहरुको बीचमा भिषण संघर्ष चल्न थाल्यो /  
पुजीवादी समाजको प्रमुख वर्गहरु नै बुर्जुवा वर्ग र सर्वहारा वर्गहरु हुन् / मुनाफाको होडबाजीमा बुर्जुवा वर्गले सर्वहारा वर्गको शोषण गर्दछ / पुजीवादी व्यवस्था विकास हुदै जादा शोषणले बढी निर्मम रुप लिदै जान्छ / त्यसैले सर्वहारा वर्गले यी सब कुरा सहेर बस्न सक्दैन / पुजीवादको आन्तरिक चरित्र नै कस्तो छ भने यहाँ मजदुरले आफ्नो श्रमको फलबाट वन्चित रहनु पर्ने हुन्छ / त्यसैले सर्वहारा वर्गको स्थितिले नै उसलाई बुर्जुवा वर्गको बिरुद्द संघर्ष गर्न बाध्य तुल्याउछ /
समाजबाट सदाको निमित्त शोषणको अन्त्य गर्नु, पुजीवादी व्यवस्थाको उन्मुलन गर्नु, राज्य बिहिन समाजवाद र वर्गरहित साम्यवादी समाजको निर्माण गर्नको लागि “सशस्त्र बलद्वारा राज्यसत्ता कब्जा गर्नु, युद्दद्वारा समस्या हल गर्नु, क्रान्तिको केन्द्रिय काम र सर्वोच्च रुप हो / क्रान्तिको यो मार्क्सवादी-लेनिनवादी सिद्दान्त सर्वत्र लागु हुन्छ, चीन र अन्य सबै देशमा लागु हुन्छ तर सिद्दान्त एउतै हुदाहुदै पनि जब सर्वहारावर्गको पार्टीले त्यसलाई व्यवहारमा लागु गर्दछ, त्यतिबेला उसले अलग-अलग परिस्थिति अनुसार अभिव्याक्त्ति अलग-अलग तरिका अपनाउछ / -माओ(युद्द रणनैतिका समस्याहरु)
अत: मार्क्सवादी वर्गसंघर्षको मुख्य राजनीतिक विश्व दृष्टिकोणको सारतत्व भनेको धनी र गरिब समुदाय बीचको अन्तरसंघर्ष मात्र हो / त्यसैले यी अल्पसंख्यक रुपमा रहेको मुठ्ठीभर धनी-सामन्त, धनी-जमिन्दार, धनी-पुजीपति, धनी उद्योगपति, धनी शासक वर्ग र तिनीहरुको स्वार्थ अनुसार तयार गरिएको राज्य व्यवस्थाहरुलाई राजनीतिक रुपमा या सशत्र क्रान्तिद्वारा भौतिकरुपमा सिध्याएर उनीहरुको एकछत्र स्वामित्व तथा एकाधिकारमा कायम रहेको सम्पूर्ण भौतिक तथा आर्थिक सम्पत्तिहरु खोसाएर बहुसंख्यकरुपमा रहेको गरिब तथा सर्वहारा वर्गहरुलाई समानरुपमा वितरण गराई दिनु र उनीहरुको स्वामित्वमा राख्ने राजनीतिक अभियान मात्र हो / त्यसैले मार्क्सवादी वर्गसंघर्षले विश्वको हरेक देशभित्र देखा परेको राष्ट्रिय/जातीय, भाषिक, धार्मिक, क्षेत्रीय तथा सास्कृतिक, सामाजिक आदि विभिन्न विभेद बारेमा सम्बोधन गर्दैन / तर पहिचानको राजनीतिले यी सम्पूर्ण समस्याहरुको समाधान सहित वर्गीय विभेद बारेमा पनि सम्बोधन गर्छ /
विश्वमा हालसम्म अस्तित्व रहेको यी मार्क्सवाद र पुजीवादले देशमा रहेको जातीय र वर्गीय समस्यालाई समाधान गर्न सक्दैन भन्ने कुरा संसारभर प्रमाणित हुदै आइरहेको छ / केहि मार्क्सवादी तथा साम्यवादी विचारक तथा नेताहरुले जाति, भाषा र सस्कृतिको समस्या पनि वर्गीय समस्याकै एकरुप हो भन्दै, त्यस किसिमको शोषण र उत्पीडनको बिरोध गर्दै वर्गीय आन्दोलनसँग जोड्न खोजेपनि अन्ततः त्यो उनीहरुको मार्क्सवादी आन्दोलन सफल पार्ने रणनीतिक उपयोग मात्र भएको देखिएको छ /
क्रमशः......

नेपालको राजनीतिक इतिहास :डम्मर लाबुङ (भाग-१)

                               
२०७३/१०/०३

नेपाल देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसस्कृति, र भौगोलिक रुपमा हिमाल, पहाड र तराई क्षेत्रको रुपमा विविधतायुत्त विशेषता रहेको कारण नेपाल एउटा बहुराष्ट्रिय राज्यको रुपमा देखिन्छ / त्यसैले नेपालीहरू विभिन्न राष्ट्रका नेपाली हुन्, त्यस कारण सबै नेपाली एउटै राष्ट्रमा अटाउन सक्दैनन् । त्यसरी अटाउन सक्दैनन् भन्दैमा नेपाली जनता नेपाल राज्यप्रति बफादार हुँदैनन् भन्ने पनि होइन । त्यस्तो बफादारिता भनेको देशभक्ति (patriotism) हो । त्यसैले एउटा राज्यमा धेरै राष्ट्रअटाएर बस्न सक्छन् तर यहाँको पुरानो राष्ट्रराज्य पहाडी खस आर्य शासकका मूल्य-मान्यतामा मात्र आधारित थियो /
 
निरंकुश शासनकालमा शासकहरूले आफ्नो जातीय समुदायका भाषा, धर्म, संस्कृतिको आधारमा राष्ट्रियतालाई परिभाषित गर्न प्रयास गरे । यस्तो प्रयास र धारणामा केही महत्वपूर्ण विसंगति र प्राज्ञिक बेमेल थिए । त्यसैले पुरानो राष्ट्रराज्यको परिभाषामाथि विस्तारै चुनौती पनि बढ्न थाल्यो । देशको कुनै एक राष्ट्रले अरु राष्ट्रमाथि थिचोमिचो र अरुमा हाबी हुन खोज्यो वा दमन गर्‍यो भने त्यहाँ अवश्य द्वन्द्व हुन्छ । विश्वमा त्यस्ता थुप्रै द्वन्द्वका कारण क्रान्ति भएका पनि छन् । नेपालमा अढाई सय बर्ष देखि एक भाषा, एक भेष, एक राष्ट्र एक देशको नारा अनुसार देशको दिशा उन्मुख गराइएको थियो / तसर्थ उत्त समय देखि नेपालमा आर्यन (बाहुन/क्षेत्री) हरुको एकल साम्प्रदायिक राज्यको प्रयोग गरी लादिएको एकाधिकारले सिर्जना गरेको वर्गीय विभेद, जातीय विभेद, भाषिक विभेद, क्षेत्रीय विभेद, धार्मिक विभेद, लैंगीय विभेद, सास्कृतिक विभेद, राजनीतक रुपमा विभेद, आर्थिक असमानता, राज्यको असमावेसी व्यवस्था आदि अहिलेसम्म निरन्तरता दिईएको छ /
 
नेपालमा एकात्मक तथा एकल जातीय/साम्प्रदायिक राज्यको जग बसाउने कार्य वि.स. १८२५ असोज १३ गते देखि गोरखाको आर्यन(बाहुन/क्षेत्री)हरुको जातिगत राजा पृथ्वी नारायण शाहले सुरु गरेको थियो / उत्त शाहको नेतृत्वमा नेपाललाई “असली हिन्दुस्तान” बनाउने मिसन अनुसार तमुवान क्षेत्रमा आर्यनहरुको अधिनस्त रहेको गोरखाको सानो राज्यको सिमा विस्तारको अभियानमा गरेका थिए / पहिले  भारत देशमा बाहिरबाट भित्रिएको आर्यन जातिहरुले त्यहाँका मूल-आदिवासी/जनजातीहरुको राज्य आक्रमण गरी कब्जा गर्ने अभियानको क्रममा आदिवासीहरुको राजा (रावण)लाई राक्षस नाम दिएर सबैतिर प्रचार-प्रसार गराइ उसको राज्य कब्जा गर्न र उसलाई मार्नको लागि भारतको आर्यन(बाहुन/क्षेत्री)हरुले मूल-आदिवासी- जनजातीहरुलाई नै सेनाको रुपमा प्रयोग गरेको थियो / त्यसैगरी नेपालमा पनि बाहिरबाट १३,१४औ शताब्दीमा भित्रिएको आर्यनहरुले यहाँको मूल-आदिवासीहरुको राज्य कब्जा गरी लुट्न र आदिवासीहरुको राजा तथा नेताहरुलाई मारेर सिध्याउन यहाँका मूल-आदिवासी किराती वंशका मगर र गुरुङ जातिहरुलाई नै सेनाको रुपमा प्रयोग गरिएको थियो /
भारतका हिन्दू ब्राहमण/क्षेत्रीहरु १३,१४औ शताव्दीमा मुसलमानको आक्रमणबाट जोगिन नेपाल प्रवेश गरे / त्यसबेला यहाँका संघीय ढाचाका स्वायत्त राज्यहरु पृथ्वी नारायण शाहको नेतृत्वमा खुनी आक्रमण गरी जातीय नरसंहार गरेर गोर्खा राज्यको सिमा विस्तार गरेका थिए / राणा जङ्गबहादुरले मुलुकी ऐन जारी गर्दा उपाध्याय बाहुन, जैसी बाहुन, क्षेत्रीठकुरी तथा मधेसी बाहुनलाई उपल्लो दर्जाको विशेषाधिकार दिँदै अन्य जातजातिलाई भने मासिने र नमासिने, छोइछिटो लाग्ने र नलाग्ने जस्ता नागरिक अधिकार विहीन तुल्याउने क्रम करिब अढाई सय बर्षसम्म चल्यो । टङ्कप्रसाद आचार्य ब्राम्हण भएकैले जीवनदान पाएर पछि प्रधानमन्त्री बने । तर, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्री गैरब्राम्हण भएकैले शूलीमा चढाएर मारिए (किराती)
 
नेपालको मूल-आदिवासी जनजातीहरु प्रति आर्यन (बाहुन/क्षेत्री) जातिले हेर्ने दृष्टिकोण उनीहरुको रचनामा आधारित निम्न कविताबाट प्रष्ट हुन्छ /
 
जङ्गली, स्वाँठे, तिघ्रे,पाखे, खर्पने, डोकेको देश हो नेपाल,
भगवान् राखिदेउ यो यसैगरी /
यिनीहरु सभ्य र शिक्षित भए हाम्रो सिरिखुरी कहाँ जाला ?
मन्त्रीमण्डल जोड्दा बाहुन क्षेत्री लिनू, त्यो पनि उच्च कुलको,
मतवाली कोही नहुल्नू
अयोग्य, मतुवाली र पाखण्डी, निच, निर्दयी /
पस्यो भने मण्डलमा राज्य उठ्ठा गराउला //
बाहुन-क्षेत्रीबाट मन्त्रीमण्डल जोरुन /
त्यस्तै मन्त्रि लिई रक्षा गर्नु राज्यको सधै //
-राममणि आ.दी., भलोकुराको नमुना,२०१८,
उदृत, दुर्गहांग याखा राई, पाना २८१
 
त्यसैगरी भाषाको क्षेत्रमा आर्य(बाहुन/क्षेत्री) जातिहरुको दृष्टिकोण यस्तो रहेको छ
 
अझसम्म एकही “गोर्खा भाषा” को सर्व-व्यापकता हुन सकेको छैन,
किन्तु नेवार, भोटे, मगर, गुरुङ, लिम्बु, सुनुवार, दनुवार, थारु प्रवृत्तिका
जङ्गली भाषाहरुले पनि आफ्नो जन्मस्थानलाई एकदम छाड्न सकेका छैन /
जहासम्म एक मात्र “गोर्खा भाषा” ले अरु सबै जङ्गली भाषालाई
अर्ध-चन्द्र (गलहती) लगाउन्न, त्यहाँसम्म “गोर्खा भाषाको उन्नति हुन्छ”
भन्नु र “मुख्य भाषा कहिन योग्य छ” भन्नु केवल मनोलड़डू मात्र हो /
-कृष्णचन्द्र अर्याल व वैद्यनाथ जोशी
गोर्खा भाषा, गोर्खा एजेन्सी कार्यालय
उदृत, हर्क गुरुङ, पाना १३०     
   
नेपाल जस्तो बहुलराष्ट्र समाजमा रहेको बहुल राष्ट्रवादमा विभिन्न जात-जातिहरुको आ-आफ्नै भाषा, धर्म, सस्कृतिक मूल्य-मान्यता र परम्परा हुन्छ साथै उनीहरुलाई एकसुत्रमा आबद्द गर्ने भावनात्मक सम्बन्ध हुन्छ / यस्तो बहुलराष्ट्रिय समाजलाई बलपूर्वक एउटाई राष्ट्र बनाउन खोजियो भने त्यहाँ विभिन्न प्रकारका समस्याहरु उत्पन्न हुन जान्छन / बिगतमा झैँ देशको शासक वर्गहरुले बहुलराष्ट्रवादलाई एक राष्ट्र, एक राज्यको रुपमा विलय गराउन खोज्दा यो राष्ट्रवाद संकटमा पर्न जान्छ / नेपाल जस्तो एकात्मक शासन व्यवस्था भएको विश्वका धेरै देशहरुमा आज पनि यो समस्या देखापरेको छ / सोभियत संघ र युगोस्लाभिया यस्तै समस्याका कारण टुक्रिन बाध्य भयो / विश्वको हरेक राष्ट्र(जाति)हरुलाई आफु उपेक्षित भएको वा आफ्नो सास्कृतिक परम्परा, भाषा, धर्म र रीतिथितिमाथि हस्तक्षेप भएको महसुस भएमा राजनीतिमा गम्भीर असर पर्छ र देश विभाजनतर्फ अभिमुख हुन सक्छ /
 
विभिन्न राष्ट्र(जाति)हरुको भावनालाई स्वतन्त्र रुपमा अभिव्यत्त हुन नदिदा लामो समयदेखि दबिएर रहेका इच्छा र आकांक्षाहरु विस्फोट हुन हुन्छन / यस प्रकारको स्थिति विशेषगरी एसिया, अफ्रिका र दक्षिण अमेरिकाका विकासोन्मुख मुलुकहरुमा देखा परेको छ / यस्तो यस्ता संघर्षहरु राष्ट्र(जाति)हरुको पहिचान, अधिकार, समानता, सामाजिक न्याय, आर्थिक अधिकार र सास्कृतिक संरक्षणका लागि हुने गर्दछन / राजनीतिमा सहभागिता, सम्पत्तिमाथिको हक, आत्मनिर्णयको अधिकार र जातीय स्वशासनका लागि विभिन्न किसिमका आन्दोलनहरु हुने गरेको छ / विश्वको विभिन्न देशहरुमा अहिले देखापरेको संघर्षहरु पहिचानको राजनीतिमा आधारित रहेको छ /
 
नेपालमा एक शताब्दी भन्दा लामो समयसम्म अंग्रेज दलाल राणाहरुको जहानियाँ शासन अन्तर्गत चल्यो / त्यसैगरी नेपालको राजनैतिक आन्दोलनमा २००७ साल पछि नेपाली कांग्रेस जस्ता भारतीय दलालहरुले प्रभुत्व जमाउन सफल भए परिणाम जनताको आन्दोलनलाई दिल्ली दरबारको छत्रछायामा राजा, राणा र कांग्रेसको बीचमा सत्ताको भागबण्डा मिलाई सामन्त, नोकरशाही र दलाल पुजीपति वर्गले नयाँ सत्ता समीकरणका लागि प्रयोग गर्न सफल भए / उत्त कुख्यात दिल्ली सम्झौता र सन् १९५० को कुख्यात नेपाल-भारत सन्धि ठिक त्यसकै परिणाम हो / वि.स. २०४६ सालको आन्दोलन सफल भएपछि एमालेका नेताहरुले पनि नेपाली जनतालाई राजनीतिक रुपमा धोका दिएका थिए / त्यसैगरी माओवादीका नेताहरुले पनि दिल्लीको छत्रछायामा १२ बुदे सहमति र सम्झौता गरी निर्वाचन पहिलो पार्टीको रुपमा जितेर जब सरकारमा पुगेपछि नेपाली जनतालाई राजनीतिक रुपमा धोका दिएको छन् / जसको कारण आज “एकीकृत नेकपा माओवादी” विभिन्न टुक्रामा विभाजित हुदै अन्ततः दोश्रो कथित निर्वाचनमा तेश्रो पार्टीमा सिमित हुन बाध्य परेको हामी सबैले देखेका छौ /
 
अत: समग्रमा भन्नु पर्दा नेपाली राजनीतक ईतिहासमा पहाडे खस आर्यन(बाहुन/क्षेत्री)हरुको नेतृत्वमा रहेको पार्टी/नेता तथा शासक वर्गहरुले राज्य सत्ताको प्रयोग गरी नेपालको अनार्य(मूल-आदिवासी-जनजाती/मतुवाली) हरुलाई अढाई सय वर्ष देखि अहिलेसम्म निरन्तर राजनीतिक रुपमा धोका दिदै हरेक क्षेत्रमा शोषण, दमन, अन्याय-अत्याचार र विभेद गर्दै आएका छन् / त्यसैले एकात्मक राज्य सत्ताको ति साम्प्रदायिक शासक वर्गहरुले गरेको वर्गीय विभेद, जातीय विभेद, भाषिक विभेद, क्षेत्रीय विभेद, धार्मिक विभेद, लैंगीय विभेद, सास्कृतिक विभेद, राजनीतक रुपमा विभेद, आर्थिक असमानता, राज्यको असमावेसी व्यवस्था आदिबाट मुत्तिको लागि गरिने आन्दोलन नै पहिचान राजनीतिक आन्दोलन हो / त्यसैले देशको सम्पूर्ण उत्पीडित राष्ट्र(जाति)  तथा समुदायहरु एक भएर पहिचानको राजनीतिक आन्दोलनमा अघि बढ्नुको बिकल्प छैन /
क्रमसः ......