वि.सं. २०३१ मा मेरो बुबाले ‘काबेलीस्थित किरात मुजोत्लुङ माङहिममा किराती गुरु आत्मानन्द लिङ्देन र गुरुआमा आउनुभएको छ रे’ भन्नुभो । बुबासँगै म पनि माङहिम लागें ।
त्यहाँ पुग्दा गुरु तथा गुरुआमा साँच्चै आउनुभएको रहेछ । त्यसबेला म जवान भए पनि मेरो स्वभाव केटाकेटीको जस्तै रहेछ ।
डान्सर थेबे
गुरु तथा गुरुआमा कहिले थुम्बेदिन त कहिले साप्लाखु गर्नुहुँदै दुई महिनासम्म त्यस क्षेत्रमा बस्नुभयो ।
किरात धर्म, संस्कार एवं संस्कृति बचाउनुपर्छ भन्ने सोच आइरहेको बेला किरात धर्मगुरु मुहिङगुम अङसिमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’सँग भेट भएको थियो । त्यसबेला आफ्नो संस्कार, संस्कृति बचाउनका लागि गीत लेख्ने, नाच्ने र नाटक देखाउने काम दुर्गा थेबे, युरेन्द्रराज थेबे, भवेन्द्र थेबे (सल्लेरी साइँला), सन्तोषकुमार र मैले गर्यौं ।
धर्मगुरुले भन्नुहुन्थ्यो, ‘म गीत लेख्छु । तिमी डान्सर, लय निकाल है ।’
हामीले तीन दिनसम्म कार्यक्रम गर्ने निधो गर्यौं । कार्यक्रम पनि गर्यौं । म त अलिअलि मात्र लेख्न जान्दथें ।
मलाई गुरुले ‘आधुनिक गीत लेख्नुपर्छ’ भन्नुभयो । त्यसैले अलिकति लेख्यो कि गुरुसमक्ष देखाउँथें।
यसो गर्दागर्दै ‘आनी माराममिन आत्तिन छेइ…’ बोलको गीत रचना भयो । गीतमा गुरुले लय भर्नुभयो ।
मलाई त गीत गाउन आउँदैनथ्यो। तैपनि धेरै जनाको हुलमा स्वर मिलाउने काम गर्थें । गीत गाउँदा हामीसँग बाजाका रुपमा एउटा हारमुनियम, मादल, एकतारे मात्र थियो ।
किरात सांस्कृतिक जागरणको सुरु हाम्रै ठाउँबाट भएको थियो । त्यस समयमा दुई महिनासम्म गुरुसँग हिँड्यौं । गुरुले पनि गीत गाउनुहुन्थ्यो । वहाँको स्वर सुरिलो थियो । तर, बोल्नुहुँदा नरम हुन्थ्यो । उक्त समयमा कष्टसाथ नाटक पनि प्रस्तुत गर्यौं ।
लारुम्बामा सांस्कृतिक कार्यक्रम गर्नुपर्ने भएपछि गुरुले त्यहाँ आउन खबर पठाउनुभएकाले हामी ४/५ जना त्यसतर्फ गयौं । त्यसबेला मैले कपाल पालेको थिएँ । त्यसैको निहुँ पारेर मलाई पान्थरको गोपेटारमा प्रहरीले पक्राउ गरेर सोधखोज गर्यो ।
त्यस्तै, सांस्कृतिक कार्यक्रम गर्न लारुम्बा जाँदै गर्दा पान्थरको जोरसालमा माङफूङ लगाएका कारण प्रहरी प्रशासनले हामीलाई सोधखोज गर्यो ।
लारुम्बाबाट फर्किंदै गर्दा पान्थरको थर्पु पुग्ने बेला ‘किरातहाङ चुम्से पोगिना सेक्खा…’ बोलको गीत गाउँदै हिँड्दा प्रहरीले सोधखोज गर्यो । ‘गीतको नेपाली भाषामा के अर्थ हुन्छ’ भनी सोध्दा हामीले त्यसको उल्था गर्दा प्रहरीले हामीलाई पक्राउ गर्यो ।
त्यसबेला गीत गाउने र नाच्ने अभियान नै चलेको थियो । गीत लेख्नुपर्छ भन्ने थियो । यसरी लेख्दालेख्दै कति गीत त पूरा हुँदैनथ्यो । गीत पूरा हुन कयौं दिन लाग्थ्यो । यसरी किरात सांस्कृतिक आन्दोलनलाई अगाडि बढाइयो । तर, त्यो काम इतिहास बन्छ भन्ने थाहा थिएन । थाहा भएको भए त निक्कै धेरै काम गरिन्थ्यो होला ।
यसरी काम गर्दा कति घटना बिर्सन नसकिने छन् । एक पटक पान्थरको रवीमा भएको सम्मेलनमा जाँदै गर्दा फाक्तेपमा रात पर्यो । साथमा पैसा थिएन । बास माग्दा नदिने कुरा गरे । त्यसपछि के गर्ने भन्ने भयो । त्यसैले जुक्ति निकाल्नुपर्ने भयो ।
हामीले बास मागेको घरको छोरी साह्रै बिरामी रहेछ । त्यो कुरा थाहा पायौं । त्यसैले हामीले ‘हामी त फेदाङमा हौं’ भन्यौं । त्यसो भनेपछि बास दिने कुरा भयो । तर, फसाद पर्ने भयो । किनकि, हामीलाई बिरामीको झारफुक गर्न लगाउने भयो । खासमा हामी फेदाङमा थिएनौं।
तर युरेन्द्र र दुर्गाले झारफुक गरिदिए । त्यसपछि खाना खाएर आराम गर्यौं । भोलि त साँच्चै पो बिरामी निको भएको थियो । घरकाले ‘आउँदा-जाँदा बस्दै गर्नुहोस् है’ भने । हामी त अचम्मै पो भयौं । किरात सांस्कृतिक आन्दोलनलाई अघि बढाउँदा यस्तो पनि गर्नुपर्यो ।
गुरु तथा गुरुआमाको निर्देशनमा मैले त धेरै वटा गीत लेखेको थिएँ । काबेली माङहिम स्थापना हुनुभन्दा अगाडि त्यही ठाउँमा जसमनि पन्थको एउटा घर थियो । त्यो घरमा केही दस्तावेजसँगै उक्त गीत राखिएको थियो । त्यो घरमा आगलागी हुँदा ती सबै जल्यो ।
अब त जीवनको उतारार्द्धतिर पुगें । ती दिनहरु सम्झना आउँछ। गुरु तथा गुरुआमाले सुमार्गमा डोर्याउनुभयो ।
मेरो बुबा रामप्रसाद थेबेलाई पनि महागुरु फाल्गुनन्दले डोर्याउनुभएको थियो । बाबुको उक्त कार्यले नै १० वर्षसम्म गुरु तथा गुरुआमासँगै रहेर किरात सांस्कृतिक आन्दोलनमा हिँड्ने अवसर पाइयो होला । जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्ने अवसर पाएँ ।
हामीले जानी नजानी गरेका ती काम किरात साम्यो साक्थिम्गेन पान्जुम्भोले दस्तावेजमा समेट्ने काम गर्न लागेकोमा खुशी लागेको छ । हामीले यसरी नै हाम्रो इतिहास लेख्दै जानुपर्दछ ।
थुम्बेदिन–२, ताप्लेजुङका डान्सर थेबेसँग सुमन लाओतीले गरेको यो कुराकानी ‘किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको स्मारिका’ मा प्रकाशन भएको थियो । हामीले यो सामग्री रात न्युज डट कमबाट लिएका हौं- सम्पादक ।
इसमताबाट साभार .......

0 comments:
Post a Comment