Breaking News
Loading...
######


प्रा. मिश्रको व्यक्ति विश्लेषण एकात्मकतावादी
संस्कृति र समाजको निरपेक्षतामा एउटा मनुवा ‘दैहिक जीवात्मा’ हुन सक्ला, तर व्यक्ति—कर्ता हुन सक्तैन । व्यक्ति—कर्ता हुनुको सारभूतता सामाजिक सांस्कृतिक सापेक्षतामा मात्र अर्थपूर्ण हुन्छ । यस अर्थमा सामाजिक र सांस्कृतिक विशिष्टताका अनुहार हामी व्यक्ति वा कर्तारूपी दर्पणमा हेर्न सक्दछौं । अर्थात समाजलाई गतिवान र चलायमान देख्न सकिने भनेकै कर्ताहरूमाझ चलखेल, अन्तक्र्रिया र क्रियाकलापहरूमा हो । व्यक्ति उत्पादित वस्तुजस्तै हो, समाज र संस्कृति भनेको कर्ता उत्पादन गर्ने साँचो, मेसिन वा कारखाना जे भने पनि हो । यसो हुँदा विशिष्ट सामाजिक, सांस्कृतिक, ऐतिहासिक परिस्थितिहरूले कर्ताको कर्तृत्व वा व्यक्तित्व निर्माण गर्दछ ।
प्राध्यापक मिश्रको भनाइ ‘व्यक्तिभित्र समाज हुन्छ समाजभित्र भित्र व्यक्ति’ भन्ने कुरा सबै समाजशास्त्री मानवशास्त्रीले मानेको कुरा हो । तर व्यक्ति र समाजलाई एउटै तहमा हेर्न र बुझ्न खोजियो भने त्यो सही हुँदैन । व्यक्ति भनेको व्यष्टि रूपमात्र हो, संस्कृति र समाज समष्टि रूप हो । त्यसैले ‘सामाजिक, सांस्कृतिक, ऐतिहासिक, आर्थिक आदि कुराहरूको समष्टि रूप व्यक्ति हो’ भन्दा कुरा उल्टो हुन्छ । संस्कृति र समाज भन्नु संरचना हो भने व्यक्ति भन्नु त अव्यक्त संरचना व्यक्त हुने माध्यममात्र हो । व्यक्ति संस्कृति र समाजको समष्टिगत वैशिष्ट्यको झलकमात्र हो । झलक वा झल्कोलाई समष्टि भन्नु वा मान्नु विशिष्ट सामाजिक, सांस्कृतिक, अर्थ–राजनीतिक ऐतिहासिकीलाई नजरअन्दाज गर्नु हो ।
प्रा. मिश्रको व्यक्तिबखानभित्र धेरैजसो स्कुले शिक्षाका निमित्त मरिमेट्ने र सधैँ जागीर वा श्रमको ध्याउन्नामा मात्र भौंतारिने एकलकाँटे, एकपाटे आर्थिक प्राणीमात्र देखिन्छ ।
अब कुरोको चुरो पक्रने कोसिस गरौं । व्यक्ति र सामाजिक सांस्कृतिक संरचनाबारे माथि उल्लेखित तहको कुरा गर्नु भनेको अमूर्त प्रस्तुति हो । वास्तवमा ‘व्यक्ति’ शब्दले सांस्कृतिक वा सामाजिक कुुनै अर्थ नै दिँदैन । व्यक्ति भनेको एउटा दैहिक आत्माधारी जीव हो भन्ने बुझिन्छ, बस त्यति हो । ‘व्यक्ति’ भन्ने बित्तिकै को, कहाँको, के थरीजस्ता यावत प्रश्नको उत्तर स्वाभाविक रूपमा खोज्नुपर्ने हुन्छ । ‘व्यक्ति’ भन्ने अमुकसँग कुनै नाम, थर, गाउँ, घर, नाता—गोताको प्रसंग जोडिएन भने कसैले पनि बोलाउने, बास दिने, सत्कार गर्ने वा कुनैखाले सामाजिक अन्तर्क्रिया गर्ने आधार नै हुँदैन । त्यसैगरी संस्कृति–समाज भनेर मात्र पनि धर पाइँदैन । कुन, कस्तो, कसरी बनिरहेको, कस्तो इतिहास बोकेको संस्कृति वा समाज भन्ने पृष्ठभूमि थाहा नपाई न समाजको अर्थ लाग्छ, न त व्यक्तिकै ।
मानवशास्त्रको चासो भनेको उदाहरणका लागि नेपाल देशको सरहदभित्र के कति कस्ता समाज र संस्कृति छन् भन्ने बहु–विविधतामुुखी अध्ययन र विश्लेषण गर्नु हो । समाज–संस्कृतिलाई विशिष्टिकृत गर्दा हामी देख्दछौंः परिवार, नातागोता, भाषा, धर्मकर्म, चाडपर्व, पूजा–आजा, राजनीतिक संगठन, आन्दोलनमा सहभागिता, आर्थिक क्रियाकलाप आदि । सामाजिक संगठन भनिने यिनै कुराले सामाजिकीकरणको प्रक्रियामा चेतनशील र क्रियाशील कर्ता निर्माण गर्ने हो । त्यसैले नेपाली समाजहरू र संस्कृतिहरूभित्र हेर्दा व्यक्ति देखिँदैन, तर नेवार, तामाङ, बाहुन, क्षेत्री, मगर, गुरुङ आदि जस्ता जातीय समूहलाई प्रतिनिधित्व गर्ने क्रियाशील कर्ताहरू देखिन्छन् । दो तुक शब्दमा जोड दिन चाहन्छुः आज पनि नेपालमा विभिन्न संस्कृति र समाजअन्तर्गत निर्माणाधीन ‘व्यक्ति’ भनेको बाहुन, क्षेत्री, तामाङ, नेवार आदि जस्ता विभिन्न जातीय समूहलाई प्रतिनिधित्व गर्ने बहु–आयामिक र वैयक्तिक तहमा बहुपहिचानयुक्त चेतनशील एवं क्रियाशील कर्ता—व्यक्तिहरू हुन् । उदाहरणका लागि, बाहुन र लिम्बू भन्ने बित्तिकै फरकफरक संस्कृति, भाषा, चालचलन, वेशभूषा, फरकफरक सामाजिक संगठनहरू र नितान्त फरक जीवन दर्शनका लहर तरंगित हुन्छन् हाम्रो मन–चित्तमा । हो, आर्थिक जीविकोपार्जनका उपायहरू, स्कुले शिक्षा आर्जनजस्ता पाटोबाट मात्र हेर्दा विभिन्न जात एकैजस्तो देखिएला बाहिरी तहमा, तर गहिराइमा जाँदा आर्थिक, शैक्षिक अवस्थाका आधारमा समेत नेपालको सन्दर्भमा विभिन्न जात कसरी फरक देखिन्छन् ? त्यो भिन्नता कसरी सम्भव भयो भनेर नै विश्लेषण गर्नु जरुरी छ ।
‘नेपाली समाजः’ आफै समस्यामूलक
‘नेपाली समाज’ भन्ने शब्दावली पनि मानवशास्त्रीय विधाको नजरमा समस्यामूलक लाग्दछ । पहिलो, ‘नेपाली समाज’को नाममा नेपालमा एकात्मक राज्यसत्ताधारी वर्ग—जातले आफ्नै जातीय इतिहास, संस्कृति, भाषा, धर्म, संस्कारको उन्नयन र विस्तार गरिरह्यो दुई शताब्दीभन्दा बढी समयदेखि ।
दोस्रो, यो प्रक्रियामा सत्ताधारी जातिहरूले राज्यनिर्माण, आधुनिकीकरण र विकासका नाममा ‘आफन्त’ र ‘पराइ’ समाजहरूको निर्माण गर्यो । आफन्त जातिलाई काखमा राख्ने र पराइ जातिहरूलाई पाखा लगाउने राजनीति हाबी भयो विगतको नेपालमा । ‘आफन्त’ जाति वा शासक जातिको निमित्त आफ्नो सामूहिक पहिचान निसृत हुने संस्कृति, भाषा, धर्म, लवाइ–खवाइसमेत राज्य–संस्कृति, राज्य–धर्म, राज्य–भाषाको रूपमा विस्तार हुँदै गएपछि ‘आफन्त’ वा सत्तासीन जातिहरूको निमित्त पहिचान कुनै समस्यै रहेन । आज मूलतः बाहुन, क्षेत्रीहरूका निमित्त पहिचान कुनै राजनीतिक समस्याजस्तै महसुस नहुनुको कारण यो पनि हो । उनीहरूलाई सांस्कृतिक, भाषिक अधिकार भनेको के हो भन्ने बुझ्नुपर्ने नै आवश्यकतै रहेन । आफूलाई जे पुगिसरी छ, त्यसको आवश्यकता मान्छेले महसुसै गर्दैन र त्यसबारे बुझ्नै सक्दैन । उनीहरूका लागि मूल समस्या भनेको नै स्कुले शिक्षाआर्जन, आर्थिक पक्ष र रोजगारका अवसरमात्र हो अर्थात उनीहरूका निमित्त वैयक्तिक तहका जस्तो लाग्ने समस्यामात्र बाकी रहेझैं लाग्दछ । उनीहरूका सामूहिक पहिचानको निमित्त अपरिहार्य लाग्ने संस्कृति, धर्म, भाषा त राज्यले नै जिम्मा लिइदिएको जो छ । सामूहिक पहिचान र सांस्कृतिक अधिकारको समस्या त आदिवासी–जनजातिहरूको हो, जसलाई सत्तासीन क्षेत्री बाहुनहरूले राज्यनिर्माणको निहँुमा उपनिवेश बनाए, लाखापाखा लगाए । त्यसैले एकात्मक हिन्दूू राज्यको निर्माण प्रक्रियाको पृष्ठभूमिलाई नजरअन्दाज गरेर नेपालमा व्यक्ति र समाजबीचको सम्बन्धलाई विश्लेषण गर्न खोजियो भने त्यस्तो विश्लेषण एकलकाँटे, एकपाटे, अझ आत्मकेन्द्रित खाले हुन्छ । प्राध्यापक मिश्रको व्यक्ति र समाजबीचको सम्बन्ध विश्लेषणमा उल्लेखित कमजोरी प्रस्ट देखिन्छन् । व्यक्तिगतजस्ता लाग्ने समस्याहरूलाई मात्र आफ्नो विश्लेषणमा महत्व दिनु र पहिचानलाई समस्या नमान्नुको एउटा कारण उहाँको जातीय पृष्ठभूमि पनि हो भन्ने लाग्छ मलाई ।
माक्र्सले लेखेका कुरामध्ये म मानवशास्त्रको विद्यार्थीका लागि यो सन्दर्भमा सबैभन्दा उपयुक्त लाग्ने बुँदा भनेको “आफ्नो इतिहासको निर्माता मान्छेहरू आफै हुन्” भन्ने हो । उदाहरणका लागि, चेपाङ समाजलाई सम्भव तुल्याउने र पुनर्निर्माण गर्ने भनेको चेपाङहरू स्वयम् हुन् । विगत नेपालमा सांस्कृतिक रूपले सीमान्तकृत हुनुपरेकाहरूले वर्तमानमा आफ्नै विशिष्ट इतिहासको गौरवगाथा गाउने र आफ्नो इतिहास एकात्मक राज्यनिर्माताहरूको भन्दा कतै कमजोर नभएको दाबी गर्ने प्रक्रिया बढ्दो छ । यसरी आफ्नो इतिहासको रचना र निर्माण आफै गर्ने कालखण्डमा हामी छौं आज । माक्र्सले प्रयोग गरेको ‘मान्छे’ भन्ने शब्द ‘समाज’को समानार्थीको रूपमा बुझ्नुपर्दछ, ‘व्यक्ति’को अर्थमा होइन । अझ महत्वपूर्ण के हो भने माक्र्सद्वारा सैद्धान्तिकृत शब्द ‘निर्माण’ वा ‘उत्पादन’लाई माग र पूर्तिसँग सम्बन्धित उपभोग्य वस्तुहरूको उत्पादन र वितरणको अर्थमा मात्र बुझ्नु हुँदैन । “मानिसहरू स्वयम्मा आफैलाई र आफ्ना समाजलाई उत्पादन एवं पुनःउत्पादन वा निर्माण गर्ने क्षमता हुन्छ ।” मानवशास्त्रको निमित्त माक्र्सको उक्त कथन सबैभन्दा मननयोग्छ छ मेरो लागि । मनुवाको जातै आफ्नो उत्पादन र निर्माणमा आफै मख्ख पर्ने र गर्व गर्ने जात हो । उदाहरणका लागि, राउटेहरू गर्व गर्छन् आफ्नै उत्पादन र निर्माण अनि पहिचानमा । काठमाडौं आएर नेताहरू भेटेर भन्छन्, “हामी वनको राजा, तिमी गाउँघरको राजा, हाम्रो जङ्गल नछोइदेउ ।”
मान्छे किन सांस्कृतिक प्राणी हो ?
मान्छे किन सांस्कृतिक प्राणी हो भन्ने सवालमा पनि माक्र्सकै कथन मलाई अत्यन्त सारगर्वित लाग्दछः “मानिसमा आफ्नो संसार निर्माण आफै गर्नेे क्षमता हुन्छ र कस्तो के निर्माण वा उत्पादन गर्ने भन्ने कुरा मान्छेले आफ्नो काल्पनिकीमा खाका तयार गर्दछ । आफूले निर्माण गर्न लागेको वस्तु वा संसारको नक्सा आफ्नो मानसपटलमा कोरिसकेपछि मात्र मान्छेले त्यो वस्तु वा संसार बनाउँदछ ।” यही काल्पनिकी क्षमताका कारणले मान्छे अन्य प्राणीभन्दा विशिष्ट हो र सांस्कृतिक हो भन्ने कथन छ, कार्ल माक्र्सको । त्यसैले, उदाहरणतका लागि, राउटेहरूको सामाजिक काल्पनिकी र बाहुनहरूको सांस्कृतिक काल्पनिकीका आ–आफ्नै वैशिष्ट्य हुन्छन् । त्यसैले व्यक्ति सबै एकै हुन् भन्ने मान्यताले वा मान्छे भनेको नितान्त आर्थिक प्राणी मात्र हो भन्ने धारणाले सांस्कृतिक विभिन्नता र विविधतालाई बुझ्न सक्दैन । सारमा त्यस्तोखाले एकात्मकवादी तर्कले “सबै पञ्च नेपाली सबै नेपाली पञ्च” भन्ने विचारको स्मरण गराउँछ । प्राध्यापक मिश्रको व्यक्ति–विश्लेषणमा यस्तो एकात्मक चिन्तन हाबी भएको छ भन्ने मेरो बुझाइ छ ।
यही त हो औपनिवेशीकरण भनेको !
समस्त नेपालीहरूलाई एउटा समाज मान्ने धारणा नै एकात्मक धारणा हो । एकात्मक नजर र चिन्तनले ग्रस्त भएपछि नेपालमा एउटै संस्कृति, एउटै जाति, एउटै व्यवस्था देखिन्छ जस्तो लाग्छ मलाई । उदाहरणका लागि कोही भन्छन्, ‘नेपाली समाज अर्ध–सामन्ती, अर्ध–पुँजीवादी चरित्रको समाज हो’, कोही भन्छन्, ‘नेपाली समाज पूर्णतः पुँजीवादी चरित्रको भैसक्यो’ । यस्तो गोलमटोले दृष्टिकोणले नेपालको सामाजिक बहुविधता र सांस्कृतिक बहुलतालाई बुझ्न नखोज्ने मात्र होइन, विश्वाससमेत गर्दैन । माथि नै माक्र्सलाई उद्धृत गरियो, “मानिस वा समाज स्वयम्सँग आफ्नै उत्पादन, पुनःउत्पादन र निर्माण गर्ने अपार क्षमता हुन्छ ।” त्यसो हुँदा विभिन्न सामाजिक समूह आफैमा सम्पूर्णता सम्पन्न सांस्कृतिक उत्पादन प्रणाली पनि हुन् । जातव्यवस्था आफैमा एउटा उत्पादन प्रणाली हो । राउटे, चेपाङ, थारु, नेवार, गुरुङ, तामाङ, राई, लिम्बू आदि सबै नै आफ्नै सांस्कृतिक उत्पादन पद्धति हुन् । यी सबै भिन्न समाजहरूका आआफ्नै आचार र सामाजिक सांस्कृतिक संगठन छन् । नेपालमा भिन्नभिन्न सांस्कृतिक वैशिष्ट्ययुक्त समूहहरूलाई फरक सामाजिक उत्पादन पद्धति मानेर अध्ययन गर्न आवश्यक ठानेका छैनन् माक्र्सवादी समाजशास्त्रीहरूले समेत ।
बृहत्तर नेपाली समाज बनाउने निहुँ वा नेपाल राज्य बनाउने निहँुमा हिन्दू जातीय उत्पादन प्रणालीले नेपालका आदिवासी उत्पादन प्रणालीहरूलाई नष्ट गर्दै वा आफ्नो हितअनुकुल फेरबदल गर्दै लगेर एकात्मक चरित्रको नेपाल र एकात्मक चिन्तन निर्माण गरेका हो । एकातिर आदिवासी सांस्कृतिक, सामाजिक, आर्थिक उत्पादन प्रणालीलाई नष्ट गर्ने वा आफूभित्र समाहित गर्ने, र आदिवासीहरूको श्रमको शोषण गरी सत्तासीन जातिहरू फस्टाउने प्रक्रिया करिव २५० बर्षदेखि चलिरहेकै छ । यही त हो औपनिवेशीकरण भनेको । तर ‘नेपाल कहिल्यै कसैको उपनिवेश भएन, थिएन’ भनेर विद्यार्थीलाई सिकाइन्छ । हिन्दू उच्चजातीय सत्ताधारीहरूले मधेस, थारु, राई, लिम्बू, तामाङ आदिलाई आफ्नो उपनिवेशसरह शोषण गरेकै होइन र ? प्रा. मिश्रले नै माक्र्सको कथन उल्लेख गर्नुभएको छ, “आजको पुस्ताको काँधमा उनीहरूको पुर्खाको विरासतको भार हुन्छ ।” इतिहासमा जे भो सो भो, अब बिर्सने भनेर धर पाउँछ र आजका पुस्ताले ? मधेसीले, थारुले, तामाङले, राईले, नेवारले, लिम्बूले ‘हिजो जे भो आज सबै फच्छे भो, लोकतन्त्रमा सबै बराबर’ भनेको सुनेको छैन मैले । उनीहरूमा बढ्दो अस्मिताबोध र उनीहरूले उठाइरहेको सामूहिक पहिचानको आन्दोलनलाई विशिष्ट अर्थ–राजनीतिक ऐतिहासिकीको कसीमा जाँचेर समाजशास्त्रीय अध्ययन विश्लेषणको उत्तिकै खाँचो छ अहिले ।
प्राध्यापक मिश्र पुस्तान्तरमा बढी जोड दिनुहुन्छ तर अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई के हस्तान्तरण गर्छ भन्नेमा उहाँ मौन रहनुहुन्छ । हिजो तामाङहरूले रसुवाबाट सित्तैमा बरफ बोकेर काठमाडौको दरबारहरूमा पुरयाउनुपर्थ्यो। राज्यको नीतिअनुरूप आफ्नो बाजेले खप्नुपरेको कहर आज उनका नातिहरूले बिर्सन्छन् त भुसुक्कै ? तर आर्थिक पद्धतिमा परिवर्तन हुँदैमा मान्छेले आफ्नो सामाजिक, सांस्कृतिक इतिहास नै भुसुक्कै बिर्सेको कहीँ छैन ।
व्यक्तिबखानभित्र आर्थिक प्राणीमात्र
प्रा. मिश्रको व्यक्तिबखानभित्र धेरैजसो स्कुले शिक्षाका निमित्त मरिमेट्ने र सधैँ जागीर वा श्रमको ध्याउन्नामा मात्र भौंतारिने एकलकाँटे, एकपाटे आर्थिक प्राणीमात्र देखिन्छ । नवउदारवादी पुँजीवादको नेतृत्वमा भइरहेको अतिकेन्द्रिकृत वित्तीय पुँजी परिचालन र भूमण्डलीकरणको प्रक्रियामा निश्चित रूपमा आर्थिक हिसाबले विश्व एक ढंगले जीविकोपार्जनका सवालमा एकीकृत हुँदै गएको जस्तो लाग्दछ । तर विभिन्न समाज र संस्कृतिहरूको राजनीतिक पक्षलाई हेरियो भने उही व्यक्तिहरू आफ्नै विशिष्ट पहिचानसम्बद्ध भिन्नताको राजनीतिमा संलग्न देखिन्छन् । उदाहरणका लागि, आर्थिक उपार्जनका निमित्त मलेसिया, खाडी मुलुक, हङकङ र बेलायत सबैतिर छरिइनुपरेका छ लिम्बूहरू । तर लिम्बूवानको आन्दोलन र प्राप्तिका निमित्त उनीहरू उत्तिकै चासो राख्ने मात्रै होइन, काम गर्ने देशमा पनि उनीहरूले लिम्बूवान स्थापना सहयोग समितिहरू बनाएका छन् । उनीहरू पहिचान र अस्मिताको राजनीतिमा पनि संगठित भइरहेका छन् ।
उनीहरू विगतमा आर्थिक असमानता नै प्रमुख समस्या मानेर त्यसको समाधानका निमित्त राजनीतिमा संगठित बने । आज त्यस्तो छैन स्थिति । आज आर्थिक असमानतालाई गौण र सांस्कृतिक असमानता, पहिचानको समस्यालाई प्रमुख समस्या मान्दै नेपालमा मधेसी, आदिवासी जनजाति तथा सबै सीमान्तकृतहरू राजनीतिक रूपमा संगठित भइरहेका छन् । राजनीतिक संगठनको प्रेरकस्रोत अब आर्थिक शोषणजस्ता कुरा रहेन । आज नेपालमा निर्माणाधीन सीमान्तकृत व्यक्तिहरू सांस्कृतिक समानताको लडाइँ लड्न, आफ्नो सामूहिक अस्मितामा उचाइ थप्न राष्ट्रिय मुक्तिको आन्दोलनमा आफूलाई होम्दैछन् । आजका कर्ताहरूको राजनीतिक चेतना र क्रियाशीलताहरू अध्ययन गर्दा यस्तो लाग्छः आर्थिक रूपमा विश्व एउटा व्यवस्थामा बाँधिँदै गएको देखिए पनि राजनीतिक रूपमा क्रमशः विविधिकृत हुँदैछ । पहिचानको राजनीति यसको ज्वलन्त उदाहरण हो । यसर्थ नेपालमा निर्माणधीन व्यक्तिहरूको सांगोपांगो वर्णन बहु–आयामिक अनि बहु–सांस्कृतिक कोणबाट मात्र सम्भव हुन्छ ।
इसमता बाट साभार.......
Share: Note:- तपाईं हरु लाई यो पोस्ट मन परे मा Like, Share र Commnets गरी दिनु होला