पूर्वी नेपालमा वैकल्पिक शक्तिको रुपमा
लिम्बुवान पार्टीलाई हुर्काइरहेका लिङदेनले अनलाइनखबरसँगको लामो अन्तरवार्ताका
क्रममा भने- ‘कुमार
लिङदेनको मुखबाट यस्तो कहिल्यै निस्किएन । बाहुन हाम्रा शत्रु हुन्, क्षेत्री हाम्रा शत्रु हुन् हामीले
कहिल्यै भनेनौं । बाहुनक्षेत्रीलाई सामाजिक सञ्जाल आदिमा नबुझिकन गाली गर्ने
कार्यले हामीलाई ठूलो ‘हर्ट’ गरेको छ ।
काठमाडौं । संघीय लिम्बुवान पार्टी नेपालका
अध्यक्ष कुमार लिङदेनले आफ्ना कार्यकर्तामा रहेको क्षेत्रीबाहुन विरोधी अतिवादी
सोचले लिम्बुवान आन्दोलन र देशलाई घाटा लगाउने बताएका छन् ।
पूर्वी नेपालमा वैकल्पिक शक्तिको रुपमा
लिम्बुवान पार्टीलाई हुर्काइरहेका लिङदेनले अनलाइनखबरसँगको लामो अन्तरवार्ताका
क्रममा भने- ‘कुमार लिङदेनको मुखबाट यस्तो कहिल्यै निस्किएन
। बाहुन हाम्रा शत्रु हुन्, क्षेत्री हाम्रा शत्रु हुन् हामीले
कहिल्यै भनेनौं । बाहुनक्षेत्रीलाई सामाजिक सञ्जाल आदिमा नबुझिकन गाली गर्ने
कार्यले हामीलाई ठूलो ‘हर्ट’ गरेको छ ।’
बाहुन क्षेत्री र जनजातिको रगत आपसमा
मिसिइसकेको लिङदेनले बताए । ‘हामी सबै दाजुभाइ हौं । क्षेत्री बाहुन,
राई
लिम्बु मगर गुरुङवीच रगत नै मिसिइसकेको छ,’ उनले भने- ‘तीन
पुस्तासम्म विहाबारी चलिसक्यो, मागेर बिहे हुन थालिसक्यो ।’
लिम्बुवान पार्टीमा लागेपछि लिम्बु समुदायका
युवाहरुले जाँड रक्सी, चुरोट बिँडी र खैनी खान छाडेको र सुध्रन थालेको
लिङदेनले बताए ।
काठमाडौंमा ठूला पार्टीका नेता भेट्न डेलिगेसन
आएका युवानेता लिङदेनले अनलाइनखबरका लागि अरुण बरालसँग कुरा गर्दै लिम्बुवान
प्राप्त नहुञ्जेल लाभको पदमा नजाने बताए । लिम्बुवान प्राप्त भएपछि मुख्यमन्त्री
बन्नुको साटो राजनीति छाडेर लेखनतिर लाग्ने उनले घोषणा गरे ।
Kumar Lingden Limbu
तपाईको जन्म कहिले, कहाँ भएको हो ?
- ०२८ साल माघ १७ गते मोरंगको टाँडी गाविसमा ।
अध्ययन कहाँ गर्नुभयो ?
- तीन कक्षासम्म टाँडीमै पढें । ७ कक्षासम्म
पाँचथरको लिम्बामा पढें । ८ कक्षा मोरंगको मंगलबारेमा पढें । ९ र १० ललितपुरमा
पढें । आइएस्सी पाटन क्याम्पस, बीएस्सी बिराटनगर र एमएस्सी त्रिवि
कीर्तिपुरबाट गरें । ०५३ सालमा फिजिक्सबाट एमएस्सी गरेको हुँ ।
राजनीति जनमुक्ति पार्टीबाट शुरु गर्नुभएको हो ?
- जनआन्दोलन ०४६ सालको बेला म पाटनमा पढ्दै थिएँ
। हामी आन्दोलनमा थियौं । सागर बज्राचार्य मेरै अगाडि गोली लागेर ढल्नुभएको हो ।
त्यसबेला हामी १८, १९ वर्षका थियौं । त्यसपछि ठूलो परिवर्तन
आउलाजस्तो हामीले सोचेका थियौैं । तर, ०४६ सालपछि जो मन्त्रिमण्डल बन्यो,
त्यसपछि
मन मर्यो । आदिवासी जनजातिका बारेमा केही भएन । त्यसपछि म राजधानी छाडेर
बिराटनगरमा बीएस्सी पढ्न गएँ । त्यहाँ पुगेपछि जनमुक्ति पार्टीमा आवद्ध भएँ ।
जनमुक्ति पार्टीमा कति समय काम गर्नुभयो ?
- लामै समय रहें नि । बिराटनगरमा जनमुक्ति
पार्टीको विद्याथीं संगठनबाट स्ववियु सभापतिमा लडें । कीर्तिपुरमा आएर जनजाति
विद्यार्थी मञ्चको अध्यक्ष भएँ । पछि जनमुक्ति पार्टी फुट्यो । म विद्रोही गु्रपको
महासचिवसम्म भएँ । फेरि गोरेबहादुर खपाङ्गीसँग पार्टी एकीकरण गरियो । फुटेका बेला
मैले मोरङ क्षेत्र नं ४ र ५ बाट ०५६ सालमा चुनाव पनि लडें । पछि पाँचथरबाट सभासदको
चुनाव पनि लडें ।
राजाको कदमपछि समर्थन गर्ने र नगर्नेमा विभाजित
भइयो । हाम्रो भनाइचाँहि जनआन्दोलनमा जनमुक्ति पार्टीबाट नेतृत्वदायी भूमिका गरेर
जाऔं भन्ने थियो । तर, नेतृत्वले अर्कै लाइन लिएपछि हामीमाथि कारवाही
भयो ।
त्यसपछि ०६२ साल मंसिर २६ र २७ गते हामीले संघीय
मञ्च, लिम्बुवान राज्य परिषद बनायौं । त्यसमै पनि टुटफुट भयो । तर, पनि
दुनियाँले देखेको छ, मेरो नेतृत्वमा एउटा धार अघि बढ्यो । र,
अहिले
फेरि पार्टी एकता भएको छ र संघीय लिम्बुवान पार्टी नेपाल बनेको छ । म त्यसको
अध्यक्ष छु ।
तपाईका कार्यकर्ता र समर्थकले सामाजिक सञ्जालमा
क्षेत्री बाहुनलाई काट्नुपर्छ, खेदनुपर्छ भन्ने गरेका छन् । नाक
चुच्चे, एन्टेना इत्यादि भन्ने गरेका छन् । यस्ता साम्प्रदायिक कुराले
लिम्वुवान आन्दोलनलाई कत्तिको फाइदा पुर्याएको छ ?
-हामीले यसमा सुधार ल्याउन धेरै अभ्यास गरेका
छौं । तपाईले २५ वर्षदेखि देखिरहनुभएको छ, कुमार लिङदेनको मुखबाट यस्तो कहिल्यै
निस्किएन । बाहुन हाम्रा शत्रु हुन्, क्षेत्री हाम्रा शत्रु हुन् हामीले
कहिल्यै भनेनौं । सिस्टम हाम्रो शत्रु हो । बाहुन क्षेत्रीलाई सामाजिक सञ्जाल
आदिमा नबुझिकन गाली गर्ने कार्यले हामीलाई ठूलो ‘हर्ट’ गरेको
छ ।
तपाईहरुका कार्यकर्तामै यस्तो रोग छ हैन ?
- छ । यसलाई हामीले हटाउने कोसिस गरेका छौं ।
अहिले हामीले लिम्बुवान पार्टीमा अरु जातिहरुलाई पनि थपेर लाने हामीले कोसिस गरेका
छौं । यो कुराले हामीलाई एकदमै चोट पुर्याउँछ । मैले त बारम्बार भन्दैछु, यो
देशमा दुई तीनवटा सभ्यता छन्, एउटा आर्यन, एउटा मंगोलिनय र
एउटा द्रविण सभ्यता । यो तीनवटा ‘रेस’लाई जसले मिलाएर
क्षमता राख्छ, उसकै भविश्य उज्जल छ । यी सबै सभ्यताहरु हाम्रा
गहना हुन् । त्यसैले हामीले यी सभ्यताहरुवीच एकता गर्न खोज्नुपर्छ । संविधानसभा
सबैका हक सुनिश्चित गर्नुपर्छ । जातीय विद्वेष गर्नु हुँदैन । हामीकहाँ दुबै
किसिमका अतिवादहरु छन् । बाहुनले नै सबै खानुपर्छ भन्ने सोच र पहिले बाहुनले खायो,
अब
हामीले खानुपर्छ भन्ने दुबै सोचहरु एकदमै गलत छन् । यस्तो सोचाइ हाम्रो आन्दोलन र
देशकै लागि पनि एकमदै घातक छ । हामी सबै मिलेर अगाडि जानुको विकल्प छैन ।
हामी सबै दाजुभाइ हौं । क्षेत्री बाहुन,
राई
लिम्बु मगर गुरुङवीच रगत नै मिसिइसकेको छ । तीन पुस्तासम्म विहाबारी चलिसक्यो ।
मागेर बिहे हुन थालिसक्यो । त्यसैले हामी जातीय द्वन्द्वमा जानु हुँदैन ।
तपाई त सादगी हुनुहुन्छ, तर तपाईको
लिम्बुवान आन्दोलनमा चन्दा उठाएर जनताको पैसाले वियर खाने प्रवृत्ति कत्तिको छ ?
ठूला
दलहरु भ्रष्टाचारले सिद्धिएका बेला तपाईहरुमा पनि त्यस्तै रोग छ भन्छन् नि ?
- यस्तो समस्या पहिले पहिले थियो । तर, म
स्वयंलाई कसैले पनि भ्रष्टाचारको आरोप लगाउन सकेको छैन । यो कुरा कसैले भन्न
सक्दैन । किनभने मैले पार्टीको पैसा भनेपछि प पनि छुइँन । सबै काम अर्थसचिवले
गर्छन् । म भरसक कुनै पनि कार्यक्रममा फजुल खर्च नगरौं भन्ने पक्षमा छु ।
तपाईका कार्यकर्तालाई फारुतिनो गर्ने, बचत
गर्ने र सादा जीवन बिताउनेबारे कत्तिको प्रशिक्षण दिने गर्नुभएको छ ? बाहुनको
तुलनामा लिम्बु जातिमा अलि बढी उपभोक्तावाद छ जस्तो लाग्दैन ?
- अहिले त धेरै सुधार भएको छ । हामीले यो अभियान
सुरु गरिसकेका छौं । त्यो मैबाट सुरु हुँदैछ । म फिजिक्सको विद्यार्थी, पढाउन
छाडेर राजनीतिमा लागेको छु । तर, अब मैले कसरी बाँच्ने त ? मचाँहि
अब लेखेर बाँच्ने । अरु साथीहरुलाई पनि विभिन्न किसिमका आर्थिक योजनामा लगाउने
अहिले हामीले सुरु गर्दैछौं ।
हाम्रो पार्टीमा मेरा अगाडि हाम्रो लिम्बुवानका
युवा कार्यकर्ताहरुले विशेष गरेर जाँडरक्सी, चुरोट र
खैनीसम्म पनि खान हिच्किचाउँछन् । अध्यक्षले यस्तो खाँदैन भनेपछि उनीहरु डराउँछन्
।
उसोभए तपाईहरु आफ्नो लिम्बु जातिलाई सुधार
गर्ने अभियानमा पनि लागिरहनुभएको छ ?
- यो आन्दोलनमा यति कुलतमा फसेका भाइहरु कमान्डर
भएका छन् । उनीहरु हामीसँग आएर भावुक भएर रुन्छन् । हामी कुलतमा फसेका थियौं आज
तपाईहरुको संगतले जाँड छाड्यौं, रक्सी र चुरोट बिँडी छाड्यौं भन्छन् ।
उनीहरुको यस्तो कुरा सुन्दा हाम्रो आँसु र्झछ । हाम्रो आन्दोलनबाट एकदमै रिर्फम
भइरहेको छ ।
देशमा बढिरहेको क्रिश्चियनको प्रभावले जनजातिको
धर्म संस्कृतिमा कति असर पारेको छ ?
- लिम्बुहरुमै चाँहि क्रिश्चियन बन्नेहरु कमै छन्
। किनभने सिरिजंगाकै पालादेखि हाम्रो आफ्नो संस्कृति र स्वत्वको लडाइँ छ । त्यसैले
लिम्बुहरुमा धर्म परिवर्तन धेरै कम छ ।
तपाईले २२ दलको कार्यक्रममा खुल्लामञ्चबाट
भन्नुभएको थियो कि सिंहदरबार भत्काउनुपर्छ । किन यसो भनेको ?
- ठिकै हो । यो सिंहदरबार चाँहि भत्काउनैपर्छ । र,
यसका
ईंटाहरु सम्झनाका लागि पचहत्तरै जिल्लामा बाँड्नुपर्छ । अहिलेका प्रधानमन्त्री र
गृहमन्त्री वामदेवलाई त दुई हजार वर्ष जेल सजायँ गर्दा पनि कमै हुन्छ ।
किन ?
- आज जनयुद्ध भन्दा बढी मान्छे बस दुर्घटनामा
मरिराखेका छन्, यी सबैको ज्यान केस प्रधानमन्त्री र
गृहमन्त्रीलाई लगाउनुपर्छ । सर्वोच्चमा यिनीहरुविरुद्ध मुद्दा हाल्नुपर्छ ।
एकजना बराबर ३० वर्ष जाने हो भने यिनीहरु कति
वर्ष जेल जालान् ? जनयुद्धमा भन्दा बढी मान्छे मरिसक्यो । यसको
जिम्मा कसले लिने ? देश एक नम्बरको गरीब भइराखेको छ । विदेशबाट
गाडी ल्याएर सार्क सम्मेलन गरिन्छ । आज ३६ लाख मान्छे विदेशमा छन् । मान्छेको
ज्यान भन्दा ठूलो के छ ?
म अस्थित्ववादमा विस्वास गर्छु । अस्थित्ववादले
ईश्वर, स्वर्ग र नर्क भन्दा पनि मान्छेको अस्थित्वमा विश्वास गर्छ । मान्छे
ठूलो कुरा हो । म त मान्छेवादी हुँ । जीवनवादी हुँ । त्यसैले यो सिंहदरबार
नभत्काएसम्म परिवर्तन आउँदैन । हामी युवाहरुको त्यत्तिकै जीन्दगी जान्छ ।
यो चिजहरु प्राप्त नभइञ्जेलसम्म म
समानुपातिकबाट सभासद पनि बन्दिँन । जनताले चुने भने भिन्नै कुरा हो । संविधानमा
अधिकार नलेखाएसम्म म कुनै लाभको पदमा जान्न । त्यसपछि पनि मलाई धेरैले लिम्बुवानको
मुख्यमन्त्री भन्छन् । तर त्यसमा मेरो रुची छैन । लडेर लिम्बुवान प्राप्त भएपछि म
दुनियाँलाई अचम्म लाग्ने गरी लेखन र अध्ययनतिर लाग्छु ।
Kumar Lingden Limbu 1
तपाई कम्युनिष्ट वा कांग्रेसमा कहिल्यै
लाग्नुभएन ?
- म जीवनमा कहिल्यै कम्युनिष्ट वा कांग्रेस भइँन
। तर, मैले कम्युनिष्टका किताब धेरै पढें । म बेलायत जाँदा मार्क्सको
चिहानमा पनि गएँ । धेरैबेर शीर झुकाएर श्रद्धा गरें । एङ्गेल्सको घरमा गएँ ।
त्यहाँ एकदमै चिन्तित भएँ । मार्क्सको चिहानबाट मैले नेपालमा माटो पनि लिएर आएँ ।
कांग्रेस र कम्युनिष्टमध्ये एउटा रोज्न लगायो
भने तपाई कुनलाई रोज्नुहुन्छ ?
- नेपालको वामपन्थी आन्दोलनले जे भए पनि अलिकति
प्रगतिशील धार नै अंगालेको छ । पछिल्लोपटक एमालेले यो धार छाडे पनि माओवादीले
यसलाई ‘पिकअप’ गरेको छ । त्यसकारण जातीयता, जनजीविका
र राष्ट्रियताको सवाल कम्युनिष्टहरुले अलि बढी नै पक्डिएका छन् ।
तपाई कम्युनिष्ट नबन्नुको कारण वा कम्युनिष्टको
मन नपर्ने चिज चाँहि के त ?
- मन नपर्ने भन्दा पनि यसले एउटा क्लासको
कुरामात्रै गर्छ । म एउटा उदाहरण दिन्छु, मार्क्सवाद एउटा विज्ञान हो यो म
मान्छु । तर, त्यही विज्ञानले के भन्छ भने दमकमा गर्मीमा
रेफि्रजेरेटर चाहिन्छ, नाम्चेमा जाडोमा हिटर चाहिन्छ । नाम्चेमा रेपि|mजेरेटर
चाहिँदैन । विज्ञान त हिटर पनि विज्ञान हो, रेपि|mजेरेटर
पनि विज्ञान हो । माथिको तल प्रयोग हुँदैन, तलको माथि
प्रयोग हुँदैन । त्यसैले मार्क्सवादप्रति मेरो केही भन्नु छैन । एउटै जाति,
एउटै
वर्ग भएको ठाउँमा त्यो सफलै पनि त भयो नि ।
यसमा कामूले भन्नुभएको छ, म
मार्क्सवादी हुन सकिँन, किनभने मैले आफ्नो जाति, भाषा, धर्म,
संस्कृति
र समूदायलाई माया मार्न सकिँन । मार्क्सवादले त त्यसलाई त्याग भन्छ । मैले त्याग्न
सकिँन ।
चार किसिमको गणित हुन्छ । एउटा अंकणित हो ।
अर्को अल्जेब्रा हो । अर्को ज्यामिती पनि गणित नै हो । अर्को अप्सनल म्याथमा
टिग्नोम्याट्री हुन्छ, त्यो पनि गणित नै हो । यी चारवटा भएपछि मात्रै
गणित पूर्ण हुन्छ । एउटै गणित सबैतिर हुँदैन । मार्क्स एक ठाउँमा फिट हुने हो ।
चुनाव बहिस्कार गरेको मान्छे, बैद्यको
३३ दलीय मोर्चा छाडेर प्रचण्डको २२ दलीय मोर्चामा लाग्नुको कारण के हो ?
- वैद्यजीहरुभित्र एउटा ठूलो बहस सुरु भयो ।
चुनाब बहिस्कार सफल हुने थियो, वैद्यजीहरुको यही कुराले असर गर्यो ।
त्यहाँ एउटा पक्ष सुरुदेखि नै सशक्त किसिमले बहिस्कार गरौं भन्ने रहेछ । अरु चाँहि
नगरौं भन्ने रहेछन् । हामीले चाँहि लिम्बुवानमा मतदाता नामावलीदेखि नै विरोध सुरु
गर्यौं । त्यही दिनदेखि गरेको भए यो चुनाबै हुने थिएन । हामी जति सिरियसली र
इमान्दारितापूर्वक लाग्यौं, उहाँहरु त्यसरी लाग्नुभएन ।
वैद्यजीहरुसँग जेजति हामी रह्यौं, मलाई
वैद्यजीका सबै नेताहरु एकदमै राम्रो लाग्छ । हामीले पनि त्यहाँ रहँदा अत्यन्त
इमान्दारितापूर्वक भूमिका निभायौं । उहाँहरुले पनि हामीलाई केही भन्न पाउनुहुन्न ।
कत्रा कत्रा प्रलोभन आउँदा पनि हामी डग्मगाएनौं ।
अहिले चुनाव लड्ने र नलड्ने दुईखाले लिम्बुवान
पार्टीहरु एक भएपछि बदलिएको परिस्थितिमा हामी फेरि यता गएका छौं । प्रचण्ड पक्षले
पनि आवश्यक परे संसदमा ‘वाक ओभर’ दिने भन्ने
सम्मको कुरा छ ।
लिम्बुवानका नेताले भर्खरै प्रचण्डलाई
भेट्नुभएको छ । त्यहाँ २२ दलीय मोर्चाले राज्य पुनसंरचनाको एउटै खाका बनाउने
भन्नेको सुनियो । यो के हो ?
- प्रयास गर्ने भन्ने हो ।
तपाईहरुले झापा मोरङ र सुनसरीलाई पनि मिलाएर
अरुण पूर्वका ९ जिल्लाको लिम्बुवान हुनुपर्ने भन्दै आउनुभएको छ । २२ दलीय मोर्चामै
रहेका मधेसवादी दलहरुले तराईलाई टुक्राउ पाइन्न भनिरहेका छन् । तपाईहरु पूर्वी
तराई मधेस प्रदेशलाई छाडिदिन तयार हुनुहुन्छ ?
- अहिलेसम्म २२ दलमा अरु अरु विषयउमा मात्रै छलफल
भएको छ, यो विषयमा छलफल भएको छैन । तर, हामी ९
जिल्लालाई लिम्बुवानमा चित्त बुझाउन सक्छौं भन्ने तयारीका साथ, सामा
सरदामका साथ बसेका छौं । र, यस विषयमा अब बहस गर्ने पक्षमा छौं ।
यसमा प्रचण्डको भनाइ के छ ?
- प्रचण्डजीले के भन्नुभयो भने लिम्बुवान कुनै
पनि हालतमा हुन्छ । हुन्छ हुन्छ हुन्छ । नभई हुँदैन । त्यहाँको भूगोल एउटा स्पेसल
रहेछ । त्यहाँको सीमानाका बारेमा चाँहि तपाईहरुले आफैं पनि भूमिका खेल्नुपर्छ है ।
कुरा सही हो । संखुवासभालाई सभा खोलादेखि
टुक्राइँदा टुक्राउनु हुँदैन भनेर आफैं आन्दोलन उठ्यो । हामीले केही गर्नै परेन,
हेरीमात्रै
रह्यौं । संखुवासभा टुक्राउन पाइँदैन भनेर विशाल आन्दोलन उठ्यो । धनकुटामा पनि
त्यस्तै उठ्छ । हेर्दै जानोस् अब झापा, मोरङ, सुनसरीमा पनि
उठ्छ ।
अहिले सिके राउतले एउटा किताव लेख्दा के भनेका
छन् भने कोशीदेखि राप्ती नदीवीचको भूभागलाई मधेस भनेर लेखेका छन् । कोशी पूर्वको
भूभागको इतिहास अर्कै नै हो क्या वास्तवमा ।
मधेसवादीहरुसँग त यसबारे २२ दलमा तपाईहरुको
विवाद पर्ने देखियो, तर एमाओवादीसँग कुरो मिल्छ ?
- उहाँहरुको भनाइ भूगोलको विषय तपाईहरुले नै
मिलाउनुपर्छ भन्ने छ । यो कुरा सही हो । झापा मोरङ र सुनसरीमा देशकै सचेत जनता
बसेका छन् । यिनै सरोकारवालाले मिलाउनु पर्ने कुरा हो यो । अब काठमाडौंको डेलिगेसन
सकिएपछि अब हामी त्यहाँका जनता र नागरिक समाजसँग यस विषयमा घनिभूत रुपमा छलफल
गर्छौं ।
काठमाडौंमा डेलिगेसन आउनुभएको रहेछ, प्रचण्डबाहेक
क-कसलाई भेट्नुभयो ?
प्रचण्ड, पदमरत्न तुलाधर,
बाबुराम
भट्टराई, सुवास नेम्वाङ र प्रधानमन्त्रीलाई भेट्यौं । ओलीजीबाट हामीलाई कुनै
रेस्पोन्स आएन ।
तपाईहरुले लिम्बुवानमा एकीकृत पार्टी त
बनाउनुभयो, तर प्रचण्डसँग सहकार्य गर्ने विषयमै विवाद छ रे
नि ? पाँचथरको २२ दलीय सभामा सर्वोच्च नेताहरु नै गएनन् किन ?
- दसैंको बेला थियो, असोज १९/२० गते
नै २२ दलीय मोर्चामा निर्णय दिनुपर्ने भएकाले सबै साथीहरुसँग छलफल गर्नै पाइएन ।
तर, यो विषयमा अहिले हामीवीच कुनै असमझदारी छैन ।
तपाई पार्टीमा अलि आफ्नै ढंगले, मनोगत
हिसाबले चल्नुहुन्छ रे नि ?
- सही कुरामा सबै बहुमत एकातिर भए पनि म मान्दिँन
। म अहिले पनि भन्छु, लिम्बुवानको विरुद्धमा, प्रगतिशील
पक्षको विरुद्धमा मेरो पार्टीको ५ सय प्रतिशत एकातिर गए पनि म त्यो कुरा मान्दिँन
।
भनेपछि त पार्टीमा तपाईले भनेकै कुरो लागु
हुनुपर्ने रहेछ हैन ?
- हैन । जुन सही र सत्य लाइन हुन्छ, यसमा
कुमार लिङदेनको हठ भनौं, या उसको निरंकुशता भनौं, यसैले
गर्दा यो आन्दोलन यहाँसम्म जोगिएर आएको हो ।
तर, तपाईभन्दा अग्रज सुब्बाहरु आफूलाई अलि
सम्मान पनि त खोज्छन् नि हैन र ? यस्तोमा सहमति खोज्न कत्तिको गाह्रो
हुन्छ ?
- लिम्बुहरु एकखालको स्वभावका मान्छेहरु हुन् ।
तपाईले ठीकै भन्नुभयो । चित्त बुझ्यो भने शरीरै काटेर दिने, चित्त बुझेन भने
कसैलाई पनि नटेर्ने बानी छ । तर, हामी राजनीतिक पार्टीमा रहिसकेको
हुनाले अहिले संक्रमणकालीन अवस्था छ ।
तपाई आलोचना पटक्कै रुचाउनुहुन्न रे नि ?
- मनपर्छ । तर फेसबुककै कुरा गरौं न, कोही
अतिवादी क्षेत्री बाहुन साथीहरुले तथानाम गाली गरेपछि अर्कोले पनि त्यसैगरी सुरु
गर्छ । यसले चाँहि अलिकति सदभाव बिग्रिन्छ कि जस्तो लाग्छ र म प्रतिक्रिया दिन्न ।
किनभने कुमार लिङदेन आज व्यक्तिमात्रै छैन । रचनात्मक आलोचना हुनु त राम्रै हो नि
।
तपाई एकपटक माओवादीमा लाग्न खोज्नुभएको थियो रे
नि ?
- म हुन सकिँन । मैले पहिल्यै पनि भनेको थिएँ,
जनयुद्धको
सुरुमै यो आन्दोलन संघीय, गणतान्त्रिक र लोकतान्त्रिक पनि हुनेछ
भनिएको भए यति ठूलो क्षति हुँदैनथ्यो कि ? यसमा दलहरु पनि हुनेछन् भनिएको भए सबै
मान्छे जान्थे नि त । जनवादका लागि भनियो अनि अरु दललाई पनि छिमलियो । मैले
त्यतिखेरै लेखेको थिएँ, माओवादभन्दा पनि बरु प्रचण्डवाद आयो भने हामी
सोच्न सक्छौं भनेको थिएँ । किनभने ३०/३० वर्षसम्म एउटा दलको निरंकुशतामा बसेको
मान्छे माओवादी हुन सक्दैनथ्यो । जस्तै म हुन सकिँन । म डराएर नभएको हैन ।
तपाईको परिवार कस्तो हो ? लाहुरे
हो कि ?
- मेरो परिवार पहिले सुब्बा हो । विशेष म मावलमा
हुर्किएँ । मावलीहरु लावती हुन् । बाजे मानबहादुर लावतीलाई १०/२० गाविसले
देउतैजत्तिको मान्थ्यो ।
विवाह गर्नुभएको छ कि छैन ?
- म सिंगलै छु । बिहे नै नगरी लाग्छु भन्ने हैन ।
तर, आउँदा आउँदै विवाह गर्ने योजना बनेन । मैले यति धेरै नेतृत्व
गर्नुपर्ला भन्ने सोचेको पनि थिइँन ।
तपाई कवि पनि हो ?
मैले आधा चन्द्रमा लेखेको छु । नलेखिएका कथाहरु
अर्को किताब छ । यो दुईपल्ट गरेर ४ हजार छापिइसक्यो । लिम्बुवानको युवा पुस्ताले
धेरै पढेको किताव हो यो । त्यसमा मेरा २० वटा कथा छन् ।
यसरी नेता हुँला भन्ने कहिल्यै सोचिएको थियो ?
- अहिले पनि म राजनीति गर्दैछु भन्ने सम्झँदा
मलाई न्यास्रो लाग्छ । हातखुट्टा जम्मै गल्छन् । तर, जब म एउटा
जीवनको मिसनमा छु भन्ने सम्झन्छु, अनि सन्तोष लाग्छ ।
धेरैले मलाई भने, समानुपातिक
सभासदमा जानुपर्छ । मै अध्यक्ष थिएँ, मलाई कसैले रोक्न सक्ने थिएन । मन्त्री
हुने प्रस्ताव आयो, मैले त्यसलाई पनि अस्वीकार गरें । मेरो लडाइँ
भनेको राज्य पुनसंरचना । संविधानमा हाम्रो अधिकार लेख्नु । मैले सबै साथीहरुलाई
भनेको छु, लिम्बुवान प्राप्न नभइञ्जेल म दह्रोसँग नेतृत्व गर्छु, यो
आन्दोलनलाई म हल्लिन दिन्न । र, लिम्बुवान प्राप्तिपछि म अध्यक्ष पद
छाड्छु भनेको छु ।
मान्छेले कुमार लिङदेन पार्टीमा निरंकुश भयो
भन्ने आरोप लगाउँछन् । वास्तवमा त्यस्तो होइन । मलाई एकदमै लेख्न मन पर्छ । मलाई
सक्रिय राजनीतिबाट मुक्त भएर अध्यन अनुसन्धान र लेखनमा लाग्न असाध्यै मन छ । अहिले
पनि मेरो दिमागमा १० वटा किताबका प्लटहरु घुमिराखेका छन् ।
