Pages

लिम्बुवान पार्टी फुटको गाई जात्रा by Dammar Labung


प्रकाशित मिति २०७३/०३/१३
“लिम्बुवानमा जात्रा, एउटा पार्टीको महाधिवेशनको लागि अर्को पार्टीको लेटरप्याडको प्रयोग” by डम्मर लाबुङ
     
२०७१ सालमा धनकुटाको भेडेटारमा पाच लिम्बुवानी पार्टीहरु बीच ऐतिहासिक एकीकरण भइ संघीय लिम्बुवान नेपाल गठन गरे पछि जसको अध्यक्ष कुमार लिङदेनलाई मानिएको थियो / जुन पार्टी निर्वाचन आयोगमा दर्ता हुने प्रक्रियामा छ / तर, अहिले लिम्बुवान पार्टीमा यस्तो रोचक नाटक देखाइएको छ कि जहाँ खारेज भइसकेको संघीय लोकतान्त्रिक मंचलाई कुमार लिङदेनद्वारा एकलौटी पुन: दर्ता गरि/बिउताएर संघीय लिम्बुवान पार्टी नेपालको लेटरप्याड तथा प्रेश वक्तव्य मार्फत संघीय लोकतान्त्रिक मंचको महाधिवेशनको लागि संघीय लिम्बुवान पार्टी नेपालको केन्द्रिय सदस्यहरुलाई आव्हान गराएको छ / त्यसैले पार्टी बिभाजन गरि छाड्ने निस्कर्षमा पुगेको कुमार लिंङदेन पक्षले आफ्नो विघटनकारी कार्यलाई तिब्रता दिदै आम लिम्बुवानी जनता र कार्यकर्ताहरुको आवश्यकता र चाहना बिपरित आफुलाई पार्टीबाट अलग गरि प्रकारान्तरले प्रतिक्रियावादी र यथास्थितिवादीहरुलाई सघाउने काम गरि छाड्यो /

दक्षिणपन्थी अवसरवाद वा संसोधनवाद नै आजको नेपाली संघिय आन्दोलनको प्रमुख खतरा हो / वास्तवमा आजसम्म नेपाली संघीय आन्दोलनमा देखिएका विभिन्न खाले अवसरवाद, भड्काव वा कमजोरी मुलरुपमा यहि राजनीतिक बिषयसँग सम्बधित छन् र ति कमजोरी दोहोरिन नदिन हामी विशेषरुपमा सतर्क रहनै पर्छ / आम सैद्दान्तिक, राजनीतिक लाइनलाई ठोस कार्यनीति र कार्यशैलीको रुपमा ब्याख्या र कार्यान्वयन गर्न सकिएन भने तिनको कुनै व्यावहारिक औचित्य हुदैन / हाम्रो पार्टी र खसगरी नेतृत्वका जिम्मेवार ब्यक्त्तिहरुको अहिलेसम्मको मुख्य राजनीतिक कमजोरी यहि क्षेत्रमा रहने गरेको छ /

केन्द्रिय नेतृत्वमा हावी हुन् पुगेको नोकरशाही केन्द्रीयताको परिणाम स्वरूप पार्टी भित्रका महत्वपूर्ण निर्णयहरु एक ब्यक्त्तिले मात्र लिन्छ / अनुशासनको नाउमा तल्ला कमिटी वा कार्यकर्ताहरुमा लाद्न खोज्दछ / जसबाट असन्तुष्ट भएर कार्यकर्ताहरुले पनि पार्टीको अनुशासनको पालना नगरी त्यस्ता निर्णयहरुलाई मान्दैनन फलस्वरूप पार्टी भित्र व्यापक अराजकता सिर्जना हुन् जान्छ / आज हाम्रो पार्टीको संघठनात्मक स्थिति अस्तव्यस्त हुनुको पछाडी मुलकारण यहि हो / त्यसैले पार्टी नेतृत्वमा देखा परेका नोकरशाही बिकृतिहरुलाई सच्याउने तर्फ हामीले पहिले ध्यान दिनु आवश्यक छ / पार्टी र जनवर्गीय संघठन बीचको सम्बन्ध साथै अन्य पार्टीको जनसमुह बीचको सम्बन्ध बारे पार्टी नेतृत्वमा रहेको यान्त्रिक संकीर्ण र गलत दृष्टिकोणका कारणले पनि आज पार्टी जनसमुह बाट अलग्गिएर सानो गुटमा सिमित हुदै गएको छ /

लिम्बुवान एकतालाई दिगो राख्न र बृहत एकतालाई बल पुर्याउन संघीय लिम्बुवान राज्य स्थापनाको लागि तुम्याङहाङ तथा बुद्दिजीवीहरु सम्मिलित लिम्बुवान सहजीकरण समुहद्वारा संघिय लिम्बुवान पार्टी, नेपाल भित्रको विवाद तथा समस्या समाधानको लागि उहाँहरुले ठुलो भूमिका खेल्नु भएको थियो / तर, कुमार लिङदेनमा हावी भएको निरंकुश, स्वेच्छाचारीता तथा अधिनायकवादी राजनीतिक चरित्रको कारण विवाद समाधानको सबै पहलहरु बिफल हुन् पुग्यो /

अध्यक्षले पार्टी फुटाएर गए पछि पार्टीमा अर्को अध्यक्षको आवश्यकता देखिन्छ जसको लागि पुनर्गठन या महाधिवेशनको लागि तयारी गर्नु पर्ने हुन्छ / पार्टीको दक्षिणपन्थी निरंकुश अधिनायकवादी अध्यक्षले पार्टी फुटाएर गएता पनि अब अन्य नेता-कार्यकर्ताहरुले पार्टीको निर्णय गर्ने विधि, चल्ने-चलाउने पद्दति र निर्णय तथा आर्थिक पारदर्शिता सम्बन्धमा संघीय लिम्बुवान पार्टी नेपालको विधान २०७१ ले नै स्पष्टरुपमा व्यवस्था गरेकोले सोहि विधान अनुरुप पार्टीको संचालन, निर्णय प्रक्रिया, पार्टी अनुशासन र पारदर्शितालाई व्यवस्थित गर्ने र अहिले अभ्यास भइरहेको स्वेच्छाचारीतालाई अन्त्य गर्ने / यस विधानले नसमेट्ने गठबन्धन, संयुक्त्त संघर्ष समितिहरु जस्ता कतिपय विषयहरु भेडेटारको ९ बुदे सहमति र संघीय लिम्बुवान पार्टीको घोषणा पत्रले निर्देशित गरे अनुसार पार्टी भित्र सामुहिक निर्णय पश्चात अघि बढे सहज वातावरण सिर्जना हुनेछ /

ऐतिहासिक पार्टी एकीकरण पश्चातको राजनीतिक परिवेश हेर्दा अध्यक्ष लिङ्देनले स्वच्छेचारीता तथा निरंकुश तरिकाले निर्णय र जानकारी बिना एकलौटी लादेको कार्यहरु: एकलौटी लिम्बुवान संयुक्त्त संघर्ष समिति र संघीय गठबन्धन गठन गरि सहभागी, एकात्मक निरंकुश नीति अनुसार पार्टी संचालन गर्नु, पार्टीको निर्णय विपरित दुई विधान प्रकाशन गर्नु, विधान बिपरित क्रियाशील सदस्यता वितरण, एकलौटी अन्य पार्टीहरुसँग मोर्चाबन्दी र संयुक्त्त आन्दोलन गर्नु, आर्थिक अपारदर्शिता, पार्टीमा पारित निर्णयहरु एकलौटी उल्लघंन, पार्टी एकीकरणलाई सस्थागत गर्न अवरोध, भेडेटारको सहमति र सम्झौता उल्लघंन, पार्टीको तर्फबाट आन्दोलन तथा कार्यक्रम गर्नु नदिनु, लिम्बुवान उच्चस्तरीय आन्दोलन समितिलाई निस्क्रिय र अनिर्णयको बन्दी बनाइनु, भूकम्प र बाढीपीडितहरुको लागि देश-बिदेशबाट रकम सङ्कलन गरि हिसाबको विवरण पार्टीमा पेश नगर्नु, असार ३० गते धरानको बैठकमा पारित गरिएको निर्णयहरु एकलौटी उल्लघंन, पार्टीमा निर्णय र जानकारी नगरी खारेज भइसकेको संघीय लोकतान्त्रिक राष्ट्रिय मंच पुन: बिताउनु र मंचको एकलौटी महाधिवेशन गर्नु आदि बिषयमा लिंङदेनको लाफर्बाही प्रति अन्य सम्पूर्ण नेता-कार्यकर्ताहरुले असहमति तथा असन्तुष्टि जनाए पछि संघीय लिम्बुवान पार्टी नेपालमा विवाद सिर्जना भइ अन्ततः कुमार लिंङदेनले पार्टी फुटाएको छ /

कुमार लिङदेनद्वारा फुटाइएको पार्टी संघठनहरु:-

१) २०५१ सालमा “राष्ट्रिय जनमुक्ति पार्टी” फुटेर “जनमुक्ति पार्टी नेपाल” गठन गरिएको थियो / यस पार्टी फुट्नुमा कुमार लिंङदेनको पनि हात थियो /,

२) २) २०६४ साल मंसिरमा “संघीय लोकतान्त्रिक राष्ट्रिय मंच सम्बद संघीय लिम्बुवान राज्य परिषद” बाट सन्जुहाङ पालुङवाले “संघीय लिम्बुवान राज्य परिषद” भनि पार्टी फुटाउदा रुपमा सन्जुहाङ पालुङवाले फुटाएको देखिएता पनि सारमा सन्जुहाङ पालुङवाले फुटाउनुको मुख्य कारण तत्कालिन मंचका महासचिव रहेको कुमार लिङदेन मूल कारक थिए /,

३) २०६५ सालमा “संघीय लोकतान्त्रिक राष्ट्रिय मंच सम्बद” मा दोश्रो महाधिवेशन सम्पन्न भएको थियो / त्यो महाधिवेशनमा मिसेकहाङको फरक मत कुमार लिङदेनले स्थान दिएन जसको कारण महाधिवेशनको अन्तिम प्रक्रिया बिरोध गरेको थियो / महाधिवेशन सकिएको भोलि पल्ट पत्रकार सम्मेलन गरि आफ्नै अध्यक्षतामा “संघीय लिम्बुवान राज्य परिषद (क्रान्तिकारी)” गठन गरे /,

४) २०६६ सालमा “संघीय लोकतान्त्रिक राष्ट्रिय मंच” का तत्कालिन अध्यक्ष मण्डल,सदस्य लक्ष्मण थारुले त्यहाँबाट अलग गरि “संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी” बनाए / त्यसको मूल कारण तत्कालिन मंचका अध्यक्ष कुमार लिङदेनले बैठक नराख्ने, पार्टीको निर्णयहरु कार्यान्वयन नगर्नु नै थियो / र, थरुहट “संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी” बाट अलग भएर गयो /,

५) २०६८ सालमा खम्बुवानका इन्द्रहाङ “संघीय लोकतान्त्रिक राष्ट्रिय मंच” को अध्यक्ष भएको थियो / उनलाई अपदस्त गरि कुमार लिँङदेनले आफ्नो अध्यक्ष दाबी गरे पछि खम्बुवान र तामाङसालिङ अलग भएको थियो /,

६) २०६८ सालमा थरुहटका अध्यक्ष लक्ष्मण थारुले पार्टी फुटाएर गएता पनि थरुहटको सभासद रुकमणि चौधरीले “संघीय लोकतान्त्रिक राष्ट्रिय मंच” का सभासदकै रुपमा काम गरिरहेको थियो तर पार्टी अध्यक्ष कुमार लिङदेनको कार्यशैली कै कारण सभासद रुकमणि चौधरीले “संघीय लोकतान्त्रिक राष्ट्रिय मंच (थरुहट)” गठन गरे /,

७) त्यसैगरी बलियो प्रवास समाज UK स्वतस्फूर्तरुपमा फुटेको देखिएता पनि उक्त्त UK समिति कुमार लिङदेनकै निर्देशनमा विभाजन गराई जुन नयाँ समितिमा सबै आफ्नो पक्षका ब्यक्त्तिहरु नियुक्त्ति गराएको छन /,

८) कुमार लिङदेनकै निर्देशनमा पार्टीको अर्को “अन्तर्राष्ट्रिय समन्य समिति (असस)” पनि बिभाजन गराई आफ्नो पक्षधरको टोलि नियुक्त्ति गराइएको छ /

९) अहिले अन्त्यमा २०७२ चैत्र १० गतेका दिन कुमार लिङदेनले आफ्नो पुरानो पार्टी संघीय लोकतान्त्रिक राष्ट्रिय मंच पुन: बिउताएर असार १७,१८ र १९ गते केन्द्रिय महाधिवेशनको आव्हान गरी अन्ततः संघीय लिम्बुवान पार्टी नेपाल पनि फुटाएको छ /


अत: एकता र त्यसभित्रको संघर्षको सम्पूर्ण अनुभवले निसङकोच रुपमा के स्पष्ट गर्दछ भने अल्पमतले अवसरवादको प्रतिनिधित्व गर्दछ / आज अल्पमतको नेतृत्वलाई देशका सम्पूर्ण संसोधनवादी, अवसरवादी, र प्रतिक्रियावादीसम्मको सहयोग प्राप्त भएको देखिन्छ / अब पार्टीको लोकतान्त्रिक बिधान, प्रक्रिया र सिद्दान्त तथा पद्दति अनुसार पार्टी संचालन गर्नु आवश्यक देखिन्छ / पार्टीको बिधान अनुसार सामुहिक नेतृत्वको प्रणालीलाई कार्यन्वयन गर्दै पार्टी एकीकरणलाई सस्थागत गर्न पार्टीको नियमित बैठक बस्न जरुरी छ / त्यसैले ब्यक्त्तिगत स्वार्थ, पद, प्रतिष्ठा वा आर्थिक प्रलोभन त्यागेर पहिचानको राजनीतिक आन्दोलनलाई अझ सशक्त्त बनाउन तर्फ ध्यान दिन आवश्यक देखिन्छ / आ-आफुमा रहेको फरक विचारहरु पार्टीको बैठकमा राखेर छलफल गरि हल गर्दा राम्रो हुन्छ / पार्टीलाई पुन: फुटाउने वर्ग दुश्मनका तमाम षड्यन्त्रलाई पराजित गरि संघीय आन्दोलनको समग्र हितलाई केन्द्रबिन्दुमा राखेर पार्टी एकतालाई सस्थागत गरि आन्दोलनलाई अग्रगति दिने काममा विशेष जोड दिन आवश्यक छ / त्यसैले अन्तर्विरोधका नियमहरुको ज्ञानबिना “ठोस परिस्थितिको ठोस विश्लेषण” ठिक किसिमले गर्न सकिदैन / अन्तर्विरोधका नियमहरुको सहि ज्ञानद्वारा परिस्थितिको सहि जानकारी, समस्याहरुको सहि किसिमले पहिचान र समस्याहरुको सहि किसिमले समाधान गर्ने उपाय पत्ता लगाउन सकिन्छ / त्यसैले पार्टी भित्र अन्तर्विरोध भएन भने र त्यसको समाधानको लागि विचारधारात्मक संघर्ष भएन भने पार्टीको जीवनको अन्त्य हुनेछ / लिम्बुवानवासी जनता र लिम्बुवानी नेतृत्वहरुले के हेक्का राख्न जरुरी छ भने लिम्बुवान स्वायत्त राज्य प्राप्ति टाढा गइसकेको छ, यदि लिम्बुवान आन्दोलनको नेतृत्वहरु पाइहालिन्छन भन्ने भ्रममा कोहि छन् भने, लिम्बुवानी जनताहरु-संघठनहरु फुटेको बहानामा लिम्बुवानको आन्दोलन तथा कार्यक्रमहरुमा कोहि सहभागी भइरहने छैनन् /




लिम्बुवानको ऐतिहासिक संघर्षहरु by डम्मर लाबुङ (भाग-३)





प्रकाशित मिति २०७३/०६/०१

किरातकालिन इतिहास अनुसार छैटौ शताब्दीमा भएको किरात जनताको दोश्रो राजनीतिक क्रान्तिले
जन्माएको नाम “लिम्बुवान” हो / त्यस लिम्बुवान भुमि तथा राज्यलाई त्यो भन्दा अगाडी “फेदाप” तथा “याक्थुङ लाजे” भनिन्थ्यो / उक्त्त “फेदाप” तथा “याक्थुङ लाजे” नामाकरण रहदासम्म इमानसिह चेम्जोङका अनुसार त्यहाँ ८ सामन्त राजाहरुले शासन गरेका थिए / जुन छैटौ शताब्दीमा “लिम्बुवान” नामकरण भए पछि १० राजा-नेताहरुको नेतृत्वमा संघीय प्रणाली अनुसार १० ओटा स्वायत्त राज्यहरुमा विभाजन गरी लिम्बुवान भुमिमा शासन संचालन गरिएको थियो / वि.स. १८३१ मा लिम्बुवानको स्वायत्त अधिकार यथावत रहने गरी सन्धी-सम्झौता गरेपछि नेपाल-गोरखा राज्यमा सामेल भएको थियो / उक्त्त सम्झौता अनुसार लिम्बुवानको स्वायत्त शासनमाथि जब केन्द्रिय शासकहरुले क्रमसः अतिक्रमण गरेको विरुद्दमा लिम्बुवानी जनताहरुले समय-समयमा निरन्तर आन्दोलन तथा असन्तुष्टिहरु अभिव्यक्ति गर्दै आएका छन् / वि.स. १९०३ मा राणाहरुको उदय पश्चात जुन “लिम्बुवान” भुमि तथा राज्यलाई “पल्लो किरात” नामकरण गरी देशलाई ३६ जिल्लामा बिभाजन गरिएको थियो / वि.स. २०१७ सालको पंचायती व्यवस्था पछि “पल्लो किरात” (लिम्बुवान) लाई “मेची-कोशी” नामकरण गरियो /

वि.स. १८२५ देखि गोर्खाको एकल जातीय (साम्प्रदायिक) साम्राज्यवादी तथा विस्तारवादी शासक पृथ्वी नारायण शाहले यहाँ खसान, मगरात, तमुवान, ताम्सालिङ, नेवा:-नेपाल, खम्बुवान र लिम्बुवान जस्ता स-साना संघीय राज्यहरुलाई समेटेर एकात्मक तथा एकल जातको साम्प्रदायिक राज्यको रुपमा परिणत गरायो / जुन गोर्खा राज्यको विस्तारको क्रममा ति राज्यहरुसँग कहिँ युद्द गरेर, कहिँ सड्यन्त्रद्वरा र कहिँ सम्झौता गरी गोर्खा-नेपालमा सामेल गराएको थियो / यी शाहहरुको इतिहास हेर्दा फर्केर हेर्दा १३-१४ औ शताब्दीमा भारत देशको राजिस्थान प्रान्तमा भएको मुस्लिम र आर्यनहरु बीचमा भएको युद्दबाट लखेटिएर नेपाल भूमिमा आफ्नो भाषा, धर्म, सस्कृतिको रक्षा र विकास गर्न भित्रिएको देखिन्छ /

भारतमा “इस्ट इन्डिया कम्पनी” (अंग्रेज) द्वारा भारतको भौतिक सम्पत्ति लुट्ने उदेश्यले भारतलाई उपनिवेश बनाएको थियो / पृथ्वी नारायण शाह पनि उक्त्त भारतको अंग्रेजहरुबाट प्रभावित भइ “इस्ट इन्डिया कम्पनी” (अंग्रेज) बाट सेना र अत्याधुनिक हातहतियारहरु सहयोग लिएर क्रुर भएर रक्तपातपूर्ण खुनी आक्रमण गरी नेपाल जबर्जस्ती कब्जा जमाएको थियो / यसरी हरेक राज्यहरुमा कहिँ अपमान पुर्वक सड्यन्त्र गरी, कहिँ हतियारको बलमा रक्तपात गरेर र कहिँ सन्धी-सम्झौता गरी गोर्खा-नेपालमा सामेल गराएको थियो / जसलाई दरबारिया पण्डितहरुले पृथ्वी नारायण शाहको गम्भीर गल्तिहरुलाई लुकाउनको निमित्त एकल साम्प्रदायिक साम्राज्य विस्तार अभियानलाई “नेपालको एकिकरण” भनि सबैलाई भ्रमित गराईयो /       

कथित नेपाल एकीकरणको इतिहास हेर्दा गोर्खा र लिम्बुवान बीचको भएको युद्द र सम्झौता मात्र विशिष्ट प्रकारको देखिन्छ / वि.स. १८३० देखि गोर्खा र लिम्बुवान बीच भएको युद्दमा गोर्खाको शासकहरु १७ पटकसम्म हार-पराजय बेहोरेको तितो इतिहास पढ्न पाइन्छ / त्यसैले लिम्बुवान एउटा नहारेको जिउदो भुमि हो /

लिम्बुवानको इतिहास, पहिचान-अस्थित्व र अधिकारहरु शाह-राणाकाल देखि सिध्याउने मिसन सड्यन्त्र हुदै आएको थियो जसलाई पुन: निरन्तरता दिने क्रममा अहिले पछिल्लो समयमा आएर जुन लिम्बुवानको नाम निशाना नै मेटाएर त्यहाँका स्थानीय जन-समुदायहरुको सबै कुराहरुलाई सिध्याउने मिसनमा मुलुक अघि बढिरहेको छ / मुलुकमा उत्पीडित जाति र समुदायहरुको सबै कुरा सिध्याउन अढाई सय बर्ष देखि हिन्दु सापेक्षताको आधारमा एकात्मक केन्द्रिकृत एकल जातीय एकाधिकारको राज्य र कानून तथा सम्रचना अहिलेसम्म एक तर्फी लादिएर ल्याएको छ / जसले गर्दा मुलुकमा अढाई सय बर्ष देखि सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक, शैक्षिक, सास्कृतिक, भाषिक र लैगिक असमानता, उत्पीडन, गरिबी, अशान्ति, विभेद र दन्द सिर्जना हुदै गएको छ /

देशमा राज्यले सिर्जना गरेको जातीय, क्षेत्रीय र वर्गीय विभेद, असमानता, उत्पीडन तथा समस्याको समाधान गर्न “ऐतिहासिक पृष्ठभूमिको आधारमा जातीय-भाषीय पहिचान सहितको संघियता तथा स्वायत प्रदेशको व्यवस्था मार्फ सम्पूर्ण दन्दहरुको समाधान गर्नुको बिकल्प छैन / यसरी राज्य पक्षबाट पिछडी पारिएको सबै वर्ग र जाति समुदायलाई सम्मानपूर्ण तथा सामनरुपले सम्बोधन गरि व्यवस्थापन गर्न यहाँका सम्पूर्ण शक्तिहरु एक ठाउमा आउन जरुरी भएको छ /

वि.सं १८३१ मा भएको सन्धीद्वारा लिम्वुवानलाई गोर्खाको उपनिवेश बनाईए तापनि त्यस्को बिरुद्धमा विजयपुरका राजा बुद्धिकर्ण खेवाहाङ लिम्वू, याङवरकका हिलीहाङ योङहाङ, चैनपुरका जसमुखी राय, छत्थरका सुनुहाङ खेवाहाङ राय र चारखलका आशदेव लिङदम रायले गोर्खा बिरुद्ध जेहाद छेडेका थिए । लिम्बुवानको तुम्याङहरु इतिहासको लामो काल देखि निरन्तर आन्दोलनको गरिरहेको छन् / जसको लागि अरुण–सप्तकोशी पूर्वको ऐतिहासिक भूमिको नाम लिम्बुवान नै राखिनु पर्दछ भनि सङ्घर्षरत भूमिकामा रहेको छन् । यो लिम्बुवान भूमिको अस्तित्व रक्षाको लागि विभिन्न खण्डमा निम्न संघर्ष र प्रयास तथा सङ्घर्षहरु भएका छन्ः–

१)      वि.स. १८३० मा गोर्खाली सेनाले लिम्बुवान माथि खुनी हमला गर्यो / यस युद्दमा मेवाखोलाका शिया, आक्पा र मुकुम्बाहरुको ज्यान गयो /

२)      वि.स. १८३१ बैशाख २५ गते गोर्खाली सेना रघु राणा र लिम्बु सेनापति काङसोरे बीच मल्ल युद्द भयो / उक्त्त मल्ल युद्दमा गोर्खाली सेनाहरुले काङसोरेलाइ धोकापूर्ण तरिकाले हत्या गरे /

३)      वि.स. १८३१ साउन २२ गते गोर्खाल र लिम्बुवान बीचमा ऐतिहासिक सन्धी भयो /

४)      वि.स. १८३१ मा गोर्खा र लिम्बुवान बीच गरिएको सन्धी-सम्झौता पछि क्रमिकरुपमा लिम्बुवानलाई उपनिवेश बनाइएकोले गोर्खाको बिरुद्दमा लिम्बुवानको केहि क्रान्तिकारी राजाहरुले सिक्किमसँग मिलेर लिम्बुवानमा गोर्खा बिरुद्द पुन: सशत्र युद्द भयो / यस युद्दमा सिक्किमसँग सामेल हुने लिम्बुवानवासीहरुलाई कार्वाही गर्ने गोर्खाले हुक्कुम जाहेर गरे पछि त्यो समयमा ३२,००० लिम्बुहरुले लिम्बुवान छोडी भारत निर्वासित हुनु पर्यो / 

५)      लिम्बुवान स्वाधिनताका लागि कहिल्यै नझुकेका विजयपुरका राजा वुद्दिकर्ण खेवाहाङ राय लिम्बुलाई वि.स. १८३४ मा गोर्खाली फौजले डाकाको भेषमा अपहरण गरि कायरतापूर्वक हत्या गर्यो /

६)      वि.स. १८३५ सालमा पल्लो किरातमा लिम्बु भाषा दमन, फाकोसेक लिम्बुको हत्या र अरुलाई देश निकाला

७)      वि.स. १८३७ मा नेपाल र अग्रेज बीचको सुगौली सन्धी भयो / यसपछि लिम्बु तथा लेप्चाको भू-भाग तिन भागमा विभाजित भइ सिक्किम, लिम्बुवान र दार्जीलिङ भयो /

८)      वि.स. १८३९ मा लिम्बुवानलाई गोर्खाको उपनिवेशबाट मुक्त्त तथा लिम्बुवान रक्षा गर्न मुरेहाङ लिम्बु र थामुया लिम्बुहरुको नेतृत्वमा छापामार युद्द गरे

९)      वि.स. १८४१ तिर गजदल राय लिम्बुद्वारा लिम्बुवान गोर्खा बीचको सम्झौता विरोध गर्दै लिम्बुवान स्वतन्त्रताको लागि विद्रोह गरे /

१०)  वि.स. १८४३ तिर लिम्बुवान स्वतन्त्र राज्य राख्नको लागि विद्रोह भयो /

११)  वि.स. १८४३ सालमा रणबहादुर शाहको पालादेखि लिम्बुवान राज्यमा तिरो लगाइयो /

१२)  पृथ्वी नारायण शाहले कुटनैतिक तवरले सन्धि गरि लिम्बुवानलाई उपनिवेश बनाए पछि जुन सन्धिलाई लिम्बुवानको राजा हिलिहाङद्वारा अस्विकार गरि गोर्खा विरुद्द युद्द लड्दा-लड्दै वि.स. १८४४ मा वीरगति प्राप्त गरे /

१३)  वि.स. १८४८-१८४९ मा पल्लो किरातमा लिम्बु बिद्रोह

१४)  वि.स. १८४९ सालमा सिक्खिम थुमलाई तत्कालिन गोर्खाको राजा रणबहादुर शाहले सिक्किमको राजा तेन्जिङ नामग्याललाई सुम्पी दियो /

१५)  वि.स. १८५२ सालमा साम्वाहाङ र नाम्वाहाङ लाबुङद्वारा लिम्बुवान स्वतन्त्र राज्यको लागि विद्रोह गरेका थिए / त्यतिबेला वि.स.१८३१ को कथित सन्धि-सम्झौता पछि गोर्खाले   लिम्बुवानलाई क्रमस उपनिवेश बनाएको कारण उक्त्त सन्धिको बिरुद्दमा लिम्बुवानको केहि राजाहरुले गोर्खासँग पुन: युद्द गरेका थिए / यस युद्दमा सामेल केहि लाबुङ थरिको लिम्बुहरु युद्दको क्रममा उतैतिर (इलाम र सङखुवासभा) तिर बस्दै आएको छन् /

१६)  योङहाङ सुब्बाको नेतृत्वमा काठमाडौं गएका ५२ सुब्बाहरुलाई रणबहादुर शाहद्वारा बिभिन्न हातहतियारहरु र नगरा निशान उपलब्ध गराई बाहुन-क्षेत्री जातको हिन्दु दशैँको सस्कृति पनि अनिवार्य लादी पठाएको थियो /

१७)  राणा शासनकालमा दशैँ नमानेको भनेर धनकुटाको आठपहरिया समुदायका रामलिहाङ र रिदामालाई झुण्ड्याएर मारियो / 

१८)  वि.स. १८५२ देखि लिम्बुवानको याक्थुङबाहरुको जग्गा तथा किपट माथिको अधिकार खोस्न सुवाङगी (सुब्बा पदवी) प्रथा संचालन गरेको थियो / तर, लिम्बुवानलाई अझ निचोर्न व्यस्थित रुपमा सुवाङगी प्रथा वि.स. १९२५ देखि लागु गराएको थियो / तर, उक्त्त किपट अपहरण पछि जसको बिरुद्दन निरन्तर विद्रोह चलिरहेको /

१९)  वि.स. १८७२ सालको सुगौली सन्धिमा मेची खोला देखि पुर्व, टिष्टा नदि पश्चिमको मधेश र पहाड भएको ताप्लेजुङ थुमलाई पनि गोरखाको राजा गिर्वाण युद्द वीर विक्रम शाहले अग्रेजलाई छाडीदिए /

२०)  वि.स. १८७३ साल तिर लिम्बुवानबाट गोर्खालीहरुलाई धपाई स्वतन्त्र लिम्बुवान राज्य खडा गर्न पृथ्वीसिङ लिम्बुले प्रयास गरेका थिए / अन्त्यमा उनि सिक्किम निर्वासित हुनु पर्यो /

२१)  चन्द्र सम्शेरको पालामा लिम्बुहरुको मुन्धुम र धर्मग्रन्थहरु चैनपुर लगेर जलाइयो /

२२)  वि.स. १८७५ मा नीति र सामृति लिम्बु विभाजनको विरोध /

२३)  वि.स. १८९८ मा श्रीजङ्गालाई किरात मुन्धुम र लिपि बचाउने क्रममा सिक्किमको मार्ताम गाउमा रुखमा डोरीले बाधी धनुकाडले हानि हत्या गरियो /

२४)  वि.स. १९०१ मा जंगबहादुर राणाले लिम्बुहरुको सम्पूर्ण राजकीय अधिकार खोसेर लिम्बुवान राष्ट्रलाई पल्लो किरात र राजा उपाधीलाई सुब्बा लेख्ने सदन जाहेर गरेर लिम्बु राजनेताहरुलाई आफ्नो कर्मचारी सरह बनाए /

२५)  वि.स. १९२७ सालमा पल्लो किरातमा लिम्बु भाषा दमन (सिरिधेवेलाई देश निकाला)

२६)  वि.स. १९४१ मा जगदल लिम्बुले लिम्बुवान स्वतन्त्रताका लागि विद्रोह गरे / लिम्बुवानमा गोरखाद्वारा नियुक्त्त अफिसर स्वरूपसिङ कार्कीले उनको हत्या गर्न खोज्दा सिक्किम गइ आफ्नो ज्यान बचाए /

२७)  वि.स. १९४२ मा लिम्बुवानलाई गोर्खा साम्राज्यबाट मुक्त्त गर्न मुरेहाङ लिम्बु र थामुया लिम्बुहरुले छापामार युद्द छेडे तर उनीहरुलाई गोर्खाली अफिसर स्वरूपसिङ कार्कीले हत्या गरे /

२८)  वि.स. १९५२ सालमा ताप्लेजुङमा अमाल (अड्डा-अदालत तथा प्रशासन) राख्दा लिम्बुवानको परम्परागत हक-अधिकारमाथि बाधा पुग्छ भनेर हाङपाङको बाजहाङ लिम्बु (आङ्बुहाङ) ले आवाज उठाउदा, राणा शासकहरुले माघ महिनामा फुङलिङ बजार नजिक रुखमा झुण्ड्याएर मारियो /

२९)  वि.स. १९०३ सालमा जंगबहादुर राणा नेपालको प्रधानमन्त्री भए पछि उनले लिम्बुहरुलाई जनै लगाउन र क्षेत्री हुन् दबाब दिन थाल्यो तर स्वाभिमानी लिम्बुहरुले अस्विकार गरिदिए जसको कारण जंगबहादुर राणा चिढिएर लिम्बुहरुको भुमि र अधिकार अतिक्रमण र हस्तक्षेप गर्न प्रारम्भ गर्यो /

३०)  वि.स. १९१० मा जंगबहादुर राणाले लिम्बुवानको अविभाजित भूमिलाई किपट र रैकरमा विभाजित गरिदियो /

३१)  वि.स. १९३७ मा जंगबहादुर राणाले यस अघि पृथ्वी नारायण शाहको पालादेखि लिम्बुहरुले पाएको “पन्चखत सरकार” पनि खोसे तथा लिम्बुहरुलाई प्रान्तीय राजा पदबाट बर्खास्त गरेर सुब्बा (कर्मचारी सरहर) पदमा मात्र राखिदिए /

३२)  वि.स. १९४२ मा प्रधानमन्त्री रणोदीप सिह राणाको कार्यालयमा लिम्बुहरुले सुब्बा पद प्राप्त गर्न ६० मुरी अन्न फल्ने जमिन र रु ५२ र राई पदको लागि ३० मुरी अन्न फल्ने जमिन र रु २६ सलामी सरकारलाई चढाउन पर्दथ्यो / जुन जग्गामा लिम्बुवान भन्दा बाहिरको अन्य जातिहरु ल्याएर रैती राख्नु पर्यो पछि त्यस जग्गा रैकर (सरकारीकरण/कब्जा) हुन्थ्यो / यसरी राज्यको आर्यन (बाहुन-क्षेत्री)  शासक जातिहरुले लिम्बुवानको भुमि र राज्य सम्बन्धि हक-अधिकारहरु क्रमिकरुपमा खोसाउदै लग्यो /

३३)  वि.स. १९६३ देखि लिम्बुवानको किपट भुमिमा नापी गरी क्रमस राज्यले जग्गा खोस्न थाले पछि लिम्बुवानमा त्यस नापीको विरुद्दमा व्यापक बिरोध भयो / त्यहि समय देखि नै लिम्बुवान बचावट आन्दोलन सुरु गरेको देखिन्छ /

३४)  वि.स. १९७१ अर्थात चन्द्र शम्सेर राणाले लिम्बुवानबाट १८ बर्ष देखि माथि र ५० बर्ष भन्दा मुनिका सबै युवा जवानहरुलाई प्रत्येक घर-घरबाट ब्रिटिस फौजमा अनिवार्य भर्ती गराई पठाएर लिम्बुवानमा युवाबिहिन बनाए / यहि मौकामा गोरखाको सेना पठाएर लिम्बुवानको बुबा-आमाहरुलाई अन्याय-शोसन, दमन साथै दिदीबहिनीहरुलाई यौन शोसन गर्थ्ये / त्यो बेला लिम्बुवानको युवा जवानहरु संसारको विभिन्न देशको युद्दमा व्यस्त तर लिम्बुवानमा लिम्बुहरुको वंशवली, अभिलेख, ताम्रपत्र, इतिहास, धर्मग्रन्थ, सस्कृतिका करिब ३०,००० थान दस्तावेजहरु आगो लगाई नष्ट गरिदिए /    

३५)  वि.स. १९७६ मा नापीको असहमत स्वरूप बिरोध /

३६)  वि.स. १९८८ बैशाख २४ गते दश लिम्बुवान १७ थुमको प्रतिनिधीहरु बोलाइ “सत्य धर्म मुचुल्का” तयार गरियो / उक्त्त मुचुल्काले सस्कार सुधार र लिपि संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको छ /

३७)  वि.स. १९९५ मा दोश्रो पटक नापी असहमत बिरोध /

३८)  लिम्बुवानमा नापीको बारेमा व्यापक बिरोध स्वरूप आन्दोलनहरु वि.स. १९७६, वि.स. १९८५ र १९९५ सम्पन्न भएको थियो /

३९)  लिम्बुवानमा लिम्बुवान बिरोधी अड्डा अदालत राख्न हुदैन भनि गरिएको आन्दोलन तथा विरोधहरु वि.स. १८९५ (धनकुटा), १९४७ (इलाम), १९५२ (ताप्लेजुङ), १९५४ (तेह्रथुम) आदि

४०)  वि.स. २००४ मा अखिल राष्ट्रिय महासभा अभ्यास विरोध र प्रसार विरोध नेपाल स्थापना गरी लिम्बुवान प्रान्तीय राज्यको माग

४१)  वि.स. २००४ सालमा नेपाल सरकारबाट लिम्बुवान क्षेत्रको सुधारसम्बन्धी एक सदन जारी गरियो / उक्त्त सरकारद्वारा जारी गरिएको सदन लिम्बुवानको किपटियाहरुले सशक्त्त बिरोध गरेका थिए /

४२)  वि.स. २००६ मा लिम्बुवान स्टेट खडा गर्न विजय बहादुर लिम्बुको नेतृत्वमा विद्रोह र २००८ मा उनको हत्या भयो

४३)  वि.स. २००६ सालमा जस बहादुर लिम्बु र एकात बहादुर लिम्बुको नेतृत्वमा ९ जना सहयोगीहरु सहित सिक्किम दार्जीलिङबाट लिम्बुवान स्टेट खडा गर्न लिम्बुवान प्रवेश गरी लिम्बुवानको धेरै ठाउमा प्रहरी प्रशासन र हातहतियार कब्जा तथा लिम्बुवानबासीहरु बिद्रोहमा उत्रिएको थियो /

४४)  राणा शासनको अन्त्यसँगै लिम्बुवान प्रान्तको आश्वासन पाएका लिम्बुहरुले वि.स. २००७ सालमा राणाहरुका अड्डाखानाहरु कब्जा गर्दै लिम्बुवानलाई राणा शासनबाट मुक्त्त गराए /

४५)  वि.स. २००७ मा क्रान्तिकारी लिम्बुहरुले धनकुटामा ललित बहादुर तुम्बाहाम्फेको प्रधानमन्त्रीत्वमा १६ सदस्यीय लिम्बुवान मन्त्रिपरिषद गठन गरिएको थियो / जसमा स्व. इतिहासकार प्रेम बहादुर माबोहाङ गृहमन्त्री र कमानसिङ रक्षामन्त्री रहेका थिए /

४६)  वि.स. २००७ सालमा विजय बहादुर वखिम लिम्बुको नेतृत्वमा “लिम्बुवान स्टेट माग गरियो / उहा लगायत १२ जनाको इलाम युद्दमा मृत्यु /

४७)  वि.स. २००७ सालको परिवर्तन लगतै पछि लिम्बुवानको याक्थुङबाहरुले स्वायत्तताको खोजि गरेका थिए /

४८)  वि.स. २००७ मा राणा बिरोधि तत्कालिन काँग्रेस पार्टीमा जी.वि. याक्थुङबा र वि.वि. चेम्जोङहरुको नेतृत्वमा लिम्बुहरु आबद्द भएर गोर्खा र लिम्बुवान बीच वि.स. १८३१ को सम्झौता बमोजिम लिम्बुवान पुन:स्थापना गराउन सशत्र विद्रोह गरेका थिए / तर, काठमाडौं कब्जा गरी क्रान्ति सफल भएपछि काँग्रेसले हतारोमा दिल्ली सम्झौता गरी उक्त्त लिम्बुवानलाई धोका दिएको थियो /

४९)  वि.स. २००८ सालमा स्व. इतिहासकार इमानसिङ चेम्जोङको नेतृत्वमा “अखिल लिम्बुवान सुधार संघ” को स्थापना गरी लिम्बुवान खडा हुनै पर्छ” भन्ने मुल नाराका साथ लिम्बुवान स्वायत्तताको माग गरियो / उक्त्त संघको सभापतिमा इमानसिङ चेम्जोङ र प्रधानमन्त्रीमा तेजबहादुर प्रसाई रहेका थिए /

५०)  वि.स. २००८ बैशाख १२ गते इलामको मंगलबारेमा “लिम्बुवान स्टेट” खडा गर्ने अभियानमा लागेका विजय बहादुर लिम्बुलाई गोली हानि हत्या गरियो /

५१)  वि.स. २००८ मा स्व. इमानसिङ चेम्जोङको नेतृत्वमा “अखिल लिम्बुवान सुधार संघको स्थापना गरी गणेश रिजाल, तेजबहादुर प्रसाईद्वारा “लिम्बुवान खडा हुनै पर्छ” को नाराका साथमा लिम्बुवान प्रादेशिक स्वायत्त सरकारलाई दिईनु पर्ने माग

५२)  वि.स. २००९ जेष्ठ २ गते इतिहासकार इमानसिह चेम्जोङको अगुवाइमा अखिल नेपाल लिम्बुवान चुम्लुङ सभा गठन गरी लिम्बुहरुले किपट हक तथा राजनैतिक अधिकार सहितको स्वायत्त लिम्बुवान राज्यको वकालत गरेका थिए /

५३)  वि.स. २०१३ र २०१४ सालमा पल्लो किरात लिम्बुवानको प्रतिनिधी मण्डल काठमाडौं गइ राजा महेन्द्र र तत्कालिन सरकार समक्ष विकास निर्माण, मातृभाषाको शिक्षा, स्वास्थ्य, संचारमा लिम्बु भाषाको प्रयोग लगायत लिम्बुवानको सुनिश्चित भविष्यका लागि मागहरु प्रस्तुत गरिएको थियो /

५४)  वि.स. २०१४ कार्तिक १३ गते भू.पु. मालपोत उपमन्त्री देउमान आङ्देम्बेको अगुवाईमा एक प्रतिनिधिमण्डल काठमाडौं गइ श्री ५ समक्ष वि.स. १८३१ को गोर्खा-लिम्बुवान बीच भएको सन्धी अनुसार लिम्बुवानको किपट व्यवस्थापन, विकास, भाषा, साहित्य, शिक्षा, स्वास्थ्य कार्यन्वयन गर्न माग /

५५)  वि.स. २०१७ सालमा राजा महेन्द्रले लोकतन्त्रको अन्त्य गरेर निर्दलीय पंचायको नाममा निरंकुश शासन शुरु गरेपछि भाषिक अधिकारको माग र सास्कृतिक पहिचानको आवाजहरु दबेर गए

५६)  वि.स. २०१७ साल पुस १ गतेको फौजी कार्वाहीले लिम्बुवानको ऐतिहासिक सिमालाई तहसनहस गरी कोशी र मेची अंचलका पहाडी जिल्लाहरु इलाम, पान्थर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा र धनकुटामा विभाजन गरियो / यस क्षेत्रलाई पहिले क्रमस: आनी लाजे, लिम्बुवान, पल्लो किरात लिम्बुवान हुदै हाल मेची-कोशी भनि भनिन्छ /

५७)  वि.स. २०१७ सालमा पंचायत बिरुद्द डगलसिङ् सेन लिम्बुको नेतृत्वमा लिम्बु मोर्चाद्वारा विद्रोह /

५८)  वि.स. २०१८ मा भूविक्रम नेम्वाङको नेतृत्वमा लिम्बुवान राज्य पुन:स्थापनाको लागि सशत्र बिद्रोह भयो / एकात्मक साम्प्रदायिक राज्यले लिम्बुवानमा व्यापक सेना परिचालन गरी दमन चक्र चलाइएको थियो जसको कारण सबै बिद्रोही लिम्बुहरु विदेशिन बाध्य भएको थियो /

५९)  वि.स. २०१९ मा राज्यले लिम्बुवानको लिम्बुहरुलाई सुब्बा, राई र अमाली पदबाट पनि पदच्युत गरी लिम्बुवानमा लिम्बु प्रशासनको पूर्णरुपमा अन्त्य गरियो /

६०)  वि.स. २०२१ मा कथित भुमिसुधार लागु गरेर लिम्बुवानको भुमि तथा राज्यमाथिको सम्पूर्ण स्वायत्त अधिकार काठमाडौंले एकतर्फी छलफल नगरी खसायो जसको कारण किपटया लिम्बुवानवासीले किपट बचाउनको लागि शसक्त्त संघर्ष चलाए / तर, एकात्मक सत्ताले पेलेर अघि बढ्ने नीति लियो / सरकारले नापी गरी मालपोत लागु गरेपछि किपटको अस्थित्व सकियो /

६१)  वि.स. २०२२ सालमा भूमिसुधारको विरोधको लागि धनकुटाको देब्रेबासमा किपटिया भेला /

६२)  वि.स. २०२३ सालमा प्रकाशमान आङ्बुहाङ लिम्बुको नेतृत्वमा किपट थमौती हस्ताक्षर अभियान /

६३)  वि.स. २०२४ साल फाल्गुन २० गते स्व. इतिहासकार प्रेमबहादुर मबोहाङको नेतृत्वमा लिम्बुवानको विजयपुर बुढासुब्बामा किपट थमौती सभा गरियो /

६४)  वि.स. २०२४ सालमा राजा महेन्द्रलाई लिम्बुवानको किपट व्यवस्था र रीतिस्थितिको स्मरण गराउन क्या. दलबहादुर लिम्बुको अगुवाइमा एक प्रतिनिधी काठमाडौं गएका थिए / तत्कालिन तेजबहादुर प्रसाईले मानबहादुर पङयाङगु र क्या. दलबहादुर लिम्बुलाई जेलमा हाले / मानबहादुरको जेलमा निधन भयो /

६५)  वि.स. २०२५ सालमा लिम्बुवानको राजधानी बिजपुर-धरानको बुढासुब्बाको प्राङ्गणमा भेला भइ किपट बारेमा व्यापक छलफल गरि प्रेमबहादुर माबोहाङ, कृष्ण बहादुर थाङदेन, जमदार हर्क प्रसाद नेम्वाङहरुले “किपट सम्पर्क समिति” गठन गरे /

६६)  वि.स. २०२५ मङ्सिरमा तेह्रथुम मेयङलुङमा सम्सेर बहादुर तुम्बाहाम्फे र पद्मसुन्दर लावतीले बृहत किपटिया सम्मेलन बोलाए /

६७)  वि.स. २०२५ मङ्सिरमा मेयङलुङमा समशेर बहादुर तुम्बाहाम्फे र पद्म सुन्दर लावतीद्वारा बृहत किपटिया सम्मेलन गरियो / भुमि सुधार लागु नगरी किपट व्यवस्था नै कायम गरियोस भन्ने प्रस्ताव पारित गरी उनीहरुको लिम्बुवान प्रतिनिधि काठमाडौं गई राजा महेन्द्र समक्ष माग प्रस्तुत गरे /

६८)  वि.स. २०३६ सालमा पान्थरमा आत्मनन्द लिङदेनको अध्यक्षतामा “किरात धर्म तथा साहित्य उत्थान संघ” स्थापना भाषा, सस्कृति, जातीय उत्थान तथा सचेतनाका कार्यहरु ब्यापकरुपमा गर्दै आएको छन् /

६९)  वि.स. २०३६ सालको जनमत संग्रह गरेपछि (शेतामगुराली) को नाममा जातीय संगठन खुल्न थाले /

७०)  वि.स. २०३६-२०३७ सालमा इलाम र धनकुटामा नक्सलाइटहरुको सफाई गर्ने भनि त्यहाँ राई-लिम्बुहरुलाई मात्र दमन गरियो त्यो सफाई अभियानमा प्रहरीद्वारा राई-लिम्बुहरुलाई मात्र खोजि-खोजि पक्रिए, मारिए तर त्यहाँ एक जना पनि बाहुन-क्षेत्रीहरुलाई पक्रिएन, मारिएन /

७१)  वि.स. २०३७ सालतिर युवा नेता वीर नेम्बाङले लिम्बु भाषा लिपि पठन पाठन कार्य सुरु गर्दा केन्द्रिय सरकारले देशद्रोहीको आरोप लगाएर १ साल जेल हाल्यो /

७२)  वि.स. २०४० सालमा पाथर जिल्लामा त्यहाका भाषा प्रेमी लिम्बुहरुले स्वयंमसेवक भइ लिम्बु लिपि र भाषाको रात्री पाठशालाहरु संचालन गर्दा त्यहाको जिल्ला अधिकारी रामस्वरूपसिहले उक्त्त लिम्बु पाठशालाहरुलाइ बलपूर्वक बन्द गरी ति स्वयंमसेवकहरुलाई आतंककारीको झुठा आरोप लगाउदै दमनात्मक कार्यहरु गरियो /

७३)  वि.स. २०४मा वीर नेम्बाङले लिम्बुवान मुक्त्ति मोर्चा गठन गरी हालसम्म लिम्बुवान स्वायत्तताका लागि सकृय लिम्बुवान राजनीति गर्दै आएको छ / उनि यस क्रममा धेरै पटक जेल परेको थियो /

७४)  वि.स. २०४५ सालमा ताप्लेजुङ र पाथरमा लिम्बु भाषाको ४ कार्यकर्ताहरुलाई जेल सजाय ‘

७५)  वि.स. २०४६ सालमा किरात याक्थुङ चुम्लुङ स्थापना पछि २०६० सालमा अर्जुन नुगो लिम्बुको नेतृत्वमा लिम्बुवान जातीय स्वायत्त राज्य माग

७६)  वि.स. २०४६ सालमा काठमाडौंको सचेत लिम्बु युवाहरुको अगुवाइमा किरात याक्थुङ चुम्लुङ स्थापना गरी आत्मनिर्णयको अधिकार सहित लिम्बुवान जातीय स्वायत्तताको स्थापनाको लागि जोडदाररुपमा काम गर्दै आएको छ /

७७)  वि.स. २०४८ साल देखि स्व. काजिमान कन्दङवा, स्व. खगेन्द्र आङ्बुहाङ तथा सन्जुहाङ पालुङवा समुहले जनजाती पार्टी मार्फत लिम्बुवान स्वायत्तता राज्यको आवाज उठाए

७८)  वि.स. २०५२ देखि सशत्र विद्रोहमा उत्रेका नेकपा माओवादीको भात्रीसंगठनका रुपमा २०५७ मा भक्त्तराज कन्दङवाको अध्यक्षतामा “लिम्बुवान राष्ट्रिय मुक्त्ति मोर्चा” गठन गरिएको  थिए /

७९)  वि.स. २०५५ मा लिम्बु विध्यार्थी मंचको स्थापना र हाल लिम्बुवान स्वायत्तताको माग

८०)  वि.स. २०५५ तिर लाजेशा याक्थुङबाले संघीय अवधारणा राखेर संघीय लिम्बुवान पार्टीको स्थापना गरेका थिए / तर, यसले जमेर राजनीति गर्न सकेन /

८१)  वि.स. २०५५ सालमा भगत सुब्बाको नेतृत्वमा संघीय प्रजातान्त्रिक लिम्बुवान पार्टी गठन

८२)  वि.स. २०५५ मा स्थापित लिम्बु विध्यार्थी मंचले लिम्बुवान स्वायत्त राज्य प्राप्तिका लागि व्यापक प्रचार प्रसार र जनजागरण कार्यहरु गर्दै आएको छ /

८३)  वि.स. २०६२ सालमा शेरबहादुर इङनामको नेतृत्वमा लिम्बुवान सद्भाव मंचद्वारा लिम्बुवान स्वायत्त राज्य आन्दोलन

८४)  वि.स. २०६३ सालमा प्रसाद थेबे तथा जय केरुङको अगुवाइमा लिम्बुवान स्वायत्त सरोकार मंच धरानद्वारा लिम्बुवान स्वायत्त राज्यको माग

८५)  वि.स. २०६३ सालमा संघीय लोकतान्त्रिक राष्ट्रिय मंच मातहत लिम्बुवान राज्य परिषदद् मार्फत सन्जुहाङ पालुङवाको नेतृत्वमा संघीय लिम्बुवान स्वायत्त राज्य माग / लिम्बुवान बन्द लगायत सशत्त आन्दोलन तथा सरकारलाई वार्तामा बसाउन सफल /

८६)  वि.स. २०६४ असोज 20 गते लिम्बुवान स्वायत्त राज्य स्थापना गर्ने आन्दोलनको क्रममा झापा र इलाम सिमाना पर्ने सानो केर्खाको कमल पुल छेउमा राज कुमार आङ्देम्बे “माङतोक” शहदत्ता प्राप्त गर्नु भयो /

८७)  वि.स. २०६५ चैत्र ६ गते लिम्बुवान क्षेत्रको क्याम्पसको चुनावहरु समानुपातिक चुनाव प्रणाली अन्तर्गत हुनु पर्छ भन्ने आन्दोलनको क्रममा झापाको धुलाबारीमा माङतोक र मनिल दुबै जनालाई एकात्मक सत्ताको प्रहरीले गोली हानी हत्या गरेको थियो /

८८)  लिम्बुवानको केहि शहिदहरु

८९)  लासाहाङ, किरात युमा धर्मको लागि शहिद

९०)  सिरिङ्गा देवांसी, किरात साहित्यको लागि शहिद

९१)  पेधा लिम्बु, देशका लागि शहिद

९२)  श्री बाजहाङ लिम्बु, देशका लागि शहिद

९३)  श्री राजा बुद्दिकर्ण खेवाङ, देशका लागि शहिद

 

सन्दर्भ सामग्रीहरु

१)      किरात इतिहास र सस्कृति

२)      किरात इतिहास

३)      लिम्बुवानको राजनीति

४)      लिम्बुवानको ऐतिहासिक अध्यायन

५)      लिम्बुवान राज्यको संक्षिप्त इतिहास र पुन:स्थापना

६)      किरात साहित्यको इतिहास

७)      लिम्बुवान: क्रान्ति र बिकास

८)      लिम्बुवानको राम काहानी

९)      तेह्रथुम जिल्लामा सुब्बाङगी प्रथा

१०)  हज्सन पाण्डुलिपिमा गोर्खा खम्बुवान लिम्बुवान युद्द

११)  लिम्बुवान स्वायत्तता किन ?

१२)  किरात राष्ट्रिय मुक्त्ति मोर्चा नेपाल

१३)  संघियता र लिम्बुवान आन्दोलन सम्बन्धि अध्यायन सामग्री

१४)  मौलिक किरात धर्म-सस्कार

१५)  किरातकालीन विजयपुरको संक्षिप्त इतिहास

१६)  अन्य स्रोतहरु