प्रकाशित मिति 25 Sept. 2015
किरात धर्म जस्तो विशद, बिशाल एवम गहन बिषय बारे यो छोटो लेखमा बिस्तृतरुपमा उल्लेख गर्न नसकिने भएकोले यस धर्म बारे सारांशमा प्रकास पर्ने जमर्को गरेको छु /
प्राचिन हिन्दु धर्म ग्रन्थहरु वेद, उपनिषद, पुराण, महाभारत, रामायण, जैन धर्म ग्रन्थ स्वेताम्बर, बौद्ध धर्मग्रन्थ ललिताबिस्तर, मुलसर्वास्तिवादविनिय संग्ग्रह, त्रिपिक, अश्वघोसको बुद्ध चरित्र, पर्सियन मुस्लिम धर्मग्रन्थ जीन्द आवेस्ता, अरबी राइफना, आइने अकबरी, इशाई धर्मग्रन्थ दि बुक अफ सामुयल, न्यु बिब्लिकल एटलस, चिनिया भाषाका शिन्युकाइ, पौयाड राजा, फो पेन हिन्वी, सुतंग, हान वंशका इतिहास, तिब्बतको श्रोंन्ग्चोंन गम्पोको इतिहास, तिब्बतकै कांग्योर तथा तांग्योर बौद्द धर्मका ग्रन्थहरुमा समेत प्राचिन इतिहास बोकेका किरातीहरुको बिषयमा उल्लेख भएको पाइन्छ /
प्राचिनकालमा किराती हिमवत खण्ड अर्थात् कैरात देशले परिचित नेपालमा ५२० बर्ष इशापूर्व गौतम बुद्धको नेपाल आगमनमा स्वयम गौतम बुद्धले १३५० चेला बनाए / तत्कालिन किरात राजा लगायत कुनै पनि किरातले बौद्ध धर्म ग्रहण नगरेता पनि उनीहरुले बौद्ध धर्म प्रति आदर र सहनशीलता नै देखाए / खास गरेर उनीहरुको चाहि आफ्नो प्राचिन धार्मिक विश्वास बाट बिचलित नभई अध्यावधि आफ्नै किरात धर्ममा दृढ रहेको कुरा ऐतिहासिक तथ्य एवम उनीहरुको वर्तमान धर्म सहिष्णु व्यवहारले पनि पुष्टि गर्दछ / त्यस कारण किरात धर्म भनेको किरात जातिको सृष्टि भए देखि नै चलीआएको बिश्वको सबै भन्दा जेठो धर्म हो /
किरात धर्म-सस्कारका सङ्क्षिप्त बिशेषताहरु :-
१) मुर्ति पुजा गरिदैन (प्रकृति पुजक)
२) वर्ण बिभाजन रहित समाज (बाहुन, क्षेत्री, बैश्य र सुद्र भन्ने वर्ण बिभाजन हुदैन)
३) छुवाछुतको भेदभाव हुदैन /
४) लिंग भेदभाव रहित समाज (नारी/पुरुषमा समान व्यवहार र अधिकार)
५) सहयोगात्मक भावनाद्वारा सामुहिक जनशक्ति परिचालन (सधै “म” नभई “हामी” भन्ने भावनाले कार्य गर्ने जाति)
६) मूल धर्मग्रन्थ मुन्धुम
किरात धर्मको मुल धर्म ग्रन्थ काब्यमयी मौलिक मुन्धुम हो भने यस धर्मका धार्मिक प्रणेताहरु येहांग, सोदुगेन लेप्मुहांग, कान्देहांग, मावोहांग आदि किरात महापुरुषहरु हुन् / मुन्धुममा किरात जीवन दर्शन, पृथ्वी, अन्तरिक्ष, हावा, पानी, पशु-पक्षी, झार-जङ्गल तथा मानव सृष्टिका तर्कसङ्गत अवधारणाहरु उल्लेख गरिएका छन् / मुन्धुममा समस्त किरातीहरुलाई एकासुत्रामा बाधी वर्गविहीन जातीय समानता, अन्य धर्म प्रति सहनशीलता र उदारताको सिद्धान्तलाई अँगालिएको छ /
मुन्धुम अनुसार “मांङ” भन्नाले निरन्जन, निराकार, (मेन्नीमांङ, मेन्धामांङ) सर्वब्यापी, सर्वशक्तिमान, सर्वज्ञाता, अनन्त, अद्दितिय, अदृष्य, महाशक्ति एक मात्र ईश्वर तागेरा निङवाफुमांङको प्रतित स्वरूप साङभे (देवासन, मण्डप) मा दियो कलश, थापी प्राथना गरिन्छ भने साम्माङ भन्नाले उनै तागेरा निङवाफुमांङले समय, परिस्थिति, आवश्यकता अनुसार मातृशक्ति, पितृशक्तिका रुपमा क्रमस: युमा सम्माङ तथा थेबा साम्माङ, सुम्निमा तथा पारुहाङका नामले किरात वंशलाइ उनीहरुको आराधना सुनी आपदबिपदबाट उद्दारगरि रक्षा गर्ने कार्य समेत गर्दछन भन्ने बिश्वास गरिन्छ / त्यसैले सावा येहाँग किरातहरुमा कसैले युमा साम्माङलाइ तागेरा निङवाफुमांङ र कसैले थेबा साम्माङ तागेरा निङवाफुमांङकै रुपमा मान्ने गरेको पनि छ / वास्तवमा आ-आफ्नो मान्यता अनुसार कुरो एउटाइ हो / आफ्नो कल्याण, सुरक्षा र सफलताको लागि किरातहरु पितृदेवता, इष्टदेवता र बिभिन्न साम्माङहरुमा पुजा-आजा र आराधना गरी शक्ति माग्ने गर्दछन / साम्माङ च्याङ भन्नाले बेलाबेलामा किरात वंशमा बाधा, अड्चन, बिकार, बिध्न बाधा ल्याउने भुतप्रेत, सोघा सुगुत, सुसिक (अगति) प्रेतात्मा, सेसेन्त्र आदि अनिष्टकारी तत्वहरुलाई बुझाउछ / धार्मिक र उपकारी अनुष्ठानको थालनी गर्नु अघि ति बिघ्नकारी तत्वहरुलाई मन्साउने पन्छाउने र धपाउने सस्कार किरातहरुमा छ /
सरकारी थिचोमिचोको कारण मुन्धुमको प्रचार प्रसार हुन् नसकेकोले स्वधर्मको नाम समेत बिर्सेर आजकाल केहि किरातहरु बाध्यतावश अन्य धर्मको प्रभावमा पर्नु ज्यादै दु:खको कुरा हो भने मुन्धुमलाई कण्ठस्त पारी बचाई राख्नमा हाम्रा धर्म सस्कारका अग्रजहरु साम्बा, येवा/येमा, फेदाङमा, हाङछाम्बा, नाक्छोम्बा, नाअसोकहरुको अविस्मरणीय भूमिका र योगदानको जति प्रसंसा गरे पनि थोरै हुन्छ / जीवन देखि मरणसम्मका कर्मकाण्डहरु, चाडपर्व र धार्मिक अनुष्ठानहरु आ-आफ्नै मातृभाषामा किरातहरुले मौलिक रुपमा फलाकेर परम्परा अनुसार कार्य सम्पादन गरी आएका छन् / ति बिधिहरुमा हालसम्म कयौ लिखित ग्रन्थहरु पनि प्रकाशित भै सकेको छन् र हुदैछन / समय परिस्थितिवश संक्षण र आवश्यकतालाई महशुसगरी हाल कहिँकहिँ किराती शैलीका माङहिम/माङखिम (मन्दिर) निर्माण गर्ने प्रचलनको थालनी पनि भएको छ /
यस धर्मलाई जीवन्त राख्ने सिलसिलामा मावोहाङ पछिका किरातहरुमा इ. नवौ शताब्दीका प्रथम सिरिजंगा राजा र अठारौ शताब्दीका त्येअन्शी सिरिजंगा सिथेबे (दोश्रो सिरिजंगाइ १७०४-१७४१) सम्मले हाम्रा मौलिक मुन्धुममा आधारित धर्म सस्कारका कर्मकाण्डहरु फेदाङमा, साम्बा, येबा/येमा, नाक्छोंङ, हाङछाम्बा, नाअसोहरुद्वारा सम्पन्न गराउदै आएका थिए भने हालसम्म पनि केहि प्रतिशतलाई छोडेर यस देशको सम्पूर्ण राइ, लिम्बु, याक्खा, सुनुवार आदि किरातहरुले यहि परम्परालाई अंगाली निरन्तरता दिइरहेकै छन् /
आज भन्दा ७०-७५ बर्ष अघि किरात लिम्बु परिवारका फाल्गुनन्द लिंदेन (१८८५-१९४८) ले मौलिक किरात मुन्धुममा आधारित किरात धर्मसस्कारमा केहि कुराहरु थपघटगरी सात्विक तरिकाले धार्मिक अनुष्ठान र कर्मकाण्डहरु गर्ने सत्यहांङ पन्थको थालनी गर्नु भएको थियो / राणाशाहीको क्रुर शासनबाट जोगिन्दै किरात जातिको सामाजिक सुधारमा बिशेष जोड दिएर किरात धर्मसस्कार सम्बन्धि लेखन पद्दति पनि वहाले नै सुरु गराउनु भएको देखिन्छ / वहा मौलिक किरात मुन्धुममा आधारित बिशुद्द किरात धर्ममा अटल बिश्वास राख्ने महापुरुष हुनु हुन्थ्यो भन्ने कुरा वहाको यो कथनले प्रष्ट पर्छ “यसमा कति कुराहरु समय परिस्थितिको तालमा नाच्नु पर्दा छासमिस हुन् पुगेको छ पछि समयले नै काटछाट गर्नेछ /” मौलिक किरात मुन्धुमका अनुयायी सनातनवादी किरात समुदायमा वहा एक महान समाज सुधारकका रुपमा चिनिनुहुन्छ भने सत्यहाङमा पन्थीहरुमा धार्मिक गुरुको रुपमा सम्मानित हुनु भएको छ / वहाको अविस्मरणीय योगदानको कदर गर्दै हरेक बर्स चुम्लुंङले गाउ देखि केन्द्रिय स्थरसम्म मै वहाको जन्म जयन्ति पनि मनाउदै आएको छ /
फाल्गुनन्दको अवसान पछि वहाकै कुलमा जन्मनु भएको आत्मानन्द लिंदेन सत्यहाङमा पन्थका धर्मगुरु हुनुहुन्छ / वहा अति मिलनसार, संयमी, सुशील, भद्र, मृदुभाषी, अहंकाररहित, धैर्यवान व्यक्तित्वका धनी हुनु हुन्छ / किरात धर्ममा आएको बिकृति र वाह्य प्रभावलाई हटाइ मौलिक मुन्धुममा आधारित बिशुद्ध किरात धर्मलाई कसरी अक्षुण राख्न सकिन्छ र किरात एकतालाई कसरि बलियो पार्न सकिन्छ भन्ने वहाको पवित्र उदेश्य रहेको कुरा उहासंगको धेरै पटकको भेटघाट र अन्तक्रियाबाट मैले अनुभव गरेको छु / सनातनवाद र सत्यहाङमा पन्थी बीच रहेको सानातिना अमिल्दा कुराहरुलाई मिलाएर किरात धर्मसस्कारमा एकरुपता कायम गर्नु दुवै खेमा बीच आन्तरिक सरसल्लाह र अन्तरक्रिया हुन् अति नै हतार भैसकेको छ / “ जहाँ इच्छा त्यहाँ उपाय” भने झैँ केहि पाउन केहि गुमाउन पछि नपरी “मेरो गोरुको बाह्रै टक्का” नभनी घर भित्रको कुरा घर भित्रै समाधान गर्नमा हाम्रो बिबेकले प्रयोग हुनु पर्छ / यसैमा सम्पूर्ण किरातहरुको कल्याण निहित छ / यसैमा वर्तमान धर्मगुरुको महानता झल्किन्छ / वहाको अग्रगामी एवम समन्वयात्मक सदाशयताको प्रतिक्षा गरौ, आशावादी बनौ / अन्तमा किरात धर्मलाई लिएर चुम्लुंङले किरात जन्य सस्थाहरु किरात राइ यायोक्खा, किरात याक्खा छुम्मा, किरात सुनुवार सेवा समाजसंगको संयुक्त प्रयासमा २०५८ को राष्ट्रिय जनगणना फारमको “धर्म” को महलमा “किरात” राख्न लगाइयो र हाम्रो माग अनुसार किरात धर्मालम्बीहरुको महान राष्ट्रिय चाड मांङसिरेपुर्नेलाई किरात चाड घोषणागरी सो दिन अधिराज्य भरको सम्पूर्ण किरात धर्मालम्बीहरुलाई सार्वजनिक सरकारी बिदा समेत दिने निर्णय गरेकाले श्री ५ को सरकार प्रति धन्यवाद ज्ञापन गर्दै यस सुखद अवसरमा सम्पूर्ण किरात बन्धुहरुमा सुख, शान्ति एवम समृधिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु /
मिति :-२०५८/०९/१३
(तान्छोपा बर्ष ६, अङ्क ११, बिहिबार, माघ ४, २०५८/१० jun.2002)
नोट :- "मौलिक किरात धर्म-सस्कार (लेखा तथा अन्तर्वाता संग्रह) -मन्जुल याक्थुंबा" पुस्तकबाट साभार

0 comments:
Post a Comment