Breaking News
Loading...
######


29Oct, 2015by 

३. पितृसत्ता
सामन्ती सोचको अर्को महत्वपूर्ण रुप पितृसत्ता हो । नेपाली समाजको हरेक संस्कार, संस्कृतिमा पितृसत्तारुपी शासनसत्ता स्थापित रहेको छ । अहिलेसम्मको नेपाली राजनीतिलाई अर्थात् एकात्मक राज्यसत्तालाई मजवुत बनाउने महत्वपूर्ण आधारको रुपमा पितृसत्ताको भूमिका रहेको छ । पितृसत्तालाई सामान्य अर्थमा पिताको सत्ता वा शासन भनी बुझिन्छ । अहिले पितृसत्तालाई “पुरुष प्रधान” भन्ने शब्दमा पनि प्रयोग गर्ने गरिन्छ ।
महिलाहरूले पितृसत्ता वा पुरुष प्रधानको विरुद्ध आन्दोलन गर्नुको अर्थ पुरुषहरूले फगत पुरुष (केटा/छोरा मान्छे) को विरोध भएको ठान्नु हुँदैन । समाजमा, धर्ममा, चाडपर्वमा, अन्य परम्परा आदिमा स्थापित विभिन्न मान्यताहरू छन्, जसको आधारमा सम्पूर्ण पुरुषहरू (केटा/छोरा मान्छे) ले क्रियाकलाव गरिरहेका छन् । जुन क्रिया महिला (केटी/छोरी मान्छे) को प्रगति र परिवर्तनको पक्षमा छैन । महिला र पुरुषबीच महिलाले बच्चा पाउन र दूध ख्वाउन सक्छ, तर अरु कुनै कुरामा भिन्नता छैन ।
पुरुषहरूको लागि सिर्फ एकात्मकवादी पर्खाल सिंहदरबार भत्काउनु छ । तर महिलाको लागि सिंहदरबारसँगै सामन्तवादी सोचले ग्रस्त बाहुनवादी (ब्राम्हणवाद) तथा पितृसत्तावादी सोचको पर्खाल पनि भत्काउनु छ ।
सिमन द बोउवरको भनाइनुसार नारीवत् गुणहरू सारा कृतिम र जन्माइएका अर्थात् नारी जन्मेपछि ओढाइएका मात्र हुन् (भट्टराई, २०६९:१००) । तर समाजको यथार्थ अवस्था त्यस्तो छैन । नेपाली समाजमा सिमनको भनाइजस्तो नारीवत् गुणहरू त सिर्फ कृत्रिम हुन् भन्ने कुरा महिलाहरूको मानसिकता, व्यवहार आदिमा देखिन्न ।
हामी देखिरहेका, सुनिरहेका घटना, समाचार जस्तो कि घरायसी कामकाजमा होस् या समाजले गर्ने व्यवहारमा होस् महिलामाथि हुने र गरिने भेद्भाव, अपमान, नियन्त्रण, बलात्कार, शोषण, हिंसा आदि पितृसत्ताका रुपहरू हुन् । यी पितृसत्ताका रुपहरूमा पुरुषहरू पात्रको भूमिकामा छन् । यसर्थ, पुरुषहरू (केटा/छोरा मान्छे) ले पितृसत्ताको सिपाहीको काम गरिरहेका छन् ।
विश्वका चर्चित महिला आन्दोलनकर्मी तथा लेखिका कमला भासीन (२०१४:२) ले पितृसत्ताका विभिन्न रुपहरूको बारे निम्ननुसार उल्लेख गरेकी छिन् :
१) “मैले सुनेकी छु कि म जन्मँदा मेरो परिवार निकै दुःखी भएको थियो । उनीहरू छोरा चाहान्थे” (छोराको महत्व) ।
२) “मेरा भाइहरूलाई खान माग्ने अधिकार थियो । उनीहरूले चाहेको खाने कुरा आफैले लिन सक्थे । हामीलाई भने नदिएसम्म पर्खेर बस् भनिन्थ्यो । हामी दिदीबहिनी, आमाले बाँकी रहेको खाना खाएरै काम चल्दथ्यो” (भोजनको बाँडफाँडमा केटीहरूमाथि गरिने भेदभाव) ।
३) “मैले घरको काममा आमालाई सघाउनुपर्दथ्यो । भाइ चाहिँ केही गर्दैनथ्यो” (महिला र केटीहरूमाथि कामको बोझ) ।
“मैले आफ्नो हाकिमको माग पूरा गर्न तयार नहुँदा मलाई नोकरीबाटै निकाली दियो” (कार्यालयमा यौन शोषण) ।
४) “स्कुल जान पाउनलाई पनि एक ठूलै लडाइँ लडेजस्तो हुन्थ्यो । मेरो बुबाको विचारमा हामी केटीहरूलाई पढ्न आवश्यक थिएन” (केटीहरूको लागि पढाइको अवसरको अभाव) ।
५) “म साथीहरूलाई भेट्न अथवा बाहिर जान पाउँदिनथें । मेरो भाइ जतिबेला घर आए पनि हुन्थ्यो । तर मलाई अँध्यारो हुनुभन्दा अगाडि नै घर फर्केर आउनुपर्दथ्यो” (केटीहरूको लागि स्वतन्त्रता तथा आउन जान छुटको अभाव) ।
६) मेरो बुबाले मेरी आमालाई धेरैचोटि पिट्दथे” (पत्नीमाथि कुटपिट/घरेलु हिंसा) ।
७) “मेरो भाइ मेरो बुबाभन्दा पनि खराब थियो । मैले कुनै पनि केटासित कुरा नगरोस् भन्ने चाहन्थ्यो” (केटी वा महिलामाथि पुरुषको नियन्त्रण) ।
८) “मैले आफ्नो हाकिमको माग पूरा गर्न तयार नहुँदा मलाई नोकरीबाटै निकाली दियो” (कार्यालयमा यौन शोषण) ।
९) “मेरो बुबाको सम्पत्तिमाथि मेरो कुनै अधिकार छैन । मेरो लोग्नेको सम्पत्ति पनि मेरो होइन । वास्तवमा, मैले आफ्नो ठान्न हुने कुनै घर नै छैन” (महिलाहरूको लागि उत्तराधिकार वा सम्पत्तिमाथिको अधिकारको अभाव) ।
१०) “मेरो लोग्नेले चाहेको बेला मैले आफ्नो शरीर उसलाई सुम्पनुपर्दछ । यसमा मेरो केही राय चल्दैन । मलाई यस सम्बन्धमा डर लाग्छ र मलाई यो मन पनि पर्दैन” (महिलाहरूको शरीर र तिनको यौनमाथि पुरुषको नियन्त्रण) ।
सेना समायोजनको बेला निर्मला शर्मा (२०६८ मंसिर) लेख्नुहुन्छ, ‘समायोजनमा प्रायः सबै पुरुष लडाकुहरू जाँदैछन् । अविवाहित र बच्चा नभएका केहीबाहेक सबै महिला लडाकुहरू बुहार्तन सम्हाल्न घर फर्कदै छन् । शासकीय संरचनामा रहेको पुरुष बोलवालाको शिकार भएर केही हजार महिला लडाकु तिनका लोग्नेको घर, सासु–ससुराको सेवा र बालबच्चाको हेरचाह गर्ने काममा सीमित हुँदैछन् ।’
११) “म चाहन्थें कि मेरो लोग्नेले परिवार नियोजनको साधनको प्रयोग गरोस् । तर, त्यसो गर्न ऊ मान्दैनथ्यो । मलाई पनि अप्रेसन (स्थायी बन्ध्याकरण) गराउने स्वीकृति दिएन” (प्रजनन् क्षमतामाथि नियन्त्रण अथवा प्रजनन् अधिकारको अभाव) ।
समाजको हरेक पाइलामा पितृसत्तारुपी जन्जीर छ, भेदभाव व्याप्त छ । यसबारेमा भासीन (२०१४:४) थप स्पष्ट पार्नुहुन्छ, ‘हामी महिलाहरू हरेकले कुनै न कुनै किसिमको भेदभावपूर्ण व्यवहार भोगिरहेका हुन्छौं । महिलाले आफ्नो असहमति जनाउन उठाउने हरेक साहसिक कदमलाई महिलाको छाडापन भनेर आपत्ति दर्साइन्छ । यदि हामीले परम्परागत रुपले चल्दै आएका हदभन्दा बाहिर निस्केर केही नयाँ काम गर्न खोज्यौं भने हामीलाई लाज–शरम नभएको महिला भनी छिछि दुरदुर गरिन्छ । यसरी पुरुषभन्दा महिला तल्लो तहका हुन् भन्ने मान्यताले हाम्रो परिवार, समाज, धर्म, कानुन, विद्यालय, पाठ्यपुस्तक, आमसञ्चार, कारखाना र कार्यालयहरू सबैमा नराम्रो प्रभाव पारेको छ । हाम्रो समाजमा जे जस्तो हामीहरूमाथि भइरहेको छ, त्यो एउटा व्यवस्थाकै उपज हो । यो त्यो व्यवस्था होे जहाँ पुरुष प्रधान, पुरुष उच्चता तथा पुरुष नियन्त्रण व्याप्त छ र यसमा महिलालाई निम्न, कमजोर र अधिकारहीन बनाइएको छ ।’
पितृसत्ता वा पितृसत्तात्मक सरकार कति बलियो हुँदो रहेछ भन्ने केही तथ्यहरूतिर जाऔं । नेपालमा करिव दश वर्षसम्म माओवादी जनयुद्ध भयो । युद्धविरामपछि माओवादीका सेनाहरूलाई विभिन्न शिविरहरूमा राखियो । त्यसपछि नेपाली सेना र माओवादी सेनाबीच समायोजन हुने भयो । सेना समायोजनको बेला निर्मला शर्मा (२०६८ मंसिर) लेख्नुहुन्छ, ‘सबै माओवादीका लडाकु शिविर खाली गरी समायोजनमा जानेलाई सेनाको जिम्मा लगाउने र स्वेच्छिक अवकास रोज्नेलाई आधा रकम दिएर घर पठाउने तयारी भइरहेको छ । तर, यसमा ठूलो विभेद भइरहेकोमा धेरैलाई हेक्का नहुन सक्छ । समायोजनमा प्रायः सबै पुरुष लडाकुहरू जाँदैछन् । अविवाहित र बच्चा नभएका केहीबाहेक सबै महिला लडाकुहरू बुहार्तन सम्हाल्न घर फर्कदै छन् । माओवादीकै भाषामा महिला लडाकुको ‘नाफाको जिन्दगी’ अब फेरि घरको चुलो–चौकामा सीमित पारिँदै छ । शासकीय संरचनामा रहेको पुरुष बोलवालाको शिकार भएर केही हजार महिला लडाकु तिनका लोग्नेको घर, सासु–ससुराको सेवा र बालबच्चाको हेरचाह गर्ने काममा सिमित हुँदैछन् ।’
विशेष अवसरको नाममा महिलालाई कार्यक्रममा केही पुरुष अगुवाहरूले बोल्न दिँदैमा, सहभागी गराउँदैमा, विभिन्न पदहरूमा मनोनयन गर्दैमा, अलिकति फुर्काउँदैमा हर्षविभोर नै भइहाल्ने र महिला मुक्ति नै भइगो भन्ने परिकल्पनामा डुबेको आभास मिल्छ ।
अर्को त्यस्तै तथ्य छ, अंग्रेजहरूको भारतमाथिको उपनिवेशवादको विरुद्ध भारतमा भएका भारत स्वतन्त्रता आन्दोलनको कुराहरूको बारेमा लेखक पार्था चटर्जीको भनाइ उद्धृत गर्दै सञ्जीव उप्रेती (२०६८:२३४) लेख्नुहुन्छ– ‘भारत स्वतन्त्रता आन्दोलनको जहाँ भारतीय राष्ट्रिय स्वतन्त्रता सङ्ग्रामको समयमा थुप्रै नारीहरू घरबाट बाहिर सडकबाट विरोध गर्न ओर्लिए । सडकमा नारा लगाउँदै, लठ्ठीको पिटाइ खेप्दै, नारीहरू कोमल र भावुक हुन्छन् भन्ने सामाजिक पूर्वधारणालाई उल्टाउँदै सङ्घर्ष क्षमता र बहादुरीको प्रमाण दिएका थिए । अर्को शब्दमा भन्ने हो भने ती नारीले स्वतन्त्रता सङ्ग्रामका समयमा वीरता र बहादुरी जस्ता “पुरुषोचित” स्वभावको प्रदर्शन गरे । स्वतन्त्रता सङ्ग्रामको त्यस समयमा भने नारीहरूको “पुरुषोचित” कार्यको खासै निन्दा भएन । अझ त्यसबेलाको भारतीय समाजले त झन् झाँसीकी रानी जस्ता लडाकु तथा विद्रोही नारी पात्रहरूको प्रशंसा गर्दै नारीत्वका नयाँ “मोडेल” समेत पेस गर्‍यो । नारी भनेको घर तथा पारिवारिक परम्पराको परिचायक मात्रै नभई विद्रोह र स्वतन्त्रताको प्रतीक पनि हुनसक्छ भन्ने देखायो । तर, यस किसिमको स्थिति धेरै दिनसम्म चलेन । सन् १९४७ मा ब्रिटिस शासनको अन्तसँगै राष्ट्रिय स्वतन्त्रता प्राप्त गरेको भारतमा एकपल्ट पुनः नारी–पुरुषसम्बन्धी तिनै पुराना पूर्वधारणा नै मजबुत हुँदै गए । नारीको शरीर र चरित्र पुनः घरको आन्तरिक स्पेस तथा पारिवारिक राष्ट्रिय परम्पराहरूको प्रतीक बन्न पुग्यो । पुरुषको मस्तिष्क र व्यक्तित्व भने एकपल्ट फेरि घरबाहिर चलिरहने आधुनिकतातिरको दौडसँग गाँसियो र नारीको परिचय फेरि घर, चुला र भान्सासँग जोडियो ।’
दोस्रो विश्वयुद्धपछि हारेको जर्मनीमा देश पुनर्निर्माणको लागि श्रमशक्तिको आवश्यक भयो र महिलाहरूलाई घरबाट बाहिर आएर काम गर्न आह्वान गरियो । यसको ठीक उल्टो विजेता इङ्ल्यान्डमा लडाइँको बेला महिलाहरूले घरभित्र र बाहिर पनि काम सम्हालेका थिए, त्यहाँ अब असल घरेलु महिला भएर मात्र काम गर्नु भनियो, ताकि युद्धबाट फर्केर आएका पुरुषहरूले नोकरी पाउन सकून् (भासीन, २०१४:८) ।
यी तथ्यहरूले के प्रस्ट उजागर गरिरहेका छन् भने आन्दोलन वा युद्धमा जुनै पक्षको जित वा हार भए पनि पितृसत्ताको चाहिं दुबै अवस्थामा जित भएको देखिन्छ । अर्थात् आफ्नो देशले जिते पनि, आफ्ना पार्टी/पक्षले वा महिलाले आन्दोलन जिते पनि पितृसत्तारुपी समाजसँग महिलाले सधैँ हार्नु परिरहेको छ । महिलाले पुरुषको बराबर वा पुरुषभन्दा अघि बढेर उत्रेर लडेको आन्दोलन, युद्धहरूमा देखियो । त्यस्तो अप्ठेरोमा तिमी त महिला हौ, पुरुषभन्दा अगाडि गएर लड्न पाउँदैनौ भनिएको कहीं कतै तथ्य पाइएको छैन ।
आन्दोलन, युद्ध स्थलहरूमा मात्रै पितृसत्ता अर्थात् पुरुषको सत्ता नहुने रहेछ । आन्दोलन, युद्धहरूमा महिलाहरूले खेलेको स्वतन्त्र तथा समान भूमिका जस्तै सामान्य सामाजिक जनजीवनमा पनि महिला–पुरुषको समान सत्ता स्थापनार्थ अबको महिला मुक्ति आन्दोलनले मार्ग तय गर्नुपर्दछ । महिला मुक्ति र स्वतन्त्रताको बाधक बन्ने हो वा सहयोगी बन्ने हो, सम्पूर्ण पुरुषहरूले पनि गम्भीर गरी सोच्नुपर्ने अवस्था बन्दै गएको छ ।
४. छोरीलाई पैतृक सम्पत्तिको हक
नारीले गर्ने घरको कामलाई प्रायः गरी उत्पादक श्रमका रुपमा लिइँदैन । न त तिनले उक्त श्रमको निम्ति ज्याला नै पाउँछन् । यदि उक्त घरको कामलाई पनि उत्पादक श्रम मान्ने हो भने समसामयिक संसारको दुई–तिहाइ श्रम नारीहरूले नै गर्छन् । तिनले नै संसारको पचास प्रतिशत खाद्य पदार्थको उत्पादन गर्छन । तर, विडम्बना के छ भने संसारको सम्पूर्ण भूभागमध्ये पाँच प्रतिशतमा मात्र नारीहरूको स्वामित्व रहेको छ (उपे्रती, २०६८ः२३६/शिरिन) । यस भनाइलाई आधार मान्ने हो भने संसारमा पुरुषहरूभन्दा कयौं गुणा बढी त महिलाहरूले काम गरेका छन् र प्रत्येक दिन गरिरहेका छन् । नेपालको अवस्था पनि यही हो ।
तर, महिलालाई सम्पत्तिमाथिको हक र अधिकार छैन । छोरीले छोरासरह अंश (पैतृक सम्पत्ति) पाउँदा समग्र सामाजिक संरचना भत्किन्छ भन्ने स्थापित मान्यता छ र आरोप छ । नेपाली समाजमा छोरीले छोरासरह अंश पाउने व्यवस्था हुनु भनेको ठूलो परिवर्तन हुनु हो ।
छोरीले छोरासरह अंश पाउँदा सामाजिक संरचनामा के कस्तो परिवर्तन हुनसक्छ भन्ने बारेमा समाजशास्त्री चैतन्य मिश्र (२०६७ः६६)को भनाइ छ– ‘पैतृक सम्पत्ति छोराहरूले मात्र पाउनेमा छोरीहरूले पनि पाउने भएपछि छोराहरूको आर्थिक–भौतिक स्थितिमा केही परिवर्तन त आउँछ । र, उनीहरूको मानसिकतामा नै केही परिवर्तन आउँछ । अहिले दिदीबहिनीहरूलाई अंश दिनुपर्छ भन्ने कुरामा दाजुभाइहरू सामाजिकीकरण भएका छैनन् । छोरीहरूको विवाह भएपछि उनीहरूमाथि गर्नुपर्ने आर्थिक व्ययभार हट्छ, मात्र भावनात्मक सम्बन्ध बाँकी रहन्छ । सम्पत्तिको हक मिलेपछि त्यो स्थिति बदलिनेछ । आफूले दबाएर राखेका महिला सम्पत्ति पाएपछि पुरुषको अधीनमा बस्नु नपर्ने हुन्छ । यसबाट प्रारम्भमा पुरुषको अहंमा चोट लाग्नेछ । त्यसैले सुरुको सङ्क्रमणकालीन समयमा शारीरिक हिंसा केही बढ्न पनि सक्छ । केही समयका लागि माइतीमा छोरीको कम स्वागत हुने र ज्वाइँको कम मान्यता हुने सम्भावना छ । छोरीको विवाहमा पनि पहिलेको भन्दा कम संलग्न हुने स्थिति आउन सक्छ । आफ्नो भागमा एकलौटी आउने सम्पत्ति दिदीबहिनीलाई पनि दिनुपर्ने भएपछि भावनात्मक दुरी केही बढ्नेछ । प्रारम्भमा यो स्वाभाविक नै हो । एक–दुई पुस्तापछि यही नयाँ सम्बन्ध नै स्वाभाविक हुन्छ । यसले नै मान्यता प्राप्त गर्छ । र, भावनात्मक सम्बन्ध पनि राम्रो हुँदै जानेछ ।’
अब छोरीले छोरासरह व्यवहारिक रुपमा नै अंश पाउने व्यवस्था भएमा त्यसपछि समाजमा अहिले विवाहको सम्बन्धमा “फलानोले फलानी ल्यायो” भन्ने गरिन्छ । त्यसपछि “फलानीले फलानालाई ल्याई” भन्ने कुरा पनि हुनसक्छ । कसको घरमा को जाने भन्ने भाषा र मान्यतामा नै परिवर्तन हुनसक्छ । अंश हुँदैमा सबै कुरा हुन्छ भन्ने भनाइ त होइन । तर, यसबाट नयाँ संस्कृतिका लागि बाटो खुल्न सक्छ । अहिले प्रायः बाबुआमा छोराकहाँ नै बस्ने गरेका छन् । पछि गएर छोरा र छोरी दुवैकहाँ बस्नसक्ने सम्भावना यसले बढाउँछ ।
यसका साथै महिला सार्वजनिक कार्यमा, उत्पादन क्षेत्रमा बढी संलग्न हुन सक्छन् । यसले राज्यलाई पनि पुरुषलाई जस्तै नारीलाई पनि समान व्यवहार गर्नुपर्ने कर लगाउँदै जान्छ । यसले राजनीति, शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि महिलालाई समान अवसर प्रदान गर्ने ढोका खोल्छ । यसले महिला सीमित क्षेत्रमा मात्रै बस्नुपर्ने बाध्यतालाई हटाउँछ । र, जहाँ–जहाँ पुरुषको एकलौटी अधिकार भइरहेको छ, त्यहाँ–त्यहाँ पनि महिलाहरू प्रवेश गर्न पाउने बाटो खोल्छ ।
सामन्ती सोच र पितृसत्ताको बलियो आधार पैतृक सम्पत्तिमाथिको हक अधिकार छोरालाई मात्र हुनु पनि हो ।
५. निष्कर्ष
तपाईं सिर्जना चाहनुहुन्छ । नयाँ चिजको सिर्जना गर्न रुचाउनुहुन्छ । त्यसो हो भने नयाँ सिर्जना गर्न पुरानो थोत्रो कुराको ध्वंस त गर्नैपर्ने हुन्छ । सिर्जना र ध्वंश एकै सिक्काका दुई पाटा हुन् । पुरानो र थोत्रो कुराको ध्वंस नगरी नयाँ राम्रो संरचनाको सिर्जना असम्भव हुन्छ । आन्दोलनकारीले परिवर्तन चाहन्छ । परिवर्तनले यथास्थितिलाई भत्काउँदछ । आन्दोलन भनेको यथास्थितिलाई भत्काउन र नयाँ परिस्थितिको सिर्जना गर्नु हो ।
पुरुषहरूको लागि सिर्फ एकात्मकवादी पर्खाल सिंहदरबार भत्काउनु छ । तर महिलाको लागि सिंहदरबारसँगै सामन्तवादी सोचले ग्रस्त बाहुनवादी (ब्राम्हणवाद) तथा पितृसत्तावादी सोचको पर्खाल पनि भत्काउनु छ ।
मानव–मानवबीच महिला भएकै नाताले जन्मसिद्ध रुपमा शोषण, असमानता, भेदभाव सहनुपर्ने स्थापित सामाजिक संरचना छ । त्यसलाई संरक्षण गर्ने सामन्तवादी बाहुनवादी सोच, पितृसत्तावादी सोच भत्काउनै पर्दछ । अनि मात्रै साँचो अर्थको परिवर्तन हुनेछ । महिला आन्दोलन पितृसत्तात्मक समाज, संस्कृति, चाडपर्व, सोच, शैली, व्यवहार आदिको विरुद्ध हो । साथै, लैङ्गिक समानता, समान समाज र राम्रो समाज बनाउनका लागि हो ।
महिला मुक्तिको प्रश्न पितृसत्तात्मक समाजको पिँजडामा कैद छ । फरक यति हो कि यो पितृसत्ताको पिँजडा देशअनुसार फरक फरक छन् । कुनै सुनले बनाइएको छ, कुनै चाँदीले, कुनै फलामले बनाइएका पिँजडाहरू छन् । सुनले बनाइएको पिँजडा पनि त आखिर पिँजडै हो नि । भ्रममा नपरौं ।
विशेष अवसरको नाममा महिलालाई कार्यक्रममा केही पुरुष अगुवाहरूले बोल्न दिँदैमा, सहभागी गराउँदैमा, विभिन्न पदहरूमा मनोनयन गर्दैमा, अलिकति फुर्काउँदैमा हर्षविभोर नै भइहाल्ने र महिला मुक्ति नै भइगो भन्ने परिकल्पनामा डुबेको आभास मिल्छ । तर, यसरी बोल्न दिँदैमा, पदहरूमा मनोनयन गर्दैमा, पढाउने क्रममा पुरुषभन्दा बढी समय पढाउँदैमा, कम फि लिँदैमा, थप ट्युसन पढाउँदैमा, अन्य कुराहरूमा सहुलियत दिँदैमा महिलाको समस्या समाधान हुँदैन । यसका लागि समाजको संरचनामै आमूल परिर्वतनको लागि आन्दोलनको आवश्यक छ । सामाजिक संरचना परिवर्तन गर्ने हो भने महिलाहरूको लागि स्वतः विशेष अवसर प्राप्त हुनेछ । कोही पुरुषलाई ज्यु, हजुर गर्नु पर्दैन ।
महिला–पुरुषबीच वास्तविक समानताको स्थिति प्राप्त गर्नु भनेको अहिलेसम्म हामीले देखेका परिवर्तनमध्ये सायद समाजको सबैभन्दा ठूलो र महत्वपूर्ण परिवर्तन हुनेछ । सामन्तवादी सोचले ग्रस्त बाहुनवादी (ब्राम्हणवाद) तथा पितृसत्तावादी सोच र कार्यशैली भएका पुरुषहरूले समयमै विचार पुर्‍याउन जरुरी छ । यदि समय घड्किएर गयो र महिलाहरूमाथि हुने विभेद कायमै रहने हो भने एकदिन महिलाहरूले सामन्तवादी सोचले ग्रस्त बाहुनवादी
(ब्राम्हणवादी) तथा पितृसत्तावादी सोच तथा महिलाको उन्नति, प्रगतिविरोधी समाज, संस्कृति, चाडपर्व, शैली, व्यवहार, छोरालाई मात्र पैर्तक सम्पत्ति आदिको विरुद्ध अहिलेसम्म कल्पना नगरिएको महिलामुक्ति आन्दोलनको सम्भावना क्षितिजमा प्रष्ट देखिन्छ ।
khambekmakhim@gmail.com
यो लेख मूल रुपमा संघीय लिम्बुवान महिला परिषदद्वारा प्रकाशित ‘लिम्बुवान महिला आन्दोलन’ (२०७२ असार) जर्नलमा प्रकाशित भएको थियो –सम्पादक ।
सन्दर्भसूची
उप्रेती, सञ्जीव । २०६८ । सिद्धान्तका कुरा । काठमाडौं : अक्षर क्रियसन्स, नेपाल ।
बराल, अरुण ।२०६५। बाहुनवाद । काठमाडौं : ब्रोदर्श न्युज एजेन्सी न्युरोड ।
भट्टराई, डा. गोविन्दराज ।२०६९ । समयबोध र उत्तरआधुनिकता । काठमाडौं : ओरिएन्टल पब्लिकेसन प्रा.लि.।
भासीन, कमला । २०१४ । पितृसत्ता के हो ? । काठमाडौं : स्त्री शक्ति, ।
मिश्र, चैतन्य । २०६७ । बदलिँदो नेपाली समाज । ललितपुर : फाइनप्रिन्ट आइएनसी ।
विष्ट, डोरबहादुर ।२०६३। ब्राह्मणवादले राष्ट्रोत्थानमा तगारोकै काम गरेको छ । ब्राह्मणवाद विरुद्ध हाम्रो सङ्घर्ष । सम्पा. गोपाल छाङ्छा राई, जी.दिलुङ्छा । आदिवासी जनजाति खोज अनुसन्धान पत्रकार, नेपाल ।
वैद्य, मोहन । २०६५ । भूमिका । बाहुनवाद । काठमाडौं : ब्रोदर्श न्युज एजेन्सी न्युरोड ।
शर्मा, निर्मला ।२०६८। पुरुषको देश, महिलाको घर । कान्तिपुर दैनिक ।
श्रेष्ठ, अभय । सन् २०१५। ब्राम्हणवादको धिपधिप । नागरिक दैनिक, १६ अप्रिल २०१५ ।
esamata.com बाट साभार 
Share: Note:- तपाईं हरु लाई यो पोस्ट मन परे मा Like, Share र Commnets गरी दिनु होला

0 comments:

Post a Comment