Pages

सत्ता होइन, राज्य बलियो बनाऊ.......by कृष्ण खनाल


सत्ता होइन, राज्य बलियो बनाऊ

वैशाख १२ मा आएको प्रलयकारी महाभूकम्पपछि क्रमश: प्रभावितहरूको जनजीवन बिस्तारै सामान्य हुँदै छ । प्रभावित क्षेत्रहरू खास गरेर दुर्गम स्थानमा अझै पनि उद्धार र राहत नपुगेका समाचार आइराखेका छन् । निकट स्थानहरूमा पनि केही पाइएन भन्ने अवाज बग्रेल्ती सुन्न पाइन्छ । भूकम्प गएको साँझदेखि नै राज्यको उपस्थिति छैन, सरकार देखिएन, जनप्रतिनिधि निकम्मा भए, आदि, इत्यादि प्रतिक्रिया, टिप्पणीहरू सार्वजनिक सञ्चारमाध्यममा मात्र होइन, सामाजिक सञ्जालमा पनि त्यत्तिकै आइराखेका छन् । राहतमा नेताहरू किन चाहियो, उनको हात परे आफैं खान्छन्, आफ्नालाई मात्र ख्वाउँछन् भन्ने जन गुनासा पनि टीभी च्यानलका पर्दामा देख्न सुन्न पाइन्छ । अर्कातिर विपदको घडीमा जनताका साथ नेपाली सेना मात्रै रहेछ, राज्य र सरकार त छँदै छैन । केही हदसम्म सशस्त्र प्रहरीको नाम आउँछ । सुरक्षा संयन्त्र र संरचनालाई समग्र राज्यप्रणाली र सरकारबाट अलग्याएर हेर्ने प्रवृत्ति लोकतान्त्रिक राजनीतिक भविष्यका लागि राम्रो सन्देश होइन ।
महाभूकम्पको रिपोर्टिङका लागि नेपाल आएका केही पत्रकारहरूले भूकम्प र राजनीति जोडेर मसँग कुराकानी गरेका थिए । तीमध्ये हिन्दुस्तान टाइम्स र एउटा फ्रेन्च पत्रिकाले उठाएको विषय विचारणीय छ । हिन्दुस्तान टाइम्सको प्रश्न थियो, समयमा संविधान नबनेका कारणले उद्धार र राहत व्यवस्थापनमा सरकार निरीह भएको हो ? के यसले नेपालमा शासकीय असफलताको संकेत गर्दैन ? फ्रान्सेली पत्रकारको प्रश्न थियो, भूकम्पपछि उद्धार र राहतमा नेपाली सेनाको भूमिका जनतामाझ अत्यन्त लोकप्रिय भएको छ । के यसबाट नेपालमा सैनिक हस्तक्षेपको सम्भावना छैन ? के फेरि राजतन्त्रको पुन: स्थापना त हुँदैन ? समयमा संविधान नबनेका कारण उद्धार र राहत व्यवस्थापनमा कमजोरी भएको भन्ने कुरासँग म सहमत छैन । संविधान बनेकै भए पनि यो महाभूकम्पको प्रलयमा राज्यले योभन्दा बढी गर्न सक्ने कुनै पूर्वतयारी हुने थियो भनेर विश्वास गर्ने आधार देखिन्न । यो चेतना नै नेपालको राजनीतिक तथा प्रशासनिक तहमा छैन भनेर यसभन्दा पहिले पनि लेखिसकेको छु ।
जहाँसम्म सैन्य हस्तक्षेपको कुरा छ, त्यो सम्भावना पनि म देख्दिनँ । नेपालको भूराजनीतिले पनि सेनालाई स्वतन्त्र रूपमा राजनीतिक भूमिकामा आउन दिंदैन । यस्तै राजतन्त्रको पुन: स्थापना पनि अर्को मनगढन्ते सपना मात्र हो । तर यी प्रश्नहरूले नेपालमा राजनीतिक संकट बढ्दो छ भन्ने राम्रैसँग संकेत गर्छन् जुन गम्भीर कुरा हो ।
लोकतन्त्रमा राजनीतिक दलहरूले जनतालाई राज्य र शासनमा प्रत्यक्ष जोड्छन् । अर्थात् दलहरू जनताका प्रतिनिधि संगठन हुन् । उनीहरूले जनमतको प्रतिनिधित्व गर्छन् । जनमतलाई बदल्ने पनि दलहरू नै हुन् । दलहरूले अपनाउने नीति र कार्यक्रममा जनचाहना अभिव्यक्त भएको हुन्छ । यी केवल सिद्धान्त र आदर्शका मात्र कुरा होइनन् । लोकतन्त्रलाई ‘लोक’ अर्थात् जनतासँग जोड्ने प्रत्यक्ष कडी पनि हुन् । हाम्रा दलहरू यहीं चुकेका छन् । त्यसैले यो विपदको क्षणमा सबैभन्दा अलोकप्रिय दलहरू नै भएका छन् । यद्यपि उनीहरूले यसबेला अरू विशेष गर्न सक्ने खासै केही थिएन । समयमा पूर्वतयारीको सोचसम्म पनि नहुनु र नगर्नुमा उनीहरू स्वयं जिम्मेवार छन् । साथै यसका पछाडि परिवर्तनको एजेन्डामा अगाडि बढ्न खोजेको राज्यलाई विचलित गर्ने एउटा सुनियोजित चाल पनि छ भन्न सकिन्छ ।
भूकम्पको लगत्तै प्रभावित ठाउँठाउँमा स्थानीय मानिस उद्धारमा जुटेका थिए । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका टोलीहरू घण्टाभरमै उद्धारका लागि प्रभावित ठाउँहरूमा खटेका थिए । राहत सामग्रीहरू पनि भोलिपल्टैदेखि स्वदेशी र विदेशी संघसंस्थाहरूबाट जुटाइन थालेको थियो । ३४ देशका राहत र उद्धार टोलीहरू भूकम्पको २४ घण्टा बित्दा नबित्दै नेपाल भित्रिन थालेका थिए । भारतका विभिन्न गैरसरकारी तथा नागरिक स्तरका विभिन्न राहत टोलीहरू यातायात पहुँच भएका प्रभावित स्थलहरूमा स्वयं पुगेका थिए । काभ्रे र सिन्धुपाल्चोकका प्रभावित स्थानहरूमा स्थानीय जनताबाट सेवाभावसहित राहत सामग्रीहरू परिचालन र वितरण भएका दृष्टान्तहरू म आफैंले पनि देखेर आएको छु । राहतका ससाना पुरिया बोकेर सहज स्थानमा आफैं उभिएर बाँड्ने अनि फेसबुकमा फोटो पोस्ट गर्ने प्रवृत्ति अत्यधिक छ । सहयोगी भावना र हात सराहनीय छन् । तर सबैमा मै देखिनुपर्छ भन्ने प्रवृत्ति राम्रो होइन । यो पटक रेडक्रस नदेखिएको हो कि प्रचार नभएको मैले बुझ्न सकेको छैन । रेडक्रसजस्तो संस्थालाई ओझेलमा पारेर राहतका काममा नागरिक सबल बन्न सक्तैनन् । तथापि राहत नपुगेका गुनासाहरू प्रशस्त छन् । किन यस्तो भयो राज्यले सोच्नुपर्छ र भविष्यका लागि भरपर्दो व्यवस्था गर्नुपर्छ ।
विदेशी दाता राष्ट्र र सहयोग एजेन्सीहरूबाट सरकारलाई उद्धार र राहतका लागि पाँच अर्बभन्दा बढीको प्रतिबद्धता आएको छ भन्ने सुनिन्छ । तर, सम्बन्धित मन्त्री भन्छन् सरकारी कोषमा ३० करोड पनि जम्मा हुन सकेको छैन । यसका अतिरिक्त नेपालका चर्चित सिने कलाकार राजेश हमालले विदेशबाट एक अर्ब, बेलायती हिरोइन लुम्लेले पाँच अर्ब उठाइदिने समाचार पनि आए । माइक्रोसफ्ट कम्पनी, फेसबुक, एनसेलजस्ता स्वदेशी तथा विदेशी कम्पनीहरूबाट पनि अर्बौं रकम राहत सहयोग दिने चर्चा थिए ।
पहिलो कुरा विपत्का बेला राज्य र सरकार देखिएन भन्ने कुरालाई वस्तुगत रूपमा हेरिनुपर्छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी पनि नेपाल सरकार र राज्यकै अंग हुन् । नेपाली जनताबाट उठेको कर र राज्यको ढुकुटीबाट उनीहरूको व्यवस्थापन हुन्छ । उनीहरूको परिचालनमा लाग्ने खर्च र उनीहरूद्वारा वितरण गरिने राहत सामग्री पनि राज्यको स्रोतबाटै जाने हो । विपत्का बेला जहाँ पनि सेना अग्रपंक्तिमा हुन्छ । भारत, चीन, अमेरिका, इजरायललगायतका देशहरूबाट आएका उद्धार टोलीहरूमा पनि सेना नै आएका थिए । उनीहरूलाई त हामी सेना आयो भन्दैनौं, ती देशहरूका सरकारले नै सहयोग पठाएका वा गरेको भन्छौं । काठमाडौंस्थित कूटनीतिक क्षेत्रले पनि राज्य र सरकारलाई निरीह रहेको ठान्यो । उसको विश्वसनीयता र उत्तरदायित्वलाई शंकाको घेरामा राख्यो । यो कति कूटनीतिक मर्यादाभित्र पर्छ खुलेआम प्रश्न गर्न सकिन्छ । यो विपत्को घडीमा पनि नेपाल राज्य पीडित जनताबीच पुगेको छ भन्न कन्जुस्याइँ गर्नु पर्दैन । हो, उनीहरूले राजनीतिक दल र राजनीतिको साख महसुस गर्न सकेका छैनन् । राजनीति गर्नेहरूलाई यो ठूलो चुनौती हो । नेपालका दलहरू सदैव आफ्नै किताबका सिद्धान्त, सूत्र र नेताका अर्ती उपदेशमुखी भाषणलाई नै नेपालको परिवर्तन, विकास र उन्नति हुन्छ भन्ने व्याख्यामा रमाइरहेका छन् । उपलब्धिमूलक, परिणाममुखी र सार्वजनिक हितका काममा संयुक्त प्रतिबद्धताको अत्यन्तै न्यूनता छ । दलहरू आधुनिक चिन्तन र राजनीतिक परिवर्तनका बाहक भए पनि परिवर्तनपछिको निर्माण र विकासमा पछि परेका छन् ।
अहिले दलहरूको संगठन संरचनामा डनहरूको पकड बढ्दो छ । शीर्ष नेताहरू उनीहरूले परिचालन गरिदिने आर्थिक लेनदेनमा आश्रित छन् । असल मानिस दलका लागि लुरे मानिन्छन् । विचारलाई बाहुबलले परास्त गरेको छ । सिद्धान्त र मूल्य धराशायी भएका छन् । राजनीति र प्रशासनमा काम होइन, निर्देशनको ताँती छ । अनि कसरी जनताले राज्य र सरकारको उपस्थिति देख्ने ? त्यो पनि यस्तो विपत्का बेलामा । अहिलेकै चालामा २ वर्षमा पुन:निर्माणको काम सम्पन्न गर्ने सरकारी घोषण फजुल र बेवारिसे हुने निश्चित छ ।
यो महाभूकम्पमा करिब ८ हजार नेपालीले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा विदेशी पनि छन् । करिब तीन लाख घर भत्किएका छन्, चार लाख परिवारले आफ्नो बासस्थान गुमाएका छन् । ६ लाख मानिस विस्थापित छन् भनिन्छ । समग्रमा ८० लाख मानिस प्रभावित भएका छन् । विद्यालय, सरकारी तथा सार्वजनिक भवन, मठमन्दिरहरू पनि क्षतिग्रस्त भएका छन् । अबको सबैभन्दा ठूलो चुनौती भनेको पुन: स्थापना र पुन:निर्माण हो । योजना आयोगले यसलाई ‘नवनिर्माण’ भनेको छ । बसोबास योजना, घरबार गुमाएका नागरिकको पुनर्वास, घाइतेहरूको उपचार, काम गर्न नसक्ने गरी घाइते भएका पीडितहरूको जीवनयापनको व्यवस्था पुन: स्थापना र पुन:निर्माणमा पर्छन् । एकीकृत बसोबासको योजना, घर तथा सार्वजनिक भवन निर्माणको वैज्ञानिक मापदण्ड निर्माण र प्रभावकारी कार्यान्वयन, ध्वस्त भएका र भत्किएका ऐतिहासिक, पुरातात्त्विक एवं सांस्कृतिक सम्पदाको पुन:निर्माणजस्ता कुरालाई नवनिर्माणको कोटीमा राख्न सकिन्छ । त्यति मात्र होइन, यो विनाशले अवैज्ञानिक भौतिक संरचना र आवासको त्रासदी पनि मानिसहरूमा व्यापक रूपले सिर्जना गरेको छ । नवनिर्माणको योजनाले त्यसलाई पनि सम्बोधन गर्न सक्नुपर्छ ।
जनतामाझ राज्य र सरकारले गिरेको साख पुन: स्थापित गर्ने हो भने पुन: स्थापना, पुन:निर्माण र नवनिर्माणका कार्ययोजना, त्यसको प्रभावकारी कार्यान्वयन, दलहरूबीच सहयोग र समन्वयले यथार्थमा प्राथमिकता पाउनुपर्छ । उपलब्धिमूलक परिणाम प्रभावितले विशेष रूपमा र आम जनता सबैले देख्न र महसुस गर्न सक्नुपर्छ । यसका लागि सर्वप्रथम खास गरेर प्रमुख दलहरूले आफैंलाई सुधार गर्नु आवश्यक छ ।
जनताको सरकार र दलहरूप्रति अलगावको अर्को कारण प्रधानमन्त्रीलगायत दीर्घरोगी पार्टी प्रमुख र नेताहरूको नियमित उपचार राज्यले गर्दै आउनुपरेको छ । रोग बोकेको व्यक्ति चिन्तनमा लाग्न सक्तैन, कामको त कुरै छाडौं । सार्वजनिक जिम्मेवारीको पदमा बसेको बेलामा रोग लागेर राज्यले उपचारको दायित्व लिनु एउटा कुरा हो । तर पहिलेदेखि नै रोग बोकेकालाई त्यो जिम्मेवारी दिनु र उपचारको दायित्व राज्यलाई सुम्पिनु फरक कुरा हो । अहिले नेपालको सार्वजनिक जिम्मेवारीमा रहेका कतिपय नेताको हालत यही हो । तसर्थ यो अवस्थामा मुलुकका लागि आफू भौतिक रूपमा असमर्थ छु भन्ने बोध प्रधानमन्त्रीलगायत रोगग्रस्त नेताहरू स्वयंले गर्नुपर्छ र स्वेच्छाले पदबाट मुक्ति लिनुपर्छ । दलहरूमा जनताको साख पुन: स्थापना गर्ने यो प्रारम्भिक पहल हुन सक्छ ।
पुन:निर्माण र पुन: स्थापनालाई पहिलो प्राथमिकतामा राख्दै संविधान निर्माणको काम पनि अब सम्पन्न गर्नुपर्छ । ढिलाइको कुनै औचित्य छैन । संविधान निर्माणको अनिश्चय र अन्योलमा पुन:निर्माणको काम सहज हुन सक्तैन । विदेशी सहयोग जुटाउन राज्यको संयन्त्र र संरचना भरपर्दो हुनुपर्छ । सरकार पनि जागरुक र तन्दुरुस्त हुनुपर्छ । अहिले त्यो वातावरण देखिन्न । सत्तामा भएका दल र व्यक्ति आआफ्नो सत्ता अर्थात् सरकारमा हालीमुहाली जोगाउन र बढाउन बढी तल्लीन छन् । विपतका बेलामा पनि कसरी आफ्ना कार्यकर्ता र संगठन लाभान्वित गर्न सकिन्छ भन्ने सोचबाट ग्रस्त देखिन्छन् । तत्कालको सत्ता सापेक्ष लाभहानिको हिसाबकिताबबाट प्रमुख दलहरू मुक्त नहुने हो भने पुन:निर्माणको कुरा नगरे हुन्छ । विदेशी सहयोग परिचालनमा राज्यले भरपर्दो बाटो देखाउन सकेन भने त्यो सहयोगले केही विदेशी/स्वदेशी व्यक्ति र संस्थाले काम पाउने मात्र हुन्, पुन:निर्माण हुँदैन ।
तसर्थ कम्तीमा पनि संविधान निर्माण, ध्वस्त संरचनाहरूको नवनिर्माण, प्रभावित नागरिकका आवासलगायत पुन:निर्माणको एउटा निश्चित अवधिका लागि राष्ट्रिय सरकारको गठन अहिलेको आवश्यकता हो । सरकारको नेतृत्व स्वस्थ व्यक्तिले गर्नुपर्छ, आफ्नै उपचारका लागि घरिघरि विदेश धाइरहनेले होइन । राज्यका प्रमुख जिम्मेवारीमा मानिसहरूको चयन गर्दा होस् वा भौतिक निर्माणका आयोजनाहरूको ठेकदारी गर्दा कमिसनतन्त्रको लोभबाट मुक्त हुनुपर्छ । नागरिकले पनि राज्यलाई विश्वासका साथ सहयोग गर्नुपर्छ । प्रधानमन्त्रीको राहत कोषमा सहयोग दिनु भनेको सुशील कोइरालाको पकेटमा जाने होइन भन्ने विश्वास राख्नु आवश्यक छ र निगरानी पनि ।
कान्तिपुर दैनिक (२०७२ वैशाख २७) बाट ।

भूकम्प पिडितहरुको लागि लिम्बुवान कहाँ कहाँ पुग्यो ? by तिलक चाम्लिङ

limbuwan-rahat2-2072

लिम्बुवानको सहयोग ककसलाई ? (आज गोरखा जाँदै)


“रातदिन १ सय २५ जना ‘अन द स्पोट’ खटिरहेका छौं ।” संघीय लिम्बुवान पार्टी, नेपालका सचिवालय सदस्य तथा उपत्यका लिम्बुवान भोलिन्टियर्सका इन्चार्ज दुर्गाराज लिम्बूले भने, “सरकारले पनि लिम्बुवान भोलिन्टियर्सको आवश्यता महसुस गर्यो भने हजार जना तयारीमा राखेका छौं ।”
यही वैशाख १२ गते दिनको ११.५६ बजे गोर्खा जिल्लालाई केन्द्रबिन्दु बनाएर आएको ७.६ रेक्टर स्केलको महाभूकम्पले ८ हजारभन्दा बढी मानिसको ज्यान लियो । लाखौंको सङ्ख्यामा घाइते भएका छन् । हजारौंको बिचल्ली भएको छ ।
भूकम्पपीडितहरुको उद्धारको लागि उपत्यकामा रक्तदान र राहत संकलन गर्न संघीय लिम्बुवान पार्टीका नौ जिल्ला र १८ वटै प्रवास कार्यसमिति लागेका छन् । limbuwan-rahat-2072
घाइतेहरुका उद्धार र राहत वितरणका लागि संघीय लिम्बुवान पार्टी, नेपालले तीनवटा समूह बनाएर खटाएको थियो । ललितपुर लिल्ला कमान्डर दीपक खेवाले गोर्खाका लागि कमान्ड गरेका थिए भने लिम्बुवान भोलिन्टियर्स काठमाडौंका इन्चार्ज प्रेम तुम्साले धादिङ र सन्धिुपाल्चोकको लागि मिस्टेक माबुहाङले कमान्ड गरेका थिए । यसको सम्पूर्ण कमान्ड संघीय लिम्बुवान पार्टीका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ले गरिरहेका छन् ।
कहाँ कहाँ पुग्यो लिम्बुवान पार्टी ?
२१ गते ललितपुरको लेले गाउँमा उनीहरु उद्धारका लागि पुगेका थिए । उनीहरुले दलितहरुलाई विशेष केन्द्रित गरेर राहत सामग्री बाँडे । राहत बृद्धा र महिलाको हातमा थमाएका थिए । २३ गते धादिङको दार्खा र रीमा भन्ने ठाउँमा पुगे । २४ गते सिन्धुपाल्चोकको गरोटी र २९ गते सुन्दरीजल संचारीमा पुगेर राहत वितरण गरेका थिए । आज जेठ १ गते उनीहरु गोर्खा जाँदैछन् ।
लिम्बुवानको सहयोग ककसलाई ? (आज गोरखा जाँदै)
ललितपुरको लेलेमा संघीय लिम्बुवान पार्टी, नेपालको राहत टोली पुगी भूकम्प पीडितमध्ये सुत्केरी, जेष्ठ नागरिक र दलितलाई प्राथमिकतामा राखेर त्रिपाल र ओछ्याउने माट्रिस वितरण गरेका थिए । यो सहयोग संघीय लिम्बुवान पार्टी, युके प्रवास कार्यसमितिबाट आएको थियो ।
पार्टीका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’सहित उपाध्यक्ष इन्द्र श्रेष्ठ, महासचिव सूर्य माखिम, सचिव अमृता थेबेलगायत केन्द्रीय समिति नै ‘संघीय लिम्बुवान उद्धार तथा राहत टिम’ परिचालनमा सहभागी छन् ।
समता पत्रिका बाट साभार.......