म मिक्लाजोंग पहाड र चारकोसे झाडीको बिच मा पर्ने गाउमा जन्मे ,मेरो आफ्नै पारिवारिक कारणले पान्थर मा हुर्के , ०४३ सालमा कक्षा ९ मा पढन ललितपुरको लगनखेल पुगे |
०४६ सालको जन आन्दोलनमा एउटा टिन एजर्स आन्दोलनकारी को रुपमा टोटल्ली दुइ महिना सडकमा उत्रिएको थिए |
बहुदल आएपछी बुबा कांग्रेस ,मामाहरु एमाले र मैले जिबनमा सबै भन्दा बढी श्रद्दा गर्ने मेरो मावली बाजे राप्रपा का नेताहरु ...........
तर मलाइ उहाहरुको कुनै कुराले कहिल्यै छुएन किनकि ०४६ सालको जन आन्दोलन मा ललितपुर को मंगलबजार मा मेरै आखा अघि गोलि लागेको सागर बज्राचार्य लाइ मैले आफ्नै हातले उठाएको थिए |
त्यसबेला का आन्दोलकारीहरु सिर्फ पंचायत को अन्त्य को लागि मात्र ज्यान आहुति दिएका थिएनन ,साच्चै भन्ने हो भने त्यतिबेला शहिद भएकाहरु एक जना पनि कांग्रेस र एमालेका सदस्यहरु थिएनन ,त्यो त म ठोकुवा दिएर भन्न सक्छु ,किनकि त्यसबेला म फाल्गुन ७ गते करिब दिनको १२ बजे न्युरोड मा पहिलो बिरोध जुलुस शुरु हुदा देखि चैत्र को अन्तिम मा जनताले पाटन कब्जा गरे र पंचहरु ले कर्फ्यु लगाएपछी न :टोल को दोकानी साहुनी लक्ष्मी श्रेष्ठले बिहान भयेछ भनेर झ्याल खोल्दा सेनाले मेसिनगन ले ब्रस्ट फायर हान्दा ठाउँ को ठाउ सहिद भएको घटना को चस्मदिद गवाह हु |
०४६ साल को आन्दोलन मा काठमांडू का नेवार हरुले जुन एतिहासिक बलिदान गरे ,चैत्रको अन्तिम समय तिर किर्तिपुर को आन्दोलनमा हेलिकप्टर बाट गोलि फायर गरेका थिए पंचहरुले |मलाइ अझै याद छ,बेलुकी को समय थियो किर्तिपुरमा आन्दोलन चर्केको थियो ,रातो बत्ति बालेर हेली घुमी घुमी फायरिंग गरिरहको थियो ,ललितपुर को एकान्तकुना भनिमंडल को डाडाबाट मैले त्यो दृश्य हेरिरहेको थिए |
०४६ साल पछी उपत्यका को राजनीतिमा नेवारहरुलाई कसरि पाखा पर्दै लगियो र नेवार हरुको पनि कसरि मन मर्दै गयो भनेर धेरैले दिमाग ले भुझेका होलान तर मैले हृदय ,दिल ले बुझेको छु ,र कहिलेकाही एक्लै हुदा सम्झन्छु र पटक्कै चित्त बुझ्दैन ,धेरैबेर छटपटीन्छु|
०४७ साल को संबिधान निर्माण आयोगमा आदिबासी अनुहार बाट निर्मल लामा एकजना मात्र हुनु हुन्थ्यो ,उहालाई आयोग का अन्य सदस्य हरुले जुन किसिमले डोमिनेट र इन्सल्ट गरे त्यो कुरा मेरो हृदय मा गढेको सबै भन्दा ठुलो पिडा हो |
पछी मैले निर्मल लामा ज्यु लाइ भेटे र भने -'लामा ज्यु तपाइँ जस्तो व्यक्तित्व लाइ नेपाली राजनीतिमा ,मिडियामा एक खाले व्यक्तिहरुले किन इन्सल्ट गर्छन ,म तपाइको पार्टीको मान्छे होईन ,तर तपाइँ माथि भएको इन्सल्ट ले किन मेरो हृदय दुख्छ ?''
लामा ज्यु को उत्तर थियो -'' कुमार भाइ ,यसलाई sentimental attachment भनिन्छ|हामी एउटै पार्टीमा नभए पनि उत्पीडित समुदाय को अनुहार हरु भएकोले यस्तो फिलिंग बिकसित भएको हो |''
निर्मल लामा ज्यु बितेर जानु भयो तर उहाले भन्नु भएको सेन्टिमेन्टल अट्याचमेन्ट भन्ने शब्द मेरो कानमा गुन्जिरहेको छ |
साच्चै होला मेरो हृदयले त्यहि भन्छ -०४६ सालको जनआन्दोलन का शहिदहरुले कांग्रेस र एमाले हरुलाई सत्तामा पुर्याउनको लागि मात्र गोलि थापेका थिएनन ,एउटा सम्पूर्ण क्रान्ति ( total revolution) को उदघोष गर्दै ढलेका थिए |
तर जनआन्दोलन लगत्तै बनेको सरकार देखि नै आदिबासीहरु माथि प्रहार शुरु भयो | त्यो प्रहार आजको दिन सम्म आइपुग्दा अझ धेरै धारिलो बनेको छ |
सायद त्यसैले मलाइ ,०४७ सालको कार्तिक तिर देखि यो एकात्मक सिंहदरबार र यसका पृष्ठपोषक हरु संग यति घृणा लाग्न थाल्यो त्यसैले मलाइ कांग्रेस ,एमाले ,राप्रपा नामधारी चिजहरु ले कहिल्यै आकर्षित गर्न सकेनन |
त्यसबेला म एउटा टिन एजर ठिटो थिए ,तर त्यहि बेला देखि यी एकात्मकबादी हरु प्रति मलाइ यस्तो घृणा जाग्यो ,मेरो टिन एजर मनले भन्यो ,मेरो तेस्रो आखाले देख्यो – यी पहिलेनै खनिएका बाटाहरुले काम दिदैनन ,हामीले सम्पूर्ण रुपमा नया (totally new way ) खन्ने कोशिस गर्नु पर्छ,हाम्रो अमुल्य जीवन त्यो नया बाटो खन्ने काममा बिताउनु पर्छ,जुन बाटोको गन्तब्य नेपालका सबै इतिहास ,समुदाय हरुले सम्मान र अधिकार पाउनु पर्छ |
कहिलेकाही म सम्झन्छु –त्यो ,गाउले ,टिन एजर्स केटाको मनमा नया बाटो को कुराहरु त्यतिबेलै फुर्यो तर हामी भन्दा अघिको जान्ने बुझ्ने दाइहरु र पछिको पुस्ताहरुमा अझै पनि त्यो कुराहरु मनमा किन नफुरेको होला ?
त्यसबेला र टि यु को अध्ययन पछी सम्झे –बरु म गाउ जान्छु ,बाख्रा पाल्छु ,घास काट्छु तर यी एकात्मकबादी हरुको अघि कहिल्यै आत्मा समर्पण गर्दिन | हो ,त्यो नया बाटो खन्ने काम त्यति सजिलो छैन ,त्यसमा पनि दशकौ देखि राजनैतिक रुपमा पछी पारिएको हाम्रो समुदाय लाइ राजनैतिक चेतना दिनु र संगठित गर्नु एकदमै सजिलो छैन ,तर गाह्रो छ भनेर भाग्दै जाने हो भने फेरि कसले गर्ला त ? आखिरी फाइभ स्टार मा जिबनभर खाना खादा पनि एकदिन जिबन अन्त हुने नै हो ,केहि नगरी बस्दा पनि मरिने नै हो ,कांग्रेस ,एमालेको पुच्छर हुदा पनि मरिने नै हो ,यदि यी सबै हुने नै हो भने आफ्नै जीवनले आफ्नै नया बाटो किन शुरु नगर्ने त ? यस्तै कुराहरु मन मा खेल्थ्यो र अहिले पनि खेल्छ |
कतिपय साथीहरुले भन्छन म भावुक छु रे ,र भावुक मान्छेले राजनीति गर्ने सक्दैन रे |
साच्चै होला म अलिक भावुक छु –एकपल्ट मैले लेखेको पनि थिए होला ,बिराटनगर को कोठामा बसिरहदा कोशी एफ एम बाट लिम्बु भाषाको गित बज्दा म कति धेरै रोएको थिए ,सम्भालिन धेरै बेर लागेको थियो |पुर्णिमा को रात नाइट बस बाट काठमांडू जादा यात्रा भरि आकाश को जुन ,एकात्मकबाद ले चुसेका सुख्खा जमिन हरु अनि धेरै सम्भावना बोकेर पनि सिंहदरबार को दासत्व मा कैद लिम्बुवान र यो लिम्बुवान लाइ जगाउन श्री जंगा ,कांगसोरे ,महागुरु फाल्गुनन्द ,इमानसिंह हरुले गर्नु भएको प्रयास हरु र ति प्रयास हरुलाई हामीले बुझ्न नसकेको अवस्था हरु देख्दा समझदा नाइट यात्रा भरि आखा रसाउने गर्छ,र त्यहि बेला एउटा आत्मिक शक्तिले भावुक मनहरुलाई निरन्तर अघि बढन प्रेरित गर्छ |
लिम्बुवान भूमिमा आध्यात्मिक शक्ति ( spiritual power ) छ नि |तर त्यो आध्यात्मिक शक्ति अहिले बुझिएको जस्तै हो कि वा कस्तो प्रकारको हो त्यो बहसकै बिषय हुनेछ |लिम्बुवान ज्युदो र नहारेको भुमि हो ,त्यसैले यसको आत्मा छ ,यसले सोच्न सक्छ ,यसले कसैलाई प्रेरित गर्न सक्छ ,त्यसैले त्यहा आध्यात्मिक शक्ति छ भन्छु | श्री जंगा ,कांगसोरे ,महागुरु फाल्गुनन्द ,इमानसिंग हरुको पुरा नभएको सपनाहरु ( uncompleted dreams ) नै मेरो लागि लिम्बुवानी आत्मिक शक्तिहरु हुन् |
म सोच्छु –आफ्नो समुदाय ,आफ्नो लिम्बुवान भुमि,आफ्नो आमा, आफ्नो आमाको भाषा माथि दिन दहाडै यति धेरै दमन ,अत्याचार हुदा पनि नदुख्ने मन कस्तो मन होला ? आशु नझर्ने आखा कस्तो आखा होला ? लिम्बुवानी अस्तित्वलाई दिउसै च्यालेन्ज गर्दा पनि जमिरहने रगत कस्तो रगत होला ? अनि अलिकति कम्पिटिसन को भावना नभएको यौबन कस्तो यौबन होला ?
राजनीतिमा अलिकति भावना ,भावुकता हुनै पर्छ |त्यसले राजनैतिक आन्दोलनलाई प्राण ,रंग र यौबन प्रदान गर्दछ |बिचार त छदै छ नि ,यति धेरै बिद्द्वान हरुले लेखेका छन् तर ति बिचार हरुलाई स्थानीयकरण (localalization) गर्न त्यहि भूमिमा उम्रिएको भावना हरु हुनै पर्छ |
लिम्बुवानको इतिहास सम्झेर गर्बले छाती फुलाउन सक्ने ,बर्तमान मा लिम्बुवान को दुख सम्झेर बरर रुन सक्ने र लिम्बुवानको भबिस्य सम्झेर उत्साहाले डांडा डांडा मा गित गाउदै नाच्दै हिडन सक्ने यो तीनवटा गुण भएको नेताहरु चाहिएको छ र चाहिन्छ लिम्बुवानलाई |
यद्धपी साथीहरुले अहिले मलाइ राजनीतिमा देखिरहनु भए पनि ,आज म यो लेख मार्फत सार्बजनिक गर्न चाहन्छु ,मेरो खास इन्ट्रेस्ट लेखन नै हो | अहिले म लिम्बुवानी आन्दोलनको नेतृत्वमा रहिरहदा पनि मलाइ लागि रहन्छ कि मैले समय पाएर लेख्न पाएको भए वा लेखेको भए लेखन बाट म अझ धेरै यो आन्दोलन लाइ सहयोग गर्न सक्थे | लेखन ,पुस्तक ,शब्द ,भावना मिसिएको बिचारहरुको शक्ति त अदभुत हुन्छ | अध्यक्ष पद त पार्टी र आन्दोलन बुझेको ,पार्टिका सबै कार्यकर्ता हरुको हृदय र बिचार बुझेको कसैले पनि हाक्दा हाकिन्छ |तर लेखन अलिक छुटै बिषय हो ,त्यसमा पनि बिचार मिसिएको साहित्य लेखनको कुरा त चानचुने हुदै होईन | रुसी लेखक माक्सिम गोर्की को '' आमा '' उपन्यास ,चिनिया लेखक लु शून को युगान्तकारी कथाहरु जसले क्रान्तिलाई कठिन घडीमा पनि अघि बढाउन ठुलो भूमिका खेल्यो |
०६२ सालमा लिम्बुवानी आन्दोलन शुरु गर्दा ०७० साल सम्म दश वटा लिम्बुवानी पुस्तक हरु लेख्ने मेरो योजना थियो ,त्यस मध्ये '' लिम्बुवानको नलेखिएको कथाहरु '' एउटा थियो ,यस्तै ९ वटा अरु लेख्ने सोच मा थिए |म आज छातीमा हात राखेर बोल्दैछु त्यसैले म शुरुमा लिम्बुवान को कुनै महत्वपूर्ण पदमा बसिन ,हामीले जो साथीहरुलाई नेतृत्व प्रस्ताब गर्यौ उहाहरु प्रति हाम्रो पूर्ण समर्थन र बिस्वास थियो |
त्यसबेला म किन पनि लिम्बुवानको कार्यकारिणी पदमा बसिन भने मलाइ लागेको थियो एक टिम साथीहरुले राजनैतिक आन्दोलन लाइ हाकेर लाने र त्यहि टिम कै अरु साथीहरु (जस्तै म ) ले साहित्यिक आन्दोलन लाइ तेज गरेर लाने |दशकौ देखि सुतेका ,सुताइएका हाम्रो समुदायलाइ ब्युझाउन राजनीति संग संगै साहित्यिक क्षेत्र पनि जोडले अघि बढ्नु पर्छ तब मात्र हामीले सोचे जसरि मान्छे हरुलाई ब्युझाउन सक्छौ |
तर लिम्बुवानी आन्दोलनले विभिन्न घटनाक्रम हरु व्यहोर्नु पर्यो ,र अहिले म अध्यक्ष जस्तो कार्यकारिणी पदमा छु |
निश्चय नै सगठन वा पार्टी भनेको ठुलो टिमवर्क हो ,टिम मा छलफल बहस हुन्छ र त्यो टिम को प्रबक्ता जस्तो चाही अध्यक्ष हुन्छ | तर कहिलेकाही अनकन्टार मोड हरु आउछ त्यस्तो बेलामा नेतृत्वले जोखिम निर्णय लिनु पर्ने हुन्छ | पार्टी र यसको नेतृत्वमा रहे पछी एकात्मक बादी पार्टीहरुको सडयन्त्र संग स्टेप बाइ स्टेप कसरि जुध्ने भन्ने रणनीति त प्रत्येक क्षण ,प्रत्येक दिन बनाउनै पर्ने हुन्छ |
पार्टीको नीति निर्माणमा ब्यस्त भै रहदा पनि मेरो दिमाग लाइ थप अर्कै कुराले पनि सताई रहेको हुन्छ – हाम्रा समुदायका सुतेका भावना ,सुतेका चेतनाहरुलाई कसरि ब्युझाउने होला ? उनीहरुको सुतेको आत्मा मा कसरि ''आत्मिक बिस्फोटन (spiritual explosion)'' गराउने होला |किनकि आत्मा मा उथल पुथल वा बिस्फोटन आएको समुदाय वा मान्छे हरुले मात्र २१ औ शताब्दि को चुनौतिहरुलाई सामना गर्न सक्छ | फेरि पनि हाम्रा समुदायको लागि आजको समय मा चाहिने पुस्तक हरुको अभाव महसुस गर्छु | हुनत भन्छन नि –एउटा देशले नेता ,धनि ब्यापारी ,डाक्टर ,इन्जिनियर जन्माउन सक्छ अरे तर एउटा युगान्तकारी लेखक ,दार्शनिक ,चिन्तक जन्माउन हतपत सक्दैन अरे |' साच्चै नै हाम्रो समुदाय लाइ त्यस्तो युगान्तकारी साहित्यकार चाहिएको छ जसले लिम्बुवान को इतिहास ,लिम्बुवान को सपना ,आधुनिक अर्थशास्त्र ,आधुनिक बिज्ञान ,आधुनिक मनोविज्ञान ,आधुनिक समाज शास्त्र ,आधुनिक पररास्ट्र नीति ,अहिलेको राजनैतिक आन्दोलन लाइ एकै ठाउमा कच्याककुच्युक पारेर घोलेर नया टेस्ट मा पस्कन सकोस | हुनत यो निकै गाह्रो कुरा हो तर कसै न कसैले यो काम गर्ने पर्छ है |
मैले माथि उल्लेख गरेको ०४७ साल देखि नै म सधै सोच्ने गर्थे र सोच्ने गर्छु कि – हाम्रो लिम्बुवानी युवा युबती हरुको दिल दिमाग लाइ कसरि भित्र देखि आन्दोलित गर्ने होला ? भनौ न अहिलेको युबा दिमाग हरुलाई कसरि लिम्बुवानी टेस्ट सहित आन्दोलित गर्ने होला ?
म सानै देखि मामा छ्यामा हरु संग मेला बजार जान्थे ,मेला बजारमा हाम्रा समुदायका युबा युबतीहरु आफ्नै धुनमा रमाइरहेको ,हासखेल गरिरहेको देख्थे ,मानौ उनीहरुलाई केहीको चिन्ता र समस्या छैन जस्तै गरेर | मैले युबा युबती देखेका दाइ दिदीहरु ५० ,५५ बर्षका भै सके | पछी ,हामीले पनि त्यसरी नै रमाइलो गर्यो ,हाम्रै पुस्ता पनि चालिस को हार हरिमा कुदिरहेको छ र अहिले युबा युबती हरु पनि त्यसरी नै रमाइलो मा रमाई रहेका छन् | समय जादो छ ,जिबन बित्दो छ ,रमाइलो गर्ने पात्रहरु मात्र हरु फेरिएको छन् फेरि पनि हाम्रो समुदाय को जमघट मा जमेर रमाइलो गर्ने चलन छ | यसो भन्दा म रमाइलो ,रमझम को बिरोधि होईन ,तर रमाइलो रमझम संग संगै हामीहरुले जिबनको गुदी तत्व ( elements of life ) चाल नपाएको हो कि वा त्यो तत्व को नजिक नै पुग्न नसकेको हो कि जस्तो लाग्छ |
हाम्रो समुदायको बिहे ,भोज ,पार्टी ,ग्यादरिन्ग्स ,मेला बजारमा भेटघाट हेर्छु ,युवा युबतीहरु तरेमा तरेबा हरु उतिकै उत्साहा का साथ रमाइलो गरि हासिरहेकै हुन्छन ,बोलिरहेकै हुन्छन ,भबिस्यको सपना हरु बुनिरहेकै हुन्छन | त्यसबेला म सोच्छु – बिचरा हरु ,how they are innocents, ति लिम्बुवानी युबा युबती हरु कति निर्दोष छन् ,सुन्दर घरजाम बसाउने सपनाहरु बुनिरहेका हुन्छन तर उनीहरुलाई थाहा छैन उनीहरुको घर बन्ने लिम्बुवान भुमिलाइ एकात्मक बादीहरुले कब्जा जमाएका छन् ,यहा सिंहदरबार ले अन्याय ,अत्याचार र मनपरि गरिरहेको छ | उनीहरुलाई थाहा छैन – बन्धक परेको भुमि जमिन मा जतिसुकै सुन्दर सपना हरु उमारिए पनि आखिर त्यो सपना हरु स्वतन्त्र हुन् सक्दैनन ति सपना हरु बन्धक सपनाहरु नै हुन्छन | एउटा बन्धक जिन्दगीहरु भित्र एउटा युवा जोडीले एक आपस मा कहिल्यै पनि निर्भिक माया प्रेम साटन सक्दैन ,त्यहा उनीहरुले धेरै ठाउ झुक्नु र सम्झौता गर्नु पर्ने हुन्छ |
त्यसैले हाम्रा युवा युबतीहरुको युबा सपनालाई लिम्बुवान प्राप्तिको आन्दोलन संग संगै जोडेर लानु पर्छ,त्यसो हुदा मात्र उनीहरुको जिबन र उनीहरुको सपनाहरु सार्थक हुन्छ |यसबेला लिम्बुवानी समुदाय मा सुन्दर तरेबा र सुन्दर तरेमा तिनीहरु हुन् ,जो दुख गरेर अध्ययन गर्छन ,युग संग कम्पिटिसन गर्न प्रयास गर्छन ,फजुल खर्च गर्दैनन ,शरीर लाइ हानी गर्ने नशालु पदार्थ सेवन गर्दैनन ,लिम्बुवानी भएकोमा गर्ब गर्छन र आवश्यक पर्दा लिम्बुवानको लागि जस्तो सुकै बलिदान दिन सबै भन्दा अघि बढछन् ,बास्तकमा तिनीहरु नै आजका लिम्बुवानी युबा युवतीका आइडियल हिरो हिरोइन हुन् |
एक जमाना थियो ,राम्रो लुगा लगाउने ,हातमा घडी लगाउने ,कोटको गोजीमा कलम भिर्ने र धेरै सुन लगाउने हरु त्यो गाउको ,त्यो बिहेको ,त्यो मेला बजारको सबै भन्दा राम्रा राम्री तरेबा तरेमा हुन् |तर अहिले परिभाषा हरु पुरै बदलिएको छ |किनभने आज सम्पूर्ण नेपाल र बिदेशमा हामीलाई पालाम भन्ने ,च्याब्रुंग नाच्ने भनेर मात्र होइन संघीयता ,स्वायत्तता र नौ जिल्ला लिम्बुवान को लागि सबै भन्दा बढी संघर्ष गर्ने समुदाय का युबा युबती भनेर चिन्छन |अरुले चाही हामीलाई त्यसरी चिन्ने अनि हामी चाही लिम्बुवान आन्दोलनको बारेमा थाहा नै नपाउने हो भने ठुलो लाज हुन्छ है |त्यसैले आज जो युबा युबती लिम्बुवान को लागि सबै भन्दा क्रियाशील हुन्छ उनीहरु नै त्यो गाउ ,त्यो बिहे ,त्यो मेला बजारको सबै भन्दा ए वान तरेबा तरेमा हुन् |किनकि ,जसले लिम्बुवान बुझ्छ उसले क्रमश कसरि आर्थिक कमाउने र त्यसलाई कसरि बचंत गर्ने बुज्छ,जसले लिम्बुवान बुझेको हुन्छ उसले आफ्नो छोरा छोरीलाई पढाउनु पर्छ भन्ने बुझेको हुन्छ ,बास्तबमा भन्ने हो भने जसले लिम्बुवान लाइ माया गर्छ उसले जति आफ्नो प्रेमी प्रेमिका लाइ कसैले पनि माया गर्दैन ,चाहे त्यो केटा होस् वा केटि दुबैमा यो कुरा लागु हुन्छ |
हो ,यसैलाई लिम्बुवानी युबा युबतीहरुलाइ लिम्बुवानी आन्दोलनकरण गर्नु ( movementlization of limbuwani young minds ) भानिन्छ |
हो ,मलाइ यस बारेमा धेरै काम गर्न मन लाग्छ |हुनत अहिले हामीले संचालन गरिरहेको लिम्बुवान आन्दोलन पनि यस को लागि टेवा दिई रहेको छ तर त्यतिले मात्र पुग्दैन त्यसको लागि युवा युबतीहरुको लागि मन छुने ,उत्प्रेरित गर्ने लिम्बुवानी साहित्य ,उपन्यास ,कबिता ,गित ,कथा ,फिल्म,नाटक ,चित्रकला हरु चाहिन्छ |
जब म हाम्रै समुदाय को कुनै बिहे ,ग्यादरिन्ग्स ,मेला बजारमा पुग्छु र त्यहा भेला भएका युबा युबतिहरुलाई देख्छु तब मनमा यिनै कुराहरु खेल्न थाल्छन –प्रथम त म आफ्नै टिन एज लाइ सम्झन्छु ,कुनै पथ प्रदर्शक बिना नै ठोकिदै ,लड्दै ,फेरि उठ्दै यहा सम्म आइपुगीदैछ |तर ,अहिलेको युबा युबती हरुको लागि त धेरै सजिलो बाटो बनि सकेको छ ,०४६/०४७ साल बाट यहाँ सम्म आइपुग्दा धेरै बाटो बनि सकेको छ | त्यहा ,कसरि लिम्बुवानी युवा पुस्ता लाइ हिडाउने होला |उनीहरुको दिमाग ,भावना लाइ कसरि आन्दोलित गर्ने होला |
साधारण राजनीति मात्र गर्ने हो भने वा अर्को चुनाब कसरि जित्ने मात्र सोच्ने हो भने वा प्रेसर को लागि केहि सडक आन्दोलनहरु मात्र गर्ने हो भने त अहिलेकै स्टाइल ले संगठन बिस्तार गर्ने हो ,पार्टीको राजनैतिक गतिविधिलाई केहि स्पिड मा बढाउने हो तर साच्चिकै हामीले सोचे जस्तो सम्पूर्ण लिम्बुवानी क्रान्ति (total limbuwan revolution ) को बाटोमा हिडने वा हिडाउने हो भने अलिक फरक तरिकाले ,अलिक तलैबाट ,अलिक भित्रैबाट परिवर्तन को लागि काम शुरु गर्नु पर्छ | अहिलेको लिम्बुवानी युबा पुस्ताको दिमागहरुलाई नै सम्पूर्ण रुपमा आन्दोलित गर्न सक्नु पर्छ |
त्यो ग्यादरिन्ग्स को एक छेउ मा बसेर म यस्तै कुराहरु सोचिरहेको हुन्छु |
( एकजना बहिनि ले 'दाइ ताप्लेजुंग को पुसे मेला आउनु होला है ,कति रमाइलो हुन्छ, संखुवासभा ,धरान ,धनकुटा ,पान्थर र ताप्लेजुंग को प्राय सबै ठाउको युवा युबती हरु आउछन ,कति ठुलो पो लाग्छ त ,आउनु है .....'भनेर फोन मा कुराकानी भए पछी केहि कुराहरु लेख्न मन लाग्यो र यो छोटो लेख बन्यो |)
कुमार लिङदेन मिराक , २०७० मंगसिर ११ ,लिम्बुवान ,नेपाल
जय लिम्बुवान ,संघीय अभिभादन |