Pages

लिम्बुवान राजनीति: एकता कि विभाजनतिर - डम्मर लाबुङ


 
प्रकाशित मिति २०७४/०१/२२   
सह-अध्यक्षलाई सिध्याएर पदीय र आर्थिक आकांक्षा पुरा गर्न अध्यक्षलाई ढालको रुपमा प्रयोग / 

नेपालमा लिम्बुवान पार्टी स्थापना कालदेखि नै पार्टी भित्र आन्तरिक सघर्ष चल्दै आएको थियो / एकीकरणको तयारी प्रक्रिया देखि पार्टीमा सांगाठानिक क्षेत्र र नेतृत्वको प्रश्नमा कुमार लिङदेन पक्ष र अन्य सम्पूर्ण नेताहरु बीच प्रत्यक्ष र परोक्षरुपमा आन्तरिक विवाद चलेको थियो / केन्द्रिय नेताहरु बीच भएको व्यक्तिगत स्वार्थ अनुसारको शक्ति सघर्ष र गुटबन्दीको प्रभाव तल्लो स्तरको कार्यकर्ता र आम जन-समर्थकहरुसम्म असर देखा परेको थियो जसको कारण अन्ततः पार्टी विभाजन भएको थियो / अहिले एकता पक्षधर लिम्बुवान पार्टीको आन्तरिक मुख्य विवाद र समस्याहरु मध्ये नेतृत्वको गलत र अराजक गतिविधि प्रति असन्तुष्ट तथा आक्रोस पुन: दोहोरिएको देखिन्छ / त्यसैले अहिले पार्टीमा विचार-दर्शन र सिद्धान्त-पद्दति भन्दा व्यक्त्ति-नेता केन्द्रित राजनीतिले ठुलो असर पुर्याएको देखिन्छ / 

एकताको प्रथम महाधिवेशन देखि इलाममा सम्पन्न लिम्बुवानको केन्द्रिय प्रतिनिधि र बुद्दिजीवी तथा तुम्याहाङबीच भएको बैठकको अवधिसम्म पार्टी तथा नेतृत्वकर्ताहरु सहि कार्यदिशामा अघि बढिरहेको थियो / संघीय लिम्बुवान पार्टी नेपालको महिला परिषदको प्रथम महाधिवेशनसम्म आइपुग्दा पार्टी भित्र अराजकताले निकै उच्चाई लिईसकेको देखिन्छ / त्यस महिला महाधिवेशन पछि पुरै अन्तर संघर्ष सार्वजनिक भएर छताछुल्ल हुन् पुग्यो / औपचारिक अर्थमा नभए पनि वस्तुत: पार्टी फुटको संघारमा पुगेको कुरा स्वाभाविक रुपले सबैतिर महशुस गरायो / भित्र, बाहिर एक अर्कालाई नङग्याउन कसैले कुनै सिमा पालन गर्ने स्थिति नै रहेन / अन्तर संघर्ष पार्टीको नियन्त्रण बाहिर गएको भन सबैतिर हुन् पुग्यो / त्यसैले सुर्य माखिमद्वारा आफ्नो गल्ति बारे पटक-पटक आत्मालोचना गर्दै माफी मागेको कुराले पनि निकै बजार लिएको छ /

लिम्बुवानमा अहिले केन्द्रिय नेताहरु बिचमा चलिरहेको बहसले सिङ्गो लिम्बुवानको ध्यानाकर्षण गरेको छ / त्यसो त पार्टी भित्रको आन्तरिक संघर्षको विषय वस्तु वाहिर आइसकेको छैनन् / त्यसैले विवादको अन्तरवस्तुवारे किटानी निष्कर्ष निकाल्नु सहज छैन / तैपनि नेताहरुका अभिव्यक्ति, आलेख र "लाइन अफ थिङकीङ" को विश्लेषण गर्दा लिम्बुवान यतिबेला केहि महत्वपूर्ण सवालमा गम्भीर विवादमा छ भन्ने स्पष्ट देखिन्छ / ति प्रश्नहरुमा लिम्बुवानले कस्तो निष्कर्ष निकाल्छ भन्ने कुराले उसको आगामी यात्रा निर्धारण हुनेछ /

लिम्बुवान राजनीतिमा मात्र नभएर सबैजसो राजनीतिक पार्टीहरु आन्तरिक विवादको प्रक्रियाबाट गुज्रिरहेका छन् / व्याक्त्तित्वको टकराव र पार्टीभित्र भूमिकाको खोजीको पक्षमा समेत देखिएतापनि सङ्क्रमणकालीन अवस्थामा आफ्ना नीति र अवस्थितिको पुनर्परिभाषाको प्रश्नमा सबै पार्टीभित्र गम्भीर बहसहरु छन् / लिम्बुवान राजनीति यस कारण पृथक देखिन्छ कि यसको पृष्ठभूमिदेखि नै पार्टीको प्रमुख पद र शक्त्ति हातमा लिन जस्तोसुकै राजनीतिक सड्यन्त्र लाद्ने दक्षिणपन्थी अराजकशैली यथावत देख्न पाइन्छ / यस्तै अराजकताको संघारमा संघीय लिम्बुवान महिला परिषदको प्रथम महाधिवेशन सम्पन्न भएको थियो / महिला परिषदको प्रथम महाधिवेशनमा एउटा पक्षले आफ्नो अनुकुल किसिमको नयाँ कमिटि निर्माण गर्न दबाब सिर्जना गराइएको थियो / यसरी सुन्जुहाङ र सुर्य माखिम पक्षले आफ्नो अनुकुल हुनेगरी प्रतिनिधि चयन गराउनुको पर्दा पछाडी भयानक सड्यन्त्र प्रष्ट देखिन्छ / गुटबन्दी सिर्जना गराएर आगामी दिनमा कुलि (कुमार लिङदेन) जस्तै निरंकुश शैलीमा आफ्नो बेग्लै भेला र बैठक बसी निर्णय गराउदै पुन: पार्टी फुटाउने दक्षिणपन्थी अराजक शैलीमा क्रियाशील देखिन्छन /

बृहत लिम्बुवान एकताको प्रथम महाधिवेशन मार्फत संघीय लिम्बुवान पार्टी नेपालको अबको राजनीतिक विचार "बहुलराष्ट्रियवाद, संघीय सहअस्तित्ववाद र सामुदायिक समाजवाद" हुने किटान गरिएको थियो / तर, उक्त्त एकताको महाधिवेशनमा प्रस्तुत गरिएको नयाँ राजनीतिक वादहरुको बारेमा बहस छलफल नगराई नयाँ नेतृत्व चयनको प्रक्रियामा फसाईएको थियो / हालै इलाममा सम्पन्न भएको केन्द्रिय स्तरको नेता र बुद्दिजीवी तुम्याङ सम्मलित बैठक देखि महिला परिषदको प्रथम महाधिवेशनसम्म आइपुग्दा अराजक अन्तरसंघर्षले एउटा लाजमर्दो मोड लिएको छ / एकता महाधिवेशनबाट अघि सारिएको नयाँ कार्यनीति र कार्यदिशा अनुसार सिङ्गो पार्टी तथा नेतृत्व वर्ग र कार्यकर्ताहरुलाई परिचालित गर्नु पर्थ्यो / तर, उल्टो पार्टी भित्रको सकृय तथा क्रान्तिकारी पक्षधरलाई सिध्याएर आफ्नो हैकम लाद्नको लागि पार्टी भित्रैबाट "दक्षिणपन्थी घेराबन्दी, सुधारवादी-टुटुस्कीपन्थी घेराबन्दी भएको र प्रकारान्तरले विस्तारवादी र दक्षिणपन्थी अवसरवादसँग आत्मसमर्पण" गरेको विचार पैदा भएको देखिन्छ / लिम्बुवान राजनीतिको लागि यो गम्भीर विचलन हो /

पार्टीको महिला परिषदको आकस्मिक विशेष दोश्रो महाधिवेशनपछि केन्द्रिय स्थरको अत्यन्त जिम्मेवार र संबेदनशील स्थानमा रहेको नेतृत्व वर्ग बीचमा गम्भीर अविश्वास, आशंका र अन्यौलको स्थिति देखा परेको छ / स्वाभाविक रुपले यसको असर सिङ्गो पार्टी र आन्दोलनमा समेत धेरथोर पर्दै आएको छ / परिणामत: निराशा, गुटबन्दी, फुटवादी, भित्रभित्रै व्यक्तिगत आरोप-प्रत्यारोपका अत्यन्त नकरात्मक प्रवृत्तिहरुले टाउको उठाइरहेको छन् / अन्यौलपूर्ण अन्तरसंघर्षको यो स्थितिमा आफ्नै असक्षमता आत्मसुरक्षावादी प्रवृत्तिको धक्का सामना गरिरहेको छ / त्यसैले पार्टीमा बैचारिक, राजनैतिक, सङ्गठनात्मक संरचना र कार्यशैलीमा शुद्दिकरणको आवश्यक देखिन्छ / पार्टीको रणनीति र कार्यदिशाको सन्दर्भमा माओत्सेतुङले यसरी भन्नु भएको छ “विचारधारात्मक तथा राजनीतिक कार्यदिशा सहि वा गलत हुनुले सबै कुराको निधो गर्दछ / यदि यो सहि छ भने सबै कुरा हासिल हुनेछन र यो गलत भएमा हासिल भएको पनि सबै कुरा गुम्न जान्छ /” – माओत्सेतुङ

पार्टी एकतापछि पार्टीभित्र देखा परेको दक्षिणपन्थी कुलि (कुमार लिङदेन) प्रवृत्तिलाई सार्वजनिक रुपमा नाङ्गेझार गरेपछि त्यसबारे विविध क्षेत्रबाट टिका-टिप्पणीहरु गरिए / आमरुपमा पार्टीबाट सबैले त्यो साहसिक कदमको प्रशसा गरेको पाइयो भने कतिपयले त्यसबारे शंका प्रकटका साथै पार्टीमा अझै कुलि (कुमार लिङदेन) प्रवृत्ति बाकी रहेको कुरा उठाइएको पनि देखियो / पार्टीमा क्रान्तिकारीताको उग्रप्रदर्शन एवं राजनैतिक वाकचातुर्यताका र सड्यन्त्रका कारण केहि अवधिसम्म सैदान्तिकरुपमा अपरिपक्व युवा नातेदारहरुमा कुलि (कुमार लिङदेन) प्रवृत्तिले प्रभाव पारेको थियो / अभिव्यक्तिमा अतिरंजना, अरुको कार्य प्रगतिबाट आफ्नो बिना मेहनत फाइदा लिने, स-साना कुरामा झुट बोलि हाल्ने, आफुलाई हमेसा अव्वल दर्जाको क्रान्तिकारी सम्झिने र अरु सबैको दोष मात्र देख्ने, पटक-पटक गुटबन्दी, फुटवादी र संकीर्ण चिन्तन प्रदर्शन गर्ने आदि कुलि (कुमार लिङदेन) प्रवित्तिका विशेषताहरु हुन् / भौतिक उत्प्रेरणाद्वारा कार्यकर्तालाई कब्जामा राख्ने प्रयत्न, खानपिन र उठबसमा एउटा नोकरशाहीको जस्तो ठाटबाट र फजुलखर्ची, राजनीतिक रुपले लिम्बुवानको खोलभित्र लुकेर दक्षिणपन्थी अवसरवादको प्रतिनिधित्व गरिरहेको, कार्यशैलीको हिसाबले सड्यन्त्र, जालझेल र ढाकछलको प्रवृत्ति बोकेको, धाक-रवाफ लगाउने सामन्ती चिन्तन अंगालेको, जनताबाट जबर्जस्ती ट्याक्स असुल गर्ने प्रक्रिया ज्वलन्त प्रमाणहरु हुन् / लिम्बुवान भित्र आजको मुख्य कार्यभारका विषयमा बैठकमा नभएपनि बाहिर गम्भीर बहस चलेको देखिन्छ / पार्टीको एउटा पक्षले पार्टीको प्रमुख पद र शक्त्ति आफ्नो लाइन/पक्षधरले पाएको हैसियतलाई एउटा "लाइसेन्स" ठान्दै एकताको प्रथम महाधिवेशनबाट अघि सारिएको कार्यदिशालाई बिर्सेर पार्टी-संघठनमा अराजक भई जथाभावी हात नहालेको भए पार्टी यस्तो समस्याको चंगुलमा फस्ने थिएन /   

अहिले कुलि (कुमार लिङदेन) प्रवृत्ति अनुसार नै हिजोको यान्त्रिक र संकीर्णतावादी चिन्तन, आफ्नो विकृति लुकाउन देश र जनताको स्थिति जस्तोसुकै होस् पार्टी फुटाउन र गुटबन्दी गर्नमा नै व्यस्त रहने प्रवृत्ति हावी भएको देखिन्छ / आगामी दिनमा अहिले भन्दा पनि गम्भीर कुलि (कुमार लिङदेन) प्रवृत्ति देखा पर्न जान्छ भन्ने सच्चाइलाई आत्मसात गरी सिङ्गो पार्टीले आफ्नो वैचारिक, राजनैतिक र सांगठनिक चनाखोपनलाई बढाउन ध्यान दिनु पर्दछ / कुलि (कुमार लिङदेन) प्रवृत्ति नांगिएकोमा र त्यसको हामीले सार्वजनिक भण्डाफोर गर्नु परेमा हामीलाई हीनताबोध होइन कि गौरवको अनुभूति हुनु पर्छ / बरु, हाम्रो अहिलेको चिन्ता भनेको हामीभित्र बाकी रहेको र भोलि विविधरुपमा पैदा भइरहने कुलि (कुमार लिङदेन) प्रवृत्तिलाई चिन्न र त्यसको विरुद्द संघर्ष गर्न कार्यकर्ता र जनतालाई कसरी सक्षम बनाउने भन्ने नै हो /   

कुनै पनि वस्तु दुई विपरितहरुको एकत्वद्वारा बनेको हुन्छ र ति दुई बीच निरन्तर संघर्ष चलिरहेको हन्छ जसको परिणामस्वरूप उक्त्त वस्तुले विकास अर्थात गति प्राप्त गर्दछ / यो नियम व्यक्त्तिको दैनिक क्रियाकलापदेखि सामाजिक परिघटना एवंम समाजको जुनसुकै संरचनामा पनि लागु हुन्छ / हरेक पार्टीभित्र सहि र गलत लाइन बीच व्यापक संघर्ष चलिरहन्छ र जतिखेर पहिलो पक्षले जित्छ, त्यसबेला पार्टी क्रान्तिकारी पार्टी रहिरहन्छ र प्रगतिपथमा अघि बढ्छ भने जतिखेर पछिल्लो पक्षले पहिलो पक्षलाई जित्छ, त्यसबेला पार्टी क्रान्तिकारी पार्टी रहदैन र त्यो सुधारवाद, संसोधनवाद वा विसर्जनवादतर्फ अघि बढ्छ / लिम्बुवान पार्टीभित्र तिब्र अन्तरसंघर्षहरु भएका छन् तर तिनको संचालन सहि किसिमले हुन नसकेको कारण पटक-पटक पार्टी विभाजन भएको छ र पार्टी पार्टीको रुपमा नरहेर विविध गुटहरुमा परिणत भएको तितो यथार्थ हाम्रो सामु छ / बृहत पार्टी एकतापछि देखापरेका नेतृत्वको नोकरशाही तथा अधिनायकवादी प्रवृत्ति, संयुक्त्त मोर्चा सम्बन्धी गलत नीति, जनवर्गीय संघठनहरुको संचालनमा कमजोरी, अवैधानिक प्रकृया मार्फत संघर्ष, आदि राजनीतिक र संघठनात्मक प्रश्नहरुमा जडसुत्रवादी-संकीर्णतावादी तथा दक्षिणपन्थी अवसरवाद नै आजको लिम्बुवानी आन्दोलनको प्रमुख खतरा रुपमा देखिन्छ /

चिनियाँ राजनीतिक इतिहासमा त्यहाँ पार्टीभित्र घुसेको गद्दार, दक्षिणपन्थी अवसरवादी लिन प्याओ गुटको विरुद्द जनस्तरबाटै व्यापक आलोचना भएको थियो / मुखले अध्यक्ष माओको गुणगान गाउने तर दिमागले उहालाई नै सिध्याउने सड्यन्त्र सोच्ने लिन प्याओको गुण र विशेषता नेपालको लिम्बुवानी राजनीतिक पार्टीहरुमा पनि प्रष्ट देखिन्छ / लिम्बुवानी राजनीतिमा पहिलो लाइनलाई निषेध गरी दोश्रो लाइनले आफ्नो आधिपत्य जमाउने खतरा सधै कायम रहन्छ र कुनै अमुक नेताको गुणगान गरी सिङ्गो पार्टी र आन्दोलनलाई विसर्जन गर्ने लिन प्याओवादी भड्काव जन्मने खतरा झन बढी रहन्छ / उनीहरुले पार्टीको कार्यदिशालाई कमजोर बनाउन जोडतोडले प्रयासहरु गरेका छन् / लिन प्याओवाद निम्न पुजीवादी प्रवृत्तिको अति उच्च महत्वाकांक्षी प्रवृत्ति हो र यस्ताको महत्वाकांक्षा कहिले पुरा हुदैन / यिनीहरुले नेतृत्वलाई जसरी भएपनि प्रभाव पार्ने नीति अनुरुप जे गर्न पनि तयार हुन्छन / उनीहरुको भित्र उदेश्य आफ्नो हातमा सत्ता र शक्त्ति पार्ने नै हुन्छ, जसरी लिन प्याओले माओको अत्याधिक गुणगान गरेर माओलाई नै खतम पार्ने सड्यन्त्र रचेको थियो / लिम्बुवान राजनीतिमा एकताको प्रथम महाधिवेशन पश्चात अहिले सुर्य माखिम र सन्जुहाङपक्षमा "कुलि" (कुमार लिङदेन) प्रवृत्ति सँगसँगै चीनको "लिन प्याओवाद" हावी भएको प्रष्ट देखिन्छ / यस्तै सन्दर्भमा पार्टी भित्रको अराजक गतिविधिलाई सुधार्ने उपाय बारेमा माओले भन्नु भएको थियो कि "भविष्यमा हुने गल्तिहरुबाट बच्न अतितका गल्तिहरुबाट सिक्नु पर्छ, रोगीलाई बचाउन रोगको उपचार गर्नु पर्छ, अगाडिको रथ पल्टनुलाई पछाडीको रथको लागि चेतावनी मान्नु पर्छ /" त्यसैगरी माओले सबैलाई सचेतना गर्दै भन्नु भएको थियो कि "पार्टीमा सबैभन्दा खतरनाक प्रवृत्ति विद्रोहवाद, सैनिक दुस्साहसवाद र हुकुमीशाही हुन् जसले जनतालाई छिन्नभिन्न पारिदिन्छन /" त्यसैले जनताको शक्त्तिलाई एकत्रित र मजबुत गर्न र उनीहरुको राजनैतिक चेतनालाई माथि उठाउन जरुरी छ /"

कुनै एक राजनैतिक पार्टीको सफलता वा असफलता त्यसको कार्यदिशाले निर्धारित गर्दछ / अहिले लिम्बुवान पार्टी उक्त्त परिस्थितिको गम्भीर मोडमा रुमलिएको देखिन्छ / त्यसैले हिजो पाच पार्टी एकतापछि कुमार लिङदेन संघीय लिम्बुवान पार्टी नेपालको अध्यक्षको रुपमा हुदा उहाले जसरी लिम्बुवान पार्टीलाई स्वेच्छाचारी/निरंकुश  तथा अधिनायकवादी रुपमा संचालन गर्दा क्रान्तिकारी (खगेन्द्र माखिम) पक्षधरहरुमा मौन भएर बसेको थियो / जसले गर्दा जुन मौनताको फाइदा लिदै ति दक्षिणपन्थी अवसरवादी कुमार लिङदेनले अन्ततः पार्टी फुटाएर गएको थियो / ठिक त्यसैगरी अहिलेको परिस्थितिमा विगतमा जस्तै खगेन्द्र माखिम पक्षधरहरु मौन भएर बस्ने हो भने फेरी पार्टीको क्रान्तिकारी (खगेन्द्र माखिम, प्रेमदिप) समुहहरुले ठुलो धक्का खाने प्राय: निश्चित देखिन्छ / त्यसैले ठोस परिस्थितिको ठोस विश्लेषण गर्दै सम्भावित हुन गइरहेको दुर्घटनाबाट सिङ्गो पार्टी नेतृत्व टिम र कार्यकर्ता तथा समर्थक जन-आधारहरुलाई संरक्षण र विकास गर्दै व्यापक एकता-संघर्ष र एकताको रणनीति कार्यदिशामा बढ्नुको बिकल्प छैन /

लिम्बुवान पार्टीलाई बहुसंख्यक जनताको हित अनुकुलको बनाउने कि मुठ्ठीभर व्यक्त्तिको हित अनुकुल ? माओले भन्नु भएको छ "अतितकालमा गरिएका गल्तिहरुलाई पर्दाफास गर्ने समयमा यस कुराको पर्वाह गर्नु पर्दैन कि यस्तो गर्नाले कसैको भावनालाई ठेस पुग्दछ, यो आवश्यक छ कि अतित कालका तमाम खराब कुराहरुप्रति वैज्ञानिक धारणा अपनाएर त्यसको विश्लेषण गरियोस र त्यसको आलोचना गरियोस ता कि भविष्यको काम बढी सावधानीसाथ र राम्रो रुपले गर्न सकियोस / यसैको अर्थ हो भावी गल्तिहरुबाट बच्न पछिल्ला गल्तिहरुबाट पाठ सिक्ने / तर गल्तिहरुको पर्दाफास गर्ने र कमजोरीहरुको आलोचना गर्ने हाम्रो उदेश्य विरामीको उपचार गर्ने डाक्टरको जस्तै केवल यो हुन्छ कि विरामीलाई बचाउन सकियोस न कि उसलाई मृत्युको मुखमा धकेल्नु /" लिम्बुवान राजनीतिमा अहिले भइरहेको गतिविधिलाई माओले भने झैँ कदम चाल्न हिच्किचाउनु हुदैन नत्र भोलि निकै ढिलो भइसकेको हुनेछ /

महिला परिषदको प्रथम महाधिवेशनमा सुर्य माखिम र सन्जुहाङद्वारा पर्दा पछाडीबाट लादिएको स्वेच्छाचारी निर्णय अनुसार महिला परिषदको नयाँ कमिटि चयन गर्न लगाइएको आन्तरिक खबर बाहिर आएको छ / त्यसैगरी महिला परिषदको महाधिवेशन मार्फत अध्यक्ष बनाई दिने सर्तमा महासचिव सुर्य माखिमद्वारा महिला अध्यक्ष दुर्गा सेन्दाङको करिब ८-९ लाख रकम दुरुपयोग गरिदिएको खबरले बाहिर बजार निकै तताएको देखिन्छ / महिला परिषदको अर्को बहुमत महिला कार्यकर्ताहरु र पार्टीकै बहुसंख्यक पुरुष कार्यकर्ताहरुद्वारा दुर्गा सेन्दाङ जो पार्टीमा आएर काम गरेको भर्खर ५,६ महिना नपुग्दै सिङ्गो पार्टीको महिला परिषदको अध्यक्ष जस्तो जिम्मेवार पद दिईएको विषयलाई लिएर व्यापक बिरोध र आलोचना गरिएको थियो / महिला परिषदको जुन बहुसंख्यक महिला कार्यकर्ताहरुको दाबी अनुसार, पार्टीको पुरानो र सक्रिय महिलाहरुलाई वाइपास गरी विधान र प्रकृया विपरित दुर्गा सेन्दाङ जस्तो नयाँ कार्यकर्तालाई अध्यक्ष पदमा दिईएको छ / उसलाई तत्काल अध्यक्ष पदबाट नहटाए सबै महिलाहरु पार्टी सदस्यबाट तत्काल राजीनाम गर्ने लिखित पत्र पेश गरी पार्टी नेतृत्वमा व्यापक दबाब सिर्जना गराएको थियो / पार्टीको उक्त्त गतिविधिलाई अध्यक्ष सन्जुहाङले मौन समर्थन गरिएको कारण पार्टी भित्र र बाहिर निकै व्यापक बिरोध-आलोचना तथा जनदबाब सिर्जना गराइएको थियो / पार्टीको  खगेन्द्र पक्षका नेता-कार्यकर्ताहरुले नेतृत्वको उक्त्त कदमको बिरुद्दमा समर्थन र बिरोध केहि जनाएको देखिएन /

सड्यन्त्रपुर्वक सम्पन्न गराइएको महिला महाधिवेशनको बारेमा पार्टी भित्र र बाहिरबाट व्यापक जनदबाब सिर्जना भएपछि बहुसंख्यक नेतृत्व तहमा रहेका खगेन्द्र माखिम समुहमा गम्भीर पिडा, चिन्त्ता र रुष्ट भएका थिए / सम्भावित पार्टी विभाजनलाई रोक्न तत्काल महिला उपाध्यक्ष सरु सिङ्घकको संयोजकमा दोस्रोपटक विशेष अधिवेशनको लागि सबैलाई खबर र पत्राचार गरिएको थियो / महिला परिषदको उक्त्त विशेष भेला तथा महाधिवेशनमा पार्टी अध्यक्ष सन्जुहाङ र सुर्य माखिम पक्षधरहरु उपस्थित भएनन् / त्यसैगरी उता अध्यक्ष सन्जुहाङ, महासचिव सुर्य माखिम र दुर्गा सेन्दाङहरु पार्टीमा छलफल तथा बैठक र सामुहिक निर्णय बिना आफ्नो बेग्लै गतिविधिमा सकृय हुदै गएको देखिन्छ / यसरी पार्टीमा नयाँ गुट सिर्जना गराई पार्टी पुन: फुटाउन सड्यन्त्र गर्ने कुलि (कुमार लिङदेन) प्रवृत्तिको पक्ष र पहिचानवादीहरुसँग पार्टी एकतामा अडिक तथा लोकतान्त्रिक विधान-प्रक्रिया, सिद्धान्तमा अडिक पक्षधरहरु बीच दुई कित्तामा दुश्मन र मित्रको स्पष्ट विभाजन देखा पर्यो / सुर्य र सन्जुहाङको अराजक भूमिकालाई लिएर पार्टीभित्र र बाहिर व्यापक विरोध र आलोचना हुदा यस अन्तर संघर्षले आफ्नो राजनीतिक अस्तित्व जोखिम हुने अवस्था देखा परेपछि महासचिव सुर्य माखिमद्वारा पार्टी भित्रका केहि क्रान्तिकारी पक्षधरको नेताहरुसँग पटकपटक आत्मालोचना गर्दै क्षमा मागेको रोचक खबरले बाहिर बजार निकै तताएको देखिन्छ /

अध्यक्ष सन्जुहाङ र महासचिव सुर्य माखिम अहिले अर्को विशेष अराजक काण्डले गर्दा पनि निकै चर्चाको शिखरमा पुगेका देखिन्छन / लिम्बुवान पार्टीको आन्तरिक खबर बाहिर आए झैँ एक महिना अघि महासचिव सुर्य माखिमको नेतृत्वमा पास्थर जिल्लामा निर्माण भईरहेको काबेली हाइड्रोपावरमा आर्थिक रकम लिने उदेश्यले पार्टीको तर्फबाट चिठी पठाएको सनसनीपूर्ण खबर बाहिर आएको सुनिन्छ / यस किसिमको आत्मघाती घटनाले सिङ्गो पार्टी तथा नेतृत्व बेइज्जत, बदनाम भइ पार्टीको नैतिकता र अस्तित्व जोखिममा पर्ला कि भनि पार्टीको सह-अध्यक्ष खगेन्द्र माखिम समुह निकै रुष्ट भएको देखिन्छन / त्यसैगरी पार्टीमा छलफल तथा निर्णय नै नगरी एकलौटी मार्च ३१ मा महासचिव सुर्य माखिमद्वारा Facebook मार्फत संघीय लिम्बुवान पार्टीको सांगठनिक तयारी सहित नेतृत्वको जिम्मेवारी बिषयमा उपत्यका लगायत १० जिल्लामा १० जना प्रमुख नेताहरुको कार्य क्षेत्र तोकेर काम गर्न जान आदेश दिईएको छ / महासचिव सुर्य माखिम र अध्यक्ष सन्जुहाङ पक्षधरहरुमा देखापरेको उक्त्त कुलि (कुमार लिङदेन) प्रवृत्तिले गर्दा पार्टीको केन्द्रीयस्तरको नेता देखि तल कार्यकर्ता तहसम्म निकै आक्रोश र अन्योलता सिर्जना गराएको देखिन्छ / त्यसैगरी अन्य पार्टीहरुसँग मोर्चाबन्दी तथा संयुक्त्त गठबन्धन गर्ने देखि लिएर विभिन्न चरणको आन्दोलन तथा कार्यक्रमहरुको घोषणा गर्ने विषयमा पनि अहिलेसम्म पार्टीमा कुनै छलफल र निर्णय गराइएको छैन / पार्टीको केन्द्रीयस्तरको दुइतिहाइ नेताहरु अन्य पार्टीहरुसँग मोर्चाबन्दी गर्ने सवालमा अहिलेसम्म बेखबर छन् जसले गर्दा पार्टीमा कुलि (कुमार लिङदेन) प्रवृत्ति अझै जीवित रहेको बुझ्न सकिन्छ / पार्टीको क्रान्तिकारी (खगेन्द्र माखिम, प्रेमदिप) समुहहरुले उक्त्त दुई जनाको अराजक कुलि (कुमार लिङदेन) प्रवृत्तिलाई मौन भएर रमिता हेर्नुको विकल्प छैन किन भने एकतातिर पार्टीको विधानले बाधेको देखिन्छ भने अर्को तिर पार्टी विधान अनुसार नियमित बैठक समेत हुन दिईएको छैन / पार्टीको अस्तित्व बचाउन, पार्टीको संबेदनशील स्थान, जिम्मेवारी, अनुशासन र नैतिकताले गर्दा पनि क्रान्तिकारी (सह-अध्यक्ष खगेन्द्र माखिम) पक्षधरहरु सन्जुहाङ र सुर्य जस्तै अराजक र गैरजिम्मेवार भएर सतहमा उत्रिनु हिम्मत गरेको छैन /

विचार राजनीतिमा केन्द्रित हुनुको सट्टा यसरी व्यक्त्ति र गुटमा केन्द्रित, एकको बिरुद्द अर्कोलाई प्रयोग गर्ने अराजक गतिविधि हुदै आएको छ / पार्टीलाई पुन: फुटाउने वर्ग दुश्मनका तमाम षड्यन्त्रलाई पराजित गरि संघीय आन्दोलनको समग्र हितलाई केन्द्रबिन्दुमा राखेर पार्टी एकतालाई सस्थागत गर्दै आन्दोलनलाई अग्रगति दिने काममा बिशेष जोड दिन आवश्यक देखिन्छ / यसलाई सुदृढ गरेर नयाँ उचाइमा उठाउन भने केन्द्रिय समिति र सिङ्गो पार्टीले मेहनत गर्न जरुरी छ / पार्टीभित्र देखा परेको दक्षिणपन्थी संकीर्ण जडसुत्रीय संशोधनवादी र यथास्थितिवादी विचलनका बिरुद्द तिब्र र भीषण संघर्ष चलाउदै अघि बढ्न आवश्यक देखिन्छ /

चारैतिर शक्त्तिशाली दुश्मनहरुद्वारा घेरिएको संघिय पक्षधर क्षेत्रीय पार्टीले आफैभित्र विद्यमान व्यक्तिवादका बिरुद्द कठोर आत्मसंघर्ष, अन्तरसंघर्ष र बैचारिक संघर्षको विकास गर्दै पार्टी एकतालाई सस्थागत तथा सुदृढ गर्न सकेन भने उसले संघीय क्रान्त्तिलाई अन्तसम्म नेतृत्व गर्ने ऐतिहासिक भूमिका पुरा गर्न सक्दैन / उपरोत्त प्रकारको कमीकमजोरीका बीच दुश्मनले पार्टी भित्रैबाट अन्तरध्वंश गर्ने षड्यन्त्रलाई सफल पार्ने मौका प्राप्त गर्न सक्छ / यस किसिमको धेरै घटना र क्षतिहरु लिम्बुवान पार्टीले व्यहोरिसकेको छ / विचारधारात्मक र राजनैतिक कार्यदिशाले पार्टी र आन्दोलनको विकासमा निर्णायक भूमिका खेल्ने सहि हुदाँ-हुदैँ पनि यदि कार्यदिशा अनुकुलको सङ्गठनात्मक संरचना र कार्यशैलीको विकास गर्न सकिएन भने कार्यदिशा स्वयं एउटा निर्जीव कागजी नारा बन्न जान्छ /    

पार्टीको ऐतिहासिक एकीकरण पश्चात अध्यक्ष कुमार लिंङदेन जसरी दक्षिणपन्थी संकीर्ण जडसुत्रीय संशोधनवादी, अवसरवादी तथा यथास्थितिवादी दिशामा तिब्र गतिमा अघि बढेर अन्ततः पार्टी फुटाएको थियो / त्यसैगरी आज सुर्य माखिमको नेतृत्वमा सन्जुहाङलाई हतियार बनाएर कुलि (कुमार लिङदेन) प्रवृत्तिको बाटोमा तिब्ररुपमा अघि बढिरहेको देखिन्छ / लि प्याओ तथा कुलि प्रवृत्तिका नेताहरुले लिम्बुवान राजनीति, लिम्बुवानी जनता, क्रान्ति-आन्दोलन प्रति गम्भीर विश्वासघात गरि पार्टी र क्रान्तिलाई विसर्जन गर्दै गएको छन्  / तर, पार्टीकै अर्को नेतृत्व पक्षबाट एकतालाई सस्थागत र विकासको लागि पहल गर्ने प्रक्रियामा निरन्तर उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छन / त्यसैले पार्टी एकीकरण पछि नवसंसोधनवादीहरुमा देखा पर्दै आएको बिशेषताहरु बिधान, सिद्दान्त, दर्शन, राजनीति कार्यदिशा विपरित गतिबिधि र अध्यक्षको अधिकार क्षेत्र भन्दा बाहिर निरंकुश-तानाशाही हावी, पार्टी संघठनको विसर्जन, वैचारिक आत्मसमर्पणवाद, आन्दोलनको प्रश्नमा पार्टीको निर्णय र सहमतिको परित्याग, आर्थिक र नैतिक आचरणको परित्याग लगायत विचलनहरु देखा परेका छन् /

पार्टीको मूल नेतृत्वमा विध्यमान तानाशाही तथा नोकरशाही एकाधिकारवादी प्रवृतिको बिरुद्दमा व्यापक बिरोध र रुपान्तरण सहित अघि बड्न आवश्यक देखिन्छ / यो सिङ्गो प्रक्रियामा विचार र नीतिलाई समृद्द तथा विकसित तुल्याउन पहल अवश्य भएकै हो / सिङ्गो पार्टी, नेतृत्व पंत्तिमा देखापर्ने व्यक्तिवादी चिन्तन र कार्यशैली तथा नेतृत्वको गलत प्रवृत्ति बिरुद्दमा दृढतापुर्वक सङ्घर्ष चलाउन आवश्यक हुन्छ / यस सन्दर्भमा स्टालिनद्वारा यसरी भन्नु भएको छ कि “जबसम्म मजदुर वर्गको पार्टीले आफनै पार्टीभित्रका अवसरवादीहरुका बिरुद्द सम्झौताहीन संघर्ष चलाउदैन र जबसम्म त्यसले आफ्नै बिचमा रहेको आत्मसमर्पणवादीहरुलाई खतम पार्दैन, तबसम्म त्यसले आफ्नो पार्टीभित्र एकता र अनुशासनलाई कायम राख्न सक्दैन / त्यसले सर्वहारा क्रान्तिका संगठनकर्ता तथा नेताको भूमिका पुरा गर्न पनि सक्दैन र त्यसले नयाँ समाज निर्माणको भूमिका समेत पुरा गर्न सक्दैन” - स्टालिन

लिम्बुवान पार्टीको दस बर्षे राजनीतिक अभ्यासको पृष्ठभूमि अध्ययन गर्दा पार्टीले दुईलाइन संघर्षमा एकता-संघर्ष-रुपान्तरण र नयाँ आधारमा नयाँ एकताको नीति अवलम्बन गर्दै आएको छ / पार्टी भित्र र बाहिरको प्रतिक्रियावादी तथा संशोधनवादी नेतृत्व वर्गहरुको उक्साहटमा गुटबन्दी र अराजकताको पराकाष्ठसम्म पुग्यो / तर, पार्टी बिभाजन गरि छाड्ने निस्कर्षमा पुगेको कुमार लिंङदेन पक्षले इलामको बैठक लगतै आफ्नो विघटनकारी कार्यलाई तिब्रता दिदै आम लिम्बुवानी जनता र कार्यकर्ताहरुको आवश्यकता र चाहना बिपरित आफुलाई पार्टीबाट अलग गरि प्रकारान्तरले प्रतिक्रियावादी र यथास्थितिवादीहरुलाई सघाउने काम गरि छाड्यो / त्यसैगरी अहिले पार्टीमा अध्यक्ष सन्जुहाङ र महासचिव सुर्य माखिमले कुलि (कुमार लिङदेन) प्रवृत्तिबाट प्रभावित भएको देखिन्छन / यो दुइलाइन् संघर्षको अनुभवले हामीलाई गम्भीर शिक्षा दिएको छ कि लोकतान्त्रिक संगठनात्मक सिद्दान्तको रुपमा पार्टीले सुचितरुपले प्रयोग गर्ने पर्दछ / हाम्रो जस्तो निम्न पूँजीवादी धरातलबाट अगाडी बढ्दै गरेको पार्टीमा विचार समुहको नाममा माथि देखि तलसम्म अलगै बैठक, भेला र गतिविधि गर्न छुट दिनुले पार्टीमा गुटबन्दी, अराजकता र बिघटनकारी प्रवृति बढेर पार्टीलाई बिसर्जनको भयानक भुमरीतिर डोर्याउने कुराको कटु अनुभव गरिएको छ /

बृहत लिम्बुवान एकताको मूल मर्म र उदेश्य भनेको एकता नै हो तर अहिले पार्टीको विधान र प्रकृया विपरित केन्द्रीयस्तरको बैठकमा छलफल र निर्णय नै नगरी अध्यक्ष सन्जुहाङ र महासचिव सुर्य माखिमले चैत्र ७ गते किरात जनवादी वकर्सका नविन किराती, नेपाल इन्डिजिनिष्ट समुहका लासिम पालुङवा, पुर्व सभासद राजकुमार नाल्बो बीच पार्टी एकता भएको एकलौटी घोषणा गरिएको छ / त्यसैगरी पार्टी समायोजनको लागि पनि पार्टीमा छलफल तथा निर्णय नगरी १७ जनालाई एकलौटी पदीय जिम्मेवारी दिईएको छन् / जसमा दुई जनालाई उपाध्यक्ष, एक जनालाई महासचिव, केन्द्रिय सदस्य, विभागीय सचिव र पाच जनालाई विभागीय सदस्य र नौ जनालाई केन्द्रिय सदस्य पद समेत दिईएको छ / केन्द्रीयस्तरको बहुमत नेताहरु यस विषयमा बेखबर रहेको बुझ्न सकिन्छ /

संघीय लिम्बुवान पार्टी नेपाललाई निर्वाचन आयोगमा दर्ता गराउन पहिले पार्टीले महासचिव सुर्य माखिमलाई जिम्मेवारी दिएको थियो तर उहाले पार्टीलाई निर्वाचन आयोगमा दर्ता नगरी यथावत राख्न निकै कसरत गरेको खबर बाहिर आएको थियो / यसरी सुर्य माखिमको नेतृत्वमा पार्टी दर्ता नभएपछि पार्टीले सह-अध्यक्ष खगेन्द्र माखिमको नेतृत्वमा पार्टी दर्ता गराउने जिम्मेवारी दिईएको थियो / खगेन्द्र माखिमको जिम्मेवारीमा पार्टी दर्ता गराउने प्रकृयामा पनि सुर्य माखिमले निकै अवरोध सिर्जना गराएको आन्तरिक खबरहरु पनि बाहिर आएको छन् / महासचिव सुर्य माखिमको हरेक गतिविधि अनुसन्धान गर्दा उहाले "बुद्द छिरिङ तामाङ" को राजनीतिक डिजाइन अनुसार "बुद्द छिरिङ तामाङ" अध्यक्ष रहने र सुर्य माखिम महासचिव रहने गरी नयाँ "नेपाल इन्डिजिनिष्ट पार्टी" खोलेर पार्टीलाई त्यहाँ विलय गराउने आन्तरिकरुपमा तयारी रहेको विश्लेषण गर्न सकिन्छ / यस प्रकारको राजनीतिक मिसन अनुसार नै सुरुमा कुमार लिङदेनलाई सिध्याउन कदम चालिएको थियो, अहिले दोश्रो राजनीतिक मिसन अनुसार बिर नेम्बाङ, राम भक्त्त, कमल छरहाङ र खगेन्द्र माखिमलाई साइजमा राख्ने उदेश्यले सन्जुहाङलाई पार्टी अध्यक्षमा राखिएको थियो, तेश्रो मिसन अनुसार अहिले तत्काल खगेन्द्र माखिम समुहलाई सिध्याउन राम भक्त्त र सन्जुहाङलाई हतियारको रुपमा प्रयोग गरिएको देखिन्छ / चौथो राजनीतिक मिसन अनुसार खगेन्द्र माखिम समुहलाई सिध्याएपछि क्रमसः सन्जुहाङ, राम भक्त्त बीर नेम्बाङलाई सिध्याउने अन्तिम तयारीमा देखिन्छ / पाचौ योजना अनुसार लिम्बुवान पार्टीको यी मुख्य नेताहरुलाई तह र ठेगान लगाए पछि सुर्य माखिमद्वारा पार्टीलाई "बुद्द छिरिङ तामाङ"को नेतृत्वमा नयाँ "नेपाल इन्डिजिनिष्ट पार्टी" खोलेर त्यहाँ बिलय गराउने अन्तिम तयारीमा लागेको बुझ्न सकिन्छ /

पार्टीको महाधिवेशनको क्रममा पनि वर्तमान महासचिव सुर्य माखिमले आन्तरिकरुपमा डबल रोल खेलेको थियो जतिखेर सन्जुहाङ पालुङवाको पक्षबाट वार्ता र लभिङ कार्यमा जिम्मेवारी पाएको थियो / महाधिवेशन मार्फत नयाँ पार्टी अध्यक्ष चयनको प्रक्रियामा सुर्य माखिमले पनि सन्जुहाङ पालुङवाको पक्षबाट विभिन्न पक्षका नेताहरुसँग आन्तरिक भेटघाट र वार्तामा सकृय भएको थियो / यसरी हरेक पक्षसँग भेटघाटको क्रममा पार्टीको अध्यक्षमा दाबेदारको रुपमा रहेका सन्जुहाङ पालुङवा, कमल छरहाङ र खगेन्द्र माखिमहरु बीचमा सहमति नभएको खण्डमा मलाई (महासचिव सुर्य माखिम) सबै पक्षबाट पार्टी अध्यक्षको रुपमा अघि सार्न अनुरोध समेत गरेको थियो / यहि महाधिवेशनको क्रममा सुर्य माखिमले विभिन्न पक्षहरुसँग भेटघाटको क्रममा उहाले पार्टी नेतृत्व वर्ग र कार्यकर्ताहरुलाई सर्वहाराकरण गराउने अभियानमा रहेको विचार समेत व्यक्त्त गरेको थियो / यसरी सिङ्गो पार्टीलाई सर्वहाराकरण गर्ने विषयमा उदाहरण दिदै बिर्तामोडमा रहेको सन्जुहाङ पालुङवाको करोडौ रकम बराबरको पैतृक सम्पत्ति र घर-जग्गालाई पार्टीको लागि प्रयोग नगरेको गुनासो समेत गरेको थियो / यसरी पार्टीको सबै नेता-कार्यकर्ताहरुको स्वामित्व रहेको सम्पत्तिलाई पार्टीको नियन्त्रणमा ल्याएर सबैलाई सर्वहाराकरण गराउनु पर्छ भनि प्रष्ट पार्नु भएको खबर बाहिर आएको छ /

पार्टीको प्रथम महाधिवेशन पश्चातको राजनीतिक परिवेश हेर्दा पार्टीमा महिला परिषदको महाधिवेशनमा एकलौटी नयाँ प्रतिनिधि छनौट गराउनु, महिला परिषदको महाधिवेशनमा दुर्गा सेन्दाङको लाखौ रकम दुरुपयोग गराउनु, एकात्मक निरंकुश-तानाशाही नीति अनुसार पार्टी संचालन गर्नु, पार्टीको निर्णय विपरित केन्द्रियस्तरमा नयाँ प्रतिनिधि नियुक्त्ति, आर्थिक अपारदर्शीता, पार्टीमा पारित निर्णयहरु एकलौटी उल्लघंन, पार्टी एकतालाई सस्थागत गर्न अवरोध, पार्टीको बिधान अनुसार नियमित बैठक बस्न नदिनु, पार्टीलाई अनिर्णयको बन्दी बनाइनु, लाफर्बाही प्रति अन्य सम्पूर्ण नेता-कार्यकर्ताहरुले असहमति तथा असन्तुष्टि जनाए पछि सङ्घीय लिम्बुवान पार्टीमा आन्तरिक विवाद सिर्जना भइ अहिले पार्टी फुटको संघारमा पुगेको अवस्था देखिन्छ / यसरी अध्यक्ष सन्जुहाङ र महासचिव सुर्य माखिमले आफ्नो अधिकार क्षेत्र भन्दा बाहिर पार्टीको बिधान, प्रक्रिया, सिद्दान्त तथा पद्दति बिपरित एकलौटी अन्य नेताहरु माथि आफ्नो एकाधिकार र हैकम लादे पछि अन्यहरु रुष्ट भएको देखिन्छन / पार्टीको यस्तो अराजकतावादी तथा अवसरवादी नेताहरुको सन्दर्भमा लेनिनले यसरी भन्नु भएको छ “जनसमुदायलाई अवसरवादसँग सम्बन्ध विच्छेदको अपरिहार्य आवश्यकताको ब्याख्या गर्नु, अवसरवादका बिरुद्द निर्मम संघर्षद्वारा उनीहरुलाई (जनसमुदायलाई) क्रान्तिका निमित्त शिक्षित पार्नु विश्व मजदुर आन्दोलनको एक मात्र मार्क्सवादी कार्यदिशा हो /” - लेनिन

भेडेटारमा बृहत एकताको लागि भएको सहमति र सम्झौताको मूल उदेश्य पहिचानवादी पार्टीहरु बीच पार्टी एकता तथा एकीकरण नै हो / अहिले राज्यले संबिधान र लोकतान्त्रिक मुल्य-मान्यता विपरित केहि मुख्य राजनीतिक दलहरु बाहेक सबैलाई निषेध र खारेज गर्ने उदेश्यले थ्रेस होल्डको मापदण्ड ल्याएर सबै दललाई प्रतिबन्द गरेको छ / त्यसैले अहिलेको रास्ट्रिय राजनीतिक वस्तुस्थिति र नयाँ आधारमा राष्ट्रिय स्तरमा ठुलो पहिचानवादी राजनीतिक पार्टी निर्माणको लागि लिम्बुवान देखि खसानसम्म पार्टी एकीकरणको अभियानमा अघि बढ्नुको बिकल्प छैन / राज्यले ल्याएको मापदण्डलाई बेवास्ता गरी फेरी त्यो सानोतिनो क्षेत्रीय स्तरको राजनीतिक पार्टीको झुण्डमा आफु र आफ्नो कार्यकर्ताहरुलाई झुलाएर राखियो भने विस्तारै सबै सानो पार्टीहरु पतन भएर जाने निश्चित देखिन्छ /

देशको बहुसंख्यक सामाजिक-सास्कृतिक समुदायहरुले राज्यबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा जातीय स्वायत्तता तथा स्वशासन र आत्मनिर्णयको अधिकार साथै समावेसी लोकतान्त्रिक व्यवस्था प्राप्त नगरेसम्म यस्तो सानोतिनो क्षेत्रीयस्तरको राजनीतिक पार्टीहरुको भविष्य देखिदैनन् / राज्यबाट यी सम्पूर्ण अधिकारहरु प्राप्त गर्न राष्ट्रस्तरको राजनीतिक दल निर्माण गरेर एकीकृत जनक्रान्ति सम्पन्न गर्न आवश्यक हुनेछ / व्यापक जनआधारको जगमा राज्य शक्त्ति हातमा लिएर यी सम्पूर्ण अधिकारहरु व्यवस्था गराईदिएपछि मात्र यस्ता क्षेत्रीयस्तरको राजनीतिक दलहरुले राज्य सत्ता र शक्त्ति प्राप्त गर्नेछन् / त्यसैले नयाँ पार्टी खोलेर जानु भन्दा पहिचानवादी सबै पार्टीहरु बिचमा एकीकरण गर्नु नै गुणात्मकरुपमा सफल र सहज हुने देखिन्छ / त्यसैले सबै जना आ-आफ्नो क्षेत्रबाट पार्टी एकीकरणको अभियानमा अघि बढ्न अति आवश्यक भएको छ र निर्वाचनको विरोध गर्नु भन्दा उपयोग गरेर जादा नै आगामी दिनमा संघर्ष गर्न सहज हुने देखिन्छ /

अत: भेडेटारको ऐतिहासिक पार्टी एकिकरण पछि पार्टीमा अहिलेसम्म निरन्तर कुलि प्रवृत्ति जन्मिरहेको देखिन्छ / त्यसैले लिम्बुवान पार्टीलाई बहुसंख्यक जनताको हित अनुकुलको बनाउने कि मुठ्ठीभर व्यक्त्तिको हित अनुकुल ? माओले भन्नु भएको छ "अतितकालमा गरिएका गल्तिहरुलाई पर्दाफास गर्ने समयमा यस कुराको पर्वाह गर्नु पर्दैन कि यस्तो गर्नाले कसैको भावनालाई ठेस पुग्दछ, यो आवश्यक छ कि अतित कालका तमाम खराब कुराहरुप्रति वैज्ञानिक धारणा अपनाएर त्यसको विश्लेषण गरियोस र त्यसको आलोचना गरियोस ता कि भविष्यको काम बढी सावधानीसाथ र राम्रो रुपले गर्न सकियोस / यसैको अर्थ हो भावी गल्तिहरुबाट बच्न पछिल्ला गल्तिहरुबाट पाठ सिक्ने / तर गल्तिहरुको पर्दाफास गर्ने र कमजोरीहरुको आलोचना गर्ने हाम्रो उदेश्य विरामीको उपचार गर्ने डाक्टरको जस्तै केवल यो हुन्छ कि विरामीलाई बचाउन सकियोस न कि उसलाई मृत्युको मुखमा धकेल्नु /" लिम्बुवान राजनीतिमा अहिले भइरहेको गतिविधिलाई माओले भने झैँ कदम चाल्न हिच्किचाउनु हुदैन /

पार्टीको लोकतान्त्रिक बिधान, प्रक्रिया र सिद्धान्त तथा पद्दति अनुसार पार्टी संचालन गर्नु आवश्यक देखिन्छ / पार्टीमा बिधान अनुसार नियमित बैठक बसी छलफल-बहस मार्फत पार्टीलाई निकास दिदै बैचारिकरुपमा प्रगतिशील रणनीति र कार्यनीति तयार गरि अघि बढ्नुको बिकल्प छैन / संघीय लिम्बुवान पार्टीको नेताहरू अब आफूलाई रूपान्तरण गर्दै एकताबद्ध हुनुपर्ने समय हो । त्यसैले व्यक्तिगत स्वार्थ, पद, प्रतिष्ठा वा आर्थिक प्रलोभन त्यागेर पहिचानको राजनीतक आन्दोलनलाई अझ सशक्त बनाउन तर्फ ध्यान दिन आवश्यक देखिन्छ / पार्टीले पहिचानवादी राजनीतिक तथा सामाजिक संगठनहरूलाई समेत गोलबन्द गर्नुपर्ने समयमा यसरी आन्तरिक विवादमा फस्नु राम्रो होइन / पार्टीको विवाद तथा समस्या समाधानको लागि पार्टीको बिधान अनुसार नियमित बैठक राख्न जुरुरी देखिन्छ / आ-आफुमा रहेको फरक विचारहरु पार्टीको बैठकमा राखेर छलफल गरि हल गर्दा राम्रो हुन्छ / यसरी पार्टी-सङ्गठनलाई सधै अनिर्णयको बन्दी बनाउने सड्यन्त्र तत्काल रोक्नु पर्छ / पार्टीलाई पुन: फुटाउने वर्ग दुश्मनका तमाम षड्यन्त्रलाई पराजित गरि संघीय आन्दोलनको समग्र हितलाई केन्द्रबिन्दुमा राखेर पार्टी एकतालाई सस्थागत गरि आन्दोलनलाई अग्रगति दिने काममा बिशेष जोड दिन आवश्यक छ /

नेतृत्व बर्गहरुले पार्टी संचालनको जिम्मेवारी लिए पछि त्योसँगै बिभिन्न चुनौतीहरु आइलाग्नु स्वाभाविक हो जसको सामना गर्न सबै नेतृत्व पंति एक हुन् आवश्यक छ / त्यसैले एक्ला-एकलै लडेर केहि उपलब्धि हुनेवाला देखिदैन / पार्टीको सम्पूर्ण समस्याहरु पार्टीको बैठक मार्फत मात्र समाधान हुन सक्छ तसर्थ पार्टीको बैठक तत्काल राख्न आवश्यक देखिन्छ / त्यसैले अन्तर्विरोधका नियमहरुको ज्ञानबिना “ठोस परिस्थितिको ठोस विश्लेषण” ठिक किसिमले गर्न सकिदैन / अन्तर्विरोधका नियमहरुको सहि ज्ञानद्वारा परिस्थितिको सहि जानकारी, समस्याहरुको सहि किसिमले पहिचान र समस्याहरुको सहि किसिमले समाधान गर्ने उपाय पत्ता लगाउन सकिन्छ / त्यसैले पार्टी भित्र अन्तरविरोध भएन भने र त्यसको समाधानको लागि विचारधारात्मक संघर्ष भएन भने पार्टीको जीवनको अन्त्य हुनेछ / लिम्बुवानवासी जनता र लिम्बुवानी नेतृत्वहरुले के हेक्का राख्न जरुरी छ भने लिम्बुवान स्वायत्त राज्य प्राप्ति टाढा गइसकेको छ, यदि लिम्बुवान आन्दोलनको नेतृत्वहरु पाइहालिन्छन भन्ने भ्रममा कोहि छन् भने, लिम्बुवानी जनताहरु-सङ्गठनहरु फुटेको र जुटेको बहानामा लिम्बुवानको आन्दोलन तथा कार्यक्रमहरुमा कोहि सहभागी भइरहने छैनन /

नोट :- www.esamata.com बाट साभार गरिएको