(बहस: राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको स्मृति दिवसको सन्दर्भमा)
०. विषयप्रवेशः
सम्पूर्ण मानव बुझाइहरू केवल व्याख्या मात्र हुन् । आखिरीमा, कुनै व्याख्या पनि अन्तिम सत्यचाहिँ होइन । यो उत्तरआधुनिक सोच हो । संसार यो सोचाइ अनुसार पनि चलेको छ । मत्लब, म नै सर्बेसर्बा हुँ । मेरै सोचमात्र ठीक र बा“की सब गलत हुन् भन्ने विचारले मात्र अब स्थान पाउँदैन । आफूसंग सही सोच र सान्दर्भिक विचार नै भए पनि त्यसलाई उचित तवरले प्रस्तुत गर्न र बुझाउन सकिएन भने त्यसको सार्थकता हुँदैन । फेरि, आफ्नो विचारहरू अरुले एकदमै फरक ढङ्गले बुझिदिन पनि सदक्छन् । यसलाई रोकेर छेक्न सकिन्न । यसर्थ, विचारक वा लेखकहरू एक अर्थमा मृतक हुन् पनि भनिन्छ ।
अर्को अति गजबको तर अलिक सोचनीय कुरा के छ भने कुनै एक व्यक्ति कसैको लागि भगवान हुन्छन् त कसैका हु“दैनन् । गुलावको फूलमा कोही फूलैफूल देख्छन् त कोही काँडैकाँडा मात्र । वास्तवमा, फूल र काँडा दुबै भएरमात्र गुलाव भएको कुरा धेरैले बिर्सिदिन्छन् । फूलको बखान गर्नेले फूलैफूलको प्रसंशामात्र गरेको पाइन्छ भने काँडाको आलोचना गर्नेले काँडैकाँडाको अबहेलना मात्र । तर, फूल र काँडाबीचको अगाध अन्तरसम्बन्धलाई बुझेर गुलावको व्याख्या कमैमात्र गरिन्छ । भन्न खोजिएको कुरा के हो भने कुनै महान व्यक्तिप्रतिको हेराइमा पनि त्यही ब्यहोरा लागू भएको हुन्छ । अहिले यहा“ त्यही कठघरामा किरात याक्थुङहरुको धर्मका एक दर्शनदाता महागुरु फाल्गुनन्दलाई उभ्याउन खोजिएको छ । यो किनभने, मान्छे महान आफैं भएपनि भगवान अरुले बनाउछन् । त्यो भगवान कस्तो हुने हो भन्ने कुरा पनि फेरि त्यही मान्छेहरूकै बुझाइ र व्याख्या गराइमा भर पर्दछ, जुन कहिल्यै पनि अन्तिम सत्य हुँदैन ।
१. किरात याक्थुङहरूको जीवदर्शन र त्यसको उठानः
‘किरात याक्थुङहरुको दर्शन’ भन्नाले उनीहरूको जीवन र जगतप्रतिको आफ्नैै किसिमको हेराइ वा बुझाइलाई बुभ्mनुपर्दछ । किरात याक्थुङहरूको धर्मग्रन्थ ‘मुन्धुम्’ हिन्दूहरूको वेद, बुद्धिष्टहरूको ‘धम्मपद वा त्रिपिटक’, इस्लामहरूको ‘कुरान पाक’ र इसाईहरूको ‘वाइवल’ भन्दा पृथक किसिमको छ ।
किरात याक्थुङहरूको धर्मग्रन्थ मुन्धुम्मा अन्य धर्मग्रन्थमा भन्दा भिन्न अस्तित्व जे छ त्यही नै किरात याक्थुङ दर्शनको उठान विन्दु हो । किरात याक्थुङ मुन्धुम्को उठान शून्यताबाट भएको आभाष हुन्छ । ‘‘ए ...उहिले ....धेरै पहिले त यो जगतमा केही पनि थिएन । केही थियो त केवल चारैतिर शून्यतामात्र थियो । कालान्तरमा त्यही शून्यताबाट सम्पूर्ण जगतको सृष्टि भयो’’ भनेर याक्थुङ मुन्धुमले व्याख्या गर्दछ ।
किरात याक्थुङ दर्शन मध्यममार्गी एवं सहअस्तित्ववादी दर्शन हो । यसले भौतिक पदार्थ र जगतमात्र सबै थोक भनेर मान्दैन । यसका साथै ईश्वर नै सबै थोक हो भनेर सारा जीवन र जगतलाई भगवानकै पाउमा मात्रै पनि सुम्पदैन । किरात याक्थुङ दर्शनले जीवनलाई हाड र मासुको मूर्तिको रुपमा मात्र हेर्दैन र यसलाई सञ्चालन गर्ने कुनै अदृष्य शक्ति छ भनेर पनि विश्वास गर्दैन । जीवन र जगतलाई सञ्चालन गर्ने नियमको नाम किरात याक्थुङ दर्शन हो । जसको मूल स्रोत उनीहरुहरूको मुन्धुम् हो । ती दर्शनहरू धर्म, संस्कार, साहित्य र कला भएर जीवनमा लागू भइरहेका हुन्छन् ।
किरात याक्थुङ दर्शनले सर्वप्रथमतः एक व्यक्तिको व्यक्तिगत जीवनलाई पनि महत्वपूर्ण ठान्दछ । त्यसैले नै याक्थुङ संस्कारमा मानिस जन्मनुभन्दा पहिल्यै उपकार गरिन्छ, जन्मिएपछि यो विश्व–ब्रम्हाण्डलाई चिनाइन्छ । प्रकृतिसंग साक्षात्कार गरेर बा“च्न पे्ररित गरिन्छ । उसलाई जहिल्यै पनि उच्च शीर बनाएर शीर नढली जीवनयापन गर्न सिकाइन्छ । एक व्यक्तिको शीर(माङ्गेन्ना) ढल्नु ऊ मरेसरह हुन्छ भनेर माङ्गेन्ना उठाइन्छ । कोही सफलता र प्रगतिमा बा“च्दा पनि अरुको आ“खीडाही (नाहेन्) लाग्छ कि भनेर सजग गराइन्छ । किनकि, अरुको आ“खीडाही लाग्नु पनि जीवनको अन्त हुनु हो । त्यसैले, किरात याक्थुङ दर्शनले एउटा मान्छेको व्यक्तिगत जीवनलाई पनि महत्व दिएको हुन्छ ।
किरात याक्थुङ दर्शनले जीवनमा मात्र जीवनको अस्तित्व नखोजेर मृत्युमा पनि जीवनको अस्तित्व खोज्दछ । यसको अर्थ मानिसको मृत्युलाई पनि एकदमै संवेदनशील तवरले आत्मसात गर्दछ । ऊ मर्यो र अब अर्को जूनीमा सर्यो भनेरमात्र विश्वस्त होईंदैन । यसको ज्वलन्त उदाहरणको खोजीमा लिम्बुजातिको मृत्युसंस्कार (खाउमा मुन्धुम्) लाई राम्ररी व्याख्या–विश्लेषण गरेर हेर्दा स्पष्ट हुन्छ । खाउमा मुन्धुममा मृतकको मृत्युको कारणको स्पष्टीकरण मागिन्छ । त्यसबारे समाजसंग सोधखोज गरिन्छ । मानव भएर बाँच्ने अधिकार पायो कि पाएन ? उसलाई बचाउन कोसिस गरियो कि गरिएन भनेर उसको मानव अधिकारको खोजी पनि गरिन्छ । त्यसैले, किरात याक्थुङ दर्शन मानवतावादी, जीवनवादी, समानतावादी एवम् सह–अस्तित्ववादी दर्शन हो भनेर भन्न सकिन्छ ।
क्रमश:.....
(नोट: यो लेखोट, महागुरु फाल्गुनन्दको स्मृति दिवसको अवसरमा २०६४ साल कात्र्तिक २५ गते किरात याक्थुङ् चुम्लुङ् केन्द्रद्वारा आयोजित कार्यक्रममा प्रस्तुत गरिएको एक अवधारणा–पत्रको सम्पादित अंश हो |)

No comments:
Post a Comment